सिरहाका १७ स्थानीय तहले अहिलेसम्म मास्क वितरण शीर्षकमा मात्रै रु.२ करोडभन्दा बढी खर्च गरेका छन् । तर, स्थलगत अनुगमनमा त्यहाँ १० जनाको परिवारलाई एउटा मास्क दिइएको पनि भेटियो ।
सुरेन्द्रकुमार कामती: खोज पत्रकारिता केन्द्र
सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा उत्तरवारी टोलका पाँच र दक्षिणवारी टोलका १५ डोम परिवारलाई २० चैत २०७६ मा वडा कार्यालयले एक–एक थान मास्क वितरण गर्यो । ती दुई टोलका २० परिवारमा जम्मा जनसंख्या ११० छ । त्यति ठूलो संख्यालाई दुईवटा मास्क वितरण गरेर वडा कार्यालयले कोभिड–१९ विरुद्ध लड्न वडा कार्यालय स्थानीय जनताको साथमा रहेको जनाउ दियो ।
उत्तरवारी टोलका बद्री मल्लिकको परिवार संख्या १० छ । उनलाई २२ चैत २०७६ मा वडा कार्यालयका कर्मचारीले एउटा मास्क र हात धुने एउटा साबुन दिए । “१० जनाको परिवारलाई एउटा मास्क, लिनु कि नलिनु भयो !” बद्रीले भने, “वडाले हाटबजार जाँदा मात्र मास्क लगाउन भनेपछि घर बाहिर जाँदा बूढाबूढीले पालोपालो एउटै मास्क लगाउँछौं ।”
उत्तरवारी टोलकै प्रमिला देवीलाई पनि वडाका कर्मचारीले एउटा मास्क र हातधुने साबुन दिए । त्यो टोलका पाँच परिवारका ३३ जनालाई पाँचवटा मास्क दिइएको थियो ।
दक्षिणवारी टोलको डोम वस्तीमा वडा कार्यालयले २३ चैत २०७६ मा प्रति परिवार एक/एक थान मास्क र साबुन वितरण गर्यो । उनको १२ जनाको परिवारलाई एउटा मास्क दिइएको प्रभु मल्लिक (डोम) बताउँछन् । वडा नम्बर १९ का वडाध्यक्ष गोपाल यादव पनि ‘महँगो भएकोले हरेक घरमा एक/एक थान मास्क र एउटा हात धुने साबुन वितरण गरिएको’ बताउँछन् । यादव भन्छन्, “११ चैत २०७६ मा लकडाउन शुरू भएयता वडा नम्बर १९ ले मास्क र साबुन वितरणमा मात्रै रु.५ लाख ७६ हजार खर्च गरेको छ ।”
सिरहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष उपेन्द्र साहले चैतको दोस्रो साता स्थानीय गंगा पासवानका परिवारलाई दुई वटा मास्क दिए । वडाध्यक्ष साहका भनाइमा वडामा प्रति परिवार दुईवटा मास्क वितरण गरिएको छ ।
वडा नम्बर ७ को जनसंख्या चार हजार ३४५ छ । त्यहाँ लकडाउन यता पाँच हजार मास्क, आठ हजार साबुन र एक हजार स्यानिटाइजर वितरण गर्न सरकारी कोषबाट रु.२ लाख ४५ हजार खर्च भएको वडाध्यक्ष साह बताउँछन् । उनी भन्छन्, “शुरूमा प्रति परिवार दुई थान मास्क बाँडियो पछि फेरि थपियो ।”
सिरहाकै बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन यादवले २७ चैत २०७६ मा वडा कार्यालयबाट ९६० घरधुरीलाई प्रति घरधुरी दुई वटा मास्क र एउटा हात धुने साबुन वितरण गरे । वडाध्यक्ष यादव भन्छन्, “शुरूमा दुई/दुई वटा सिलाएको कपडाको मास्क र पछि तीन/तीन वटा मास्क वितरण गरियो ।”
कोभिड–१९ को संक्रमण रोक्न सिरहाका यी तीन स्थानीय तहले मास्क वितरणमा गरेको व्यर्थको कामले सरकारी बजेट स्वाहा भएको छ । सिरहाका नागरिक अगुवा रामकिशोर यादव भन्छन्, “यसरी जथाभावी मास्क वितरण गरेर न कोभिड संक्रमण नियन्त्रण भयो, न त मास्कमा गरिएको सरकारी खर्च औचित्यपूर्ण देखियो ।”
