घट्दैछ सीमा वारपार विवाह

29 views

Print Friendly, PDF & Email

एकैखाले सामाजिक परिवेश र संस्कृतिका कारण वर्षौंदेखि नेपाल र दक्षिणी छिमेकी भारतको सीमावर्ती क्षेत्रका बासिन्दाबीच बिहेवारी चल्दै आएको छ । माओवादी द्वन्द्वसँगै कमी आएको यो ‘रोटी-बेटी’ को सम्बन्ध यतिखेर झन् घट्दो क्रममा छ, किन ? 

-कृष्ण अधिकारी, नेपालगन्ज सुरेन्द्रकुमार कामती, सिराहा: खोज पत्रकारिता केन्द्रका लागि 

भारत कानपुर ससुराली भएका नेपालगन्ज त्रिभुवन चोकका श्याम बिहारी लखेरका दुई छोराको विवाह पनि सीमावर्ती भारतीय क्षेत्रकै बासिन्दासँग भयो । लखेरले छोरीको बिहे पनि सीमावर्ती भारतीय गाउँका बासिन्दासँग गरिदिए । यस हिसाबले लखेरको परिवारका सासूबुहारी तीन जनाको माइती र छोरीको घर भारतमा छ । 

नेपालको तराईका जिल्लाहरूमा बसोबास गर्ने खासगरी मधेशी समुदायका छोराछोरीको बिहेवारी सीमावर्ती भारत तथा भारतीयको विवाह नेपालतर्फ हुँदै आएको छ । एकै खाले सामाजिक र सांस्कृतिक परिवेशका कारण सीमा वारपार हुने बिहेवारीलगायतका यस्ता सम्बन्धका कारण नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाबीच ‘रोटी-बेटी’ को सम्बन्ध रहँदै आएको छ भनिन्छ । “पहिला त यो सीमा हो । यो भूमि नेपाल हो र यो भारत हो भन्ने पनि थिएन” करीब साढे तीन दशकअघि नेपाली युवासँग विवाह गरेर आएकी अधिकारकर्मी तथा पूर्वसभासद् मोहमदी सिद्दिकी भन्छिन्, “एक-अर्को देशमा विवाह भएको अनुभूति पनि हुन्थेन । अहिले पनि औसतमा दैनिक दुई-तीन वटा बाराती (जन्ती) सीमा वारपार गरिरहेकै देखिन्छ ।” 

unnamed

पूर्वी मधेश सिरहा नगरपालिका-१६ माडरका धर्मेन्द्रकुमार झाले पनि गएको वर्ष भारत मुजफ्फरपुर जिल्लाको जमालपुर कुदेकी रितुलाई जीवनसाथीका रूपमा भित्र्याए । विज्ञान विषयमा उच्च शिक्षा गरेकी रितु झा भन्छिन्, “नातागोताकै सम्पर्कका आधारमा हाम्रो विवाह भयो ।” हिन्दीमा पढाइ गरे पनि मैथिली भाषामा आफूलाई कुनै कठिनाइ नहुने उनको भनाइ छ । नागरिकताका लागि आवेदन दिएकी रितु अवसर पाए सरकारी सेवामा प्रवेश गर्न चाहन्छिन् । 

सिरहा नगरपालिका–२ का दीपक साहले पनि दुई वर्षअघि भारतको चर्चित धार्मिकस्थल वैद्यनाथधामकी रीतिकालाई मिथिला परम्परा अनुसार विवाह गरी नेपाल भित्र्याए । “आफन्तहरू माध्यम बने, गोत्र पनि मिल्यो” विवाहबारे दीपकले सुनाए । सिरहा नगरपालिका–१ का राम अग्रवाल वैदेशिक रोजगारमा थिए । त्यहाँबाट फर्केपछि घरजम गर्नुपर्छ भन्ने सोचमा रहेका उनले यहाँ खोजेजस्तो युवती भेटेनन्, अन्ततः भारत सुपौलकी युवतीसँग उनको विवाह भयो । 

नेपालगन्ज उपमहानगरपालिका–२७ पुरैनास्थित महाराज माविका पूर्वप्रधानाध्यापक समेत रहेका लखेरका अनुसार सीमा वारपारको बिहेवारीमा नातेदारहरूको भूमिका प्रमुख हुने गर्छ । भारतबाट बिहेवारी भएर नेपाल आउने चेलीको संख्या यताबाट बिहेवारी भएर भारतमा जाने नेपाली चेलीको भन्दा बढी छ । लखेरको अनुमानमा त्यो अनुपात ६०÷४० हुनुपर्छ । ठ्याक्कै कति संख्यामा भारतीय चेली नेपालीसँग विवाह गरेर भित्रिएका छन् र कति नेपाली चेली भारतीयसँग विवाह गरेर बाहिरिएका छन्, त्यसको यकिन सरकारी तथ्याङ्क छैन । 

