सप्तरी घटना : प्रतिष्ठाको लडाईं र सुरक्षा लापरवाही

31 views

Print Friendly, PDF & Email

सप्तरीमा एमाले सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो । पाँच नागरिक मारिए । एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन ।

-सरोजराज अधिकारी:  सप्तरीबाट फर्केर खोज पत्रकारिता केन्द्रका लागि 

२३ फागुन २०७३: मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची–काली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सभा गरिरहेको थियो । एमालेलाई मधेश छिर्नै नदिने घोषित नीति लिएको मधेशी मोर्चाले त्यसभन्दा करीब ३०० मिटर दक्षिणको मलेठ चोकमा विरोध प्रदर्शन गरिरहेको थियो । दिउँसोको करीब ४.४५ बजेतिर एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सकिनै लाग्दा प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप भयो ।  

झडपमा सुरक्षा निकायले चलाएको गोलीबाट सन्जन मेहताको घटनास्थलमै मृत्यु भयो । गोली लागेर सख्त घाइते पीताम्बरलाल मण्डल र आनन्द साहको पनि सोही दिन उपचारका क्रममा मृत्यु भयो । गम्भीर घाइतेमध्ये वीरेन्द्र महतो र इनरदेव यादवको भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा क्रमशः २५ र २७ फागुनमा मृत्यु भयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार, आन्दोलनकारीतर्फका ३५ घाइतेमध्ये पाँच जनाको निधन भएको छ भने चार जना उपचाररत –शनिबारसम्म) छन् । त्यसैगरी सुरक्षा निकायतर्फ नेपाल प्रहरीका १४ र सशस्त्र प्रहरीका १७ गरी ३१ घाइते उपचारपछि काममा फर्किसकेका छन् । 

घटनापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिवेश लोहनी, डीएसपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनीहरूको स्थानमा प्रजिअ कृष्ण कटवाल, प्रहरीतर्फ एसपी अनुराग द्विवेदी र सशस्त्रतर्फ रामाधर यादवले यतिखेर सप्तरीको सुरक्षा मोर्चा सम्हालिरहेका छन् । यसैबीच घटनाको भोलिपल्ट नै क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले छानबीनका लागि अञ्चल प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम कार्कीको संयोजकत्वमा छानबीन टोली गठन गरेको छ । टोलीमा पूर्वक्षेत्रीय प्रहरी गणका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझी सदस्य छन् । 

कसरी भयो घटना ?

पूर्वघोषित कार्यक्रम अनुसार एमालेका सबै नेताले आ–आफ्नो मन्तव्य राखिसकेका थिए । करीब पौने पाँच बजेको थियो । एमाले सचिव योगेश भट्टराईले भाषण गरिरहेका अध्यक्ष ओलीको नजिकै गएर केही अनिष्टको संकेत गरे । ओलीले पनि परिस्थिति बुझेर आफ्नो मन्तव्य छोट्याए । त्यसको केही मिनेटअघि मात्रै सुरक्षा निकायबाट गोली चलिसकेको सूचना भट्टराईसम्म पुगिसकेको थियो । गुप्तचर स्रोतका अनुसार एमालेको कार्यक्रम शुरू हुनुअघि मलेठमा करीब ३०० को संख्यामा मात्रै मोर्चासम्बद्ध प्रदर्शनकारी थिए । ओलीको मन्तव्य नजिकिंदै जाँदा ५०० को संख्यामा पुगेका प्रदर्शनकारी गोली चलेसँगै तीनै दिशामा जम्मा हुँदा १५ सयको हाराहारीमा पुगेका थिए । करीब एक हजार दक्षिणतिरको मलेठ चोकमा केन्द्रित थिए भने औद्योगिक क्षेत्र भवनको पूर्वतिरको फराकिलो गहुँबारीमा २०–२५ समूहमा छरिएर करीब ४०० र पश्चिमतर्फ करीब १०० जति थिए । गुप्तचर स्रोतका अनुसार एमाले सभामा सुनसरी र बाटोबाट समेत गरी करिव तीन हजार र सदरमुकाम राजविराज तथा आसपासका क्षेत्रबाट ५–७ सय सहभागी थिए । सभामा सहभागी हुन आएका कतिपय महिला, वृद्धवृद्धालाई मोर्चा कार्यकर्ताले कुटपिट गरी बाटोबाटै फर्काइदिएको एमालेको भ्रातृसंगठन युवा संघ केन्द्रीय सचिवालय सदस्य निरन्जन झाले बताए । उनले भने “त्यसपछि हामी युवाहरूको समूह मोर्चाको निषेध तोड्न झण्डा, झण्डाभित्र डण्डा बोकेर गयौं ।”  

