Print Friendly, PDF & Email

भूकम्प आएपछि वेपत्ता भएकाहरुको विवरण खोतल्दै जाँदा एउटा तथ्य बाहिर आउँछ – भूकम्पका डरले परिवारलाइ समेत थाहा नदिइ गुपचुप पलायन भएका छैनन् भने अझै पनि धेरै मानिस भग्नावशेष भित्र पुरिएको अवस्थामा छन् । 

-प्रतिमा बाँस्कोटा: खोज पत्रकारिता केन्द्रका लागि

1623716_897550073639542_3301430165422054643_nभूकम्प आएको एक महीना नाघिसक्यो । अझै करीब ३०० मानिसको अत्तोपत्तो छैन । नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार, काठमाडौंबाट ३६ र भक्तपुरबाट एक जना हराइरहेका छन् । उपत्यकासहित ३५ जिल्लाबाट १९१ र जिल्ला नखुलेका अरू १९ जना अझै हराइरहेका छन् । यसमा हराएका विदेशी नागरिकको संख्या ८० समेत जोड्दा २९० हुन आउँछ । पहाडी र हिमाली जिल्लामा पहिरो लगायतका कारणले सर्वसाधारण पुरिएर बेपत्ता भएको हुनसक्ने भए पनि राजधानीमा यति धेरै मानिस कसरी हराए ? नेपाल प्रहरीको 'मिसिङ पर्सन डेस्क' का प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्नेत भन्छन्, "हराएका व्यक्तिमाथि ठूलै अनुसन्धान जरुरी छ ।"

प्रहरी प्रधान कार्यालयको विवरण अनुसार, सबैभन्दा बढी रसुवाबाट ९० जना, काठमाडौंबाट ३६, सिन्धुपाल्चोकबाट २९, गोर्खाबाट १८, दोलखा र नुवाकोटबाट ७–७ जना हराइरहेका छन् । धादिङ, मकवानपुर, मनाङबाट एक/एक जना हराएका छन् । हराएकामध्ये १९ जना कुन जिल्लाका हुन् भन्ने खुलेको छैन । प्रहरी मुख्यालयको इन्टरपोल शाखाका अनुसार, हराएको सूचीमा रहेका विदेशीको संख्या पछिल्ला दिनमा ८० मा झरेको छ । शाखाकी प्रमुख नायब उपरीक्षक बसुन्धरा खड्काका अनुसार, हराउनेमा फ्रान्सका १२ र जर्मनीका १२ जना छन् । यो बाहेक ७ अमेरिकी, इजरायल र स्पेनका ६÷६ नागरिक पनि बेपत्ताको सूचीमा छन् । यसैगरी आयरल्याण्ड, चिली, क्यानाडा र बेल्जियमका दुई/दुई जना नागरिक बेपत्ता छन् । कम्बोडिया, लेवनान, इटलीका एक÷एक जना हराइरहेका छन् । हराएका अन्यको विवरण खुलेको छैन । सबैभन्दा बढी लाङटाङबाट ३० र मनास्लुबाट ३, मनाङबाट ७, सगरमाथा बेसक्याम्प आसपासबाट ३ जना हराएका छन् । यी बाहेक ३७ विदेशी हराएको सूचना प्रहरीलाई त छ, तर कहाँबाट हराए भन्ने अहिलेसम्म यकिन छैन ।

इन्टरपोलले यी हराएका विदेशी नागरिकको खोजी गर्न सम्बन्धित दूतावासलाई पत्राचार गरेको छ । नेपाल प्रहरीले पनि बेपत्ता व्यक्तिका परिवारसँग प्रत्यक्ष सम्पर्क गरेर उनीहरूका बारेमा थप विवरण लिइरहेको खड्काले बताइन् । "हामीले अपेक्षा गरेजस्तो प्रतिक्रिया आएको छैन" उनले भनिन्, "परिवारका सदस्यले नै आश मारिसके जस्तो लाग्छ ।"

 बेपत्ताका कतिपय आफन्तले प्रहरीमा गएर 'आफ्नो मान्छे पुरिएको' भनिरहेका छन् । तर प्रहरीले खोजतलास गर्न सकिरहेको छैन । प्रहरीको विपत् व्यवस्थापन महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ठुले राई, भत्किएको घरको संरचना डर लाग्दो भएकाले तत्काल खोजतलास गर्न नसकिएको बताउँछन् । राई भन्छन्, "परकम्पन अझै रोकिएको छैन, घरभित्र पसेर काम गर्न सुरक्षाकर्मीलाई समस्या छ ।"

