Print Friendly, PDF & Email

सिन्धुपाल्चोकबाट दुबई र कुवेत जान कञ्चनपुरको बाटो किन प्रयोग हुँदैछ ? वैदेशिक रोजगारीको आवरणमा भइरहेको चेलीबेटी बेचबिखनको कथा ।

-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्रका लागि

भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने रुद्रपुरमा १ कात्तिक २०७४ मा सिन्धुपाल्चोकका ६ जना किशोरीलाई भारतीय प्रहरीले पक्राउ ग¥यो र कञ्चनपुरस्थित माइती नेपालको कार्यालयलाई जिम्मा लगायो । पक्राउ पर्ने टोलीमा एउटी यस्ती किशोरी थिइन्, जसको उमेर १४ वर्ष मात्र थियो । तर, नागरिकतामा भने उनी १९ वर्ष पुगेकी थिइन् । सिन्धुपाल्चोकको सेलाङ घर भएकी ती किशोरीले विदेश जान पाइने लोभमा दलालको सल्लाह मानेर आफ्नो उमेर बढाएकी थिइन् ।

त्यो टोलीमा अर्की किशोरी १८ वर्षकी थिइन्, तर नागरिकतामा उनको उमेर २० वर्ष लेखिएको थियो । हेलम्बूकी ती किशोरीले पनि दलालले भनेअनुसार उमेर बढाएर नागरिकता बनाएकी थिइन् । उनीहरूलाई उमेर बढाएर नागरिकता बनाउन उक्साउने व्यक्ति सिन्धुपाल्चोककै रमेश तामाङ थिए, जो अहिले काठमाडौंमा बस्छन् । दुवै किशोराकी आमालाई तामाङले ‘छोरीलाई विदेश लगेर राम्रो काममा लगाइदिने’ लोभ देखाएपछि उनीहरूको उमेर बढाएर नागरिकता बनाइएको थियो ।

सिन्धुपाल्चोकका किशोरी कञ्चनपुर हुँदै भारत पु¥याइएको यो पहिलो पटक होइन । माइती नेपाल कञ्चनपुर कार्यालयकी कार्यक्रम संयोजक महेश्वरी भट्टले सन् २०१६ देखि २०१७ को सेप्टेम्बरसम्ममा विभिन्न मुलुकमा बेचबिखनको लागि लैजान लागिएको अवस्थामा सिन्धुपाल्चोकका ५० जना किशोरीलाई उद्धार गरिएको जानकारी दिइन् । उनले भनिन्, “हामीले फेला पारेको संख्या मात्रै हो यो, लुकाई–छिपाई लगेका अरू कति होलान् कति ।”

दलालले देखाएको लोभमा परी उमेर बढाएर बनाइएका नागरिकता र राहदानीसहित सिन्धुपाल्चोकका चेलीहरू भारतमा पक्राउ परेका थिए । उनीहरूलाई पक्राउ गर्ने उत्तराखण्ड राज्यको रुद्रपुर प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, “नेपालबाट किशोरीहरूलाई विभिन्न बाटो भएर खाडी मुलुकमा घरेलु कामदारका लागि पठाउने गरिन्छ । नेपालमा यस कामका लागि भिसा नपाइने भएकाले उनीहरू दिल्ली विमानस्थल हुँदै जाने गन्तव्य तय गर्छन् ।”

भारतीय प्रहरीको विज्ञप्तिमा वैदेशिक रोजगारको नाममा ती किशोरीहरूलाई खाडी मुलुक पु¥याउने दलालहरूको नाम नै किटान गरिएको छ । विज्ञप्तिमा उल्लेख छ, “यो टोलीमा सिन्धुपाल्चोकका सोमबहादुर गोले, सिन्धुलीकी नानीमाया माझी र पर्साका विष्णु लोप्चन संलग्न छन् ।”