घटनापछि काठमाडौं झिकाइएका एसपी दिवेश लोहनीका अनुसार एमाले सभास्थल र घटनास्थलमा मात्र नेपाल प्रहरीका लगभग ७५० र सशस्त्रका ४५० गरी करीब १२ सय सुरक्षाकर्मी परिचालित थिए । सभा र प्रदर्शनलाई मध्यनजर गरेर सीमावर्ती जिल्लाबाट ७०० प्रहरी र ५०० सशस्त्र प्रहरी झिकाइएको थियो । सुरक्षा निकायलाई आत्मरक्षा गर्नुपर्ने अवस्थामा मात्र गोली चलाउनु भन्ने ‘माथि’ को आदेश थियो । मलेठ चोकमा मात्र ४५० प्रहरी र २५० को हाराहारीमा सशस्त्र प्रहरी थिए । तर प्रदर्शनकारीले त्यो सुरक्षा घेरासमेत तोडेर सभास्थल औद्योगिक क्षेत्रको पर्खाल नाघ्ने प्रयास गरेपछि ‘अप्रत्यासित’ अवस्था सिर्जना भएको लोहनीको भनाइ छ । 


3-min

तस्बिर- श्यामसुन्दर यादव

घटनास्थलमा खटिएका केहि जुनियर प्रहरी अधिकृतहरुले अहिलेसम्म प्रकाशमा नआएको एउटा विवरण सुनाए । झडप चर्किंदै जाँदा प्रदर्शनकारीले सशस्त्रका एसपी जयबहादुर खड्काको पेस्तोल खोसे । सशस्त्र फौज तुरुन्तै आफ्ना एसपीको पेस्तोल फिर्ता लिन सफल पनि भयो । तर त्यसबीचमै खड्का र प्रजिअबीचको संवादपछि सशस्त्र प्रहरीले ‘फायर’ खोल्यो । घटनामा नेपाल प्रहरीका एक जुनियर अधिकृतको वाकीटकी सेट पनि खोसिएको थियो, जुन ४ चैतसम्म फेला परेको छैन । 

“पोस्टमोर्टम रिपोर्ट र छानबीन समितिले पनि पत्ता लगाउला तर मृतकमध्ये कोही पनि नेपाल प्रहरीको गोलीबाट मरेका छैनन्”, ती अधिकृतले भने । स्रोतका अनुसार प्रहरीले ९० थान रबर बुलेट लगेको थियो, त्यसमध्ये ९ वटा मात्र प्रहार भएको छ । अश्रुग्याँस भने व्यापक मात्रामा प्रयोग भएको थियो, घटनास्थलमा । कार्यक्रममा सहभागी सुनसरी–२ का एमाले सांसद् रेवतीरमण भण्डारी भन्छन्, “हामी निस्कँदा अश्रुग्याँसका कारण दक्षिणतिरकोे आकाश कुहिरीमण्डल जस्तै भएको थियो ।” 

फिर्ता बोलाइएका तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले स्थिति नियन्त्रणबाहिर जान थालेपछि गोली चलाउनु परेको बताए । तर, कुन सुरक्षा निकायले ‘फायर’ खोलेको भन्ने सम्बन्धमा चाहिं उनले प्रतिक्रिया दिन चाहेनन् । प्रजिअ बलदेव गौतमको सरुवा भएपछि तिमिल्सिना १९ फागुनमा मात्र जिप्रका सप्तरीमा हाजिर भएका थिए । 

