धेरै स्थानीय सरकारले पर्यटन विकासको प्रचुर सम्भावना बारे बुझ्न बाँकी नै भए पनि गोरखाको धार्चे, सिन्धुपाल्चोकको हेलम्बु र कास्कीको मादी गाउँपालिकाले देख्न सकिने काम गरेका छन् ।
भद्र शर्मा, खोज पत्रकारिता केन्द्र
तीन वर्षअघि उत्तरी गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष निर्वाचित भइसकेपछि सन्तबहादुर (सन्तोष) गुरुङले सुन्दर, सुरक्षित र समृद्ध गाउँ बनाउने लक्ष्य लिए । त्यसलाई पूरा गर्न उनले ‘मेरा लागि पर्यटन, पर्यटनका लागि म’ को नारा अगाडि सारे । उनको प्रतिबद्धता मतदाताले पनि पत्याइदिए, चुनाव जिते ।
तर, चुनावी बाचा कार्यान्वयन कसरी गर्ने ? प्रसिद्ध मनास्लु र गणेश हिमाल अनि रुवीनाला हिमनदीको ‘गेटवे’ धार्चे । यो ठाउँ भौगोलिक रूपमा विकट छ, खेतीयोग्य जमीन छैन । २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाकसँग जोडिएको धार्चेको भिरालो जमीनमा उद्योग, कलकारखाना स्थापना गरेर रोजगारी सृजनाको संभावना पनि थिएन । त्यसैले धार्चेलाई समृद्ध बनाउनका लागि गुरुङले गाउँमा पर्यटक भित्र्याउने सोचका साथ समुदायस्तरमा पर्यटनका पूर्वाधार विस्तार योजना लागू गरे ।
२०७४ को स्थानीय चुनावबाट जनप्रतिनिधि आएपछि धार्चेमा पाराग्लाइडिङ, क्यानोनिङ, रक क्लाइबिङ, र्याफ्टिङ र साइक्लिङका लागि आवश्यक संरचना निर्माण गरिएको छ । स्थानीय सरकारले विरलै गर्ने यी काम अघि बढाएर धार्चे गाउँपालिकाले पर्यटनमा नयाँ अभ्यास शुरू गरेको छ । हुन पनि माउन्टेन गाइडसहितका आधा दर्जनभन्दा बढी सगरमाथा आरोहीको गाउँ हो धार्चे ।
उनीहरूकै सहभागितामा साहसिक, सामुदायिक र कृषि पर्यटनका लागि आवश्यक संरचना बनाइएको छ । स्थानीय सरकारले पर्यटन केन्द्रित काम गर्नु आफैंमा नमूना भएको धार्चे गाउँपालिका उपप्रमुख फूलमाया गुरुङ बताउँछिन् । “प्रकृतिले हामीलाई पर्यटकीय भूगोल दिएको छ, यहाँ बस्नेहरू पर्यटनमा आवद्ध छन्” उनले भनिन, “त्यसैले हामी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन जुटेका छौं ।”
गाउँपालिकाले पर्यटकलाई भूकम्पको केन्द्रविन्दु बारपाकबाट शुरू भएर लाप्राक धार्चे हुँदै मच्छीखोलासम्म प्राकृतिक दृश्यावलोकन गराउन मिल्ने गरी १७ किलोमिटर साइकल रुट निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष सन्तबहादुरका अनुसार यस रुटमा होमस्टे र होटल स्थापना गरी स्थानीय पर्यटनलाई विस्तार गर्ने, मच्छीखोला पुगेर बूढीगण्डकीको प्रल्हाद खोलादेखि न्याउली झरनासम्म र्याफ्टिङ गर्ने र माछा मार्ने (फिसिङ) पर्यटन प्याकेज तयार गरिएको छ ।
यसबाहेक क्यानोनिङ र रक क्लाइम्बिङ गर्न चाहनेको लागि सोही रुट हुँदै न्याउली झरनामा ती खेल खेल्न सकिने व्यवस्था गरिएको छ । लाप्राकको डाँडोबाट मच्छीखोलामा अवतरण हुने पाराग्लाइडिङ शुरू गर्न नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिन चाहिं बाँकी छ, अरू सबै काम सकिएको गाउँपालिकाले जनाएको छ ।
“र्याफ्टिङ, क्यानोनिङ र क्लाइम्बिङ सञ्चालनको जिम्मा स्थानीय व्यवसायीलाई दिने हो, गाउँपालिकाले रोयल्टी मात्र लिने हो” धार्चे गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, “व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले नै तालिमको लागि लाग्ने आधा खर्च व्यहोरेर महिला र पुरुषलाई प्रशिक्षण दिई आवश्यक गाइड स्थानीय तहमा उत्पादन भइसकेका छन् ।”
गाउँपालिकामा पर्यटनको विकास गर्न लाप्राकको स्थानीय उच्च माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण सम्बन्धी पाठ्यपुस्तक तयार गरी यसै वर्षदेखि पठनपाठन शुरू गरिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहयोगमा तयार पारिएको पाठ्यक्रमलाई ऐच्छिक विषयको रूपमा कक्षा ११ मा लागू गरिएको छ । अहिले ४५ विद्यार्थीले सो विषय अध्ययन गरिरहेका छन् ।