भारतीय प्रहरीको प्रेस विज्ञप्ति र नेपालका प्रहरी अधिकारीको बुझाइ एउटै छ– ‘चेलीबेटी ओसारपसार र बेचबिखनको शैली बदलिएको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) विमलराज कँडेल भन्छन्, “जिल्लामा तीन वर्षयता मानव बेचबिखन सम्बन्धी उजुरीहरू आएकै छैनन् ।” उनले थपे “उजुरी नआउनु भनेको अपराध नै भएको छैन भन्ने होइन, अपराध नयाँ शैलीमा भइरहेको छ ।” डीएसपी कँडेलका भनाइमा, “मानव तस्करहरूले हिजोआज कागजात बनाएरै चेलीबेटी बेच्ने गर्छन् । उनीहरूले आवश्यक सबै प्रक्रिया यसरी पूरा गर्छन् कि बेचबिखन हो भन्ने थाहा पाउन मुश्किल पर्छ ।”

उनका अनुसार, बेचबिखनमा पहिले जस्तो लुकीछिपी सीमा कटाउने, कुनै कोठीमा वा घरमा पु¥याएर अरू कसैलाई जिम्मा लगाउने, नगद लिने जस्ता कामहरू सोझै नभएर वैदेशिक रोजगारका नाममा हुने गर्छन् । कतिसम्म भने उमेर नपुगेका किशोरीलाई विदेश लैजान दलालहरूले उनीहरूको नागरिकता बनाउने प्रबन्ध समेत मिलाइदिन्छन् ।

वैदेशिक रोजगारमा अहिले ‘सेटिङ’ भन्ने शब्द खूबै चर्चामा छ । यो सब गर्न दलालले जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय जनप्रतिनिधिसँग समेत ‘सेटिङ’ मिलाउँछन् । नागरिकताका लागि वडा कार्यालयबाट उमेर बढाएर सिफारिश बनाइसकेपछि किशोरीहरू नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्छन् ।

सिन्धुपाल्चोक सेलाङकी कोपिला तामाङ (नाम परिवर्तन) ले १४ वर्षमा ५ वर्ष उमेर बढाएर नागरिकता बनाइन् । उमेर बढाएर नागरिकता बनाएपछि दलालकै योजना अनुसार उनले राहदानी पनि उमेर बढाएरै बनाइन् । भारतमा उनीहरूको उद्धार गर्ने माइती नेपालको कञ्चनपुरस्थित कार्यालयकी कार्यक्रम संयोजक महेश्वरी भट्ट भन्छिन्, “सिन्धुपाल्चोककै रमेश तामाङले विदेश जान सजिलो हुन्छ भन्दै कोपिला र उनकी आमालाई फकाएर जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नागरिकता र राहदानी निकाल्न लगाएका थिए ।”

दलालहरूले किशोरी र उनका अभिभावकलाई यतिसम्म आश्वस्त पारेका हुन्छन् कि, जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरू नागरिकता बनाउन आफ्नो उमेर पुगेको दाबी गर्छन् । जिल्ला प्रशासन कार्यालयका एकजना कर्मचारीकै भनाइमा, “शंका लागेर सोधपुछ गर्दा अभिभावक नै अघि सरेर ‘जन्माउने म, उमेर मलाई थाहा नभए कसलाई थाहा हुन्छ’ भन्न थालेपछि कर्मचारीहरूलाई थप प्रश्न गर्ने ठाउँ रहन्न ।”

उनीहरूले स्थानीय जनप्रतिनिधिको सिफारिश समेत लिएर आएका हुन्छन् । अनि सरकारी अधिकारीहरूलाई उमेरबारे शंका लागे पनि नागरिकता दिनैपर्ने बाध्यता आइलाग्छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले भने, “उमेर नपुगेको जस्तो लागेपछि हामी नागरिकता पछि बनाउँदा पनि हुन्छ, विदेश जानकै लागि उमेर ढाँटेर नागरिकता र पासपोर्ट नबनाउनुस् भन्छौं । तर, उनीहरूलाई यसरी तयार गरिएको हुन्छ कि जसरी पनि नागरिकता चाहियो भन्छन् ।”