हिमाल खबरपत्रिका का लागि सप्तरीबाट समाचार लेख्ने श्रवण देवका अनुसार मोर्चाको आन्दोलनको नेतृत्व गरिरहेका धेरै स्थानीय नेता झडप उत्कर्षमा पुग्नुअघि नै गिरफ्तार भइसकेका थिए । उनले भने, “प्रदर्शनकारीभन्दा प्रहरी बढी थिए । गोली नै चलाउनुपर्ने स्थिति थिएन । तर किन गोली चलाइयो, मैले बुझ्न सकेको छैन ।” कान्तिपुर  का सप्तरी संवाददाता अवधेश झाका अनुसार ‘पानीकै फोहोराबाट पनि भीड नियन्त्रण गर्न सकिने अवस्था थियो तर त्यसको प्रयोग भएन ।’ नेपाल टेलिभिजन का सप्तरी संवाददाता श्यामसुन्दर यादवले आफैं घाइतेको उद्धारमा सहभागी भएको अनुभव सुनाए । “पत्रकारको काम समाचार, फोटो, भिडियो लिने हो । तर त्यसदिन म आफ्नो पत्रकारिताको धर्ममा पराजित भएँ । प्रदर्शनकारीमाथि क्रूर आक्रमण भएको देखेपछि मानवताको हिसाबले म आफैं उद्धारमा लागें”, एभिन्यूज टिभी का स्थानीय संवाददाता वैजनाथ यादव बढी नै भावुक देखिन्थे । उनले भने, “म मधेशी हुँ, कालो छु । तर मेरो पाउ मुनि र शिरमाथि नेपाल छ । सबै पक्षले नेपालीपन कायम राखेको भए त्यो परिस्थिति उत्पन्न हुन्थेन ।”  

कार्यक्रममा सहभागी हुन पुगेका सुनसरी एमालेका अध्यक्ष द्वारिकालाल चौधरी पनि काठमाडौंबाट झिकाइएको पानीको फोहोरा फ्याक्ने उपकरण (वाटर क्यानन) को प्रयोग किन नगरिएको भन्नेमा छन् । चौधरी भन्छन्, “कार्यक्रम लगभग सकिएको थियो । प्रदर्शन दक्षिणतिर बढी केन्द्रित थियो । सहभागी सबै नेता तथा कार्यकर्ता उत्तरपट्टिबाट सुरक्षित रूपमै निस्कन सक्ने अवस्था थियो । जुन रूपमा सुरक्षाकर्मी र पानीको फोहोरासहितको बन्दोबस्तीको सामग्री उपलब्ध थियो, त्यसलाई हेर्दा गोली चलाउनुपर्ने अवस्था त थिएन ।”  सुनसरीको इटहरीमा एमालेले भव्य सभा सम्पन्न गरिसकेको थियो, स्थानीय व्यवस्थापनको नेतृत्व चौधरीले नै गरेका थिए । त्यसबाहेक पनि एमालेले सुनसरीको इनरवा र झुम्कामा कोणसभा समेत गरेको थियो । सुरक्षा प्रशासनको आग्रहमा लौकहीको कोणसभाचाहिं रद्द गरिएको चौधरीले जानकारी दिए ।   

सुरक्षाकर्मीको बचाउ गर्दै गृह मन्त्री विमलेन्द्र निधिले २७ फागुनमा संसद्लाई सप्तरी घटनाबारे जानकारी दिंदै ‘सुरक्षाकर्मीले ठूलो क्षति रोक्न बाध्यात्मक परिस्थितिमा गोली चलाएको’ बताएका थिए । गृहमन्त्री निधिले, ‘एमालेको कार्यक्रम भइरहेका बेला अनियन्त्रित भीड घरेलु हतियार र पेट्रोल बमसहित कार्यक्रम स्थलतर्फ बढ्दा रोक्न खोज्दा स्थिति नियन्त्रण बाहिर गई ठूलो क्षति हुने अवस्था आएपछि स्थानीय सुरक्षा अधिकारीको आदेशमा गोली चलेको’ बताएका थिए ।