भूकम्पपछि गैरआवासीय नेपाली संघले लाप्राकमा भूकम्पपीडितका लागि निर्माण गरेका ५७३ घरमध्ये २५० घरलाई सामुदायिक होमस्टेको रूपमा विकास गर्न लागिएको छ । सोही बस्ती नजिकैको डाँडामा सहकारीको अवधारणामा एक किलोमिटर दूरीको जिप फ्लाई सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु.१५ लाख बजेट विनियोजन गरेको छ । लाप्राकमै हिउँदको समयमा स्की सञ्चालन गर्न प्राविधिक अध्ययन भइरहेको अध्यक्ष गुरुङ बताउँछन् ।
जिप लाइन र स्की लगायतका मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्न सकेको खण्डमा आन्तरिक र बाह्य पर्यटकको आवागमन भई होमस्टेमा पुग्ने पर्यटकको वृद्धि भएर स्थानीयलाई राहत हुने उद्देश्यका साथ ती योजना अघि सारिएको गाउँपालिकाको योजनामा उल्लेख छ ।
ती पर्यटकीय गतिविधि सञ्चालनको आवश्यक कार्यविधि र जनशक्ति पनि उत्पादन भइसकेको धार्चे गाउँपालिकाका सन्तबहादुर गुरुङ बताउँछन् । “यहाँको सबै जमीन पर्यटन प्रवद्र्धनमा लगाएर स्थानीयको जीविकोपार्जन र आर्थिक समृद्धि हासिल गर्न हामी लागिरहेका छौं ।” उनको कथन छ, “विकट पहाडमा साहसिक पर्यटन, बस्तीमा सांस्कृतिक पर्यटन र बेंसीमा कफी खेती गरेर कृषि पर्यटनको प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने हाम्रो प्रयास हो, यसमा सफलता पनि मिलेको छ ।”
हुन पनि त्यहाँ कृषि पर्यटन प्रवद्र्धनका लागि १५०० मिटर भन्दा कम उँचाइमा रहेको १००० रोपनी जग्गामध्ये हालसम्म ५०० रोपनी जग्गालाई सहकारीकरण गरेर कफी खेतीको तयारी गरिएको छ ।
‘हेलम्बु ग्रेट ट्रेल’
पर्यटनको विकासका माध्यमबाट आफ्नो ठाउँमा समृद्धि हासिल गर्ने यात्रामा गोरखाको धार्चे गाउँपालिका अपवाद भने होइन । पर्यटन विकासको महत्वाकांक्षी योजना सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पनि अघि बढाएको छ ।
पर्यटन प्रवद्र्धनका लागि करीब चार अर्ब लाग्ने ‘हेलम्बु ग्रेट ट्रेल’ निर्माण शुरू गरिएको छ । चीनको प्रसिद्ध गे्रेट वाल अफ चाइनाकै स्वरुपमा निर्माण भइरहेको ६० किलोमिटर लामो ट्रेलको हालसम्म तीन किमी निर्माण भइसकेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् ।
स्थानीय सरकारको महत्वाकांक्षी पर्यटन कार्यक्रमबाट प्रभावित भएर संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा रु.४ करोड विनियोजन गरेको छ । गत आर्थिक वर्षमा वागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु.३० लाख विनियोजन गरेको थियो ।
आर्थिक स्रोतको व्यवस्थापन भएमा एकै वर्षमा निर्माण कार्य सम्पन्न भइसक्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् । निर्माण कार्य शुरू भएको पहिलो वर्षमा त्यहाँ दैनिक २०० स्थानीय कामदारले रोजगारी पाएका थिए ।
“हेलम्बु ग्रेट ट्रेलको निर्माण नसकिंदै स्वदेशी र विदेशी पर्यटकहरूले भ्रमण गर्न थालिसकेका छन्” अध्यक्ष शेर्पा भन्छन्, “छिट्टै हेलम्बु क्षेत्रमा पर्यटकको भीड लाग्छ ।”
लोकप्रिय पर्यटन गन्तव्य लाङटाङलाई सिन्धुपाल्चोकसँग जोड्न निर्माण थालिएको ट्रेलसँग यस क्षेत्रका अरू पदमार्ग पनि जोडिन थालेका छन् । सडक विस्तारसँगै हराएका काठमाडौंको सुन्दरीजलहुँदै घोप्टेग्याङ, थारेपानी, ४९०० मिटर अग्लो छेवाङपासहुँदै लाङटाङ पुग्ने पदमार्ग सञ्चालनमा आएको छ । त्यसैगरी, शेर्माथान भएर काङजालापास हुँदै लाङटाङ जोड्ने अर्को पदमार्ग पनि बनाइएको छ ।