सिरहा नगरपालिका ६ बसपिट्टाका रामसोगारथ पासवानको १० जनाको परिवारलाई वडा कार्यालयले जम्मा पाँच वटा मास्क दियो । १२ चैतमा वडाध्यक्ष विजयकुमार यादव नेतृत्वको टोलीले पासवानको घर पुगेर पाँच थान कपडाको मास्क र एउटा हात धुने साबुन दिएको हो । तर, वडाध्यक्षबाटै मास्क पाए पनि पासवान खुशी हुनुको साटो जिल्ल परे । पासवान भन्छन्, “परिवारमा साना–ठूला १० जना छन् । वडाले पाँच जना ठूला मान्छेले मात्र लगाउन मिल्ने मास्क दियो । बरु नदिएको भए हुन्थ्यो ।”
सिरहा नगरपालिका वडा नम्बर ६ कै सुशील पासवान र जोगी पासवानको पनि १५/१५ जनाको परिवार छ । तर, वडाले उनीहरूलाई प्रति परिवार पाँच वटा मास्क र एउटा साबुन वितरण गरेको छ । पासवानले भने, “मास्क नपुगेर मैले गम्छा र श्रीमतीले साडीले मुख छोप्ने गर्छौं ।”
२०६८ को जनगणना अनुसार, सिरहा नगरपालिका वडा नम्बर ६ को जनसंख्या तीन हजार ८४५ छ । कोभिड संकट शुरू भए यता वडा कार्यालयले रु.३ लाख ६० हजारको मास्क किनेर वितरण गरेको छ । तर पनि वडाका सबैले मास्क पाएका छैनन् । तर वडाध्यक्ष विजयकुमार यादवले वडावासीलाई पटक पटक मास्क वितरण गरिएको दाबी गरे । यादव भन्छन, “शुरूमा वितरण गरेकोले नपुगेर हामीले थप १२ हजार मास्क किनेर वितरण गर्यौं । त्यो पनि प्रतिगोटा रु.३० पर्ने ।”
सिरहा नगरपालिका वडा नम्बर १८ ले चैत २६ देखि प्रति परिवार तीन/तीन वटा मास्क वितरण गरेको थियो । मास्क वितरणको वेला बाटोमा भेटिएकाहरूलाई पनि एक/एक वटा मास्क र ५० ग्रामको सानो लाइफब्वाय साबुन वितरण गरिएको वडाध्यक्ष रामसोगारथ यादव बताउँछन् । उनी भन्छन्, “शुरूमा नपुगेर प्रति परिवार तीन थान मास्क दिइयो । तर पछि त हाटबजारमा आउनेलाई पनि दिइयो ।” वडा कार्यालयले २०७६ चैत यता रु.१ लाख ८ हजारको मास्क, साबुन र स्यानिटाइजर वितरण गरेको खर्च देखाएको छ ।
सिरहा नगरपालिका–४ रमौलमा २२ चैतदेखि २५ चैतसम्म वडाका कर्मचारी र जनप्रतिनिधिले गाउँ छिरेर प्रति घर दुई वटा मास्क र एउटा साबुन बाँडे । वडाध्यक्ष मोहम्मद इजाहरूल हकले दुईदेखि पाँच थानसम्म मास्क बाँडिएको बताए । “स्यानिटाइजर कसै–कसैलाई दिएको छु, मास्कचाहिं घरघर पुगेर एउटा घरमा बढीमा पाँचवटासम्म दिएँ” वडाध्यक्ष हकले भने, “बजारमा कम उपलब्ध थियो । अनि महँगो पनि भएकोले सबैलाई दिन सकिएन ।”
सिरहा नगरपालिका वडा नम्बर १३ का मुकेश यादवले आफ्नो परिवारलाई वडाले जम्मा एक थान मास्क दिएको बताए । यादव भन्छन्, “वडा कार्यालयका कर्मचारीले एक थान मात्र मास्क दिए । घरमा सात जना छौं, कसले लाउने, कसले नलगाउने ?”
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ ले १८ चैतमा भन्सार छेउका मुसहर समुदायका ५० परिवारलाई सिलाएको कपडाको मास्क दियो । दैनिक मजदूरी गर्ने मुसहर परिवारलाई कम गुणस्तरको मास्क वितरण गरिएको स्थानीयका भनाइ छ । स्थानीय भोल्टा सदा भन्छन्, “घरमा आएर दुई/तीन वटा मास्क दिएर गए, १५ जना छौं, त्यति मास्कले के गर्नु ?”
