Print Friendly, PDF & Email

मिथिला क्षेत्रमा यौन अपराध पनि व्यवसाय बन्न थालेको छ । यहाँका यौन अपराधीहरूले ग्रामीण क्षेत्रका युवतीहरूलाई यौन व्यवसायमा जबर्जस्ती धकेलिरहेका छन् । अनि त्यसको अश्लील भिडियो क्लिप बनाएर नयाँ व्यवसाय चलाउन थालेका छन् ।

शत्रुधनकुमार साह | खाेज पत्रकारिता केन्द्र

यस वर्ष दसैंको समयमा मिथिलावासीले आफ्नै चेलीको ‘अश्लील भिडियो’ हेरे । जनकपुरको मोडल क्याम्पसमा अध्ययनरत एक युवती र जनकपुर–१६, कपिलेश्वर निवासी २५ वर्षीय रन्जित दासबीच भएको यौन दृश्यले मिथिलावासीलाई स्तब्ध बनाइदियो । एक मिनेट तीन सेकेन्डको यौन दृष्य मोबाइलको ब्लु–टुथ मार्फत रातारात सयौं युवाहरूको मोबाइलमा पुगेको थियो । जो यहाँको नयाँ व्यवसाय बनेको थियो ।

पीडित युवतीलाई ढल्केबरकै एउटा लजमा लगेर यौनसम्पर्क गर्ने रन्जितले झुक्याएर भिडियो मात्र बनाएन, फेसबुक र यु–ट््यबमा राखिदिए । रन्जित अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले इन्टरनेटबाट त्यो भिडियो पनि हटाइसकेको छ । यौन दृश्यको यो भिडियो क्लिप मोबाइलमार्फत आदानप्रदान हुने क्रम रोकिएको छैन ।

युवती अथवा बालिकासँग यौन सम्पर्क गर्ने र त्यसको भिडियो क्लिप बनाएर बिक्री गर्ने धन्दा यहाँ दिनानुदिन चम्कँदो छ । यस्ता भिडियो क्लिपहरू सीमावर्ती र भारतका अन्य सहरहरूमा मात्र बेचिंदैनन्, कतार र मलेसियासम्म पु¥याएर तिनको कारोबार गरिन्छ । यहाँ बलात्कारले नयाँ रूप लिन थालेको छ । यो अपराध अहिले यौन आनन्द लिने मात्र होइन, आयआर्जन गर्ने नयाँ व्यवसाय बन्न पुगेको छ ।

कतारबाट खबर आएपछि

महोत्तरी बैरगनियाँकी १७ वर्षीय समिना खातुनसँग सोही गाउँको अहमद मियाँले जबर्जस्ती शारीरिक सम्पर्क राखे र साथीको सहयोगबाट त्यसको भिडियो पनि खिचे । भिडियो कतार र मलेसियामा बिक्री हुन थाल्यो । संयोगवश, कतारमा कार्यरत सोही गाउँका एक युवकले त्यो भिडियो हेरेपछि गाउँमा खबर गरे । अहमदको दुष्कर्म सतहमा आयो । तर स्थानीय भद्रभलाद्मीले प्रहरीसमेतलाई साथमा लिएर पीडक र पीडित पक्षबीच ‘मिलापत्र’ गराइदिए ।

मिलापत्रमा पीडितलाई चित्त नबुझेपछि अर्को नाटक सुरु भयो । प्रहरीको रोहबरमा स्थानीय राजनीतिक नेता, भद्रभलाद्मी तथा पीडकसमेतको ‘सर्वपक्षीय’ बैठक बस्यो, जसले पीडकलाई कानूनी दण्डसजायबाट मात्र जोगाएन, पुरस्कार पनि दियो — पीडित महिला समिना खातुनलाई उसैसँग बिहा गर्न बाध्य बनाए ।

