निर्माणको क्रममा मान्छेले गरेको ज्यादतीले सडकलाई ज्यानमारा बनाएको ज्वलन्तउदाहरण हो– शिद्वार्थ राजमार्ग ।
– देव पचभैया : खोज पत्रकारिता केन्द्र
पाल्पा जिल्लाभित्र तिनवटा कालोपत्रे सडक छन्– सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल—पाल्पा खण्ड, पाल्पाबाट गुल्मी, अर्घाखाँची हुदै बाग्लुङ्गको बुर्तिवाङ्गसम्मको खण्ड र बर्तुङ्ग, राम्दीदेखि स्याङ्गजा–पोखरा खण्ड । यी सडकमा गत ७ बर्षमा भएका दुर्घट्नाहरुमा २७१ ज्यान गएको छ भने ६७६ जना घाईते र अङ्गभङ्ग भए । यी तीन सडकमा बर्षेनी ३५ देखि ४० जनाले ज्यान गुमाई रहेको र अङ्गभङ्ग हुनेको संख्या सरदर १०० जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको रेकर्डले देखाउँछ । सरकारी बजेटमा ‘यमराजमार्ग’ बनेका यी राजमार्ग र सहायक राजमार्गहरु सडक नीति निर्माताहरुकालागि शिक्षालय पनि बनेका छन् ।
सरकारी बजेटमा ‘यमराजमार्ग’
३९ किलोमिटर लामो बुटवल—पाल्पा खण्डमा गत १५ वर्षमा ९३ मृत्यु र ३०० भन्दा बढी अङ्गभङ्ग भएका छन् । २१ भदौ २०५४ को दिउसो पाल्पा सदरमुकाम तानसेनबाट बुटवल हिडेको बस ३ बजे बुटवल—पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिकै दुर्घटनामा प¥यो । सडकमा थुप्रिएको पहिरोमा चिप्लिएको बस २०० मिटर तल तिनाउ नदीमा खस्दा ३९ यात्रुमध्ये ३२ जनाको घटनास्थलमै मृत्यु भयो भने सात जना गम्भीर घाईते भए । २०५३ सालमा त्यही स्थानमा भएको दुर्घट्नामा आठ जनाको ज्यान गएको थियो ।
४ भदौ २०६२ मा गुल्मीबाट बुटवल हिडेको बस र बुटवलबाट तानसेन हिडेको ट्रक बेलुकी ५ बजे तल्लोसिद्धबाबा नजिक दुईवटा गाडी पास नहुने ठाउँमा आईपुगे । दुबै चालकले ब्याक गर्दागर्दै माथिबाट आएको पहिरोले दुवै गाडीहरुलाई छोप्दा ११ जना मरे, ४५ जना घाईते भए । २०५५ यता बुटवल—पाल्पा सडकको चिडियाखोला–दोभान खण्डमा पर्ने ७ किलोमिटर क्षेत्रमा मात्र ६४ जनाले ज्यान गुमाएका छन् । ३९ किलोमिटर लामो बुटवल—पाल्पा सडक खण्डको घुम्ती पिच्छे दुर्घटना भएका छन् । सिद्धबाबा, झ्ुम्सा, केराबारी, जोरधारा, रातमाटे, हिउँदेखोला, कालीमाटी र २४ माईलमा दैनिकजसो दुर्घटना हुन्छ ।
यो सडकमा बाह्रै महिना चलिरहने करोडौं बजेटको मर्मत–सम्भारसंगै दुर्घटना बढिरहेको छ । जिल्ला प्राविधिक कार्यालय पाल्पाका ईन्जिनियर प्रेम बस्याल बालुवाको पत्रले अड्याएको चट्टे भिर खोस्रेर सडक बनाउनु यो खण्डको मुल समस्या भएको बताउँछन् । हिउँद होस् वा बर्षा, यहाँ सडकमाथिबाट ढुंगा र पहिरो खसिरहन्छ । “पाल्पाबाट बुटवलजाने यही एउटा सडक हो”, तानसेन– १२ धरमपानीका वासिन्दा धु्रब खनाल (३३) भन्छन्, “वर्सेनी करोडौं खर्च भईरहेको यो सडक मान्छे मार्नलाई बनाएजस्तो भएको छ ।”