गृहमन्त्रालय, नागरिकता शाखाको तथ्यांकअनुसार नागरिकता वितरण प्रणाली शुरू भएदेखि २०७३ असार मसान्तसम्म ७५ वटै जिल्लामा २ करोड १२ लाख ८ हजार १४३ नागरिकता वितरण भएको छ । यसमध्ये २०७० सालमा एकीकृत घुम्ती टोली र नागरिकता वितरण टोलीले वितरण गरेको ६ लाख ३ हजार ९४ नागरिकताको प्रकार वर्गीकरण हुन बाँकी छ । वर्गीकरण भइसकेका २ करोड ६ लाखभन्दा बढी नागरिकतामध्ये वैवाहिक अंगीकृत नागरिकताको संख्या ३ लाख ६४ हजार ५३ छ । त्यसैगरी पुरानो अंगीकृत र प्रमुख जिल्ला अधिकारीबाट वितरित अन्य अंगीकृत नागरिकताको संख्या ८ हजार ८५० छ । 

तथ्यांकले के देखाउँछ भने वैवाहिक अंगीकृत नागरिकता लिनेमा अधिकांश नेपालीसँग विवाह गरी आएका भारतीय महिला छन् र यस किसिमको विवाह तराई–मधेशका भारतसँग सीमा जोडिएका जिल्लामा बढी हुने गरेको छ । हालसम्म वैवाहिक अंगीकृत नागरिकता लिएकाको संख्या आधार मान्ने हो भने पर्सा, सर्लाही, धनुषा, बारा र रूपन्देहीमा सीमापारिबाट विवाह गर्ने प्रचलन बढी छ ।

 (सबैभन्दा धेरै अंगीकृत नागरिकता वितरण भएका १० जिल्लाको विवरण चार्टमा ।)

जिल्ला  संख्या
पर्सा   ४९४६७
कपिलवस्तु   ४०२४६
सर्लाही   ३६९३७
धनुषा   ३००१६
रूपन्देही २७११५
बारा   २६०२८
रौतहट २१६९५
महोत्तरी  २०६३६
नवलपरासी   १९९०६
सिरहा   १९१०७

(वैवाहिक अंगीकृत नागरिकता वितरण भएका प्रमुख १० जिल्लाको २०७३ असार मसान्तसम्मको विवरण । स्रोत:गृहमन्त्रालय नागरिकता शाखा ।)

सीमा वारपार विवाह भएकाको संख्या नागरिकता वितरणका आधारमा मापन गर्न नसकिने बताउँछिन् पूर्वसभासद् सिद्दिकी । “तीन वर्षअघि नेपालगन्जकै सेरोफेरोमा रहेर गरिएको एक अध्ययनमा भारतबाट विवाह गरेर आएका थुप्रै महिलाको नागरिकता नभएको भेटिएको थियो” फातिमा फाउन्डेसनको संस्थापक अध्यक्षसमेत रहेकी सिद्दिकीले भनिन्, “कतिपयमा चेतनाको अभाव र कतिपयले सम्पत्तिमा हक माग्छन् भनेर महिलाको नागरिकता नै नबनाइदिने गरेका छन् । सीमा पारिबाट बिहे गरेर ल्याएकाको मात्र होइन नेपालकै धेरै विवाहित महिला नागरिकताबाट बन्चित छन् ।” 

‘संस्कृति र सम्बन्धको सीमा हुँदैन’