कहाँ हुनसक्छन् राजधानीका यी बेपत्ताहरू भनेर हामीले अनुसन्धान ग¥यौं । पछिल्लो समय उनीहरू कहाँ, कस्तो अवस्थामा थिए भन्ने पत्ता लगाउन प्रयत्न गर्यो  । आफन्तले प्रहरीमा दिएको सूचना विवरण केलायौं । तराईका जिल्लाहरूमा कोही हराएको उजुरी परेको छ÷छैन भनेर बुझ्यौं । राजधानीमा सरसफाई, तरकारी तथा फलफूल बिक्री गर्ने र अन्य सेवा दिन छिमेकी मुलुकबाट समेत कामदार आउने हुनाले त्यस्तो कुनै जानकारी वा निवेदन प्राप्त भए-नभएको परराष्ट्र मन्त्रालयमा बुझ्यौं । विभिन्न जिल्लामा रहेका उनीहरूका आफन्तसँग कुराकानी गर्योऊ । शिक्षण अस्पतालमा रहेका लाशको विवरण केलायौं । मानिस पुरिएको भनिएका संभावित घरका छिमेकीहरूलाई भेट्यौं । हाम्रो अनुसन्धानको निचोड के रह्यो भने, भूकम्पको डरले मानिसहरू परिवारलाई समेत थाहै नदिई गुपचुप पलायन भएका छैनन् भने अझै पनि धेरै जना भग्नावशेष भित्र पुरिएका छन् ।

(१) कहाँ होलान् झक्कुप्रसाद खत्री ?

दाङकी रीता केसी भूकम्पमा श्रीमान् बेपत्ता भएपछि खोजी गर्न राजधानी आइन् । एक हप्ता खोज्दा समेत श्रीमान् झक्कुप्रसाद खत्री फेला परेनन् । ३० वैशाख गाउँ फर्किइन् । उनले अझै पनि आश मारेकी छैनन् । "हरेक पटक कसैको फोन आउँदा उहाँ नै भेटिएको खबर आयो कि जस्तो लाग्छ" दाङबाट रीताले टेलिफोनमा भनिन्, "छोराहरूले बुबा खोइ भनेर सोधिरहन्छन् ।"
झक्कुप्रसाद खत्री विदेश जाने तयारीमा थिए । विदेश पठाउने राम्रो म्यानपावर कम्पनीको खोजी गर्दै दश र सात वर्षका दुई छोरा र श्रीमतीलाई घरमै छाडेर उनी १० वैशाख काठमाडौं आइपुगेका थिए । ११ वैशाख बिहान टेलिफोन गरेर काठमाडौं आइपुगेको जानकारी परिवारलाई दिए ।

रीता भन्छिन्, "आफन्तकोमा गएर बस्नु भनेकी थिएँ, उहाँले गोंगबुतिरको होटलमा बसेको छु भन्नुभएको थियो ।"शनिबार भूकम्प आएको खबरले रिताको मन विचलित भयो । हतार हतार श्रीमान्को मोबाइलमा फोन गरिन्, लागेन । टेलिभिजनहरूले काठमाडौंका नराम्रा खबरहरू दिन थालिसकेका थिए ।

दुईदिनसम्म पनि केही खबर नआएपछि उनी काठमाडौं आइन् । सतुंगलस्थित दिदीको घरमा बसेर श्रीमान्को खोजी गरिन् । दिदी–भिनाजुसँग हरेक अस्पताल चहारिन् । झक्कुप्रसादले बस्ने भनेको गोंगबुतिर भत्किएका होटल र घरमा पुगिन् । भेटेजति सबै मृतक र घाइतेको अनुहार हेर्दै हिंडिन् । मरेका मानिस राखिएको ठाउँमा गएर मृतकको जीउमा भएको कपडा पनि नियालिन् । "अस्पतालमा घाइते र मरेका व्यक्तिहरू हेर्दा हेर्दै चक्कर आयो, तर उहाँ फेला पर्नु भएन", उनले भनिन्, "२९ वैशाख फेरि भूकम्प आयो, छोरा सम्झेर घर फर्किएँ । मामाघरबाट फर्किएका छोराहरूले बुवा खोई भनेर सोधे ? मैले नबोलेर टारें ।"

(२) अमर भेटिएनन् : लौ न खोजी गरौं !

ठमेलको 'इन्टरनेशनल गेस्टहाउस' का 'म्यानेजर' गणेश खड्कालाई अहिले आफ्नो होटलका एक कर्मचारीको चिन्ताले सताएको छ । उनको होटलमा मालीको काम गर्थे पाल्पाका अमर सुनार । उनी परिवारसहित डल्लुतिर बस्थे । सुनार कहिलेकाहीं श्रीमती र छोरीलाई समेत लिएर होटलमा आउँथे । भूकम्प जानु अघिल्लो दिन पनि अमर होटलमा आएर दिनभरि काम गरेर घर गएका थिए । खड्का भन्छन्, "फूल गोडेर पानी हालेर गएका थिए । त्यसदिनदेखि सम्पर्कविहीन छन् । अहिलेसम्म उनको अत्तोपत्तो छैन ।"

खड्काले सुनार हराएको सूचना प्रहरीलाई पनि दिएका छन् । पछिल्लो एक महीनामा उनी सबैजसो अस्पताल पुगे । भूकम्पबाट घाइते भएर अस्पतालमा उपचार गराइरहेका र मृत्यु भएकाहरू हेदै हिंडे । अमरको केही पत्तो लागेन । सुनार परिवार क्रिश्चियन धर्म मान्थ्यो । खड्का भन्छन्, "शनिबार प्रार्थना गर्न स्वयम्भूतिरको चर्चमा जाने गर्थे । कुनै चर्च रहेको भवन भत्किएर त पुरिएनन् ? लौ न खोजी गरौं !'