११ भदौ २०७० मा बुटवलबाट गुल्मी हिडेको लु १च ४६०८ नम्बरको मारुती कारलाई बिहान ११ बजेतिर पाल्पाको मदनपोखरा—४ ठुम्रे आईपुग्दा सडकमाथिबाट खसेको ठूलो चट्टाले किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो । पहिरो र चट्टान खसिरहने त्यस ठाउँमा सडक डिभिजन कार्यालयले खसेका ढुंगा हटाएपनि रोक्ने उपाया कहिल्यै नगरेको जिप चालक शिव घर्तीमगर बताउँछन् ।
मान्छेले खाएको सडक
गौरी सित्तलचन्द्र जेभि बालाजु, काठमाण्डौले सिद्धबाबा खण्डमा ढलान र पर्खाल निर्माणका लागि १३ जेठ २०६६ मा रु.१ करोड १ लाख ८ हजार १ सय (भ्याट बाहेक) को ठेक्का पायो, पुस मसान्तसम्ममा सक्नेगरि । तर, काम नसकेपछि २०६७ असार मसान्तसम्मको म्याद थपियो । कम्पनीले पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं ३ पाल्पासंग ढलानको मोटाई २० सेन्टिमिटर, २० मिलिमिटर भन्दा सानो गिटी र १२ एमएमको छड प्रयोग गर्ने सम्झैता गरेको थियो, तर अहिले यो सडकमा ढलान, पर्खाल केहि भेटिँदैन । ठेकेदार कम्पनीले काम सकेको रिपोर्ट बुझएर रकम लगेको दुई बर्षमा सडक पुरै धुले भएको छ । गुणस्तरीय काम गरिएको भए कम्तीमा पाँच बर्ष खप्ने प्राविधिकहरु बताउँछन् । ठेकेदार कम्पनीका संचालक कृष्णचन्द्र कँडेल सडक बिभागका ईन्जिनियरहरुले हेरिजाँची पास गरेको बताए । “नत्र, भुक्तानी नै पाइन्नथ्यो”, कँडेलले भने ।
त्यस्तै, २८ असार २०७० मा नागार्जुन हरिततारा जेभि काठमाण्डौले तल्लो सिद्धबाबा क्षेत्रको ४०० मिटरखण्डमा ढलान, ट्राफिक सेफ्टी, रेलिङ्ग र प्याराफिट बनाउँन १ करोड ७५ लाख २७ हजार १५३ रुपैंयाको ठेक्का पा¥यो, तर काम सकेको बर्ष दिन नपुग्दै सडक जस्ताको त्यस्तै भयो (हे. तस्वीर) । कम्पनीका संचालक रमेश मानन्धरले १६ प्रतिशत काम बाँकी हुँदै घरबारै जान लागेपछि छोडेर हिडेको बताए । “काम ग¥यो पहिरोले बिगारी हाल्छ, ढलान जम्न पाएको हुँदैन ओभरलोड गाडीहरु हिडीदिन्छन्”, मानन्धर भन्छन्, “त्यो देखेर सडकका ईन्जिनियर केशव ओझ र पाँचजना ओभरसियरले सफाई दिएका हुन् ।”
पाल्पा जिविसका पूर्वसभापति झ्पेन्द्र जिसि ठेकेदार र कर्मचारीका लागि सडक मर्मत बाह्रेमासे दशैं भएको बताउँछन् । हुनपनि, सिद्धबाबा क्षेत्रमा १० वर्षलाई पुग्ने योजनामा ठेक्का लागेको दोस्रो वर्षमै उही प्रकृतिको अर्को ठेक्का लाग्छ । १४ असार २०६९ मा भगवती कन्स्ट्रक्सन बुटवलले त्यसअघिका ठेकेदारले विगारेका ढलान सपार्न रु.८ लाख ८९ हजारको ठेक्का पाएको थियो । पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं ३ पाल्पाका ईन्जिनियर छवि पौडेल यहाँ जति राम्रो काम गरेपनि टिकाउन, देखाउन नसकिने बताउँछन् । “सिद्धबाबा क्षेत्रको भौगोलिक संरचना नै सडक काम नलाग्ने खालको छ”, पौडेलले भने ।