PDF को लागि यहाँ CLICK गर्नुहोला ।

यसरी यहाँ बलात्कार सँगसँगै मिलापत्र पनि एउटा व्यवसाय बन्न पुगेको छ । र, यो धन्दामा लागेका छन् समाजका कथित भद्रभलाद्मीहरू । बलात्कार र अन्य यौन अपराधपछि उनीहरू सकेसम्म त्यस्ता घटना प्रहरीसम्म पुग्नै दिंदैनन्, पुगिहाले पनि कानूनी कारबाही अघि बढ्न दिंदैनन् र मिलापत्रको नाटक सुरु गर्छन् । यस क्रममा अभियुक्तलाई (प्रायः पूर्व सहमतिका आधारमा) उसको गच्छे अनुरूप जरिबाना तिराइन्छ र त्यो रकम अधिकांश वा पूरै ‘भद्रभलाद्मी’ हरूको गोजीमा जान्छ । पीडितलाई न्यायबाट वञ्चित मात्र गराइँदैन, अधिकांश मामिलामा बलात्कारीसँगै बिहा गर्न बाध्य बनाएर जिन्दगीभरका लागि थप पीडाको भुमरीमा पारिन्छ । पीडितको न्याय पाउने चाहना र अधिकारसँग कसैको सरोकार देखिंदैन । ‘मिलापत्र’ पछि ‘भद्रभलाद्मी’ र बलात्कारीहरूको अनुहार हर्षले धपक्क बलेको हुन्छ, पीडितहरू भने रोएको आवाज पनि अरूले सुन्लान् भनेर भयभीत हुँदै आँसु खसालिरहेका हुन्छन् ।

रौतहट जिल्लाको लक्ष्मीपुर–७ की गुलसन खातुनलाई सोही गाउँको सागर दर्जीले गएको चैत १३ गते जबर्जस्ती गरी फरार भए । जिल्ला प्रहरी कार्यालयमा गुलसनले गर्भवती भएको जाहेरी दिएपछि सागर दर्जी काठमाडौंमा पक्राउ प¥यो र पाँच दिन रौतहट प्रहरीले उसलाई हिरासतमा राख्यो । समाजका भद्रभलाद्मीहरू (सामुदायिक निगरानी समिति र महिला अधिकारसँग सम्बद्ध संघसंस्थाहरू समेत) सक्रिय भए र पीडकलाई प्रहरीको पन्जाबाट निकालेर पीडित महिलासँग विवाह गराइदिए ।

महोत्तरीका प्रजिअ प्रदीपराज कणेल भन्छन्, “सबै घटनामा कानूनी कारबाहीको प्रक्रिया अघि बढाएर न्याय दिन सम्भव हुँदैन, न्यायको वैकल्पिक व्यवस्था पनि अपनाउनुपर्ने हुन्छ ।” कानून लागू गराउनुपर्ने राज्यको निकायका स्थानीय मुखियाहरूले नै पीडितलाई  पीडकको कृपापात्र बनाउने कामलाई ‘न्यायको वैकल्पिक व्यवस्था’ को मान्यता दिएपछि मुलुकको कानून अन्धो हुने नै भयो । कानूनलाई अन्धो बनाएपछि बलात्कार पीडित महिलाहरूले न्याय पाउन के खाएर सम्भव होस् ?

सिङ न पुच्छर

‘न्यायका नौ सिङ’ भन्ने उखानै छ । तर मधेसका बलात्कार र यौन अपराध पीडित चेलीहरूले मिलापत्र व्यवसायीका कारण न्यायको सिङ त के, पुच्छर फेलापर्नु पनि ‘आकाशको फल आँखा तरी मर्’ बन्दै गएको छ । नेपालको कानूनले १६ वर्षभन्दा कम उमेरकी बालिका वा विवाहित ÷अविवाहित महिलालाई उनको मन्जुरी लिएर वा नलिएर गरिएको करणीलाई बलात्कार मानेको छ र यस्ता कार्यमा संलग्नलाई बढिमा १५ वर्षसम्मको कैद सजाय हुने प्रावधान रहेको छ  । यौन दृश्यको भिडियो खिचेर सार्वजनिक गर्ने, बेच्ने दुष्कर्मका निम्ति मात्र होइन, पीडितलाई न्यायसम्म पुग्न नदिने र थप पीडा दिने दुष्कृत्यका निम्तिसमेत कानूनमा विभिन्न व्यवस्था नभएका होइनन् । तर जो–जो कानूनका रक्षक हुनुपर्ने हो उनीहरू नै ‘न्यायको वैकल्पिक व्यवस्था’ का नाममा कानूनको घेरामा पर्न नदिन र उल्टो पुरस्कृत गर्न एकमत हुँदै गएपछि बिचरो कानून मात्रले के गरोस् ?