प्रशासनबाटै नक्कली नागरिकता 

१२ वर्षदेखि बेपत्ता

क्रमशः सिन्धुपाल्चोक, इर्खुकी सम्झना तामाङ, सिम्पालकाभ्रेकी सोममाया लमिनी र दुवाचौरकी कान्छी तामाङ । तस्वीर सौजन्यः सामी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका (साबिक सिम्पालकाभ्रे गाविस) मा १२ वर्षअघि रामबहादुर बोम्जन तामाङ नामका दलाल पुगे । विदेश जान चाहने महिला खोज्दै हिंडेका उनले सिम्पालकाभ्रेकी सोममाया लमिनीलाई ‘कुवेत लगेर काम लगाइदिने’ लोभ देखाए, अनि सँगै लिएर गए । सोममाया १२ वर्षअघि घरबाट हिंडेदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।

आमा बेपत्ता भएपछि उनलाई खोज्दै कुमार लामा कुवेतसम्म पुगे । तर, केही अत्तोपत्तो लागेन । “आमालाई विदेश लैजाँदा १४ वर्षको थिएँ” २६ वर्षीय लामाले भने, “ठूलो भएपछि खोज्न कुवेतसम्म पुगें, तर पत्ता लगाउन सकिनँ ।” दलाल रामबहादुर बोम्जन तामाङको घर सिन्धुपाल्चोककै हेलम्बू गाउँपालिका (साबिक पालचोक गाविस) हो । अहिले उनी कुवेतमै बस्छन् ।

सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी नगरपालिका (साविक इर्खु गाविस) की सम्झना तामाङ ७ वर्षदेखि बेपत्ता छन् । वैदेशिक रोजगारको लागि भनेर २०६७ सालमा यूएई गएकी उनी त्यसयता सम्पर्कमा छैनन् । ९ वर्षअघि मलेशिया गएकी पाँचपोखरी थाङपाल गाउँपालिका (साबिक गुन्सा गाविस) की ५२ वर्षीया कान्छी तामाङको पनि अहिलेसम्म अत्तोपत्तो छैन ।

सिन्धुपाल्चोक, इचोककी सन्तोषी तामाङ (नाम परिवर्तन) लाई आठ वर्षको छँदा उनकी काकीले काममा लगाइदिन्छु भनेर भारतको दिल्ली लिएर गइन् । त्यहाँ राम्रो काम नपाएपछि उनले एकजना भारतीयको घरमा घरेलु श्रमिकको काम गर्न थालिन् । केही समयपछि नै उनीमाथि शोषण हुन थाल्यो । शारीरिक शोषणबाट विक्षिप्त बनेकी सन्तोषीले दिल्लीमै युवराज लामा नाम गरेका दलाललाई भेटिन् ।

युवराजलाई भेटेपछि सन्तोषीले ठानिन्– ‘अब विदेश जान पाइने भयो ।’ युवराजले उनलाई संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने आश्वासन दिए । तर, सन्तोषीसँग नागरिकता र राहदानी थिएन । नागरिकता र राहदानी बनाइदिन युवराज सन्तोषीलाई लिएर सिन्धुपाल्चोक आए । सन्तोषीसँगै युवराजले अरू चार युवतीलाई पनि सिन्धुपाल्चोक ल्याएका थिए । उनीहरूलाई चौताराको एक होटलमा राखियो । सन्तोषीले २३ असोज २०७४ मा सिन्धुपाल्चोक प्रहरीलाई दिएको बयानमा भनेकी छन्, “एक घन्टाभित्रै युवराज दाइले पाँच जनाको नागरिकता र पासपोर्ट ल्याउनुभो । त्यसपछि हामीलाई दिल्ली नलगी मुम्बई लैजानुभयो ।”

सिन्धुपाल्चोक प्रहरीका अनुसार, मुम्बई पुगेको दुई हप्तापछि सन्तोषी बाहेक अरू चार युवतीलाई युवराजले दुबई पठाए । सन्तोषीलाई दुई÷तीन वर्ष साथमै राखे । सन्तोषी र युवराजको सम्बन्धबाट एउटा बच्चा पनि जन्मियो । सिन्धुपाल्चोक प्रहरीलाई सन्तोषीले बताए अनुसार, तीन वर्षको भएको उनको बच्चा युवराजले अरू कसैलाई बेचिदिए र उनलाई दुबई पठाए ।