तर, वर्षौंबट यो सडकमा सार्बजनिक गाडी चलाउदै आएका बर्तुङ्ग– ९ पाल्पाका जुद्धबहादुर कार्की (५५), तानसेनका ऋषि श्रेष्ठ (५०) र शिव घर्तीमगर (३३) लगायतका चालकहरु यो सडकलाई ईन्जिनियर, कर्मचारी र ठेकेदारहरुले मिलेर खाएको बताउँछन् । २० वर्षदेखिका चालक कार्की सडक बनाएको भन्दै छड राखेर माटोले छोपिदिने गरिएको बताउँछन् । “एउटा टाएरले टेकेर हिड्नुपर्ने दबेको वा उठेको सडक बनाउँछन्”, कार्की भन्छन्, “रोकिँदा पहिरोको डर, कुदाउँदा पल्टने खतरा ।”
गएको १७ असारमा माथिल्लो सिद्धबाबा नजिकै अटोरिक्सा चिप्लिएर खस्दा बुटवल—६ का पिताम्बर ज्ञवाली (३५), हिरा आचार्य (४०), भगवती रामयमाझी (३४) र बुटवल १३ की तारादेबी गाहा (६४)को घटनास्थलमै मृत्यु भयो । नयाँ अटोरिक्सा किनेका ज्ञवाली सिद्धबाबा मन्दिरमा सवारीपूजा गरेर फर्कदै थिए (हे. तस्बिर) । यहाँका हिलोमा चिप्लिएर धेरै दुर्घट्ना भएको छ । मृतकहरुका नाममा सिद्धबाबामा लाखबत्ती बाल्न भन्दै सवारी साधनहरुबाट चन्दा असुल्नु यहाँको अर्को व्यवसाय बनेको छ । वर्षौंदेखि यो खण्ड मर्मतको ठेक्का पार्दै आएको जय रतmकाली कन्ट्रक्शन नुवाकोटका सञ्चालक रामप्रसाद भट्ट भन्छन्, “बनाउनै नहुने ठाउँमा राजमार्ग ल्याउनेहरुलाई केही दोष छैन, हामी काम गर्नेमाथि अपजस थोपर्छन् ।”
जयबाबा गोरख डिबि कन्ट्रशन जेभि पोखराले रु.१ करोड ५५ लाखको ठेक्का पारेको चिदियाखोला–झ्ुम्सा सात किलोमिटर खण्डमा पनि हिलो जस्ताको त्यस्तै छ । त्यो खण्डको अनुगमन गरेका सडक डिभिजन कार्यालय पाल्पाका तत्कालिन ईन्जिरियर गौतम श्रेष्ठ (हाल ताप्लेजुङ्ग) ले सडक बन्दाबन्दै ओभरलोड गाडी चल्दा र स्थानीयले भल लगाईदिदा सडक बिग्रिएको बताए । यसले देखाउँछ, गलत ठाउँमा सडक योजना पार्नेदेखि ठेकेदार, प्राविधिक कर्मचारी र स्थानीयसम्मले सडकलाई बुझ्ेका छैनन्, त्यसैले सडकले वर्षेनी कहर निम्त्याईरहेको छ ।
२०६४ यता सिद्धार्थराजमार्गको चिदियाखोला—राम्दीको ६४ किलोमिटर र बर्तुङ्ग—तम्घास—गुल्मीको ७९ किमि खण्डको सुधार–मर्मतमा पनि रु.२० करोडभन्दा बढी खर्च भैसकेको छ । यी दुवै सडकमा वर्षेनी ३५ देखि ४० जनाले ज्यान गुमाइरहेका छन् । रिसोलिङ्ग, प्याचवर्र्क, ग्याभिन, प्वाइन्टिङ्ग, नाली—कल्भर्ट मर्मत, ट्राफिक सेफ्टी राख्ने जस्ता कामका नाममा यतीका बजेट सकिएपनि सडकमा कुनै काम भएको संकेतसम्म देखिँदैन । “दुर्घटना हुँदा प्रकृति र चालकलाई दोष लगाएर पन्सन्छन्”, नेपाल ट्याक्टर ब्यवशायी महासंघका केन्द्रिय अध्यक्ष रहेका तानसेन— २ का प्र्रदिपप्रसाद उदय (५१) भन्छन्, “ज्यान गुमाउनेको परिवारले ड्राईवरलाई कुटपीट गर्छन्, तर सजाय त सडक खानेहरुले पाउनुपर्ने हो ।”
मिलोमतोको धन्दा
