खोज पत्रकारिता केन्द्र (खोपके) को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो– नेपाललिक्स २०१९ ।

यो खोजले अवैध धनको ओसारपसार कसरी भइरहेको छ र यसमा को को छन् भन्ने देखाउँछ । नेपालीको विदेशमा लगानी हाम्रो प्रमुख खोज हो । कानूनतः गैरआवासीय नेपालीले विदेशमा लगानी गर्न पाउने भए पनि कर प्रणाली र सुशासनका दृष्टिले कमजोर मानिने ब्रिटिश भर्जिन आइल्याण्डस् जस्ता मुलुकमा कम्पनी खोल्ने र त्यहाँबाट नेपालमा लगानी भित्र्याउनेहरूलाई पनि हामीले खोजको दायरामा राखेका छौं । तर, कर सुशासन र राम्रो आर्थिक प्रणाली भएको मुलुकमा गैरआवासीय नेपालीले गरेको लगानी यो खोजमा समावेश छैन ।
गैरकानूनी आर्जनको माध्यमबाट सत्ता र शक्तिमा बसेकाहरूसँग मिलेमतो गरेर लोकतान्त्रिक शासन प्रणालीलाई नै विकृत बनाउने यो वित्तीय अपराधमा मुलुक भित्र र बाहिरका व्यक्ति संलग्न छन् । यसमा को कसरी संलग्न छन्– सप्रमाण देखाएका छौं । यसले मुलुकलाई कस्तो असर पार्छ ? त्यसको पनि खुलासा हो, यो ।
करीब तीन हजार दस्तावेज केलाउने काम गर्न खोपके टीमलाई झन्डै एक वर्ष लाग्यो । यस क्रममा समाचारसँग प्रत्यक्ष जोडिएका, उनीहरूको कार्यालयमा कार्यरत, सहयोगी, आफन्त, सरोकारवाला र विशेषज्ञसमेत गरेर ११० भन्दा बढी व्यक्तिसँग अन्तर्वार्ता, प्रतिक्रिया र राय लिइएको थियो । कतिपय व्यक्तिसँग कुनै पनि माध्यमबाट हामीले सम्पर्क गर्न सकेनौं । यस्ता व्यक्तिका प्रतिक्रिया वा भनाइ प्राप्त भएमा यसपछि पनि समाचारको अंग बनाउने छौं ।

यसक्रममा हामीले आईसीआईजे आवद्ध विभिन्न ६ विदेशी मुलुकका खोज पत्रकारहरूले उपलब्ध गराएका विवरणहरू, कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त कागजात र अदालती आदेशको अध्ययन गरेका छौं । ती व्यक्ति र निकायबाट प्राप्त तथ्यलाई हामीले डिजिटल अनुसन्धानबाट पनि परीक्षण ग¥यौं । त्यसकै आधारमा यी पाँचवटा खोजमूलक सामग्री तयार पारिए ।

पहिलो, नेपालको कानून अनुसार नेपालीले विदेशमा पैसा राख्नु गैरकानूनी काम हो । त्यसमाथि अन्तर्राष्ट्रिय समुदायले निगरानी गरिरहेको र शंकास्पद सूचीमा राखेको बैंकहरूमा रकम जम्मा गर्ने नेपाली हाम्रो खोजको विषय बने । कसले राखिरहेको छ स्विट्जरल्याण्डका बैंकहरूमा पैसा भनेर पहिलो स्टोरीमा खुलासा गरेका छौं ।

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

दोस्रो, अवैध आर्जन लुकाउन अनुकूल मानिने ‘ट्याक्स हेवन’ मुलुकमा नेपालीको लगानी भेटियो । त्यस्ता देशहरूबाट नेपालमा आइरहेको ‘प्रत्यक्ष वैदेशिक लगानी’ हाम्रो अर्को खोज समाचार हो ।

सिमेन्ट, सुपारी र होटल ः गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

तेस्रो, नेपालका उदीयमान भनिने व्यवसायीहरूले ‘ट्याक्स हेवन’ मुलुकमा आफ्नै नाममा कम्पनी दर्ता गर्ने त्यही र अन्य कम्पनीहरूबाट समेत नेपालमा ‘लगानी’ ल्याउने गरेको भेटियो । यसलाई तेस्रो समाचार बनाएका छौं ।

‘ट्याक्स हेवन’ को नेपाल नाता

चौथो, कानूनतः नेपाल सरकारको अनुमति नलिई नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँदैन । तर, नेपाली नागरिक र कानूनी रूपमा गैरआवासीयले कर छल्ने, कर छल्न अनुकूल देशहरूमा लगानी गरी फेरि नेपालमा त्यो ‘लगानी ल्याउने’ काम गरेको भेटियो । यसमा नेपालका प्रमुख कर छलीका घटना विवरणहरू पनि जोडिन आइपुग्छन् ।

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

पाँचौं समाचार हो, नेपालीको विदेशमा लगानी । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ ले नेपालीलाई विदेशमा कुनै पनि प्रकारको लगानी गर्न निषेध गरेको छ । तर, यस विपरीत ५५ नेपालीले विदेशमा लगानी गरेको भेटियो ।

५५ नेपालीको विदेशमा लगानी