(३) 'मुकेश : होटलभित्र पुरिएको हुनुपर्छ'

नुवाकोटका मुकेश नेपाली एक वर्ष अघिदेखि नयाँबसपार्कको बुटवल पाल्पा गेस्ट हाउसमा काम गर्थे । छेवैको वैकुण्ठ गेस्ट हाउसमा काम गर्ने उनका मामाले २० वर्षीय नेपालीलाई त्यो होटलमा जागिर लगाइदिएका थिए । एक महीनासम्म पनि मुकेशको अत्तोपत्तो नभएपछि निराश ठूलो बुवा भैरवबहादुरको अनुमान छ, "ऊ त्यहीं होटल भित्र पुरिएको हुनुपर्छ ।" गाउँमा भएको एउटा झगडामा परेर मुकेशका बाबु तीन वर्षलाई जेल परेका छन् ।

अहिले उनी काभ्रेपलाञ्चोक जेलमा छन् । घरको सबै जिम्मेवारी मुकेशले नै हेर्दै आएका थिए । ठूलो बुबा भैरवबहादुरका भनाइमा "जिउँदो हुँदाहुँदै सम्पर्कमा नआउने खालको केटो होइन त्यो ।" मुकेश हरेक महीना आमा र भाइलाई गाउँमा पैसा पठाउँथे । खोज्न सकिने जति सबै ठाउँमा आफूहरूले खोजी गरेको भैरवबहादुर बताउँछन् । उनको भनाइमा, "मुकेश काम गर्ने होटलका साहु साहुनी नै भूकम्पमा परे । त्यो होटलमा ४०/४५ जना पुरिएको आशंका छ । भत्किएको घर हटाएर खोजी गर्न डोजर चाहियो । होटल साहुका भान्जा बचेका छन्, उनले डोजरको व्यवस्था गरेर पत्ता लगाउँछु भनेका छन् । तर अहिलेसम्म काम अघि बढेको छैन ।"

(४) अस्पतालबाटै हराइन् बेलुमाया

नवलपरासीकी ४७ वर्षीया बेलुमाया श्रेष्ठलाई उनको परिवारले उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरेको थियो । मानसिक सन्तुलन ठीक नभएकी बेलुमायाका हातखुट्टा सुन्निएपछि श्रीमान् कृष्ण श्रेष्ठले नवलपरासीबाट ल्याएर ९ वैशाखमा अस्पताल भर्ना गरेका थिए । वैशाख ११ गते बेलुमायालाई अस्पतालले इमर्जेन्सी वार्डबाट नर्मल वार्डमा सारिदियो । बिहान नर्मल वार्डमा सारेपछि उनका श्रीमान् कृष्ण औषधि खरीद गर्न पसल गएका बेला बेलुमाया अस्पतालबाटै हराइन् ।

"अंकल औषधि लिएर आउँदा आन्टी हुनुहुन्नथ्यो" भतिज हरि श्रेष्ठले १२ जेठमा भने "सबैतिर खोज्दा कतै भेटिएन ।" अर्को दिन भूकम्प आएपछि खोजी झन् तीव्र पारियो । उनी फेला परिनन् । "मानसिक सन्तुलन अलि ठीक थिएन, कसैलाई केही नभनी हिंड्ने गर्नुहुन्थ्यो" उनले भने "एकैदिनमा धेरै टाढा त जान सक्नु भएन होला ।" महीना दिनसम्म खोजी गर्दा पनि बेलुमाया नभेटिएपछि पति कृष्ण गाउँ फर्किएका छन् । आमा हराएका कारण अफगानिस्तानमा रहेका छोरा विचलित छन् । कृष्ण भन्छन्, "छुट्टी नमिलेर ऊ फर्कन पाएको छैन ।"

(५) बा–आमाको प्रश्न : दाजु भेटियो ?

खोटाङका रमेश बस्नेत घरमा पेन्टिङ गर्ने काम गर्थे । सीतापाइलाको पदम कोलोनीमा बस्थे । भूकम्प आउनु एक दिन अघि ज्वाईंसँग कुराकानी हुँदा पोखरा जाने बताएका थिए । गए/गएनन् थाहा छैन । "अरू बेला खासै कुरा हुँदैनथ्यो, भूकम्प गएपछि दाइको मोबाइलमा धेरै पटक फोन गरें, लागेन ।" बहिनी लक्ष्मी बस्नेत भन्छिन्, "कहाँ हुनुहुन्छ थाहा छैन ।" रमेशकी श्रीमती एक वर्षदेखि कुवेतमा छन् । १५ वर्षको छोरो र १२ वर्षकी छोरी इटहरीमा बस्छन् । रमेशलाई खोज्न उनका कान्छा भाइ खोटाङबाट काठमाडौं आए । पनौती बस्ने बहिनी पनि खोजीमा सक्रिय भइन् । रमेशका भाइ भन्छन्, "भाउजूले खबर पाउनुभएको छ, तर एक वर्षअघि मात्र गएकाले अहिले आउन सक्नुहुन्न ।" खोटाङमा बस्ने रमेशका आमाबुवा छोरो हराएको खबरले मर्माहत छन् । उनीहरू खोटाङबाट छोरीलाई फोन गरिरहन्छन् । "हरेक दिन दाजु भेटियो भनेर बाआमाले सोध्दा मेरो मुटु नै भक्कानिन्छ" लक्ष्मी भन्छिन, "प्रहरीले खोजिरहेको छ भन्ने गरेकी छु ।"
 

