Print Friendly, PDF & Email

स्थानीय तह निर्वाचनमा मेयर र गाउँपालिका अध्यक्ष भएका प्रदेश–७ का जनप्रतिनिधि आफैंले ठेक्का लिएको काम समयमा पूरा नगरेर आलोचित हुँदैछन् ।

निमेन्द्र शाही, बाजुरा : खोज पत्रकारिता केन्द्रका लागि

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ मा निर्माणाधिन काँडा स्वास्थ्य चौकी भवन ।

डडेल्धुराको राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीमबहादुर साउद अहिले परशुराम नगरपालिकाका मेयर छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि बनेका साउदको वर्षौं अघिदेखिको पेशा ठेकेदारी हो । सुदूरपश्चिममा हुने विकास निर्माण आयोजनाको ठेक्का साउदको निर्माण कम्पनीले हत्पती छुटाउँदैन । तर, उसका कुनै पनि योजना समयमा पूरा हुँदैनन् ।

साउदकै कम्पनीले ठेक्का लिएको एउटा आयोजना हो, बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ को काँडा स्वास्थ्य चौकीको भवन । भवन निर्माण हुन शुरू भएको ६ वर्ष बितिसक्यो, अझै बनिसकेको छैन । साउदको राजेन्द्र निर्माण सेवा प्रालिले २८ भदौ २०६८ मा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, डोटीसँग १५ महीनाभित्र (२०६९ मंसीर मसान्तसम्म) निर्माण सक्ने गरी खरीद सम्झौता गरेको थियो । तर, चार पटकसम्म म्याद थप्दा पनि स्वास्थ्य चौकी भवन बन्न सकेको छैन ।

भवन निर्माण तथा शहरी विकास विभाग, डोटीले ३० वैशाख २०७३ मा चौथो पटक म्याद थप गरेको थियो । तोकिएको मितिमा निर्माण कार्य नसकेपछि शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, डोटीले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न राजेन्द्र निर्माण सेवा प्रालिलाई पटकपटक लिखित र मौखिक निर्देशन दिएको छ । तर पनि उसले वास्ता गरेको छैन । डिभिजन कार्यालय डोटीका डिभिजन प्रमुख झप्परसिंह विश्वकर्माले साउदलाई २ भदौ २०७४ मा लेखेको पत्रमा भनिएको छ, “अन्यथा कालोसूचीमा राख्ने प्रक्रिया शुरू गरिनेछ ।”

स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीय बासिन्दा स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् । काँडा स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले निर्माणको जिम्मा लिएपछि ठेकेदारलाई आफूले नदेखेको बताए । यादवले भने, “स्वास्थ्य चौकी नबन्दा जनतालाई उपचार गर्न कठिनाई भइरहेको छ ।” अनमी मनदेवी बुढाले भनिन्, “स्वास्थ्य चौकी निर्माण नहुँदा महिलालाई निकै दुःख छ । खासगरी गर्भजाँच र परिवार नियोजनको सल्लाह लिन आउन समस्या छ । अहिले हामी सुत्केरीलाई खुला चौरमा राखेर प्रसूति सेवा दिइरहेका छौं ।”

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडाका वडा अध्यक्ष वीरबहादुर रावलले स्वास्थ्य चौकी समेत नबनाउने व्यक्ति नगरपालिकाको मेयर भएकोमा असन्तुष्टि पोखे । उनले भने “ठेकेदार आफू त मेयर भए, तर हाम्रो वडाको स्वास्थ्य चौकी बनाउलान् भन्ने आश छैन ।” भवन तथा सहकारी डिभिजन कार्यालय, दिपायलको आर्थिक सहयोगमा झण्डै रु.१ करोड ६५ लाखको लगानीमा काँडा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो । २२ मंसीर २०७४ मा भएको सार्वजनिक सुनुवाइमा पनि स्थानीयले यो भवन निर्माण हुन नसक्नुको कारण बताउन वडा कार्यालयलाई दबाब दिएका थिए ।

६० मिटरको पुल बन्न ६ वर्ष !