सीमा वारपार बिहेवारी सम्बन्धका विविध आयाम छन् । सिरहा क्याम्पसका सह–प्राध्यापक चन्देश्वर यादवका अनुसार भौगोलिक–राजनीतिक रेखांकन भए पनि सीमा वारपार एउटै संस्कृति अनुसार हुँदैआएको बिहेवारीको लामो इतिहास छ । “समाज, संस्कृति त भूगोल–राजनीति भन्दा पहिले पनि थियो । सीमाले हाम्रो सम्बन्धलाई छेक्न सक्दैन । संस्कृति र सम्बन्धको सीमा हुँदैन” उनी भन्छन्, “यो हाम्रो निकै लामो र उच्चस्तरको सम्बन्ध हो । हाम्रा छोरी–चेली उता छन्, उताका छोरी–चेली यता छन् ।” त्रेता युगमै अयोध्याका राजकुमार रामले मिथिला राजकुमारी सीतासँग विवाह गरेको धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ । मिथिलाका राजा जनककै नाममा धनुषा सदरमुकाम ‘जनकपुर’ भनेर चिनिन्छ । जनकपुरस्थित जानकी (सीता) मन्दिरमा राम र सीताको विवाहमण्डपसमेत निर्माण भएको छ । 

सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसका मैथिली विषयका प्राध्यापक उमेशकुमार झा ‘ललन’ का अनुसार पहिले मिथिलाञ्चलको सीमा उत्तरमा हिमालयदेखि दक्षिणमा गंगासम्म र पश्चिममा गण्डकदेखि पूर्वमा महानन्दासम्म थियो । सन् १८१६ मा मिथिलाञ्चल विभाजित भयो र सन् १९३१ देखि सीमाको रेखांकन गरिएको हो । मिथिला विभाजन हुँदा शीर्ष भाग नेपालमा र बाँकी पारि (भारत) परे पनि यो क्षेत्र एउटै भूखण्डको रहेको प्राध्यापक झाको तर्क छ । “त्यसैले यस क्षेत्रका समुदायबीच अझै पनि प्रगाढ सम्बन्ध र सद्भाव छ । एकलाई दुःख प¥यो भने अर्कोले मलहम लगाउन आइपुग्छन्”, प्राध्यापक झा भन्छन् ।

पूर्वसभासद् सिद्दिकीका अनुसार सीमा वारपार बिहेवारीले सीमावर्ती क्षेत्रमा एक किसिमको सामाजिक सद्भाव कायम राखिराख्न सघाउ पु¥याएको छ । विश्वका धेरै मुलुकका सीमा क्षेत्रको तनावको तुलनामा खुला सीमा रहे पनि नेपाल–भारतबीच छिटफुट घटनाबाहेक आपसी सद्भाव कायम छ । २०६६ माघमा माओवादीले भारतीय झण्डाको अपमान हुने गरी नेपालगन्जमा पोस्टरहरू टाँसे । त्यसबाट भारतीय जनताको स्वाभिमानमा चोट पुगेको भन्दै रुपैडिया उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष छेदीलाल मधेशियाको अगुवाइमा सीमावर्ती रुपैडिया बजार बन्द गरियो । बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो । त्यसपछि कुनै एक राजनीतिक दलका कारण दुई देशको सम्बन्धबीच असर पर्दैन भन्ने सन्देशसहित पिस फर नेपालका अध्यक्ष डा. सुशील कोइरालाको अगुवाइमा बाँकेको नागरिक समाजले सीमावर्ती रुपैडियाका व्यापारी, नागरिक समाजलाई गुलाबको फूल दिएर अंकमाल गरे, माफी मागे । सीमापारि भारतीय सुरक्षा निकायबाट कुनै नेपाली कुटिंदा पनि रुपैडियाका व्यापारीले बजार बन्द गरेका छन् । उनीहरूले आफ्नै सुरक्षा निकायविरुद्ध नाराबाजी गरेका छन् र प्रशासनलाई दबाब दिएर माफी माग्न तथा पीडितहरूलाई क्षतिपूर्ति दिलाउन बाध्य पारेका छन् ।

नातेदार र आफन्तकै आडभरोसामा नेपालका भारत र भारतका नेपालमा आएर विभिन्न व्यापार–व्यवसाय र रोजगारीमा पनि संलग्न छन् । यसले सीमावर्ती क्षेत्रलाई आर्थिक रूपमा पनि जोडेको छ । दक्षिणतर्फ करीब २०० किलोमिटरको दूरीमा रहेको भारतको चर्चित शहर लखनऊको प्रभाव नेपालगन्जको खानपान, संस्कृति र उर्दू साहित्यमा समेत देखिन्छ । 

पूर्वप्रधानाध्यापक लखेरको अनुभवमा त संस्कारका हिसाबले पनि भारतबाट आएका बुहारी रैथाने भन्दा नरम हुन्छन् । घर र माइतीबीचको दूरीले पनि यसमा प्रभाव पारेको छ । घरमा केही खटपट भए भारतबाट आएका बुहारीहरूले आफ्नो गुनासो माइतीमा सुनाएर प्रतिक्रिया आउने बेलासम्म त्यो खटपट मिलिसक्ने उल्लेख गर्दै उनले भने, “आफ्नै गाउँ–शहरकी बुहारी भने खटपट पर्नासाथ झोला बोकेर माइती पुगिहाल्छन ।” 