बलात्कारीका पक्षमा

महोत्तरी जिल्ला, कलहुवाबगिया, इस्लामपुरकी सविना खातुनलाई एकडारा बजारमा फलफूल बिक्री गरेर फर्किरहेको  समयमा सोही ठाउँका फरमुद अन्सारी र मुरदुज अन्सारीले २०६७ पुस २७ गते बाटोछेउको उखुबारीमा लगेर बलात्कार गरे । स्थानीय ‘भद्रभलाद्मी’ हरूले थाहा पाएपछि उनीहरूले उल्टो सविनामाथि नै ‘गाउँका युवाहरूलाई बिगारेको’ आरोप लगाए र घरमा ताल्चा ठोकेर गाउँबाट निकाला गरिदिए । सविना न्यायका लागि जिल्ला प्रहरी कार्यालय पुगिन् तर प्रहरीले उनको उजुरी नै लिएन । संघसंस्थाको दबाब परेपछि बल्ल उजुरी दर्ता ग¥यो तर कानूनी कारबाही अघि बढाउनुको सट्टा मिलापत्र गर्न दबाब दिन थाल्यो । कथित भद्रभलाद्मीहरू भेला भए र एकछिन सविनाको पक्षमा वकालत गरेजस्तो गरेर उनलाई एकजना बलात्कारीसँगै बिहा गर्न दबाब दिन थाले । सविनाले त्यसको तीव्र प्रतिवाद गरेपछि ‘एक कदम पछि हटेर’ उनीहरूले बलात्कारीहरूलाई ४० हजार रूपैयाँ जरिवाना गरेर जबर्जस्ती मिलापत्र गराइदिए, जसमध्ये २० हजार रूपैयाँ ‘समाज सुधारका लागि खर्च गर्न’ छुट्याइएको थियो ।

मिलापत्रमा तमलोपाका रामछबिला साह, कांग्रेसका रामबली साह, माओवादीका सुरेश साह, एमालेका जीवछ दास, राप्रपाका रामचन्द्र यादव, मालेका भिखारी साह, नेकपा संयुक्तका इरशाद अन्सारी, फोरम नेपालका रामनरेश कापड, सद्भावनाका उमाशंकर पाण्डे र जनशक्तिका राजकुमार मण्डलसहितका सहभागी थिए । जिल्ला प्रहरी कार्यालयमा भएको मिलापत्रमा महिला सेलका तत्कालीन प्रहरी सहायक निरीक्षक जीवलाल सुवेदी र महिला मानव अधिकार रक्षक संजाल जलेश्वरकी रेखा झाले हस्ताक्षर गरेका थिए । मिलापत्र गराउन महोत्तरीका तत्कालीन प्रहरी उपरीक्षक संजयराज शर्माले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बताउँछन् स्थानीय बासिन्दाहरू । तत्कालीन प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले भने ‘पीडित महिलालाई समाजमै पुनस्र्थापना गर्नुभन्दा राम्रो विकल्प के हुन सक्छ ?’

