Print Friendly, PDF & Email

दोहोरी साँझ, कटेज रेस्टुरेन्ट जस्ता क्षेत्रमा काम गर्ने अधिकांश महिला र बालिका विपन्नता र हिंसाबाट मुक्ति खोज्दै यस क्षेत्रमा आइपुग्छन्। तर, सञ्चालककोे कुत्सित मनसाय र कानून कार्यान्वयन गराउने निकायको बेवास्ताका कारण उनीहरू थप शोषणमा पर्छन्। यस्तो शोषण र बेचबिखनमा पर्ने नाबालिगको संख्या अधिक छ।

प्रतिमा सिलवाल र सिन्धु ढकाल | खोज पत्रकारिता केन्द्र 

चितवनको भरतपुर–७ स्थित युनिक कटेजमा १५ वर्षीया बालिका अर्धनग्न अवस्थामा फेला परिन्। उक्त कटेज रेस्टुरेन्टमा बालिकामाथि यौनशोषण हुने गरेको सूचना पाएपछि प्रहरीले २६ चैत २०७९ मा छापा मारेको थियो। बालिकासँगै रहेका पुरुष भने भागिसकेका थिए।

प्रहरीले बालिकालाई संरक्षणमा लियो र रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गर्‍यो। आफ्नी छोरी खोज्दै प्रहरी कार्यालयमा पुगेका अभिभावक त्यतिबेला झसङ्ग भए– जब उनीहरूले छोरीलाई यौन व्यवसायमा लगाइएको थाहा पाए।

भरतपुर ६३ (ती बालिकालाई मुद्दा प्रक्रियामा प्रहरीले दिएको नाम) ले कक्षा ८ मै पढाइ छोडेकी थिइन्। विपन्न अभिभावकले पनि पढाउन जोडबल गरेनन्। त्यसपछि उनी नारायणगढको एउटा कपडा पसलमा काम गर्न थालिन्।

यसैबीच फेसबुक मार्फत चिनजान भएकी एक महिलासँग उनको कुराकानी बाक्लियो। २०७९ फागुनको अन्तिम साता ती महिलाले बालिकालाई खाजा खान बोलाइन्। उनीहरू भरतपुर–७ मा रहेको युनिक कटेजमा खाजा खान पुगे। त्यहींबाट शुरू भयो उनलाई देहव्यापारमा लगाउने होटल साहुको लोभ।

फेसबुकमा झुम्री नामबाट चिनिएकी ती महिलाको वास्तविक नाम थर पनि भरतपुर ६३ लाई थाहा छैन। बालिकाले प्रहरीमा दिएको बयान अनुसार कपडा पसलमा काम गर्छु भनेर घरबाट निस्किएपछि उनी कटेज रेस्टुरेन्टमा पुग्थिन्। उनले घरमा ढाँटिरहँदा उता कटेज रेस्टुरेन्टले उनलाई दैनिक ५ जनासम्म ग्राहकसँग बस्न लगाउँथ्यो।

हप्तैपिच्छे नयाँ लुगा लगाउने, महँगो मोबाइल बोक्ने, राति अबेर घर पुग्दा ‘साथीको जन्मदिनमा थिएँ’ जस्ता बहाना बनाउने गरेको उनले प्रहरीलाई बताएकी छन्।

१३ वैशाख २०८० मा जिल्ला अदालत चितवनमा पेश गरिएको मुद्दा अनुसार बालिकाले प्रहरीलाई भनेकी छिन्– “खाजा खान गएका बेला कटेजकी साहुनी माया परियारले फोन नम्बर मागिन्। त्यसपछि ग्राहक आउँदा फोन गरेर बोलाउँथे। यो क्रम बढ्दै जाँदा एक दिनमा पाँच जनासँग सुत्नुपर्थ्याे। ग्राहकले दिने ५ हजार रुपैयाँमध्ये मलाई १ हजार मात्र दिन्थे।”

भरतपुर ६३ लाई त प्रहरीले थप बेचबिखन र हिंसाबाट जोगायो। तर, १९ वर्षकी स्याङ्जा (परिवर्तित नाम) ले दैनिक भोग्दै आएको बेचबिखनकोे कतै अभिलेख छैन।

उनका पाखुराभरि चुरोटले डामेका घाउ छन्, केही नयाँ र केही खाटा बसेका। मनभरि घर फर्किन नसक्ने बाध्यताको घाउ छ। उनी विवाहित भए पनि श्रीमान् साथमा छैनन्। आमा भए पनि छोरालाई वात्सल्य दिन पाएकी छैनन्।