दुबईमा केही समय काम गरेपछि छुट्टी लिएर नेपाल फर्किने क्रममा भारतको सिलगुडीमा सन्तोषीको राहदानी हरायो । फेरि दुबई फर्किन उनलाई राहदानी चाहिन्थ्यो । अर्को राहदानी बनाउन २०७४ असोजमा उनी काठमाडौं गइन् । राहदानी विभागमा फारम बुझाउँदा फाँटवालाले सक्कली नागरिकता मागे । सन्तोषीले नागरिकता बुझाइन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अभिलेखसँग भिडाउँदा थाहा भयो, उनको नागरिकता किर्ते रहेछ ।

सन्तोषी पक्राउ परिन् । सिन्धुपाल्चोक प्रहरीमा दिएको बयानमा उनले भनेकी छन्, “नागरिकतामा सहीछाप मैले गरेकी हुँ, म आफैं सिडिओ कार्यालयमा गएकी चाहिं थिइनँ ।” उनले युवराजले नागरिकता बनाएर होटलमै ल्याइदिएको र आफूले होटलमै सहीछाप गरिदिएको बताइन् । प्रहरी अनुसन्धानले सो नागरिकतामा प्रशासकीय अधिकृतको हैसियतमा हस्ताक्षर गर्ने प्रभाकर आचार्य नामका व्यक्ति सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा हालसम्म कार्यरत छैनन् । सन्तोषीको नागरिकता नम्बर पनि कार्यालयको ढड्डामै नभएको नम्बर हो ।

तर, नागरिकतामा भएको सरकारी छाप र होलोग्राम भने सक्कली थियो । यसले के देखाउँछ भने चाहिए अनुसारको नागरिकता र पासपोर्ट बनाउन दलालहरूले जिल्ला प्रशासन कार्यालयदेखि राहदानी विभागसम्मै ‘च्यानल’ मिलाएका छन् । सिन्धुपाल्चोकका डीएसपी कँडेल भन्छन्, “चानचुने मान्छेले यो काम गर्नै सक्दैन । युवराज लामा भन्ने व्यक्ति ठूलै गिरोहमा संलग्न हुनुपर्छ ।” कँडेलका बुझाइमा, जिल्ला प्रशासन कार्यालयहरू, राहदानी विभाग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत च्यानल नभई यस्तो काम गर्न सम्भव छैन ।

दलालहरूले ‘सेटिङ्ग’ मिलाउँदा खूबै होश पु¥याएको देखिन्छ । यस्ता नागरिकता र राहदानीमा हुने होलोग्राम र सरकारी छाप सक्कली नै हुँदोरहेछ । सिन्धुपाल्चोकमा नागरिकता जारी गर्ने अधिकारीको ठाउँमा हुँदै नभएको मान्छेको नाम उल्लेख भएको भेटियो । यसो गर्दा नागरिकता र राहदानी किर्ते गर्ने दलाल र उनीहरूसँग मिलेमतो गर्ने सरकारी अधिकारी को हुन् भन्ने पत्ता लगाउन सजिलो हुन्न ।

नागरिकता र राहदानीमा सम्बन्धित व्यक्तिको हस्ताक्षर र औंठाछाप सक्कली हुने भएकोले विमानस्थलहरूमा विश्वास गर्ने सम्भावना धेरै हुन्छ । यसरी ‘चोरबाटो’ बाट बनाइएका नागरिकता तथा राहदानी दलालहरूले आफूसँग राख्ने गर्दा रहेछन् । जस्तो कि, यूएई पठाउनु छ भने विमानस्थलमा पुगेपछि मात्रै सम्बन्धित व्यक्तिलाई राहदानी र नागरिकता दिइन्छ । ताकि, त्यसभन्दा अघि आफ्नो अपराध ‘लिक’ नहोस् ।