महोत्तरी, खुट्टापिराढीकी १८ वर्षीया फातमा गत असार २९ गते पानी लिन गएको बेला बलात्कृत भएकी थिइन् । फातमाले भनिन्, ‘मलाई बलात्कार गर्दा पनि उनीहरूले मोबाइलबाट फोटो खिचिरहेका थिए । एउटाले बलात्कार गर्दा अरू फोटो खिच्न थाल्थे । दिउँसै बलात्कार हुदाँ पनि थाहा नपाएका स्थानीयलाई फातमाले हजरत कवारी, दिल मोहम्मद कवारी, दाउद कवारी र कलमुद्दीन कवारीले आफूलाई मुख थुनेर बलात्कार गरेको बताए । प्रहरीमा उजुरी गर्ने÷नगर्ने दोधारमा रहेको पीडितले एक हप्तापछि मात्र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । जाहेरी दर्ता गरी प्रहरीले मुद्दा अदालतमा पु¥याए र फरार अपराधीविरुद्ध पक्राउ पुर्जी जारी भयो । तर स्थानीय भद्रभलाद्मीको दबाब र आश्वासनमा परेर पीडितले अदालतमा दिएको बयान उल्टाएपछि प्रहरीले कसैलाई पक्राउ गर्न सकेन ।

नाम उल्लेख नगर्ने सर्तमा एक युवकले बताएअनुसार मौका पर्नासाथ गाउँका युवतीमाथि सामूहिक बलात्कार गर्ने र त्यस दृश्यको भिडियो क्लिप बनाएर सीमा क्षेत्र भारतका अन्य सहरमा बेच्ने धन्दा उनीहरूले केही वर्षदेखि चलाउँदै आएका छन् । फातमाकी आमा मदिना भन्छिन्, ‘समाजका भलाद्मीहरूले हजरत कवारीलाई हाम्रै घरमा ल्याएर मिलापत्र गर्न दबाब दिए । मिलापत्र नगरेपछि दुःख पाइएला भनेपछि मान्नैप¥यो । हामी गरीब मान्छे । त्यसबेला छोरीको बिहा खर्च भराइदिन्छौं भनी फकाए ।

‘महिलाको पीडालाई समाज र प्रशासनले व्यवसायको वस्तु बनाइदिएकाले नै मधेसमा बलात्कारका घटना बढिरहेका हुन्’, स्थानीय युवती सुनैना ठाकुर आक्रोश व्यक्त गर्छिन् । स्थानीय मानव अधिकारकर्मी मदन झा भन्छन्, ‘बलात्कार जस्तो जघन्य अपराधका घटनामा मिलापत्र गराउन जिल्ला प्रहरी कार्यालय आफैं मध्यस्थ बनिदिन्छ । त्यसैले पीडितहरू अदालतको ढोकासम्म पुग्नै पाउँदैनन्, पीडकहरूले कहिल्यै सजाय भोग्नुपर्दैन ।’

हदम्यादको तगारो

पछिल्लो १४ वर्षमा नेपालमा झण्डै तीन हजार बलात्कारका घटना दर्ता भएको तथ्यांक छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को वर्ष पुस्तक–२०१२ मा २१७ वटा बलात्कारका घटना भएको उल्लेख छ । जसमा २० जना महिलाको बलात्कारपछि हत्या भयो । रौतहटमा क्रियाशील महिला सुरक्षा दबाब समूहमा एक वर्षभित्र ११ वटा बलात्कारका घटना दर्ता भएका छन, जसमध्ये नौवटा मिलापत्रमा टुंग्याइएका छन । रौतहट जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीका १७ वटा मामिला प्रहरीको फाइलमा दबेर बसेका छन् । महोत्तरीमा १६ वटा मामिला तीन वर्षदेखि न्याय पर्खिरहेका छन् । प्रहरीमाथिको विश्वास घट्दै गएपछि महोत्तरीका पीडितहरूले मानव अधिकार संरक्षण केन्द्र (जलेश्वर) मा ३७ वटा र महिला विकास कार्यालयमा सातवटा उजुरी दर्ता गराए ।