साँफे–मार्तडी सडकखण्ड अन्र्तगत गुइगाड खोलाको पुल ।

भीमबहादुर साउदकै निर्माण कम्पनीले जिम्मा लिएको अछामको अर्को विकास योजना पनि अलपत्र छ । अछामको साँफेबगरबाट बाजुराको मार्तडी जोड्ने सडकमा पर्ने गुइगाड खोलाको पुल निर्माण शुरू भएको ६ वर्ष बित्यो । २०६८ असारमा सम्झौता भएर साउदको कम्पनीले दुई वर्ष भित्र (अर्थात् २०७० असार मसान्तसम्म) सक्ने शर्तमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । ६० मिटर लामो पुल बनाउन पाँच पटक म्याद थप भइसकेको छ, तर निर्माण कार्य सकिएको छैन ।

पहिलो पटक २०७० असारमा एक वर्ष अर्थात् २०७१ असारसम्मको लागि म्याद थपियो । दोस्रो पटक २०७१ माघ मसान्तसम्मका लागि ७ महीना म्याद थप गरियो । तेस्रो पटक एक वर्ष अर्थात् २०७१ चैतबाट २०७२ चैत मसान्तभित्र सम्पन्न गर्नका लागि म्याद थपियो । चौथो पटक ६ महीनाको समय (२०७३ वैशाखबाट २०७३ कात्तिक मसान्तसम्म) को लागि म्याद थप गरियो । पाँचौंपटक तीन महीनाको लागि म्याद थपियो । साँफे–मार्तडी सडक डिभिजन कार्यालयका लेखा अधिकृत युवराज पौडेल भन्छन्, “यति गर्दा पनि अहिलेसम्म काम सकिएको छैन ।”

निर्माण कार्य भइरहेको बेला भूकम्प गएको र मजदूरहरू घर फर्किएकोले ढिलो भएको राजेन्द्र निर्माण सेवा, बाजुरा इन्चार्ज नरेन्द्र ओलीले बताए । “सामान ल्याउने ठाउँ बन्द भएको र भूकम्पले गर्दा ढिलाइ भएको हो” ओलीले भने, “२०७४ फागुनसम्ममा पुल बनाइसक्ने योजना छ ।” साँफे–मार्तडी सडक डिभिजन कार्यालयका लेखा अधिकृत पौडेलका अनुसार गुइगाड खोलाको पुल निर्माणका लागि रु.५ करोड २७ लाख ५४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

मेयरको ठेकेदारी

बाजुराको बूढीनन्दा नगरपालिकाका मेयर पदमकुमार गिरी आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् । जनप्रतिनिधि बनेपछि पनि उनले ठेकेदारीको काम गर्न छोडेका छैनन् । मेयर गिरीको निर्माण सेवा प्रालिले अहिले बाजुरामा मात्र आठ वटा ठेक्काको काम गरिरहेको छ ।

जनप्रतिनिधि र तिनका निर्माण कम्पनी

गिरी आफू मेयर भएपछि अरू ठेकेदार कम्पनीको नामबाट काम गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराको भवन निर्माणको काम अहिले गिरीकै कम्पनीका उपकरणहरू प्रयोग गरेर भइरहेको छ । तर त्यो ठेक्का जालपा निर्माण सेवाको नाममा छ । यस्तै भारतीय सहयोगमा बन्दै गरेको कोल्टीस्थित जनप्रकाश उच्च माविको भवन, जडांगा, ब्रह्मतोला, आटीचौर र जगन्नाथका स्वास्थ्य चौकीको भवन निर्माणको काम भइरहेको छ । यसमा पनि मेयर गिरीको कम्पनीका उपकरण र जनशक्ति प्रयोग गरिएको छ । तर ठेक्का भने जालपा निर्माण सेवाको नाममा छ ।