सप्तरी एमाले अध्यक्ष गोविन्द न्यौपानेका भनाइमा चाहिं मलेठमा बिहानैदेखि जारी प्रदर्शनमा तीन तह थियो । उनको दाबी अनुसार पहिलो मोर्चामा युवा–किशोरलाई परिचालन गरिएको थियो । उनले भने, “मोर्चाका नेता दोस्रो तहमा थिए । बम–हतियारसहितको सार्पसूटर दस्ता तेस्रो स्थानमा थियो ।” न्यौपानेले नाम नै किटेर केन्द्रका लागि रिपोर्टिङ गर्ने केही स्थानीय सञ्चारकर्मीले आफ्ना संचारमाध्यम र सामाजिक संजालमा एकतर्फी विवरण प्रस्तुत गरेर एमालेको बदनाम गर्न खोजेको आरोप लगाए । 

(हेर्नुहोस्सु/न्नुहोस् घटनाका प्रत्यक्षदर्शी, पीडितका आफन्तहरूको भनाइ । जसमा अभिव्यक्त धारणा समाचारमा उल्लेख छैन ।)  

काठमाडौंबाट झिकाइएको पानीको फोहोरा फ्याक्ने उपकरण (वाटर क्यानन) को प्रयोग किन नगरिएको हो त ? प्रजिअ कटवालले प्राविधिक खराबीका कारण यो प्रयोगमा आउन नसकेको बताए । तर, अहिलेसम्म पनि त्यो ‘प्राविधिक खराबी’ के थियो भन्ने खुल्न सकेको छैन । नेपाल प्रहरीसँग रहेको एक मात्र वाटर क्यानन एकदिन अघि २२ फागुन २०७३ मा मात्रै काठमाडौंबाट कार्यक्रमस्थल पु¥याइएको थियो । 

निशानामा निर्धा

घटनाका मृतकमध्ये २४ वर्षे सञ्जन मेहताको नौ महीना अगाडि मात्रै विवाह भएको थियो । पिता लक्ष्मणका अनुसार स्नातक सकेका सञ्जन सरकारी जागिरका लागि लोकसेवाको तयारी गर्दै थिए । अर्का मृतक पूर्वप्रहरी वीरेन्द्र महतो मलेठस्थित ससुरालीमा बस्दै आएका थिए । उनका तीन साना छोरी र एक छोरा छन् । उनी छोराछोरीहरूका लागि चकलेट लिन भनेर निस्केका थिए । सप्तरी घटनामा मारिएका आनन्द साह वरिष्ठ अहेब हुन् । पोलियो थोपा खुवाउने अभियान सकेर घर फर्कंदै गर्दा उनी मारिएका थिए । ५६ वर्षे पीताम्बर मण्डल ठेला चालक थिए भने इनरदेव यादव किसानी गर्थे । इनरदेवका पिता मुनरदेव यादवको मृत्यु भएको ९ दिन मात्रै भएको थियो, उनी पिताको मृत्यु संस्कारको निम्तो दिन घरबाहिर निस्किएका थिए । मलेठका बासिन्दा एमालेनिकट युवा संघका सप्तरी अञ्चल उपाध्यक्ष छोटेलाल यादवका अनुसार, सदस्यता नलिए पनि सञ्जन र वीरेन्द्र एमालेका मतदाता थिए । वरिष्ठ अहेब आनन्द साह कांग्रेसनिकट स्वास्थ्यकर्मीको जिल्लास्तरीय संगठनमा आवद्ध थिए । 

5-min

मृतक सञ्जन मेहताकी श्रीमती (बाँया)