बलात्कार भएको ३५ दिनभित्र उजुरी दिनुपर्ने कानूनी व्यवस्था पनि पीडितलाई न्यायको ढोकासम्म पुग्न असहज पार्ने तगारो बनेको बताउँछन् कानून व्यवसायी । जलेश्वरका कानून व्यवसायी विकरु यादव भन्छन्, ‘मधेस मात्र होइन कुनै पनि रुढिग्रस्त समाजमा बलात्कारको घटना बाहिर आउन नै कम्तीमा साता दिन लाग्छ । डाक्टरी जाँच, मेडिकल रिपोर्ट र प्रहरीको अनुसन्धानले एक महीनाभन्दा बढी समय लिन्छ । यति गर्दागर्दै कानूनी हदम्याद सकिन्छ । अनि कसरी न्याय पाउँछन् पीडितले ?’ महोत्तरीका जिल्ला न्यायधिवक्ता खडानन्द गौतम थप्छन्, ‘यही हदम्यादको व्यवस्थाका कारण कथित भद्रभलाद्मीहरूले चलखेल गर्ने मौका पाउँछन् । हदम्यादले मात्र होइन मिलापत्रले पनि पीडितहरूलाई न्यायको ढोकासम्म पुग्न अवरोध खडा गरिरहेको छ । त्यसैले यी दुवै व्यवस्था अविलम्ब हटाउनुपर्छ । अन्यथा पीडितले न्याय पाउन सक्दैनन् ।’

आफ्नै घर, गाउँमा असुरक्षित

महोत्तरी, बेलगाछीकी १३ वर्षीया अन्जु महतोले साउन २० गते आफ्नै घरमा बलात्कारको सिकार हुनुप¥यो । उनले रुँदै भनिन्, ‘छिमेकमा बस्ने समसुल नदाफले घरभित्र आएर मेरो समीज च्यातिदियो अनि घाँटीमा छुरी राखेर बोलिस् भने मारिदिन्छु भन्दै जबर्जस्ती ग¥यो । म बेहोश भएँ ।’ वीभत्स अवस्थामा, बेहोस लडिरहेकी छोरीलाई हतारहतार अस्पताल पु¥याएर बुबा रामपरीक्षणले उनको ज्यान जोगाएका थिए । यस घटनामा अपराधीलाई पक्राउ गराउन अन्जुको परिवार मात्र होइन समाजसमेत अघि स¥यो । तर इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक जयनारायण यादवले यो घटना सम्बन्धमा संवाददातासँग भने, ‘यो त सामान्य घटना हो !’ सर्वस्वसहित जन्मकैदसम्म हुन सक्ने यस्ता अपराधलाई प्रहरीले ‘सामान्य घटना’ भनिदिने गरेकाले नै मधेसमा अपराधीहरूको मनोबल बढेको हो । समाजको व्यापक दबाबपछि मात्र समसुललाई पक्राउ गरेर प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको हो ।

रौतहट, समनपुरकी १४ वर्षीया संगीता पासमान आफूलाई ट्युसन पढाउने शिक्षक रामआधार पासमानबाटै यौन दुव्र्यव्यवहारको सिकार भइन् । लगातार चार वर्षसम्म यौन शोषणको सिकार भएपछि बल्ल घटना बाहिर आयो । प्रहरीसमेतको सहयोगमा संगीताको परिवारले वीरगन्जको माईस्थान मन्दिरमा बलात्कारी शिक्षकसँगै उनको बिहे गराइदियो । तर रामआधारको परिवार र गाउँका ‘भद्रभलाद्मी’ ले त्यस बिहेलाई मान्यता दिएपछि संगीताका बुबाले रामआधारविरुद्ध प्रहरीमा उजुरी दर्ता गराए  ।