मोबाइलमा भिसा, फोटोमा मोलतोल

विदेशमा राम्रो काम पाइन्छ भनेर किशोरी र तिनका अभिभावकहरूलाई लोभ देखाए पनि दलालको वास्तविक धन्दा चाहिं अर्कै हुने गर्छ । कतिसम्म भने, उनीहरू किशोरीको तस्वीर देखाएर यो केटी उपलब्ध गराइदिन्छु भनेर पनि कारोबार गरिरहेका हुँदारहेछन् । वैदेशिक रोजगारको नाममा लामो समयदेखि चेलीबेटी बेचबिखनमा संलग्न पर्साका विष्णु लोप्चनले भारतीय प्रहरीलाई आफूले नेपाली युवतीहरूका तस्वीर पठाएर विदेशी ग्राहकसँग मोलमोलाइ गर्ने गरेको स्वीकार गरेका छन् ।

भारतीय प्रहरीको हिरासतमा रहेका लोप्चनले बयानमा कसरी चेलीबेटी विदेश पठाउने गरिन्छ भन्ने गुह्य खोलेका छन् । भारतीय प्रहरी टोलीसँगको समन्वयमा काम गरिरहेकी माइती नेपालको कञ्चनपुरस्थित कार्यालयकी प्रमुख महेश्वरी भट्टले लोप्चनले भारतीय प्रहरीमा दिएको बयान हेरेकी छन् । उनका भनाइमा, लोप्चनले भारतीय प्रहरीसँगको बयानमा ‘केटीका फोटोहरू दुबईका ग्राहकलाई पठाउँछु, जुन राम्रो मान्छन् उसैलाई पठाउने हो, त्यसबापत राम्रो रकम पाइन्छ’ भनेका छन् ।

भारतीय प्रहरीको विज्ञप्तिबाट पनि यसको पुष्टि हुन्छ । लोप्चनले भारतीय प्रहरीसँगको बयानमा ‘विदेश जान चाहने युवतीका तस्वीरहरू संकलन गरी यूएईका शेखहरूलाई पठाउने र उनीहरूले जुन मन पराउँछन् उसलाई विदेश पठाउने गरेको’ उल्लेख गरेका छन् । पक्राउ परेकाहरूले दिएको बयान भन्दै भारतीय प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा ‘उनीहरूको भिसा मोबाइलमा आउँछ, त्यसपछि पठाइएका किशोरीहरू के गर्छन् ? फर्किन्छन् वा फर्किन्नन् हामीलाई थाहा हुन्न’ भनेको उल्लेख छ ।

कुनै वेला चेलीबेटी बेचबिखनको गन्तव्य भारत हुने गथ्र्यो । अब, भारत मात्र त्यो गन्तव्य रहेन । अहिले सिन्धुपाल्चोकका चेलीबेटी बेचिने मुख्य गन्तव्य खाडी मुलुक बनेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार, वैदेशिक रोजगारका नाममा यहाँका चेलीबेटी ओमन, मलेशिया, यूएई, कतार, कीर्गिस्तान, कुवेत, साउदी अरेबिया, सिरिया, लेबनानलगायतका देशमा समेत गइरहेका छन् । प्रशासकीय अधिकृत पाण्डे भन्छन्, “हेर्दा दलाल वा म्यानपावर कम्पनीबाट रोजगारीको लागि विदेश गएको जस्तो देखिन्छ । वास्तविकता बेचबिखन नै हो ।”

नेपालमा चेलीबेटी बेचबिखन धेरै हुने जिल्लाका रूपमा चिनिन्छ, सिन्धुपाल्चोक । प्रहरीको अभिलेख अनुसार वि.सं. २००० मा यहाँ पहिलोपल्ट चेलीबेटी बेचबिखनमा उजुरी दर्ता भएको थियो । सिन्धुपाल्चोकको उत्तरी भेगका गाउँबाट तुलनात्मक रूपमा धेरै किशोरी बेचबिखनमा पर्ने गरेको प्रहरी र प्रशासनको बुझाइ छ । कारण, ती गाउँहरूमा गरीबी व्याप्त छ, चेतनाको कमी छ । प्रहरीको उपस्थिति कम हुने भएकोले दलालले उनीहरूलाई निर्धक्क प्रलोभनमा पार्न सक्छन् । बेचिनेहरूमा प्रायः तामाङ समुदायका किशोरी र युवती छन् ।