६) 'ऊ आउनेछ'

फर्पिङका १३ वर्षीय सुरेश रम्तेल ११ वैशाख बिहान आमाले पकाएको खाना खाएर घरबाट निस्किएका थिए । काठमाडौं जान भनेर घरबाट हिंडेका सुरेश कहाँ गए कसैलाई थाहा छैन । दाइ श्याम रम्तेलका अनुसार, अरू बेला पनि सुरेश घरबाट निस्किएर हिंड्ने र दुई÷चार दिनमा आउने गर्थे । तर यस पटक एक महीनासम्म पनि उनी फर्किएनन् । कता गए भन्ने जानकारी परिवारलाई छैन ।
भूकम्पपछि सबै सम्भावित ठाउँमा खोजी गरियो । परिवारका सदस्यहरूले सुरेशसँग हिंड्ने साथीभाइसँग बुझे र उनी जाने भनिएका सबै ठाउँमा पुगे । हरेक अस्पताल र विदेशीहरूले चलाएको मेडिकल क्याम्पमा गएर खोजी गरे । केही पनि पत्तो लागेन । अहिले उनीहरू प्रहरीको अनुसन्धान पर्खिएर बसेका छन् ।
सुरेशको परिवारको अपेक्षा भिन्न छ । दाइ श्याम भन्छन्, "ऊ फुर्तिलो ज्यान भएको मान्छे हो, भूकम्प गएकै स्थानमा भए पनि बाँच्न सक्छ । हामीलाई विश्वास छ, ऊ फर्किएर आउनेछ ।"

 (७) धरहराबाट साथ छुट्यो

 १२ वैशाख पहिलो भूकम्प जाँदा गोठाटारकी एञ्जल गुरुङ र उनका प्रेमी स्याङ दोर्जे वाइबा (विशेष श्रेष्ठ) धरहराको पछाडिपट्टिको सिंढीमा बसिरहेका थिए । अचानक धक्का आयो । पहिलो धक्का आउँदा एञ्जल उठिन् । विशेषले केही हुँदैन, गयो बस् भनेर बसाए । उनी बसेकी मात्र के थिइन्, फेरि जमीन हल्लिन थाल्यो । विशेषले आफू भाग्दै एञ्जललाई पनि भाग्न भने । त्यो क्षणदेखि विशेष सम्पर्कमा छैनन् । उनका परिवारले राजधानीका अस्पताल पुगेर घाइतेहरू भेटे । मृतकको नाम र शवको अनुहार हेरे । आफन्त फेला नपरेका भनिएका शव राखेको ठाउँमा पनि गए । केही फेला परेन । प्रहरीको अभिलेखमा राजधानी काठमाडौंबाट भूकम्पपछि हराएका ३६ जनाको सूचीमा विशेषको पनि नाम छ ।

एञ्जलले भनिन्, "अलि जिद्दी स्वभावको थियो, उसलाई ठीक लागे ठीक, नलागे बेठीक, अरूको कुरा सुन्दैनथ्यो ।" तीन दिन राम्रोसँग बोलचाल नभएपछि विशेषले अचानक शनिबार बिहान फोन गरेर भेट्न बोलाएपछि उनीहरू त्यहाँ पुगेका थिए । गोठाटार बस्ने एञ्जल गुरुङलाई अहिले पनि लाग्छ, दुई दिनअघि विशेषसँग झगडा नगरेको भए राम्रो हुने रहेछ । झगडा नपरेको भए उसले एञ्जलको हात समातेको हुन्थ्यो वा काँधमा हात राखेको हुन्थ्यो । "त्यसो भएको भए हामी सँगै भाग्न सक्थ्यौं" एञ्जलले भनिन्, "मन मनै अझै नि लागिरहेको छ, ऊ फर्किएर आउँछ ।"
बुबा भीमसेन श्रेष्ठ र उनको परिवारले विशेषको खोजी गर्न कुनै कसर बाँकी राखेको छैन । धरहरा भत्किएर थुप्रिएको माटो सुरक्षाकर्मीले सफा गर्दा परिवारै बसेर त्यहीं आँखा लगाए । सबै अस्पताल चहारे । फेसबुकमा सेयर गरे । प्रहरीमा उजुरी गरे । तर अहिलेसम्म उनको अत्तोपत्तो छैन ।

(८) कहाँ गए अनुष्का र रेशमी ?