स्थानीयको दाबीअनुसार घटनाका एक घाइतेलाई उद्धार गर्दै गर्दा सशस्त्र प्रहरीले सञ्जनलाई नियन्त्रणमा लिएर नजिकैबाट टाउकोमा गोली प्रहार गरेको थियो । घटनामा मारिएका सबैको पोस्टमोर्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । प्रतिष्ठानका फरेन्सिक विभाग प्रमुख सिवेन्द्र झाका अनुसार सबै मृतकको कम्मरमाथि गोली लागेको छ । झाले भने “सञ्जनको पोस्टमोर्टम रिपोर्टमा ब्लास्ट इन्जरी देखिएको छ ।” उनका भनाइमा नजिकबाट गोली प्रहार भएको अवस्थामा ‘ब्लास्ट इन्जरी’ हुन्छ ।  

घटनाका प्रत्यक्षदर्शी स्थानीय पत्रकारका अनुसार सुरक्षाकर्मीले तैनाथ सहकर्मीले बोकेका ढाल (शिल्ड) मा छेलिएर गोली चलाएका थिए । आफ्नो परिचय नखुलोस् भनेर दुई ढालको बीचबाट बन्दूकको नाल छिराएर अन्धाधुन्द गोली चलाइएको थियो । यसरी चलाइएको कारण अग्लो रूखको टुप्पोमा समेत गोलीको दाग देखिन्छ । 

प्रत्यक्षदर्शी र सुरक्षा निकायकै कतिपय जुनियर अधिकृतसँगको कुराकानीबाट घटनाका बेला प्रदर्शनकारीकै हाराहारीमा तैनाथ सुरक्षा निकायले संयमता अपनाउन नसकेको पुष्टि हुन्छ । सुरक्षा निकायले बस्तीभित्रै पसेर स्थानीयलाई कुटपिट र गोली प्रहार गरेको थियो । घटनास्थल पुगेकी राष्ट्रिय मानवअधिकार आयोग सदस्य मोहना अन्सारीले पनि सुरक्षा निकायले संयमता अपनाउनु साटो चरम दमन गरेको बताइन् । चार दिनको अवलोकन र सरोकारवालासँगको छलफलपछि उनले भनिन्, “घटनामा जो मारिए, उनीहरूको हत्या भएको हो । यसको जवाफ सरकारले दिनुपर्छ ।” 

त्रास, भ्रम र यथार्थ 

सप्तरी घटनाको भोलिपल्ट राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनकारीले बम, सकेट बम, ग्रिनेड, हातहतियार, भाला, तरबार प्रयोग गरेको दाबी गरेका छन् । एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले २० फागुनमा कोशी ब्यारेजनजिकको गोबरगाडा क्षेत्रबाट ५० जना हतियारधारी जत्था भित्रिएको र उनीहरू पनि प्रदर्शनमा सहभागी भएको दाबी गरे । यसबारे सुरक्षा निकायलाई जानकारी गराए पनि कुनै तदारुकता नदेखाइएको न्यौपानेको भनाइ छ । २३ फागुनमा कार्यक्रमस्थलबाट एक र तीन किलोमिटर उत्तर रुपनीमार्गमा दुई वटा कुकर बम फेला पर्नुले पनि एमालेका शीर्ष नेताहरूलाई बाटोमै मार्ने योजना रहेको उनको भनाइ छ । घटनाको भोलिपल्ट एमाले केन्द्रले पनि मधेशी मोर्चाले एमाले शीर्ष नेतालाई मार्ने सुनियोजित योजना बुनेको निष्कर्ष निकालेको छ । 