लमजुङकी उनले १५ वर्षमै भागी विवाह गरिन्। १६ वर्षकी हुँदा छोरो जन्माइन्। त्यसपछि लोग्नेसँग मनमुटाव भयो र घरबाट निकालिइन्। लोग्ने छाडेको लाञ्छना सहँदै गरीब माइतीमा बोझ बन्नुभन्दा कमाउने विकल्प रोज्न उपयुक्त लाग्यो। अनि झरिन् चितवन।

मिठो स्वर भएकी र सूर बुझेकी उनले चितवनको एउटा दोहोरी साँझमा काम पाइन्। उनको गायनले चितवनको रात्रिकालीन बजार ततायो।

मासिक ७ हजार तलबका लागि दोहोरी छिरेपछि उनमा मदिरा र चुरोटको लत बसेको छ। आफूमाथि भइरहेको हिंसा र दुव्र्यवहारबारे खुल्न नचाहेकी उनले भनिन्, “टेन्सन हुन्छ त्यसैले चुरोटले आफ्नै शरीर पोल्छु।”

जिल्ला प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७७/७८ देखि २०८९/८० सम्म १५ जना महिला/बालिकालाई चितवनको ‘बजार’ बाट उद्धार गरेको छ। जसमध्ये १८ वर्षमुनिका मात्रै ६ जना छन्।

तावाबाट भुंग्रोमा

यहाँका रात्रिकालीन मनोरञ्जन क्षेत्रमा काम गर्ने थुप्रै महिला यौन दुव्र्यवहार, बेचबिखन तथा श्रमशोषणमा परेका छन्। जसको उदाहरण गोरखा (परिवर्तित नाम) पनि हुन्।

चितवनमै एउटा नाम चलेको दोहोरी रेस्टुरेन्टबाट काम गरेको पारिश्रमिक नपाएपछि केही दिन अघि मात्रै उनले अर्को साहु कहाँ काम थालेकी छन्। २०७७ सालदेखि यो क्षेत्रमा आएकी उनको जीवनमा पीडाका चाङ छन्।

गोरखामा खोरिया खोस्रिएर जीवन चल्थ्यो। अभिभावकहरू एउटा गतिलो केटा खोजेर उसैलाई छोरी बुझाउन चाहन्थे। त्यसैले १४ वर्षकै उमेरमा चितवनमा ‘गरिखाने खेत’ भएको केटासँग विवाह गरिदिए। २०६६ सालमा पाँच कक्षामा पढ्दापढ्दै टिकोटालो गरेर पठाइएकी गोरखाको जीवन त्यसपछि झन् कहालीलाग्दो हुनपुग्यो।

विवाहको केही समयमै शुरू भएको लोग्नेको अविश्वास र कुटाइका बेहिसाब खत उनको शरीर र मनमा छन्। “आफू दिनभरि काम गरेर आयो, लोग्नेले चाहिं कोसँग गएकी थिस् भन्दै मुखमा सल कोचेर कुट्थ्यो” २८ वर्षीया गोरखा भन्छिन्। त्यसैबाट मुक्ति पाउन २०७७ सालमा गीत गाउन दोहोरी पुगिन्। अहिले उनीमाथि झन् ठूलो विपत् आइलागेको छ– पाठेघरको क्यान्सर।

दोहोरी साँझमा दोहोरी एकोहोरो मात्रै हुँदैन। ग्राहकले बोलाएपछि उनीहरूकै टेबुलमा गएर खाइदिनुपर्छ, जिस्किनुपर्छ। ग्राहकको चाहना पूरा गर्नुपर्छ।

उनले गाइरहेको रेस्टुरेन्टमा भदौको अन्तिम साता पुग्दा ग्राहकको भीड थियो। चुरोटको धुवाँले हल रङमङ्गिएको थियो। मञ्चमा गायक–गायिका र नर्तकी थिए। फ्लोरमा रक्सीले मातेका ग्राहकहरू।

“ग्राहकहरू मञ्चमै हात तान्न आइपुग्छन्। मलाई सञ्चो छैन भनेर सकेसम्म टेबलमा ओर्लिन्नँ”, गोरखा भन्छिन्।

यस्तै हिंसा सहेरै बस्नेमध्येकी हुन्– २७ वर्षीया प्यूठान (परिवर्तित नाम) पनि। २०७२ सालमा प्युठान जिल्लाबाट चितवन झरेकी उनले ८ कक्षासम्म पढेकी छन्।