रौतहट जिल्लाकै भसेडवा–६ की आठ वर्षीया रञ्जु कर्णलाई सोही गाउँको कमोद ठाकुरले गएको जेठ ३१ गते साँझ स्थानीय बकैया नदीको किनारमा लगेर जर्वजस्ती ग¥यो । रञ्जु पीडाले कराएको सुनेर गाउँलेहरू नदीछेउमा पुग्दा कमोद भाग्दै थियो । उनीहरूले उसलाई समातेर प्रहरीको जिम्मा लगाए तर बलात्कारी पक्षको दबाबका कारण रञ्जुको परिवारले मुद्दा फिर्ता लिएका छन ।

ज्यानै लिन थाले
दण्डसजायको डर हराउँदै गएकाले अपराधीहरू बलात्कारपछि हत्या गर्नसमेत संकोच मान्न छोडेका छन् । गत फागुन २ गते रौतहट, बगही–९ मा महेशी माझीकी सात वर्षीया छोरी सीमाकुमारी माझीको बलात्कारपछि घाँटी थिचेर हत्या भयो । सीमाका बुबा महेशीले अपराधी प्रभु माझीलाई अदालतमा पु¥याएपछि ऊ अहिले जिल्ला कारागारमा बीसवर्षे जेल सजाय भोग्दैछ ।

रौतहटकै औरिया–६ की २८ वर्षीया उषादेवी साह पनि गत भदौ १० गते बलात्कारकै कारण बलि चढिन् । सदरमुकाम गौर बजारबाट घर फर्कन लागेकी उनलाई टेम्पो ड्राइभर भगवानदास तत्माले एकान्तमा पु¥याई बलात्कारपछि हत्या गरेको थियो । पक्राउ परेपछि उसले भन्यो, ‘यौन संसर्ग गर्न नमानेपछि लडाइँ प¥यो, त्यसपछि जबर्जस्ती करणी गरें । अनि त्यो बाँची भने आफू पक्राउ पर्ने डरले मारेर त्यसको लास सिसौघारीमा फ्यालिदिएँ ।’

भगवानदास अहिले पुर्पक्षका लागि गौर कारकागारमा थुनिएको छ । मृतक उषादेवीका श्रीमान् हरिहर साह सिन्धुलीमा प्रहरी हबल्दार पदमा कार्यरत छन् । उनले बुट बजारेर सलाम ठोक्नुपर्ने, रौतहटका प्रहरी प्रमुख ठूले राईले यसलाई सामान्य घटना मानेका छन् । राई भन्छन्, ‘यो घटना कामवासना प्रेरित थियो, यसमा हत्या गर्ने पूर्वयोजना देखिएको छैन ।’

राईको ‘दृष्टिकोण’ बाट भगवानदासले निकै राहत अनुभव गरेको छ । किनभने यसमा कानूनी दाउपेच लुकेको छ । ‘हत्याको योजनाबद्ध नियत नरहेको’ आधारमा भगवानदासले उन्मुक्ति पाएको खबर हरिहर साहले पाए भने रौतहटमा उति आश्चर्य मानिने छैन ।

तर, मधेसकै संवेदनशील व्यक्ति भने मधेसमा बलात्कार र मिलापत्रको व्यवसाय चम्किन थालेको देखेर मर्माहत भएका छन् । मैथिली चलचित्रमा समाज सुधारकको भूमिका खेल्दै आएका प्रसिद्ध फिल्म अभिनेता मुरलीधर भन्छन्, ‘बलात्कार त जघन्य अपराध हुँदै हो, मिलापत्रका नाममा यसलाई समाजमै गुपचुप बनाउन खोज्नु अर्को जघन्य अपराध हो । यो परिपाटी घिनलाग्दो छ । यसले पीडितलाई न्याय पाउनबाट वञ्चित गरेको छ र पापीहरूको संरक्षण गरेको छ ।’ (सबै पीडितहरूको नाम/थर परिवर्तन गरिएको छ ।)

(शत्रुधन कुमार साह खोज पत्रकारिता केन्द्रसंग आवद्ध पत्रकार हुन । उनले तराईको महिला हिंसा सम्बन्धी खोजमुलक सामाचार तयार गर्दै आएका छन )

(२९ मंसीर, २०६९ को अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित)