Print Friendly, PDF & Email

स्थानीय तह थोरै मात्र सक्रिय हुने हो भने समाजमा देख्न सकिने काम सम्भव हुन्छ भन्ने उदाहरण भएको छ बाजुराको गौमुल गाउँपालिका । यहाँका दुई वडाध्यक्षको सक्रियताले १९ घरेलु श्रमिक बालबालिकालाई घर मात्रै फर्काएन, स्कूल पनि पु¥याएको छ ।

-निमेन्द्र शाही :  खोज पत्रकारिता केन्द्रका लागि

राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न शहरमा घरेलु श्रमिक भएर काम गरिरहेका बाजुराको गौमुल गाउँपालिकाका बालबालिका घर फर्किन थालेका छन् । गौमुलका स्थानीय जनप्रतिनिधिले त्यस्ता बालबालिकालाई फर्काउन शुरू गरेका हुन् ।

अहिलेसम्म १९ बालबालिका घर फर्किएको गौमुल गाउँपालिका–४ मानाकोटका वडाध्यक्ष वीरेन्द्र रोकायाले जानकारी दिए । रोकायाले बाँकी बालबालिकालाई पनि फिर्ता ल्याउने प्रयास भइरहेको बताए । “गाउँपालिकाले निरन्तर ताकेता गरेपछि अभिभावक ताते” रोकायाले भने “हामी  बालबालिका गाउँ ल्याउँदैछौं ।”

विभिन्न सञ्चारमाध्यमले बाजुराका बालबालिका घरेलु श्रमिकको लागि शहरमा सप्लाइ भइरहेको समाचार सार्वजनिक गरेपछि बाजुरा गौमुलका जनप्रतिनिधिहरूले गाउँ–गाउँमा गएर त्यस्ता बालबालिकाको विवरण संकलन गरेका थिए । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार, गौमुलका दुई वटा वडाका ४३ बालबालिका अझै पनि राजधानी लगायत विभिन्न जिल्लामा घरेलु कामदार छन् । गाउँपालिकाका अनुसार, वडानम्बर ४ बाट २३ र वडानम्बर ५ बाट २० जना घरेलु श्रमिक छन् ।

घर फर्किएपछि ती १९ बालबालिका अहिले विद्यालय भर्ना भएर पढ्न थालेका छन् । कञ्चनपुर, महेन्द्रनगरको नविन चन्द ठकुरीको घरमा घरेलु श्रमिक भएर काम गरेका गौमुल–४ मानाकोटका १४ वर्षीय एक बालक वैशाख पहिलो हप्ता घर फर्किए । उनी अहिले गौमुलको कृतिचौर माविमा कक्षा–८ मा पढिरहेका छन् । उनलाई कृतिचौर माविकै प्रधानाध्यापक रमानन्द जोशीले घरेलु श्रमिकको लागि महेन्द्रनगर पठाएका थिए । ठकुरीको घरमा काम गर्ने क्रममा उनका दुवै हात भाँचिएका थिए । उनको दुवै हातमा अहिले स्टिल राखिएको छ । उनका बाबु अफिलाल धामीले भने, “पहिले पढ्न पाउला भनेर पठाएँ, अहिले यस्तो भएर आयो ।”

गौमुल गाउँपालिका–५ का अर्का १२ वर्षीय बालकलाई गाउँले दाइ कलक रोकायाले पढाइदिने आश्वासन देखाएर पोखरा पठाएका थिए । पोखरा पुगेपछि उद्योगी बबितासिंह शाहको लेकसाइडस्थित घरमा उनले एक वर्ष काम गरे । अहिले गाउँ फर्किएर उनी कृतिचौर माविमा कक्षा–२ मा पढिरहेका छन् ।

बाजुराका घरेलु श्रमिक बालबालिका बारेमा समाचार आएपछि महिला तथा बालबालिका कार्यालय बाजुरा, बालकल्याण समिति बाजुरा र गौमुल गाउँपालिकाले उनीहरूका अभिभावकलाई घरेलु कामदारमा प्रयोग गरिएका बालबालिका तुरुन्त घर फर्काउन पत्राचार गरेको थियो । त्यसपछि अभिभावकहरू आफैं शहर गएर बच्चाहरू घर फर्काएका थिए । घरेलु श्रमिक हुँदा पढ्न वञ्चित भएका ती बालबालिका अहिले गाउँकै पायक पर्ने विद्यालयमा भर्ना भएर अध्ययन गरिरहेका छन् ।

बाजुराको बूढीगंगा नगरपालिकास्थित चन्द्रा शाहको घरमा श्रमिक रहेकी १३ वर्षीया बालिका पनि घर फर्किएकी छिन् । महिला विकास कार्यालयले ‘घरेलु श्रमिकका लागि गएका बालबालिका तुरुन्त फर्काउनु’ भन्ने बेहोराको पत्र पठाएपछि उनकी दिदी गएर ती बालिकालाई फर्काएकी हुन् । घरेलु श्रमिक रहँदा उनले घरको सरसफाइ, घाँस काट्ने र भाँडा माझ्ने काम गर्नुपरेको उनकी दिदीले सुनाइन् ।