आमालाई बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गर्ने ठूलोबुबा, बुवालाई थला पारेको क्यान्सर, ऋणमा डुबेको परिवार उनलाई भड्खालोमा धकेल्न पर्याप्त भइदिए।

फेसबुक म्यासेन्जरमा दोहोरी प्रतियोगिताको चलन भर्खरै शुरू भएको थियो। भारतबाट भिनाजुले ल्याइदिएको मोबाइल सेटमा उनले म्यासेन्जर डाउनलोड गरिन् र दोहोरी समूहमा जोडिइन्।

उनको गायन सुनेर चितवनको एक दोहोरी रेस्टुरेन्टले उनलाई कामको प्रस्ताव गर्‍यो। बेलुका दोहोरी गाउने र दिउँसो वेटरको काम गर्न थालिन्। बुबाको उपचारमा ४ लाख रुपैयाँ ऋण लागेको थियो।

त्यो ऋण तिर्न उनले आफ्नो तलबमा ग्राहकले दिने अतिरिक्त रकम (टिप्स) समेत थपेर मासिक ३०/४० हजार रुपैयाँ घर पठाउन थालिन्। तर, काम गरिरहेको साहुले दोहोरी बेचेपछि पछिल्लो महिनाको पारिश्रमिक पाइनन्। पैसा माग्दा उल्टै साहुले यौन सम्पर्कको लागि दबाब दियो।

अहिले भरतपुरकै अर्को दोहोरीमा काम गर्ने उनी ग्राहकको व्यवहार सुनाउँछिन्, “रक्सी लाग्दै गएपछि हामी भएतिर आउँछन्। हामीलाई हेरेर आफ्नो अंग मुसार्न थाल्छन्। मसँग हिंड, कति चाहिन्छ भन्ने त कति आउँछन् कति ! अब त बानी नै भइसक्यो।”

आउँदैनन् न्यायिक प्रक्रियामा

भरतपुर (६३) लाई शोषण गरी देहव्यापारमा लगाउने दोहोरी रेस्टुरेन्ट सञ्चालक चन्द्रबहादुर परियार र उनकी श्रीमती माया विरुद्ध सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा चलायो।

तर, पीडित बालिका र जाहेरी दिने उनका बाबु दुवैले अदालत पुगेपछि बयान फेरिदिए। बालिकाले अदालतसमक्ष आफू उक्त रेस्टुरेन्टमा जाँदै नगएको बयान दिइन्। जिल्ला अदालत चितवनले बालिकाको इन्कारी बयानलाई आधार बनाएर कटेज साहु चन्द्रबहादुर र उनकी पत्नीलाई गएको २४ वैशाखमा सफाइ दिइसकेको छ।

यस्ता होटल, रेस्टुरेन्ट र दोहोरी साँझमा शोषणमा परेका महिला र बालिकामध्ये अधिकांश उजुरी प्रक्रियामा आउन चाहँदैनन्। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरीको अनुगमनका क्रममा आर्थिक अवस्था दयनीय भएका र पहिल्यै हिंसामा परेका उनीहरू यहाँ थप शोषित हुनु परेको छ। उद्धारपछिको जीवन सुनिश्चित नहुँदा उनीहरू कतै उजुरी गर्दैनन्। गरेकाले पनि होस्टाइल भएर बयान फेरिदिन्छन्।

“मानव बेचबिखनको मुद्दा बढ्दो क्रममा छ” पण्डित भन्छन्, “चितवनमा त यो झनै बढी देखिन्छ।”

नारायणघाटको एउटा होटल सञ्चालकले वेटर काम लगाइदिन्छु भनेर यौन व्यवसायमा लगाएका दुई बालिकाले पनि अदालतमा बयान फेरिदिए।

चितवन घर भएकी दुई छोरीकी आमा क्षेत्रपुर क (परिवर्तित नाम) ले स्याङ्जाको केटासँग दोस्रो विवाह गरिन्। केही समय स्याङ्जा बसी चितवन झरेकी उनी अहिले ठेलामा व्यापार गर्छिन्। उनका नयाँ लोग्नेतर्फबाट पनि दुई सन्तान छन्। रक्सीका अम्मली लोग्नेको भर छैन। आफ्नो कमाइले चार सन्तान पाल्न पुग्दैन। त्यसैले उनका छोरीहरू विद्यालय जान पाएनन्।