मेयर गिरीले जिल्लाका निर्माण कार्यहरूमा आफ्ना उपकरण र जनशक्ति प्रयोग भएको स्वीकारे । “भइरहेका निर्माण कार्यमा मेरा उपकरण र जनशक्ति प्रयोग भइरहेका छन्” गिरीले भने, “तर मेरो फर्मको नाममा ठेक्का सम्झौता छैन ।”

अलपत्र सिंचाइ योजना

डोटीको गैरागाउँ पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमरबहादुर चेयडा चन्द्रलक्ष्मी निर्माण सेवा प्रालिका सञ्चालक हुन् । उनको कम्पनीले निर्माण गर्ने जिम्मा लिएको चिण्डीगाड सिंचाइ योजना अहिले अलपत्र छ । २०७३ असारमा एक वर्षभित्रमा सक्ने गरी सिंचाइ डिभिजन कार्यालय, डोटीसँग सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण कार्य नसकेपछि सात महीना म्याद थपिएको सिंचाइ डिभिजन कार्यालय, डोटीका इन्जिनियर ललित मालीले जानकारी दिए । मालीले भने, “विभिन्न बहाना बनाएर ठेकेदारहरूले म्याद थपेको थप्यै गर्छन् ।”

थपिएको म्याद पनि २०७४ पुस मसान्तमा सकिंदैछ । चन्द्रलक्ष्मी निर्माण सेवाका सञ्चालक चेयडाले गाउँमा कामदार नपाइएकोले निर्माण कार्य ढिलो भएको बताए । “गाउँमा कामदार नै पाइँदैन” चेयडाले भने, “स्थानीयलाई सबै कुरा बताएर र पारदर्शी रूपमा गर्नुपर्ने भएकोले प्रक्रिया लम्बिरहेको छ ।”

३० ठेकेदार जनप्रतिनिधि

प्रदेश–७ का ९ वटा जिल्लामा स्थानीय तह निर्वाचनबाट ३० ठेकेदार जनप्रतिनिधिको रूपमा निर्वाचित भएका छन् । निर्माण व्यवसायी संघ, क्षेत्रीय कार्यालय धनगढीको अभिलेख अनुसार प्रदेश–७ का सबै जिल्लाका कुनै न कुनै स्थानीय तहमा ठेकेदार जनप्रतिनिधि छन् ।
कैलालीमा एक जना ठेकेदार वडा अध्यक्ष र दुई जना वडा सदस्य छन् ।

कञ्चनपुरमा तीन जना ठेकेदार वडा अध्यक्ष र एक जना वडा सदस्य भएका छन् । बझाङमा एक जना ठेकेदार गाउँपालिका अध्यक्ष, पाँच जना वडा अध्यक्ष र एक जना वडा सदस्य गरी जम्मा सात जना निर्वाचित भएका छन् । डोटीमा एक जना गाउँपालिका उपाध्यक्ष, चार जना वडा अध्यक्ष र एक जना वडा सदस्य गरी ६ जना ठेकेदार जनप्रतिनिधिको रूपमा रहेका छन् ।

बाजुरामा पाँच जना ठेकेदारमध्ये तीन जना गाउँपालिका प्रमुख छन् भने दुई जना वडा अध्यक्ष छन् । बैतडीमा एक जना वडा अध्यक्ष ठेकेदार छन् । दार्चुलामा एक जना मेयर र दुई जना वडा अध्यक्ष ठेकेदार छन् । डडेल्धुरामा सात जना ठेकेदारहरू जनप्रतिनिधि छन् । जसमध्ये दुई जना गाउँपालिका अध्यक्ष, दुई जना वडा अध्यक्ष, तीन जना सदस्यका रूपमा निर्वाचित छन् । अछाममा जिल्ला समन्वय समितिका प्रमुख र एकजना वडा सदस्य गरी दुई जना ठेकेदारहरू निर्वाचित भएका छन् ।

स्रोत : क्षेत्रीय निर्माण व्यवसायी संघ, धनगढी