दाइजोका कारण पनि भारतीय चेलीको नेपालतर्फ विवाह गरिदिने प्रचलन छ । भारतको दुर्गम क्षेत्रका ग्रामीण बस्तीमा नेपालको तुलनामा दाइजो प्रथा बढी नै छ । गरीबी, अभाव र बेरोजगारी समस्याले थिचिएका अभिभावकहरू तुलनात्मक रूपमा कम दाइजो लाग्ने भएकाले पनि नेपालमा छोरीको बिहे गरिदिन चाहन्छन् । 

नेपाली अभिभावकले पैसा नै तोकेर यति दाइजो चाहिन्छ भनेर हाकाहाकी माग्ने र भने अनुसारको दाइजो नपाए बिहे नै हुँदैन भनेर अप्ठ्यारोमा पार्ने अवस्था सीमावर्ती भारतीय बस्तीको तुलनामा नेपालमा कम छ । मुद्रा विनिमयका कारण उताको एक लाख यता एक लाख ६० हजार हुने भएकाले पनि त्यसको प्रभाव परेको हुनसक्छ । 

किन घट्दैछ सीमा वारपार विवाह ?

विज्ञहरूका भनाइमा, संस्कृति र समाज मिल्दोजुल्दो हुँदाहँुदै पनि सीमा वारपार विवाह घट्नुमा केही महत्वपूर्ण कारण जिम्मेवार छन् । नेपाल र भारत दुवैतर्फ हिजो जस्तो सहज आवागमनको अवस्था अब छैन । मधेशी समाजको अघिल्लो पुस्तालाई राम्रोसँग थाहा छ हिजो सीमा वारपारमा अहिले जस्तो बन्देज थिएन । सहजै जन्ती आउजाउ हुन्थ्यो । दाइजो दिए–लिएको मालसामान सजिलै वारपार गर्न सकिन्थ्यो । अहिले जस्तो एसएसबी र सशस्त्र प्रहरी थिएनन् । अहिले एक देशबाट अर्को देशमा जन्ती जान–आउन सजिलो छैन ।

Dipak

सिरहा नगरपालिका-२ का दीपक साह र भारतको वैद्यनाथधामकी रीतिका । दूइ वर्षअघि मिथिला परम्परा अनुसार उनीहरुको विवाह भएको थियो ।

ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशेखर मिश्रका भनाइमा, “अघिल्लो पुस्तासम्म नेपाली समाजको रहनसहन स्तर छिमेकी भारतीय समाजको भन्दा उच्च मानिन्थ्यो । सीमित आय भए पनि छिमेकी नेपाली समाजको जीवनस्तर लोभलाग्दो थियो । अहिले छिमेकी भारतीय समाजमा छिटोछिटो मध्यम वर्गको उदय भइरहेको छ । जसको प्राथमिकता अब नेपाली समाज रहेन । हिजो मधेशी समाजमा सरकारी जागीर एउटा आकर्षणको विषय थियो । सुरक्षा अवस्था राम्रो थियो । छिमेकी भारतीय समाजमा चलनचल्तीमा रहेको भन्दा दाइजो पनि न्यून थियो । ती परिवेशहरूमा अहिले थुप्रै परिवर्तन आइसकेको छ ।”

मिश्र भन्छन्, “शिक्षा, चेतना र राज्यमा पहुँचको हिसाबले पनि मधेशी समाज अहिले फैलिंदो क्रममा छ । हिजो सीमित मात्राको उत्तर–दक्षिणमा हुने विवाहलगायतका सम्बन्धहरू अहिले पूर्व–पश्चिमसम्म फैलने क्रममा छन् । हिजो वयलगाडाले निर्धारण गर्ने दूरीमा कायम हुने सम्बन्धहरूलाई  आज यातायातका साधनले फराकिलो बनाउँदै लगेको छ । यतिसम्म कि २०६४ सालसम्म आइपुग्दा राजधानी उपत्यकामा पनि मधेशी समुदायको उपस्थिति ह्वात्तै बढेको छ । समाज फैलने÷विस्तार हुने क्रमले विवाहलगायतका सम्बन्धहरूमा पनि पर्याप्त विकल्प जन्मिन थाले ।” 