4-min

मृतक पिताम्बर मण्डलका शोकाकुल आफन्तहरु ।

के यी दाबीहरू सही थिए ? स्थानीय सुरक्षा निकाय अधिकारीले केही संख्यामा पेट्रोल बम प्रयोग भए पनि प्रदर्शनकारीतर्फबाट हातहतियार, ग्रिनेड र सकेट बमजस्ता सामग्री प्रयोग नभएको बताएको छ । ठूलो संख्यामा हतियारधारी जत्था भित्रिएको सूचना पनि सही थिएन । गुप्तचर स्रोतका अनुसार केन्द्र र स्थानीय तहबाट हातहतियार, विस्फोटक सामग्री मात्र होइन सवारी साधनमा पुनः प्रयोग गर्न नमिल्ने मोबिल बाटोमा खन्याएर एमाले नेताको गाडी दुर्घटना गराउने र कार्यक्रम बिथोल्ने रणनीति मोर्चाले लिएको ‘सूचना’ आएको थियो । “हामीले शंकास्पद स्थल र क्षेत्रमा सूचकहरू घूसपैठ गराएर अनुसन्धान गर्दा त्यस किसिमको कुनै प्रमाण फेला पारेनौं” राष्ट्रिय अनुसन्धान विभागका सप्तरी प्रमुख उपअनुसन्धान निर्देशक देवराज लिम्बूले भने “ती अपुष्ट हल्लाहरू मात्रै थिए ।” 

घटनाको दिन फेला परेका दुई वटा प्रेसर कुकर बम निष्क्रिय पार्न नेपाली सेनाको सप्तरीस्थित कृष्ण दल गणको ‘बम डिस्पोजल युनिट’ खटियो । निष्क्रिय पार्ने क्रममा पत्ता लाग्यो कि कुकरभित्र बालुवा रहेछ । बालुवा भरिएको कुकरमा निलो, रातो तार थियो, वास्तविकता पत्ता नलागुन्जेलको करीब एक घण्टा वातावरण त्रासमय बन्यो । “कुकरसँगै मधेश लिबरेसन फ्रन्टको पर्चा भेटिएको थियो”, गणपति प्रमुख सेनानी डम्बर बोहराले भने । त्यसअघि पनि जिल्लाका विभिन्न स्थानमा कुकर बम फेला परेका थिए, त्यहाँ जयकृष्ण गोइत नेतृत्वको सशस्त्र समूहको पर्चा भेटिएको थियो । “मोर्चा र सशस्त्र समूहको साँठगाँठ छ । केही अप्रिय घटना भए गोइतले आफूले गराएको भनेर विज्ञप्ति निकालेर मोर्चालाई चोख्याउने काम गर्दै आएका छन्”, एमाले जिल्ला अध्यक्ष न्यौपानेको भनाइ छ ।

पहिले रंगशालामा तय भएको एमाले कार्यक्रम पछि औद्योगिक क्षेत्रमा सारिएको थियो । एकसाता अघिदेखि नै रातको समयमा रंगशालामा ठूलो आवाज आउने पटाका दिनहुँजसो पड्काउने काम हुँदै आएको थियो । त्यसैगरी एमालेले रंगशालामा कार्यक्रम गरे वरिपरि घरका छतमा लाउड स्पीकर राखेर नाराबाजी गर्ने मोर्चाको योजना थियो । मोर्चा कार्यकर्ता २०–२५ वटा मोटरसाइकल लिएर दिनहुँजसो ‘एमाले सभामा गए राम्रो नहुने’ जनाउ स्थानीयलाई दिने गर्थे । ११ फागुनमा मनराजा गाविसमा भएको क्षेत्र नम्बर ६ को एमाले बैठक र १९ फागुनको ढिक्लीको बैठकस्थलमै पुगेर मोर्चा कार्यकर्ताले माइन्यूट खोस्ने, स्थानीय एमाले नेतालाई धम्क्याउने काम गरेका थिए । २० फागुनमा त एमाले जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो नै दले । “८–१० वटा मोटरसाइकलमा आएका मोर्चा कार्यकर्ताले अपशब्द बोल्दै मोसो दले”, चौधरीले भने । चौधरीकै मोटरसाइकलमा सवार एमाले जिल्ला सचिव शम्भु यादव भागेर जोगिए । 