उदेकलाग्दो के छ भने मुसहर समुदायलाई कपडाको मास्क दिएका बरियारपट्टी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी आफूहरूले चाहिं महँगो मूल्यको एन–९५ मास्क प्रयोग गरेका छन् । कोभिड संकटमा रु.१० बजार मूल्य पर्ने ३ हजार ९०० मास्क वितरण गरेको त्यो गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिलाई चाहिं एउटैको रु.६५० बजार मूल्य पर्ने ‘एन–९५’ मास्क उपलब्ध गराएको थियो ।
बरियारपट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले सार्वजनिक गरेको खर्च विवरणमा २०७६ चैत यता सामान्य मास्क तीन हजार ९०० थान, सर्जिकल मास्क ५०० थान र एन–९५ मास्क १०० थान खरीद गरेको उल्लेख छ । त्यति मास्क किन्न मात्रै रु.८ लाख ६४ हजार खर्च भएको छ ।
सिरहाकै औरही गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले पनि आम नागरिकलाई कपडाको सामान्य मास्क वितरण गरेका थिए । त्यहाँ पनि जनप्रतिनिधि र कर्मचारीले चाहिं बढी मूल्य पर्ने ‘एन–९५’ मास्क प्रयोग गरेका थिए । सिरहाका नागरिक अगुवा रामकिशोर यादव भन्छन्, “जनतालाई स्तरीय मास्क दिनुपर्नेमा राम्रो मास्क आफूलाई कमसल मास्क त्यो पनि आवश्यकताभन्दा थोरै संख्यामा जनतालाई वितरण गरेर मजाक गरियो ।”
प्रदेश पनि उस्तै
स्थानीय तहले मात्र होइन सिरहामा प्रदेश सरकारले पनि मास्क वितरणमा गाईजात्रा देखाएको छ । प्रदेश–२ को आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले ‘प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोष’ को बजेटबाट सिरहामा ‘मास्क र साबुन’ वितरण गरे ।
पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजेशलाल कर्णका अनुसार, मन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्रमा रु.९ लाख ५० हजारको मास्क र साबुन वितरण गरेका छन् । कर्णका अनुसार १० जेठ यता सुखीपुर नगरपालिका र अर्नामा गाउँपालिकाका दुई/दुई वडा र बरियारपट्टी, औरही, नवराजपुर गाउँपालिकाको पाँच/पाँच गरी १९ वडामा एक लाख मास्क र गेदरेज साबुन एक हजार ३८२ सेट र लाइफब्वाय साबुन ६ हजार ४८० वटा वितरण गरिएको छ ।
मन्त्री यादवले उपभोक्ता समिति बनाएर मास्क र साबुन खरीद गरे पनि वितरण गर्न चाहिं जनता समाजवादी पार्टीका कार्यकर्तालाई जिम्मेवारी दिएका थिए । उनले १० जना भन्दा बढी परिवार संख्या भएको घरमा पनि पाँच थान मास्क र एक थान साबुन वितरण गरेको भेटियो । औरही गाउँपालिका ५ का नवल यादव भन्छन्, “सांसद विकास कोषबाट पनि कमसल मास्क वितरण गरियो । त्यो पनि सबैले पाएनन् ।”
जिल्ला अस्पताल सिरहामा कार्यरत चिकित्सक डा. दिलीप सदाका भनाइमा ‘सिरहाका स्थानीय तहले वितरण गरेको सामान्य खालको मास्क दोहोर्याएर प्रयोग गर्न नमिल्ने खालका छन् । तर, जनताले एउटै मास्क पटक–पटक प्रयोग गरेर काम चलाइरहेका छन् । डा. सदा भन्छन्, “मास्क खरीद र वितरणको भद्रगोल हेर्दा सिरहाका स्थानीय सरकारको लगानी व्यर्थ भएको छ ।”
डा. सदाका भनाइमा कोभिड नियन्त्रणका लागि स्थानीय तहहरूले एउटा परिवारलाई एउटा मास्क वितरण गर्नु भन्दा सामाजिक दूरी कायम राख्न र नियमित साबुनपानीले हात धुन चेतना जगाउने कार्यमा लागेको भए प्रभावकारी हुनेथियो । डा. सदा भन्छन्, “तर सिरहाको स्थानीय तह सस्तो लोकप्रियताका लागि व्यर्थको काममा बरालिएको देखियो ।”
जिल्ला प्रशासन कार्यालय सिरहामा स्थानीय तहले बुझाएको खर्च विवरण अनुसार, लकडाउनपछि सिरहाका १७ स्थानीय तहका १६४ वडामा मास्क वितरण गर्दा मात्रै रु.२ करोड भन्दा बढी खर्च भएको छ । त्यसमा पनि १७ मध्ये ७ स्थानीय तहले ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण’ शीर्षकमा रु.१ करोेड ५१ लाख खर्च गरेका छन् ।