गएको १ चैत राति ९ बजे नारायणी किनारामा रहेको प्रहरी कार्यालय नजिकै हिंडिरहेका ती बालिकालाई देखेपछि प्रहरीले सोधपुछ गर्‍यो। त्यसैबेला थाहा भयो– उनीहरू थाहै नपाई बेचबिखनमा परिसकेका रहेछन्।

पढाइ छोडेका ती दुई १५ र १६ वर्षीया बालिकालाई सानिमा धौलागिरी ‘क’ र होटल सञ्चालक मिलेर यौन व्यवसायमा लगाएका रहेछन्।

प्रहरीका अनुसार गएको २६ फागुनदेखि चितवनको एक होटलमा राखिएका उनीहरूलाई दिनमा ३/४ जना ग्राहकसँग यौन सम्पर्क गर्नुपथ्र्यो। उनीहरूले प्रति ग्राहक ५०० रुपैयाँ पाउँथे, बाँकी सानिमा र होटल सञ्चालकले राख्थे।

प्रहरी अनुसन्धानपछि बालिकाकी सानिमा र होटल सञ्चालक विरुद्ध मुद्दा चलाए पनि अदालतमा बालिकाहरूले बयान फेरेपछि आरोपीले गत २५ असारमा सफाइ पाए।

यौन दुव्र्यवहार र बेचबिखनमा परेका बालिकाका लागि अल्पकालीन आश्रयस्थल सञ्चालन गर्दै आएकी मञ्जु खाँण भन्छिन्, “मुद्दा अदालतमा विचाराधीन रहेका यस्ता बालिकाहरू घर पुगे भने बयान परिवर्तन भइहाल्छ।”

उनका अनुसार अल्पकालीन आश्रयस्थलमा आएका बालिकाहरूलाई होस्टाइल बनाउनकै लागि कतिपय अभिभावकले घर लैजान खोज्छन्। पीडकले अभिभावकलाई प्रभावमा पार्दा बालिकाहरूले न्याय पाउन सकेका छैनन्।

चितवन प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रहरी निरीक्षक सरिता विश्वकर्मा पनि होटल–रेस्टुरेन्टमा हुने बेचबिखन, यौन शोषण र हिंसाका घटनालाई प्रहरीसम्म ल्याउनै समस्या भएको बताउँछिन्।

“पहिलो त उनीहरू एक्सपोज हुनै चाहँदैनन्” प्रहरी निरीक्षक विश्वकर्मा भन्छिन्, “होटलमा राति काम गर्दा भएको दुव्र्यवहारबारे सुनाउँदा उल्टो आफैंमाथि प्रश्न उठ्ने हो कि भन्ने त्रासमा पनि हुन्छन्।”

होटल, रेस्टुरेन्ट, कटेज, दोहोरी साँझ जस्ता मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामाथि हुने हिंसाको परिमाण व्यापक रहेको अध्ययनहरूले देखाएका छन्। यद्यपि, प्रहरीमा यस्ता विषयमा आउने उजुरी निकै कम छ।

दुव्र्यवहार र बेचबिखनमा परेका महिलासँग नजिक रहेर काम गर्ने संस्थाहरूको अध्ययनले यो संख्या धेरै ठूलो रहेको देखाउँछ।

सामरी उत्थान सेवाले २०७८ मा चितवनको राप्ती, माडी र भरतपुर क्षेत्रका ४२० घरधुरीमा गरेको सर्वेक्षण अनुसार ती घरका ९.४ प्रतिशत महिला तथा बालिका मनोरञ्जनका क्षेत्रमा कार्यरत थिए। उनीहरूमध्ये ८५.५ प्रतिशतले आफूमाथि शोषण हुने गरेको बताएका छन्। जसमध्ये १३.६ प्रतिशत १० देखि १४ वर्षका बालबालिका रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

खाजा घरमा काम गर्ने किशोरीहरूले ग्राहकबाट हिंसा खेप्नु परेको, ग्राहक आकर्षित गर्न साहुले किशोरीलाई सजाएर ढोकामा उभिन लगाउने गरेको जस्ता कुरा पनि उक्त प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनको तथ्यलाई बेलाबखत दोहोरी साँझ जाने सत्य राउतको अनुभवले पनि पुष्टि गर्छ। उनी भन्छन्, “दोहोरी साँझमा ग्राहकसँगै बसेर खाना खाइरहेका वेट्रेस देखिनु त सामान्य नै हो। सञ्चालकले ग्राहकलाई जसरी हुन्छ खुशी पार भनेर दबाब दिन्छन्।”