प्रतिशोध र प्रतिष्ठाको लडाईं

मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश यादव जसरी पनि एमालेको कार्यक्रम बिथोल्ने पक्षमा थिए । एमाले जसरी पनि राजविराजमै कार्यक्रम गर्ने अडानमा थियो । २० फागुनमा तत्कालीन एसपी लोहनीले एमाले र मोर्चा दुवै पक्षलाई राखेर बैठक गराएका थिए । बैठकमा मोर्चाका स्थानीय संयोजक दिनेश यादवले राजविराजमा कार्यक्रम गरे आफूहरूले समेत आन्दोलनकारीलाई नियन्त्रण गर्न नसक्ने बताएका थिए । सुरक्षा निकायले एमालेलाई जिल्लाकै कन्चनपुर वा रुपनगर क्षेत्रमा कार्यक्रम सार्न सुझाव दिएको थियो । यी दुई क्षेत्रमा एमाले बलियो थियो । सुरक्षा निकायले सुनसरीको मूल सभा इटहरीमा गरेकाले सप्तरीमा पनि राजमार्गकै कुनै स्थानमा कार्यक्रम गर्न सुझाव दिएको थियो ।  

2-minमधेशी मोर्चामा गएको वर्ष आफूहरूलाई एमालेले इटहरीमा कार्यक्रम गर्न नदिएको आक्रोश पनि थियो । ११ मंसीर २०७२ मा संघीय मोर्चा गठबन्धनले इटहरीमा कार्यक्रम गर्न बनाइएको मञ्च एमाले कार्यकर्ताले भत्काइदिएका थिए । त्यसपछि एमाले र मोर्चाबीच पटकपटक टकराव भएको थियो । जस्तो कि, संविधाननिर्माणदेखि नै सीमांकनलगायतका विषयलाई लिएर चरणबद्ध रूपमा आन्दोलनमा थियो मोर्चा । उसले २८ पुस २०७२ देखि मोरङमा विभिन्न कार्यक्रम गर्दै आएको थियो । मोर्चाले मोरङको रंगेलीमा ७ माघ २०७२ मा विरोध सभा गर्ने कार्यक्रम तय गरेको थियो । एमालेको भ्रातृ संगठन युवासंघ नेपालले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा ७ माघ २०७२ कै दिन रङ्गेली बजारमा ‘तराई मधेश संवाद तथा जनजागरण अभियान’ अन्तर्गत बृहत जनसभा गर्ने निर्णय ग¥यो । मोर्चाले युवासंघको कार्यक्रम बिथोल्ने नीति लियो । त्यसक्रममा सुरक्षा निकाय र मोर्चाबीच झडप हुँदा मोर्चा कार्यकर्तासहित ३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोरङ रङ्गेलीकी ६२ वर्षे द्रौपतादेवी चौधरी, मोरङ बरडङ्गाका ४५ वर्षे महादेव ऋषिदेव, र मोरङ डायनियाका २४ वर्षे शिवु माझी थिए । 

त्यसपछि एमालेसंग मोर्चा झनै चिढिएको थियो । विभिन्न समयमा मोर्चाविरुद्ध चर्को अभिव्यक्ति दिएका कारण एमाले अध्यक्ष ओलीप्रति मोर्चाको स्थानीय तह झनै आक्रोशित थियो । सप्तरीमा पनि ओलीको भाषण सुरु भएपछि नै मोर्चा कार्यक्रर्ता उत्तेजित भएका थिए । 