सिद्धार्थ राजमार्गको दायाँबायाँ २५ मिटर जमिन छुट्याइए पनि फराकिलो बनाउने काम कहिल्यै भएन । मर्मतमा प्रशस्त बजेट आएपनि काम गुणस्तरहीन छ । गुणस्तरीय निर्माण सामग्री प्रयोग र दक्ष जनशक्तिले नियमित सुपरिवेक्षण गर्ने काम हुँदैन । “गुणस्तर नियन्त्रण गर्ने संरचना कमजोर छ, कामको नमूना परीक्षण हुँदैन”, जिल्ला प्राविधिक कार्यालय पाल्पाका प्रमुख भिमार्जुन पाण्डे भन्छन्, “जे हुन्छ, सबै मिलेमतोमा हुन्छ ।”
मिलेमतो टेण्डरबाटै सुरु हुन्छ । नाम उल्लेख गर्न नचाहने एक जना ठेकेदार ठेक्का परेपछि सडकका कर्मचारी, टेण्डर थुत्ने गुण्डा र स्थानीय संघसंस्थादेखि चुल्ठेमुन्द्रेसम्मलाई बजेट छर्दा ४० प्रतिशत जति सकिने बताउँछन् । त्यसरी छरिएको पैसाले कामको गुणस्तर घटाउँछ । ईन्जिनियर इमान्दार रहेछन् भने पनि ठेकेदारले सुपरभाईजरलाई मिलाउँछ । सुपरभाईजर मिलेपछि सिमेन्ट, छड, गिट्टि, बालुवा केहिको पनि जाँच हुँदैन । यसरी शिद्वार्थ राजमार्ग मर्मतको नाममा सालाना करोडौंको भ्रष्टाचार हुने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन बताउँछन् ।
त्यसमाथि, सडक डिभिजन कार्यालय पाल्पामा २०६३ यता ६ जना सडक डिभिजन प्रमुख (डिई) र ४ जना साईट ईन्जिनियर फेरिए । अहिलेका डिइ सुजन अधिकारी पहिलेका डिई र सुपरभाईजरहरुले गरेका कामको विवरण कार्यालयमा नभएको बताउँछन् । सडक डिभिजन कार्यालय पाल्पाका पूर्व डिई र साईट ईन्जिनियरहरु भने बुटवल—पाल्पा, चिडियाखोला—राम्दी र बर्तुङ्ग—रिडि—तम्घास क्षेत्रको मर्मतमा कुनै तलमाथि नभएको दाबी गर्छन् । २०६८ बाट अढाई वर्ष डिई रहेका कर्णबहादुर रानाभाट (हाल काठमाण्डौ) ले सडक मर्मतमा कमसल कामको सवालै नहुँने बताए । २०६३÷०६४ का डिई मुतिm गौतम (हाल सुर्खेत) सिद्धबाबा क्षेत्रमा अलिकति पानी पर्ने बित्तिकै माटोको पत्र गलेर ढुंगा खस्न थालिहाल्ने बताउँछन् । “ढुंगो र पहिरोले बिगार्ने सडक मर्मत गरेर साध्य छैन”, गौतम भन्छन्, “तर, मर्मतमा तलमाथि भएको छैन ।”
हाल ताप्लेजुङ्गमा कार्यरत साईट ईन्जियिर गौतम श्रेष्ठले पनि बुटवल—पाल्पा खण्डको मर्मतमा कुनै कमजोरी नभएको दाबी गरे । “बरु, योजना नै सधै टालटुले भयो”, श्रेष्ठले भने, “डिईहरुले गहिरो अध्ययन गरेर केन्द्रमा योजना पठाएपनि कहिल्यै कार्यान्वयन भएन ।”
धरापै हो
२०२८ सालमा खोलिएको यो सडकमा धेरै उकालो र ओरालो छ । सडक डिभिजन कार्यालय पाल्पाका ईन्जिनियर बिष्णु श्रेष्ठका अनुसार, पहाडमा ९ ग्रेड सम्मको उकालो गाडी चलाउन उपयुतm मानिन्छ, तर यो सडकमा ११÷१२ ग्रेडसम्मको उकालो छ । र पनि, दैनिक ५०० भन्दा बढी हेभी र २००० साना गाडी चल्ने गरेको पश्चिम क्षेत्रिय ट्राफिक कार्यालय बुटवलको रेकर्डले देखाउँछ । हेभीगाडीका लागि यो त सडक धरापै हो । त्यसमाथि, साँघुरा घुम्तीहरु भएको यो सडकमा न सेन्ट्रल लाईन छ न त किनारामा पिल्लर र अरु संकेत नै । “न ट्राफिक संकेत, न डिभाईडर”, जिप चालक राजु थापा मगर (३४) भन्छन्, “वर्षा लागेपछि त यो सडक आफै हिँड्न थाल्छ ।”