नेपालको तुलनामा भारतमा दाइजो र यससँग गाँसिएको हिंसा धेरै हुनु पनि मधेशी चेलीहरूले भारतमा विवाह गर्न इच्छा नदेखाउने एउटा कारण हो । त्यस्तै अर्को कारण त्यहाँको अनुदार नागरिकता नीति पनि हो । “विवाह गरेको सात वर्ष पछि नागरिकताका लागि निवेदन दिन योग्य हुने” शर्त यस बीचमा न्याय पाउन प्रमाण जुटाउनमा हुने कठिनाइ जस्ता कारणले पनि आफ्नो भविष्य आकलन गर्न सक्ने नेपाली चेली भारतीयसँग विवाह गर्न अनिच्छुक देखिनु स्वाभाविक हो ।

नेपालमा माओवादी द्वन्द्व चर्कंदै गएपछि सीमा पारिबाट नेपालतर्फ विवाह गरिदिने प्रचलनमा देख्न सकिने गरी कमी आएको हो । त्यसबाहेक सीमा वारपारको बदलिंदो आर्थिक विकास, सीमाका नियमहरूले पनि त्यसमा असर पु¥याएको छ । भारतीय ज्वाइँहरू ससुराली आउँदा आफ्नै गाडी चढेर नेपालका गाउँगाउँसम्म पुग्न सक्छन्, भन्सारमा शुल्क तिरेपछि भारतीय गाडीले सजिलै नेपालमा प्रवेश पाउँछन् । तर नेपाली ज्वाइँहरू आफ्नै गाडी भए पनि त्यो लिएर ससुराली भारत जान सक्दैनन् । नेपाली नम्बरका गाडीहरू भारत प्रवेशका लागि काठमाडौंस्थित भारतीय राजदूतावासबाट अनुमति लिनुपर्छ । नेपाली नम्बरका गाडी लिएर जन्ती जान पनि दूतावासको अनुमति चाहिन्छ ।  

सिरहास्थित बजाज शोरुमका संचालक सज्जाद सिद्दिकी आफ्नो समुदायको बढी विवाह सीमापारिका भारतीय गाउँ–बजारमा हुने बताउँछन् । “हाम्रो विरादरी उतै बढी छ । केटा वा केटी भेट्न पनि सजिलो छ”, उनले भने । तर पछिल्लो समय नेपालतर्फ नै बिहेवारी गर्ने क्रम बढेको उनले बताए । नेपालगन्जकी पूर्वसभासद् सिद्दिकीले शिक्षित युवतीको खोजीमा पहिले सीमापारि बुहारी खोज्न जाने प्रचलन रहेको बताइन् । “पहिले नेपालतर्फ छोरी पढाउने चलन कम थियो । अहिले त यता पनि छोरी पढाउने क्रम बढेको छ”, उनले भनिन् । 

सीमावर्ती भारतको पथरगाढामा रहेको गिरबल उच्च विद्यालय का संस्थापक जगन्नाथ यादवले नेपालमा चर्केको माओवादी सशस्त्र युद्धका कारण सीमा वारपार विवाहमा कमी आएको बताए । भारतीय पत्रकार इन्द्रमोहन मिश्रकी बहिनी राजलक्ष्मीको सीमावर्ती नेपाली गाउँ देउरीपट्टीमा विवाह भएको छ । “तर विश्वमै शान्त मानिने नेपालको राजनीतिक उथलपुथलले सीमा वारपारको वैवाहिक सम्बन्धमा पनि एक प्रकारको तनाव निम्त्याएको छ”, मिश्रले भने । नेपालबाट पनि भारततर्फ छोरी–चेलीको विवाह गरिदिने क्रममा कमी आएको शिक्षक अरुण पासवानको बुझाइ छ । भारतीय गाउँबाट विवाह गरेका उनी छोरीको विवाह भने नेपालमै गर्ने बताउँछन् । ब्रजमोहन जनता माध्यमिक विद्यालय माडरका शिक्षक सोमा गुप्ता, उच्च शिक्षा हासिल गर्ने छात्राहरूले भारतमा भन्दा नेपालमै विवाह गर्न चाहेको बताउँछन् । गुप्ता भन्छन्, “नेपालीपनको बोध, बदलिंदो जीवनशैलीको कारण अहिले यताका केटीहरू उता विवाह गर्न हिच्किचाउने गर्छन् ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked as *

*