११ जेठ बेलुका प्रहरीमा एउटा निवेदन पर्यो  । गोंगबुको बुटवल पाल्पा गेस्टहाउसबाट अढाई वर्षीया अनुष्का सिजाली र उनकी आमा २८ वर्षीया रेशमी सिंजाली हराएको सम्बन्धमा । रूपन्देही केरवानी घर भएका यी आमाछोरी हराएको उजुरी रेशमीका भान्जा कमल सारु मगरले दिएका हुन् । मगरका अनुसार, हराएकी यी आमा त्यो होटलकी सञ्चालिका हुन् । त्यही होटलमा पुरिएर रेशमीका श्रीमान् दिलबहादुर र ससुरा नरबहादुरको ज्यान गयो । उनीहरूको लास सशस्त्र प्रहरी र नेपाल प्रहरीले चार दिनपछि झिके । एक महीनासम्म पनि रेशमी र उनकी छोरी भेटिएका छैनन् । "शुरुमा लास नभेटिंदा अन्तै छन् कि भन्ने आश थियो" कमलले टेलिफोनमा भने "यतिका दिन नभेट्दा उनीहरू पनि त्यहीं पुरिएका होलान् भन्ने लाग्न थालेको छ ।"

(९) कहाँ होलान् सुरज ?

इनरुवा नगरपालिका–४ सुनसरीका सुरज पोख्रेल (३८) ठमेलको बुटिकमा काम गर्थे । सुनसरीको पुख्र्यौली घरमा कमै जाने सुरज वेलाबखत भक्तपुरमा रहेका फुपू फुपाजुकोमा गइरहन्थे । तर भूकम्प आएको दिनदेखि उनी सम्पर्कमा छैनन् । "हप्ता दश दिनमा फोन गरेर हालखबर सोध्ने गथ्र्यो" फुपू उर्मिला तिवारीले भनिन्, "भूकम्प आएदेखि सम्पर्कमा छैन ।" अरू वेला हालखबर सोध्नलाई फोन गरिरहने सुरजले अहिले फोन नगर्दा घरमा चिन्ता बढेको सुनसरीबाट उनका दाजु रोशनले बताए । रोशनले भने, "बाबु आमा चिन्तामा छन् । फुपू फुपाजुलाई खोजिदिन भनेका छन् ।" फुपू फुपाजुले केही अस्पतालमा गएर घाइतेलाई भेटे र मृतकको शव हेरे, तर सुरजको पत्तो लागेन ।

को हुन् उनीहरू ?    

त्रिवि शिक्षण अस्पतालमा आफन्त बुझ्न नआएका १८ वटा सग्ला र १० वटा शरीरका विभिन्न अंग मात्र भएका शव छन् । त्यसमा १४ पुरुष, ३ महिला र एक बालिका छन् । एक महिला विदेशी हुन् । शरीरका विभिन्न अङ्ग मात्रै भएका १० वटा शवका बारेमा विवरण जुटाउन सम्भव भएन । सग्लो शरीर भएको शवलाई प्रहरीले 'बे' (बेवारिसे) संकेत नम्बर दिएर राखेको छ ।
(१) 'बे ३' संकेत नम्बर दिइएको पुरुषको शव छ । हेर्दा २५÷२६ वर्षको जस्तो लाग्छ । अगाडिको माथि बायाँपट्टिको एउटा दाँत भित्र पसेको छ भने उनका तलपट्टिका अगाडिका दाँत खप्टिएका छन् । दायाँ हातको चोरी र माझी औंलामा पहेंलो धातुका दुई वटा औंठी छन् । बायाँ हातको चोरी औंलामा पनि औंठी छ । दुई वटै हातमा सेता धातुका चुरा छन् । उनका साथमा सिम नभएका चार वटा मोबाइल सेट पनि छन् 

(२) 'बे ७' नाम दिइएका २३÷२४ वर्षका पुरुषले रक्तकाली उच्चमाविको लोगो भएको नीलो रङको स्वेटर, त्यसभित्र निलो आकाशे रङको सर्ट, खैरो रङको पाइन्ट र हरियो रङको ट्राउजर लगाएका छन् । उनको दाँतमा पान खाएको दाग छ ।
(३) 'बे ३२' संकेत भएका पुरुषको उमेर २५/३० वर्ष देखिन्छ । अगाडिको माथिल्लो दाँत साना र टुक्रिएका छन् र तलका दाँत खप्टिएका छन् । कानको लोती जोडिएका, हात र खुट्टाका नङ कुच्चिएका छन् । बायाँ घुँडामुनि खत छ । उनले अगाडि चेन भएको हरियो हुड ज्याकेट, कालो र सेतो छिर्के–मिर्के सर्ट अनि तीन वटा तारा भएको रातो ट्राउजर लगाएका छन् ।

(४) संकेत नम्बर 'बे ४३' भएका अर्का एक व्यक्तिको शव २५/३० वर्षका युवाको जस्तो लाग्छ । बायाँ घुँडादेखि तिघ्रासम्म २५ सेन्टिमिटर लामो खत छ । सुन्धारामा घाइते भएर उपचारका लागि हरियो रङको तन्नामा बेरेर वीर अस्पताल ल्याइएको उनको शरीरमा कपडा छैन । उनको दायाँ गाला र बायाँ छातीमा कोठी छ ।
(५) ६/७ महीनाकी जस्ती देखिने बालिकाको शव छ । संकेत नम्बर 'बे ४५' भएकी ती बालिकाको कम्मरमा रातो र पहेंलो रङको धागो बाँधिएको छ ।