गत ४३ बर्षमा गतिलो सुधारको कुनै काम नभएको यो सडक खण्डमा २०६४–७० को अवधिमा टालटुले मर्मत सम्भारका लागि रु.९ करोड भन्दा बढी सकिएको पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं ३ पाल्पाका लेखाअधिकृत शंकर खनाल बताउँछन् । यो खर्चले सडकलाई धराप भन्दा माथिल्लो स्तरमा पु¥याउने काम गरेको छैन ।
२०१३ सालमा रुपन्देहीको सुनौलीबाट बनाउन थालिएको पोखरासम्मको १८० किलोमिटर सडकलाई सिद्धार्थ राजमार्ग भनिन्छ । पाल्पा डिभिजन सडक कार्यालयमा करिब २० बर्ष ओभरसियर रहेका तानसेनका जुठे मर्हजन (७१) का अनुसार, भारतीय ईन्जिनियरहरुले डिजाईन गरेको यो सडक शुरुमा ६ फिटको थियो । कुहिरेभीर खण्ड अहिले पनि त्यस्तै साँघुरो छ । २०१८ सालमा बुटवल–पाल्पा सडक खोल्दा बम पड्काएर कुहिरेभीर फोरियो । “बमकोे थर्कनले माथिमाथिसम्म धाँजा फाट्यो”, महर्जन भन्छन्, “त्यसयता जान थालेको पहिरो कहिल्यै रोकिएन ।”
तानसेन नगरपालीकाका ईन्जिनियर मनोहर श्रेष्ठ कुहिरेभीर भएर सडक निकाल्दा नै गल्ति भएको बताउँछन् । त्यही कारण पाल्पाको दोभान, रुपन्देहीको नुवाकोट हुँदै बेलवास भएर बुटवल जोड्ने योजना अघि बढाईएको डिभिजन सडक कार्यालय नं ३ पाल्पाका प्रमुख सुजन अधिकारी बताउँछन् । “त्यो सडक अहिलेको भन्दा ४ किलोमिटर लामो हुन्छ”, अधिकारी भन्छन्, “धरापबाट उम्किने विकल्प यही हो ।”
टेबल
मर्मतको खर्च बिवरण
२०६४—७० मर्मत खर्च | कैफियत | ||
ठेकेदार | काम | बजेट | स्थिति |
नारायणी कन्ट्रक्सन पाल्पा (२०६४/२०६५) | चिडियाखोलासम्म मर्मत | १२,८५,९९२ | धुले बाटो बाँकी |
एसियानिक बिनयमोहन जेभी रुपन्देही | चिडियाखोला देखि बर्तुङ्गसम्मको बाटो मर्मत | ६५,७६,१०३ | बर्सेनी मर्मत कार्य जारी । धुले बाटो बाँकी |
गौरासितलचन्द्र जेभी कन्ट्रक्शन काठमाण्डौ (२०६५/२०६६) | सिद्धबाबा मन्दिर क्षेत्रमा ढलान | १,०१,८०,००० | धुलेहिले बाटो बाँकी |
पाल्पा सिभिल कन्ट्रक्शन, तानसेन | हिउदे खोलामा ग्याबिनको काम | ७,८७,८०० | बर्सेनी मर्मत सम्भार जारी । |
नरेन्द्र कन्ट्रक्शन ,पाल्पा (२०६६/२०६७ ) | चिदियाखोला बांसटारी सडक खण्ड ग्याबिन, नाली, पर्खाल मर्मत आदि | १३,७१,७७५ | बर्सेनी मर्मत कार्य जारी । |
हिमदुङ्ग एण्ड ठोकर कन्ट्रक्शन प्रालि काठमाण्डौ | हिउदेखोलादेखि बांसटारीसम्म रिसिलिङ्क गर्ने नाली निर्माण , पर्खाल मर्मत | ६१,००,१९५ | बर्सेनी मर्मत कार्य जारी |
भगवती कन्ट्रक्शन बुटवल (२०६७ /२०६८ ) | दोभान बर्तुङ्ग खण्डमा ढलान गर्ने | ८,७७,८०० | बर्सेनी मर्मत कार्य जारी । |