प्रहरी तथ्याङ्क हेर्दा, हेलम्बू गाउँपालिका अन्तर्गतका हेलम्बू, इचोक र महाँकाल, जुगल गाउँपालिकाका गोल्चे, गुम्बा र हगाम तथा पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गतका बासखर्क, बरुवा, भोताङ, गुन्सा, थाङपालकोटलगायतका गाउँका धेरै चेलीबेटी बेचबिखनमा परेका छन् । “नपढेका र गरीब परिवारलाई फकाउन दलाललाई सजिलो हुन्छ” जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव निरीक्षक ख्याली सिंहले भने, “यस्ता सोझा महिला बेचबिखनमा धेरै पर्ने गरेका छन् ।”

महिलाहरू वैदेशिक रोजगारमा धेरै जाने जिल्लामा झापापछि दोस्रो नम्बरमा पर्छ, सिन्धुपाल्चोक । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०६७ सालयता सिन्धुपाल्चोकका ७ हजार ७७० महिला वैदेशिक रोजगारका लागि भनेर विभिन्न देशमा गएका छन् । २०७३÷७४ मा मात्रै सिन्धुपाल्चोकका दुई हजार २० जना महिला वैदेशिक रोजगारमा गएको तथ्याङ्क विभागसँग छ । तर, सूचना परामर्श लिएर, सीप सिकेर विदेश जाने महिलाको संख्या निकै कम छ । वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी), सिन्धुपाल्चोकका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७३/७४ सम्म जम्मा १४४ जनाले मात्र विदेश जानुपूर्व सीप सिकेका छन् । यसरी सीप र सूचना बेगर दलालहरूको फन्दामा परेर विदेश गएका महिला अनेक समस्यामा पर्छन् ।

सामी, सिन्धुपाल्चोककी संयोजक रीना श्रेष्ठले रोजगारीको लागि भन्दै विदेशमा बेचिएका महिलामाथि यौनशोषण लगायतका शारीरिक शोषण हुने गरेको, तोकिएको भन्दा वेग्लै र अप्ठेरो काममा लगाउने गरिएको बताइन् । महिलाहरू वैदेशिक रोजगारको नाममा बेचिएका, बेपत्ता भएका, ठगिएका, राहदानीलगायतका महत्वपूर्ण कागजात जफत गरिएका र ज्यान समेत गुमाएका घटना सामी कार्यालयमा दर्ता भएका छन् । श्रेष्ठका अनुसार, २०७१÷७२ यता मात्र ८३ वटा यस्ता घटना दर्ता भएका छन्, जसमध्ये पाँचजना महिला अहिलेसम्म बेपत्ता छन् ।

कानूनी प्रश्न : बेचबिखन कि ठगी ?

चेलीबेटी बेचबिखनको हिजोको तौरतरिका पूरै बदलिएको छ । अब त्यो सब वैदेशिक रोजगारको आवरणमा हुन थालेको छ । र, वैदेशिक रोजगारकै नाममा मानव बेचबिखन, ओसारपसार र तस्करी भइरहेको छ । तर, यी विषयलाई कसरी सम्बोधन गर्ने भन्ने व्यवस्था विद्यमान कानूनमा छैन । मानव बेचबिखनको यो नयाँ स्वरुपलाई न ‘वैदेशिक रोजगार ऐन २०६४’ ले समेट्छ, न ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४’ ले । वैदेशिक रोजगार ऐनमा मानव बेचबिखनबारे केही उल्लेख छैन । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमा वैदेशिक रोजगारको नाममा हुने बेचबिखनलाई स्पष्ट पारिएको छैन । त्यहीकारण वैदेशिक रोजगारको नाममा मानव बेचबिखन गर्नेमाथि कुन कानून आकर्षित हुने र कस्तो कारबाही हुने भन्ने अन्योल छ । यसले गर्दा मानव तस्करहरूले वैदेशिक रोजगारको नाममा मानव बेचबिखन गर्ने छूट पाइरहेका छन् ।