गौमुल–५ का १४ वर्षीय अर्का बालक अहिले जिल्ला सदरमुकाम मार्तडीस्थित मालिका माविमा कक्षा–८ मा भर्ना भएका छन् । उनी पनि चैत अन्तिम साता काठमाडौंका एक तरकारी व्यवसायीको घरमा घरेलु कामदार थिए । जनप्रतिनिधिहरूले शहर गएका छोरालाई तुरुन्त फिर्ता बोलाउन आग्रह गरेपछि अभिभावकहरूले उनलाई फिर्ता ल्याएका हुन् ।

घरेलु श्रमिक भई काम गर्दा हात भाँचिएका एक बालक। उनी अहिले बाजुराको गौमुलस्थित कृतिचौर माविमा पढिरहेका छन् । तस्वीर : निमेन्द्र शाही

यसअघि अभिभावकहरूले नै शिक्षा राम्रो होला भन्ने आसमा बालबच्चालाई घरेलु श्रमिक बन्न विभिन्न शहरमा पठाउने गरेका थिए । शहरमा हुँदा ती बालबालिकाले कस्तो दुःख पाउँछन भन्नेबारे उनीहरू खासै जानकार हुँदैनथे । जसका कारण विभिन्न शहरहरूमा बालबालिका पठाउन बिचौलियाहरूलाई सजिलो हुने गरेको थियो । गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले घरेलु कामदार बन्न शहर गएका बालबालिकालाई फर्काउनुपर्छ भनेर उनीहरूका अभिभावकलाई बुझाउन कठिन भइरहेको बताए । “बाबुआमा खासै सचेत छैनन्, बालबच्चाले शहरमा के गरिरहेका छन् भन्नेसम्म पनि थाहा छैन” रोकायाले भने, “अहिले भने बालबालिकालाई श्रमिक बन्न शहर पठाउन हुँदोरहेनछ भन्ने ज्ञान हुन थालेको छ ।”

गौमुल गाउँपालिकाले अहिले गाउँपालिकाभरिका स्थानीय बासिन्दाको आयस्रोत र रोजगारी सहितको तथ्याङ्क संकलन गरिरहेको छ । तथ्याङ्क संकलनपछि फर्किएर आएका बालबालिकाको अवस्था मूल्याङ्कन गरी उनीहरूलाई पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी भइरहेको अध्यक्ष रोकायाले बताए । घरेलु श्रमिक भएर काम गरेर फर्किएका बालबालिकामध्ये अहिले १४ जना कृतिचौर मावि, ४ जना थला मावि र एक जना मालिका माविमा पढिरहेका छन् ।

पढाइदिने आश्वासन दिएर बालबालिकालाई शहर पु¥याउने अभ्यास गौमुल गाउँपालिकामा धेरै छ । गाउँपालिका गठन भएलगत्तै वडा नम्बर ४ र ५ का अध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गाउँका बालबालिका कहाँ–कहाँ छन् भनेर खोजीनिती गरेका थिए । जसको परिणाम अहिले देखिन थालेको छ– बालबालिका घर फर्किन थालेका छन् । गाउँपालिकाले बालबच्चा फिर्ता ल्याउन सहयोग गरिदिएपछि अभिभावकहरू खुशी भएका छन् । उनीहरूले वडाध्यक्षलाई धन्यवाद दिएका छन् ।

“भतिजाले पढाइदिन्छु भनेर लगेको थियो तर छोरो पढ्न पाएन” पोखराबाट आफ्नो छोरा घर फर्काएका ज्ञानबहादुर रोकायाले भने “गाउँपालिकाले बच्चा फर्काउनु भनेपछि बल्ल हाम्रो आँखा खुल्यो, अनि छोरो फिर्ता ल्याएँ ।” उनका छोरा अहिले कृतिचौर माविमा कक्षा–२ मा पढिरहेका छन् ।

गौमुल गाउँपालिका–४ स्थित थला माविका प्रधानाध्यापक खगेन्द्रबहादुर रावतले घरेलु श्रमिक रहेका बालबालिकालाई स्कूलमा पढाउन पाउँदा आफूलाई सन्तुष्टि मिलिरहेको बताए । “पहिले बालबच्चा नपठाउ भन्दा अभिभावकले मानेनन्” उनले भने, “ढिलै भए पनि बालबच्चा फर्किएका छन्, अब राम्रोसँग पढ्न पाउँछन् ।”

कृतिचौर माविका शिक्षक गणेश रोकायाले बालबालिका फर्काउने गाउँपालिकाको काम सराहनीय भएको बताए । “अब अरू ठाउँका अभिभावकहरूलाई पनि बालबालिकालाई काम गर्न पठाउनुहुँदैन भन्ने ज्ञान हुन्छ” रोकायाले भने, “यस्ता बालबालिका जिल्लामा धेरै छन्, सबैलाई फिर्ता ल्याउनुपर्छ ।”

बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई काममा लगाउन रोक लगाएको छ । ऐनको दफा ४ मा ‘कसैले पनि बालकलाई ललाईफकाई वा झुक्याएर वा प्रलोभनमा पारेर वा डर, त्रास वा दबाबमा पारी वा अन्य कुनै तरिकाले काममा लगाउनुहुँदैन’ भन्ने उल्लेख छ । यदि यसो गरेमा ‘निजलाई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ ऐनमा उल्लेख छ ।

‘गाउँ बाल संरक्षण समिति’ ले गौमुलको मानाकोट गाउँलाई बालश्रममुक्त घोषणा गर्ने तयारी गरिरहेको छ । घोषणा गर्नुपूर्व सबै बालबालिकालाई गाउँ फर्काइने गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।