उनका अनुसार दोहोरी रेस्टुरेन्ट लगायतका क्षेत्रलाई त्यहाँका सञ्चालक, कर्मचारी र  ग्राहकहरूले फोहोरी बनाइरहेका छन्। “रेस्टुरेन्टका सञ्चालक र अरू कर्मचारीले नै ग्राहकसँग सेटिङ मिलाउँछन्” उनी भन्छन्, “गीत सुन्दै खाना खाएर रमाइलो गर्ने हामी जस्ता ग्राहक त निकै कम हुन्छन्।”

सामरी उत्थान सेवाका परियोजना संयोजक बाबुराम विश्वकर्मा मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिला र बालिकाहरू गरिबी र हिंसाबाट पहिल्यैदेखि पीडित हुने गरेको र यो क्षेत्रमा आएपछि दुःख झन् थपिने गरेको बताउँछन्।

उनका अनुसार धेरैलाई आफू हिंसामा परेको र न्याय खोज्नुपर्छ भन्ने नै थाहा हुँदैन। उनीहरूमा आफू नै खराब हुँ भन्ने मनोविज्ञान विकास भएको हुन्छ र न्याय माग्न जाँदा थप लज्जित हुनुपर्ला भन्ने डर हुन्छ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूको संगठन ‘पहिचान सञ्जाल’की चितवन संयोजक आयुष्मा केसी भन्छिन्, “अरू ठाउँमा काम पाउने अवस्था छैन, त्यसैले मनोरञ्जन क्षेत्र नै मर्यादित हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं।”

पहिचान सञ्जालले कार्यस्थलमा सुरक्षा सुनिश्चित गरिनुपर्ने, काम सकिएपछि घरसम्म पुर्‍याइदिनुपर्ने लगायत व्यवस्थाका लागि प्रयास गरिरहेको उनले बताइन्। सञ्जालकै दबाबका कारण अहिले अधिकांश रात्रिकालीन मनोरञ्जन क्षेत्रले आफ्ना महिला कर्मचारीलाई घर पुर्‍याइदिने व्यवस्था गर्न थालेको उनी सुनाउँछिन्।

नेपालस्थित अमेरिकी दूतावासले सन् २०२३ मा जारी गरेको मानव बेचबिखन प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाभित्रका मनोरञ्जन क्षेत्रमा १७ प्रतिशत कामदारहरू नाबालिग छन् र त्यहाँका ६२ प्रतिशत वयस्क महिलाहरू पनि नाबालिग छँदै काम गर्न थालेका थिए।

उक्त अध्ययनका अनुसार, वयस्क मनोरञ्जनका क्षेत्रमा काम गर्ने नाबालिग श्रमिकमध्ये करिब ३० प्रतिशत बाध्यात्मक श्रमका शिकार भएका छन्। यीमध्ये अधिकांश रेस्टुरेन्ट कर्मचारीका रूपमा काम गर्छन् र उनीहरूलाई रोजगारदाताहरूले यौन व्यापारमा लगाउँछन्।

राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन’ले वयस्क मनोरञ्जनको क्षेत्रमा काम गर्नेमध्ये ७ हजार ५०० व्यक्तिहरू बेचबिखनमा परेको देखाएको छ। यो प्रतिवेदन अनुसार मनोरञ्जनको क्षेत्रमा हुने आन्तरिक मानव बेचबिखनले नेपालमा हुने मानव बेचबिखनका कुल घटनामध्ये सबैभन्दा धेरै अर्थात् १८ प्रतिशत हिस्सा ओगट्छ।

पालना हुँदैन आचारसंहिता

२०६२ सालमा नै चितवनका प्रहरी, नागरिक समाज र सम्बद्ध व्यवसायी मिलेर सामुदायिक सेवा केन्द्र नारायणगढको अगुवाइमा आचारसंहिता निर्माण गरेका थिए।

उनीहरूले निर्माण गरेको १९ बुँदे आचारसंहितामा मनोरञ्जन क्षेत्र खुल्ने, बन्द हुने समयदेखि पालना गर्नुपर्ने आचरण समेतका बुँदा समेटिएका छन्। त्यसपछि २०७२ सालमा परिमार्जन गरिएको यो आचारसंहिता जिल्लाका सबै मनोरञ्जन क्षेत्रमा राख्नुपर्ने सहमति समेत गरिएको छ। तर, कार्यान्वयन भने फितलो छ।