सप्तरी घटनामा एमाले र मोर्चाका स्थानीय नेताको ‘इगो’ ले पनि काम गरेको छ । आन्दोलनरत मोर्चा गठबन्धनका स्थानीय संयोजक दिनेश यादव लामो समय एमालेको भातृ संगठन अनेरास्ववियुको राजनीतिमा संलग्न थिए । युवासंघको केन्द्रिय सचिवालय सदस्य निरन्जन झा भन्छन् “म अखिलको जिल्ला अध्यक्ष हुँदा दिनेशजी केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।” एमाले जिल्ला अध्यक्ष न्यौपानेका भनाइमा, ‘यादवको राजनीतिक यात्रामा सप्तरीनिवासी एमाले केन्द्रिय सदस्य सुमन प्याकुरेलको ठूलो योगदान छ ।’ हिजो आफैले संरक्षण दिएका कार्यकर्ता यादवले एमालेलाई सदरमुकाममा निषेध गर्ने र राजमार्गतिर कार्यक्रम सार्न भनेपछि प्याकुरेल चिढिए । दुवै पक्षले यसलाई प्रतिष्ठाको विषय बनाए । एमालेले औद्योगिक क्षेत्रलाई कार्यक्रमस्थल बनायो । न्यौपानेले भने, “राजमार्ग छेउ रुपनीतिर कार्यक्रम सार्ने कि भन्ने पनि थियो । तर त्यो मोर्चाको पकड क्षेत्र भएकाले बाक्लो बस्ती नभएको औद्योगिक क्षेत्रमा गर्ने तय गरियो ।”  

मोर्चाका स्थानीय संयोजक यादव भने आफूले एमालेका केही शीर्ष नेताहरूलाई टेलिफोन गरी कार्यक्रमस्थल सार्न आग्रह गरेको दाबी गर्छन् । प्रशासनको स्थानीय नेतृत्व एमालेनिकट भएको र उनीहरूले पनि एमालेलाई हौस्याउँदा आफूहरूको आग्रह स्वीकार नभएको उनको ठम्याइ छ । “सुरक्षा निकायले दमन गर्दा शान्तिपूर्ण प्रदर्शनमा ठूलो मानवीय क्षति भएको हो”, उनले भने । मोर्चा नेताहरूले तत्कालीन प्रजिअ उद्धव तिमिल्सिनाले एमाले नेताको निर्देशनमा काम गरेको आरोप लगाउने गरेका छन् । तिमिल्सिना एमालेनिकट स्थानीय निकाय कर्मचारी संघको सल्लाहकार रहिसकेका व्यक्ति हुन् । २०६१ सालमा गठन भएको संघको लगातार चौथोपटक नेतृत्व गरेका अध्यक्ष हरिकुमार श्रेष्ठ भन्छन्, “उद्धव सर मेरो दोस्रो कार्यकालमा सल्लाहकार हुनुहुन्थ्यो ।”

तथ्यहरूले देखाउँछन् सो दिन सप्तरीको अवस्था उत्तेजक अवश्यै थियो तर प्रहरी प्रशासनले भनेजस्तो नियन्त्रण बाहिर पुगिसकेको भने थिएन । स्थानीयवासी, पेशाकर्मी, राजनीतिक दलहरू र प्रहरी प्रशासनकै कतिपय व्यक्तिका भनाइमा ‘स्थिति थप बिग्रन नदिन’ विकल्पहरू थिए– गोली नै चलाउनुपर्ने अवस्था थिएन ।    

अर्कोतर्फ प्रदर्शनमा मोर्चाका चिनिएका कुनै शीर्ष नेता उपस्थित थिएनन् । आन्दोलन स्थानीय नेताको पूर्ण पकडमा पनि थिएन । तीन पूर्वप्रधानमन्त्रीसहित एमालेका शीर्ष नेता सहभागी कार्यक्रमको राजनीतिक–वैचारिक प्रतिरोध गर्नु थियो भने मोर्चासम्बद्ध शीर्ष नेताहरू प्रदर्शनमा सहभागी हुनुपथ्र्यो । मोर्चातिर पनि शीर्ष नेता भएको भए प्रदर्शन उत्तेजित नहुन पनि सक्थ्यो । मोर्चाका शीर्ष नेताहरूले पनि ‘आन्दोलनले आफ्नो प्रभाव विस्तार गरोस्’ भन्ने मात्रै चाहेको आभास हुन्छ । तर, राजनीतिक दलहरूको प्रतिष्ठा र निषेधको राजनीतिका कारण मलेठमा जो मारिए, उनीहरूहरूको एमाले सभा र मोर्चाको प्रदर्शनसँग कुनै सरोकार थिएन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked as *

*