(६) ५०/५५ वर्षको देखिने पुरुषको शवलाई संकेत नम्बर 'बे ४६' ट्याग लगाइएको छ । पाँच फिट ८ इन्च उँचाइ भएका उनको तलका दाँत फाटेका, गिजा तल सरेको र दुई वटा दाँत कीराले खाएको छ । उनले नीलो सेतो हाफ चेकसर्ट, र खैरो पाइन्ट लगाएका छन् । उनको साथमा दुई ठाउँमा गाँठो पारेको कालो धागोको माला छ ।


(७) ३५/३६ वर्षको जस्तो देखिने अर्को पुरुषको शवलाई 'बे ५६' नाम दिइएको छ । हातखुट्टाका सबै नङ कुच्चिएका उनी तराई मूलका जस्ता देखिने प्रहरीको भनाइ छ । खरानी रङमा अगाडिपट्टि नीलो बुट्टा भएको टी–सर्ट, कालोमा सेतो 'आउट लाइनिङ' भएको स्टीलको बकल सहितको कालो पेटी लगाएका उनले नीलो जिन्स पाइन्ट, दायाँ हातमा हरियो धागो बाँधेका छन् । यिनको दायाँ पाखुराको बाहिरी भागमा र दायाँ तिघ्राको पछाडिपट्टि कोठी छ ।

(८) ईवामुरा अस्पताल भक्तपुरबाट ल्याइएको ४० वर्ष उमेर जस्तो देखिने व्यक्तिको शवलाई 'बे ५७' संकेत नम्बर दिइएको छ । उनका तलका दाँत मिलेका छैनन् । तालुमा कपाल छैन । उनले कालो नाइक ज्याकेट, सेतो हाफ सर्ट, २९ साइजको नीलो जिन्स पाइन्ट, कालो नीलो र सेतो धर्सा भएको कटनको बेल्ट लगाएका छन् ।

(९) संकेत नम्बर 'बे ६७' लेखिएको बुटवल पाल्पा गेस्टहाउसमा फेला परेर अस्पताल ल्याइएको ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव छ । सेतो गञ्जी र निलो कट्टु लगाएका उनको शवको हाइट ५ फिट ८ इन्च छ । शरीरको दायाँ कुममा कोठी छ ।

(१०) हिल्टन गेस्टहाउस गोंगबुबाट ल्याइएका २०÷२२ वर्षको जस्तो लाग्ने युवाको शव छ । यो शवको संकेत नम्बर ७० हो । नीलो रङको हुड ज्याकेट लगाएका उनले नीलो जिन्स पाइन्ट र त्यसमा जनकल्याण हाईयर सेकेण्डरी स्कूल मकवानपुरको लोगो भएको बकल सहितको स्कूल बेल्ट लगाएका छन् । उनको दायाँ कानको लोतीमा कोठी छ ।

११) गोंगबुबाट शिक्षण अस्पताल ल्याइएकी २०/२५ वर्ष जतिकी देखिने युवतीको शव छ । 'बे ८९' संकेत नम्बर दिइएकी ती महिलाको १६ सेन्टिमिटर लामो कपाल छ । उनको हात र खुट्टाका सबै नङहरू लामा छन् र तिनमा रातो नेल पोलिस लगाइएको छ । दायाँ खुट्टामा रातो, कालो र हरियो रङ मिसिएको डोरी बाँधिएको छ । उनले गुलावी टी–सर्ट र 'जस्ट जिन्स' लेखेको नीलो हाफपाइन्ट लगाएकी छन् । बायाँ खुट्टाको चोरी औंलामा पहेंलो रिङ लगाएकी उनले बायाँ हातमा पहेंलो धातुको चुरा र मीना लेखिएको प्लाष्टिकको घडी लगाएकी छन् ।

(१२) संकेत नम्बर 'बे ९१' दिइएको रसुवाको लाङटाङबाट ल्याइएको ३५÷३६ वर्षको उमेरका पुरुषको शव छ । पाँच फिट पाँच इन्च उँचाइका ती व्यक्तिको कपाल कालो, खस्रो र ठाडो छ । कालो ट्रयाक लगाएका उनको घाँटीमा धागोमा उनेको हरियो स्टोनको माला छ ।

(१३) तराई मूलको जस्तो देखिने 'एसएम (शहीद मेमोरिएल) २' संकेत नम्बर दिइएको ५०÷५२ वर्ष उमेरका व्यक्ति छन् । दुवै कान छेडेका उनी सेतो र खैरो धर्का भएको सेतो कुर्ता र सेतो गञ्जीमा छन् । गञ्जी अमूलको ८५ साइजको छ । उनले प्याजी र रातो बोर्डर भएको सेतो लुँगी लगाएका छन् । उनले दायाँ हातको माझी औंलामा गुलाबी पत्थर भएको सेतो धातुको औंठी र हातमा रोलेक्स घडी लगाएका छन् ।

(१४) लाङटाङ रसुवाबाट ल्याइएका अर्का एक वयस्क पुरुषको शवलाई 'बे ११०' संकेत नम्बर दिइएको छ । ५ फिट ६ इन्च उँचाइका उनले हाफ बाहुला भएको हुड ज्याकेट भित्र हरियो फुल बाहुले टी–सर्ट लगाएका छन् । कालो ट्रयाक पाइन्ट र सेतो एडिडास जुत्ता लगाएका उनले तीन प्याकेट नवरत्न तेल बोकेका छन् । उनको घाँटीमा कालो धागोको डोरीमा हरियो बुटी छ भने बायाँ हातमा हरियो रबरको ब्याण्ड छ ।