२०७४ कात्तिक १ गते भारत उत्तराखण्डको रुद्रपुरबाट भारतीय प्रहरी र माइती नेपाल, कञ्चनपुरले उद्धार गरेका किशोरीहरु र प्रहरीले जारी गरेको प्रेस विज्ञप्ती । तस्वीर सौजन्यः माइती नेपाल कञ्चनपुर कार्यालय

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४’ अनुसार मानव बेचबिखन भन्नाले महिला तथा बालबालिकालाई यौन शोषणको लागि बेच्नु भन्ने बुझिन्छ । ऐनमा उल्लिखित मानव बेचबिखन सम्बन्धी परिभाषाले रोजगारीको नाममा अहिले भइरहेको बेचबिखनलाई समेट्दैन । ‘वैदेशिक रोजगार ऐन २०६४’ ले वैदेशिक रोजगारको नाममा हुने बेचबिखनका घटनालाई ठगीको रूपमा परिभाषित गर्छ । अर्थात्, वैदेशिक रोजगारको लागि भन्दै विदेशमा लगेर बेचबिखन गर्ने कार्य कानूनतः ‘व्यक्ति वा म्यानपावर कम्पनीको ठगी’ मात्रै हो भन्ने बुझिन्छ ।

वैदेशिक रोजगारमा गएकाहरू बेचबिखनमा पर्दा समेत दलाललाई वैदेशिक रोजगार सम्बन्धी ऐनअन्तर्गत कारबाही हुँदा कम सजाय हुने गर्छ । कानूनतः मानव बेचबिखनको कसूरमा २० वर्ष कैद सजाय हुने व्यवस्था भए पनि वैदेशिक रोजगारमा ठगी गरेको कसूरमा भने ३ देखि ७ वर्षसम्म मात्रै कैद हुने व्यवस्था छ ।

वैदेशिक रोजगारका नाममा भइरहेको मानव बेचबिखनलाई ठगी भन्ने कि बेचबिखन भन्नेबारे ऐनमै रहेको विरोधाभास अन्त्य गर्न वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रिया चलिरहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी मोहन अधिकारी बताउँछन् ।

“संशोधित मस्यौदा कानून मन्त्रालय पठाइएको छ” अधिकारी भन्छन्, “अहिले संसद् नरहेकाले अलपत्र प¥यो, अब चुनावपछि संशोधन होला ।” महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी उपसचिव रोसनीदेवी कार्कीले पनि ऐनमा रहेको अन्योल हटाउन मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधनको तयारी भइरहेको बताइन् । कार्कीका अनुसार, विकराल बन्दै गइरहेको मानव बेचबिखनको समस्या सम्बोधनका लागि मन्त्रालयले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।

गैरसरकारी संस्था केआई नेपालकी अध्यक्ष प्रभा घिमिरे मानव बेचबिखन भनेको यौन शोषणका लागि महिला बेच्ने कार्य हो भन्ने बुझाइले गर्दा वैदेशिक रोजगारका नाममा चेलीबेटी बेच्नेहरूलाई कारबाही गर्न अप्ठेरो भइरहेको बताउँछिन् ।

घिमिरेले भनिन्, “बेचबिखनको शैली फेरिएकाले वैदेशिक रोजगार, मानव बेचबिखन, ओसारपसार र मानव तस्करीबीचको अन्तरसम्बन्धलाई बुझेर नयाँ ऐनमा कारबाहीको प्रष्ट व्यवस्था गरिनुपर्छ ।”

सुरक्षित वैदेशिक रोजगारीको अभियान चलाउँदै आएको गैरसरकारी संस्था पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ्ग बेचबिखनलाई ठगीमा मात्रै कारबाही हुनु पीडकलाई जोगाउनु हो भन्ने ठान्छिन् । “पासपोर्ट लिएर विदेश गए पनि यो बेचबिखन नै हो” उनले भनिन्, “रोजगारीको अनुमति पत्र नदिने तर पासपोर्ट हातमा थमाएर लुकीचोरी विदेश पठाउने कामलाई ठगी मात्रै भन्नु हुन्न ।”