निर्मल टि.एन्.एस निर्माण सेवा जेभि बुटवल | चिडियाखोला राम्दीसडक खण्ड मर्मत | २१,६४,९० | बर्सेनी मर्मत कार्य जारी । |
भगवती कन्ट्रक्शन बुटवल(२०६८÷२०६९) | सिद्धबाबा खण्ड ढलान मर्मत | ८,८९,००० | बर्सेनी मर्मत कार्य जारी । |
भगवती कन्ट्रक्शन रुपन्देही (२०६९÷२०७० ) | चिदियाखोला बर्तुङ्ग राम्दी खण्डमा ढलान | १,२४,०१,९०० | बर्सेनी मर्मत कार्य जारी । |
जयरतmकाली कन्ट्रक्शन नुवाकोट (२०७० ÷२०७१ ) | चिदियाखोला बर्तुङ्ग राम्दी खण्ड पटटे तथा बिशेष मर्मत | ३०,५६,२९० | निर्माण कार्य जारी । |
सिद्धबाबा निर्माण सेवा बालिङ्ग स्याङ्गजा | चिदियाखोला बर्तुङ्ग सडकखण्ड प्याचवर्क, नाली, प्याराफिट निर्माण, ट्राफिकिङ्ग | २३ ,४३, ८४६ २०७१ | असार मसान्त सम्म काम सक्नुपर्नेमा नसकिएपछि २०७२ असार २५ सम्म म्याद थप |
अमात्य कन्ट्रक्शन तानसेन | चिदिया खोला बर्तुङ्ग खण्ड ट्राफिक साईन, नियमित बाटो मर्मत | २१,९१,१६४ | ट्राफिक साईन छ । बाटो ममर्त जारी । |
पन्थ डिएन्. डि जेबि काठमाण्डौ | चिदिया खोला बर्तुङ्ग खण्ड ट्राफिक सेफ्टी | २१,१६, ६८२ | मर्मत कार्य जारी । |
बज्रगुरु रायमाझी रुपन्देही | चिडियाखोला बासटारी खण्ड मर्मत | ४,७७,००,८३३ | काम हुँदै । |
(खोज पत्रकारिता केन्द्र)
बक्स
जागीर खाने सडक
२०३९ भदौमा कक्षा ७ मा रहेका दोभान– ७ का किरण जिसि (४०) साईकलबाट स्कुल जाँदै गर्दा तल्लो सिद्धबाबा नजिकै चिप्लिएर तिनाउमा खसेँ । तीन महिनासम्म बेहोस भएका उनी लामो उपचार पछि तंग्रिएँ, तर स्कुल जान सक्ने रहेनन् । बुटवल–पाल्पा सडक खण्डमा पर्ने दोभान उच्च मावि, तिलोत्तमा उच्च मावि, थानीडाडा मावि, कालिका निमावि र कल्याणी प्रावि बर्षादको चार महिना बन्द हुन्छन्, सडककै कारण ।
दोभान उमाविका प्राचार्य धु्रवनारायण त्रिपाठी सानो झ्रीमा पनि ठूलो पहिरो आउँने हुनाले विद्यालयहरु बन्द गर्नुपरेको बताउँछन् । बुटवलबाट आउने कतिपय शिक्षकले जागिरै छोडेको उनले बताए । तिनैमध्येका एक दोलखराज कार्की भन्छन्, “बुटवलबाट बिहान आठै बजे हिँड्दा पनि पहिरो तर्दातर्दै विद्यालय पुग्दा १२÷१ बज्थ्यो, धेरैपटक कारवाहीमा परियो अनि दिक्क भएर राजीनामा गरियो ।”
बक्स
‘ज्यानमुद्दा हाल्नुपर्छ
अशोककुमार शाही (फोटो)
पूर्व प्रमुख, तानसेन नगरपालिका
ठूलो रकम खर्च हुँदाहुँदै पनि डबल लेन भनिएको सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा खण्डको चौडाई ६ मिटर पुगेको छैन । मुश्किलले एकतर्फी चल्ने ठाउँमा दोहोरो गाडी चलिरहेको छ । राजमार्ग भनिएको छ, तर ट्राफिक शंकेतसम्म छैन । चालकहरु ओभरटेक गर्छन् । मनपरीले दुर्घटना बढाएको छ । मर्ने र घाईतेको संख्या कहालीलाग्दो भइसक्यो, तर पहिरो देखाउदै भ्रष्ट्राचार गर्न छोडिएको छैन । यिनीहरुलाई त ज्यान मुद्धा नै लगाउने बेला भइसक्यो ।