(१५) लाङटाङमै भेटिएका अर्का एक वयस्क पुरुष छन् । उमेर खुलेको छैन । संकेत नम्बर 'बे १११' नम्बर दिइएका उनले गाढा नीलो र पहेंलो बाहिरी तथा प्याजी रङको भित्री कपडा भएको मारमोट लेखेको ज्याकेट लगाएका छन् । 'हल्ला स्पोर्ट' लेखिएको गाढा नीलो ट्राउजर, नीलो टी–सर्ट र 'लेभल ग्लोभ्स' लेखिएको सेतोमा कालो बुट्टा भएको स्कार्फ लगाएका छन् । यस बाहेक बुटी जस्तो देखिने मालाको लकेट पनि छ ।

(१६) शिक्षण अस्पताल महाराजगञ्जमा संकेत नम्बर 'बे ११२' नम्बरको ५ फिट ८ इन्च उँचाइका अर्का व्यक्तिको शव पनि छ । फुलेको कपाल भएका उनका छोटा र मसिना दाँत छन् । वैजनी रङको हाफ बाहुले ज्याकेट, भुवा आउने खैरो रङको हुड, गाडा, नीलो र साइडमा नाइक लेखेको हाफ बाहुले 'माउन्टेन हार्डवेयर' लेखेको कालो बाक्लो चेन भएको पाइट लगाएका छन् । उनले दायाँ हातको माझी औंलामा रातो, नीलो र पहेंलो ९ वटा पत्थर भएको पहेंलो धातुको औंठी लगाएका छन् । 

(१७) अनुमानित ७० किलो तौल भएकी एक विदेशी महिलाको शव पनि छ, अस्पतालमा । राष्ट्रियता लगायत उनको परिचय खुल्ने केही फेला नपरेपछि प्रहरीले डीएनए नमूना र फिङ्गर प्रिन्ट संकलन गरेर राखेको छ । २८ वटा दाँत भएकी यी महिलाको अरू कुनै परिचय खुल्ने आधार भेटिएको छैन ।

(१८) त्रिवि शिक्षण अस्पतालमा 'एसएम वान' संकेत नम्बर दिइएकी एक महिलाको बेवारिसे शव छ । यो शव शहीद मेमोरियल अस्पताल कलङ्कीबाट ल्याइएको हो । ५ फिट ३ इन्च उँचाइकी ती महिलाको कपाल खैरो छ । रातो फूलबुट्टे म्याक्सी लगाएकी उनको घाँटीमा 'सिद्ध' लेखिएको लकेट छ । उनको हातको बायाँ नाडीमा नबुझिने लिपिको अक्षर र फूलको बुट्टा खोपिएको छ । शरीरको पछाडिपट्टि हिपमा कोठी जस्तो देखिने कालो दाग छ ।

हराएको भइ कारागारमा 

गोंगबुका शंकर बोगटी (२१) वैशाख १२ गते भूकम्प जाँदा बसन्तपुरतिर घुम्दैथिए । अचानक भूकम्प आएपछि अरू जसरी नै दौड्दै टँुडिखेल पुगे । भूकम्प थामिएपछि महाबौद्धतिर गए । महाबौद्धमा केही युवाहरू एउटा घरभित्र पसिरहेका थिए, उनी पनि पछिपछि गए । केहीक्षणमै प्रहरी आइपुग्यो र ती युवासँगै शंकरलाई पनि पक्राउ गरेर लग्यो ।

कथाको अर्को पाटो रोचक छ । भूकम्प आएपछि हराएका शंकरको खोजी गर्न उनका दाइ सरोज बोगटीले प्रहरीमा निवेदन दिए । प्रहरीले राजधानीबाट हराउनेको सूचीमा शंकरको नाम पनि राख्यो । अनि शुरु भयो बोगटी परिवारमा हैरानी । उनीहरू हरेक अस्पतालका घाइते हेर्दै हिंडे । केही दिन नभेटिएपछि मृतकको शव हेर्न थाले । त्यहाँ पनि भेटिएनन् शंकर । जिउँदै भए सम्पर्क गर्नुपर्ने, टेलिफोन गर्नुपर्ने भन्ने अनुमान गरेर पछिल्ला दिनमा जिउँदो भेटिने आश मारेर बसेका थिए, उनीहरू । दाइ सरोज भन्छन्, "एक महीनापछि ११ जेठमा केन्द्रीय कारागार सुन्धाराबाट फोन आयो । फोनमा बोल्ने मान्छे त आफ्नै भाइ । उसले म कारागारमा छु भन्यो । हतार हतार गएर भेटें ।"

शंकर सहित ती युवालाई प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको रहेछ । प्रमुख जिल्ला अधिकारीलाई धरौटी बुझाउन नसकेपछि उनी जेल पुगे । उनले प्रहरीलाई नाम थर ढाँटेर सुवास बोगटी बताएका छन् । दाइ सरोज भन्छन्, "ऊ अपराधमा संलग्न होस्÷नहोस्, जीवित रहेछ । हामी धेरै खुशी छौं ।"