भरतपुर ओरालोमा रहेको सुन्धारा डाँफे दोहोरी साँझकी सञ्चालक शान्ता न्यौपाने आफ्नो दोहोरीमा काम गर्नेहरूलाई राति काम सकिएपछि पुर्‍याउने व्यवस्था, कार्यस्थल सुरक्षित बनाउन बाउन्सरको व्यवस्था गरिएको बताइन्। आफ्नो दोहोरीमा गीत गाउने, नाच्नेलाई स्टेजबाट झर्ने अनुमति नै नदिएको पनि उनले दाबी गरिन्।

“तर, सबै दोहोरीमा त्यस्तो अवस्था छैन”, पहिचान सञ्जाल संयोजक आयुष्मा केसी भन्छिन्, “अझै पनि समयमा तलब नदिने, ग्राहक खुशी पार्न टेबल टेबलमा किशोरीहरू पठाउने दोहोरी साँझ छन्।”

होटल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष केशव हटखो पनि सबै मनोरञ्जन क्षेत्रमा मानव बेचबिखन नहुने बताउँछन्। उनले सकेसम्म संघ आवद्ध होटल व्यवसायीलाई मर्यादित रूपमा सञ्चालन गर्न अनुरोध गरेको बताए।

बालबालिकालाई मनोरञ्जन क्षेत्रमा काममा लगाउने गरिएको बारे भने उनको तर्क बेग्लै छ। “१८ वर्ष उमेर नपुगेका नानीहरू कि हाम्रो खाने व्यवस्था गरिदेऊ कि काम देऊ भनेर आउँछन्” उनले भने, “काम नदिने हो भने उनीहरूले बिरामी बा–आमालाई औषधि खुवाउन समेत पाउँदैनन्।”

सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेल कोभिडपछि रेस्टुरेन्टहरूको नियमित अनुगमन नभएको बताउँछिन्। “प्रहरी र नागरिक समाजको समन्वयमा अनुगमनको काम हुनेगथ्र्यो तर, पछिल्लो समय नियमित हुनसकेको छैन।”

चितवनमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मानव बेचबिखन नियन्त्रण सञ्जाल पनि छ। यसको जिम्मेवारी आन्तरिक बेचबिखनमा पर्न सक्ने जोखिमबाट जोगाउनु र मनोरञ्जन क्षेत्र व्यवस्थित गर्नु पनि हो। तर, चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र आफ्नो सम्पर्कमा मनोरञ्जनका क्षेत्रमा कार्यरत कोही पनि महिला आफू हिंसामा परेको उजुरी लिएर नआएको बताउँछन्।

यद्यपि, अवस्था कस्तोसम्म छ भने, आफ्नो संस्था दर्ता गराउन जिल्ला प्रशासन कार्यालय पुगेकी एक गायिकालाई त्यहाँका अधिकारीले बारम्बार फोन गरी आफूसँग भेट्न र खाजा खान बोलाइरहेका थिए। गायिकाले उनको दबाब नमानेपछि उनी दोहोरी रेस्टुरेन्टमै पुगेर उनीमाथि दुव्र्यवहार गरे। उक्त घटनाको प्रमाण हामीसँग सुरक्षित छ।

माइती नेपाल चितवनका संयोजक ईश्वर गिरी मनोरञ्जन क्षेत्रलाई नियमन गर्न नसक्दा यहाँ काम गर्ने किशोरी बढ्दै गएको र उनीहरू बेचबिखनको उच्च जोखिममा रहेको बताउँछन्।

पहिचान सञ्जालकी संयोजक आयुष्मा केसीका अनुसार बेलुका होटलमा गीत गाउने किशोरीहरूलाई ग्राहकलाई आफूसँगै हिंड भनेर तान्ने, आफूले भनेको गीत गाएन भनेर माइकले हान्ने जस्ता दुव्र्यवहार गर्छन्। कामको पारिश्रमिक माग्दा सञ्चालकले यौन सम्बन्धको प्रस्ताव गरेका धेरै घटनाको साक्षी आफू बनेको उनी बताउँछिन्।

“दोहोरी, रेस्टुरेन्टमा काम गर्ने महिलालाई समाजले समेत नराम्रो ठान्ने हुँदा धेरैजसो महिला आफू त्यहाँ काम गरिरहेको कुरा घरपरिवारलाई पनि थाहा दिंदैनन्” केसी भन्छिन्, “परिवारको पहुँच बाहिर शोषणमा पर्दा हुने तनावका कारण कतिपय बालिकाहरू सानै उमेरमा कुलतको शिकार बनेका छन्।”

९ माघ २०८० को  नेपालप्रेसमा पहिलो पटक  प्रकाशित