गाउँपालिकाले हेलम्बुमा १७३ मिटर गहिरो खोंचमा ३७० मिटर लामो बञ्जीजम्प पुल र क्यानोनिङ बनाएर व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको छ । २२०० मिटर उँचाइमा रहेको हेलम्बुको घोप्टेग्याङमा पाराग्लाइडिङको सफल परीक्षण गरी सकिएको अध्यक्ष शेर्पा बताउँछन् ।
गाउँपालिकाले सो स्थानलाई पाराग्लाइडिङका लागि पोखराको विकल्पको रूपमा विकास गर्ने योजना अघि सारेको छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि त्यहाँ अहिलेकै जस्तो पाराग्लाइडिङ हुने छैन” अध्यक्ष शेर्पाले भने, “त्यसैले हामी सिन्धुपाल्चोकलाई सराङकोट बनाउन चाहन्छौं ।”
मेलम्ची खानेपानीको मुहान पदमार्गको लागि उपयुक्त स्थान भएकाले होमस्टे, होेटल, क्यानोनिङ, पाराग्लाइडिङ, हेलम्बु ग्रेटवाललगायतका पूर्वाधार तयार भएपछि पर्यटन विस्तार हुने स्थानीयको आशा छ । लाङटाङमा आउने पर्यटक हेलम्बुहुँदै काठमाडौं फर्काउन सके ओझेलमा रहेका सिन्धुपाल्चोकका रमणीय बस्ती पर्यटकीय गन्तव्यमा परिणत हुनसक्ने उनीहरू बताउँछन् ।
कुसाङटाङका होटल व्यवसायी पेम्बा छ्याप शेर्पाले भने “काठमाडौंबाट लाङटाङ पुग्ने पर्यटकलाई हेलम्बु र पाँचपोखरीलगायतका क्षेत्रमा आकर्षित र यहाँ आएका पर्यटकलाई पनि लाङटाङसम्मको सहज आवतजावत गर्न सके यो क्षेत्रको पर्यटन विकास हुनसक्छ ।”
टोनी हागन पदयात्रा
स्थानीय विकासका लागि पर्यटनलाई महत्वपूर्ण प्राथमिकतामा राख्नेमा कास्कीको मादी गाउँपालिका पनि परेको छ । त्यो गाउँपालिकाले सिक्लेस, ठुलेक, थुरचु, दूधपोखरी कुण्डहुँदै ५००० मिटरको उँचाइमा रहेको नामाङपासदेखि मनाङको तिमाङसम्म पुग्ने पदमार्ग निर्माण गरेको छ ।
सन् १९५० मा टोनी हागनले पदयात्रा गरेको सो रुटलाई ‘हागन ट्रेल’ नामकरण गरेर मर्मत गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा दैनिक १०० जना कामदारलाई ४५ दिन काममा लगाएर पदमार्ग निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ बताउँछन् ।
अध्यक्ष वेदबहादुर भन्छन्, “करीब ५० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भइसकेपछि यसको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने हाम्रो योजना छ ।”
अन्नपूर्ण ‘टे«किङ रुट’ मा पर्ने माछापुच्छ«ेलगायतका क्षेत्रमा पर्यटन प्रवद्र्धन भएको भए पनि लमजुङ र मनाङसँग सीमा जोडिएका क्षेत्रमा पर्यटनको विकास हुनसकेको थिएन । अरू स्थानीय सरकारबाट प्रभावित भएर मादी गाउँपलिकाले पर्यटनबाटै समृद्धि हासिल गर्न टोनी हागन पदमार्ग र अन्य सहायक पदमार्ग, होमस्टे, होटलको निर्माण गरिरहेको छ ।
यो अभियानअन्तर्गत नेपाल सरकारले घोषणा गरेका १०० गन्तव्यमा समेटिएको सिकलेस थाङचिङ पदमार्ग र क्याम्प साइटकोे निर्माण गरी कपुजे हिमतालसम्म पर्यटक पुग्न सक्ने बनाइएको छ । सो हिमतालबाट अन्नपूर्ण हिमालमा गइरहने हिमपहिरोको प्रत्यक्ष दृश्य देख्न सकिने भएकाले पर्यटकहरू पुग्न खोजे पनि पदमार्गको अभावमा सम्भव थिएन ।
संवैधानिक र कानूनी रूपमा स्वायत्त स्थानीय सरकार आफैंले पनि बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा पर्यटकलाई प्राथमिकतामा राख्ने गरेका छन् । पर्यटन संभावना भएका धेरै हिमाली क्षेत्रका गाउँपालिकाले पर्यटनको विकास हुने योजनाहरू अगाडि सारेर कार्यान्वयन गरिरहेका छन् ।
तर कुल गार्हस्थ्य उत्पादनको करीब ७ प्रतिशत योगदान गर्दै आएको पर्यटन विस्तारका लागि केही स्थानीय सरकारले व्यावहारिक योजना कार्यान्वयन गरिरहेको भए पनि धेरैले अझै पर्यटनको महत्व नबुझेकाले अझै सोचे जस्तो उपलब्धि हासिल हुन नसकेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङको बुझाइ छ । गुरुङ भन्छन्, “धेरै जनप्रतिनिधिलाई पर्यटनबारे थाहै छैन । त्यसैले पर्यटन विकासका लागि हिमालसँग जोडिएका गाउँपालिकाहरूले थप मिहिनेत गर्न जरूरी छ ।”