सोफिया र साइँली : आफन्तको खोजी

छाउनीस्थित सैनिक अस्पतालको 'सिविलियन' उपचार भएको ठाउँमा एकजना किशोरी छन् । उनी आफ्नो नाम सोफिया भन्छिन् । भूकम्प आएको साँझ अस्पताल भर्ना गराइएकी उनको थर के हो, घर कहाँ हो ? केही थाहा छैन । सैनिक अस्पतालका डाक्टर र नर्सहरू सोफियाका आफन्त खोजी गरिरहेका छन् । अस्पतालका प्रवक्ता सहायक रथी बजेन्द्र श्रीवास्तवले भने 'टाउकोमा चोट लागेर ल्याइएकी उनी अहिले खाना राम्रोसँग खान्छिन् । बोलीचाली पनि ठीक छ । घरमा आमाबुवा र भाइबहिनी छन् भन्ने बाहेक केही बताउन सक्दिनन् ।" श्रीवास्तवले भने, "अव कसरी खोज्ने होला आफन्त ?"

अर्की एक वृद्ध महिलाको पनि सेनाले उपचार गरिरहेको छ । ६५ वर्षीया वृद्ध साइँली तामाङ हुन् । राजधानीको कुनै घरले च्यापिएकी साइँलीको अस्पतालमा उपचार भएको एक महीना भयो । उनको खोजी गर्न कोही आएका छैनन् । आफ्नो बारेमा केही बताउन नसक्ने उनी हिंडडुल गर्न समेत सक्दिनन् । "आफ्नो नाम भन्छिन्, छोराछोरी छन्, घर छ भन्छिन्, अरू केही बताउन सक्दिनन्" डाक्टर श्रीवास्तव भन्छन्, "अब कसको जिम्मा लगाउने ?"

 शव चिन्ने सबुत : प्रेमिकाको उपहार र कपाली तमसुक

तनहुँका सागर माल (२१) को भूकम्पमा परेर ज्यान गएको १७औं दिनमा मात्रै परिवारले शव पायो । उनी गोंगबुको पाल्पा बुटवल गेस्टहाउसमा बसेका थिए । प्रहरीले उनको शव त्रिवि शिक्षण अस्पताल ल्याएको थियो । उनकी प्रेमिकाले उपहार दिएको मालाको आधारमा आफन्तले उनको शव पहिचान गरेका थिए । प्रेमिकाले सागरलाई अंग्रेजी अक्षरमा 'हीरा एस' (हीरा सागर) लेखिएको माला उपहार दिएकी रहिछन् । दाइ तीलबहादुरले भने "भाइकी प्रेमिकाले दिएको मालाका बारेमा बहिनीलाई थाहा रहेछ, त्यसैका आधारमा शव चिनियो ।"

सागर ११ वैशाख साँझ विदेश जान मेडिकल गर्ने भन्दै राजधानी आएका थिए । रात्रिबस चढेर भूकम्प गएको दिन शनिबार बिहान उनी काठमाडौं आइपुगेका थिए । सँगै अरू दुई जना गाउँका साथी पनि थिए । कतार जान मेडिकल जाँचका लागि आएका उनीहरू तीनै जना होटलमा थिए । भूकम्प गएका वेला सागर केही सामान किन्न तल रिसेप्सनमा झरेका थिए । दाइ तीलबहादुरका भनाइमा, "उनीसँगै आएका दुई साथीहरू भने माथिल्लो तलाबाट हामफालेर बाँच्न सफल भएछन्, ऊ गयो ।"

बारा कर्चवाका जयलाल राउतको शव पहिचानका लागि गाउँबाट कपाली तमसुक नै मगाउनु पर्यो  । उनी वैशाख पहिलो साता विदेश जान काठमाडौं आएका थिए । भूकम्पमा परेर उनको ज्यान गयो । कसरी हो, उनको शव टिचिङ अस्पताल आइपुग्यो । प्रहरीले उनका आफन्तको खोजी ग¥यो । फेला पार्न सकेन । केही दिनपछि उनले लगाएको कपडा अस्पताल बाहिर रहेको सूचनापाटीमा टाँगियो । त्यो कपडा देखेर एक युवकले शव पहिचान गरे । अनि लास बुझ्न भनेर आए । 

 मृतक राउतका भतिजा बताउने ती व्यक्तिलाई प्रहरीले मृतकको औंठाछाप ल्याउन भन्यो । भतिज यादवप्रसाद अहिरले उनको नागरिकता बोकेर आए । तर नागरिकतामा रहेको उनको औंठाछाप सही देखिएन । पुनः प्रहरीले तमसुक वा अरू केही औंठाछाप प्रमाणित हुने कागजात ल्याउन भन्यो । अनि गाउँबाट उनले आर्थिक लेनदेनमा गरेको कपाली तमसुक मगाइयो । औंठाछाप भिडाउँदा त्यो शव जयलालको हो भनेर पहिचान भयो र परिवारलाई बुझाइयो ।