नेपाल मेडिकल काउन्सिलको परीक्षा उतीर्ण गरेर चिकित्सा पेशा गर्न अनुमतिपत्र लिनेको संख्या गएको भदौसम्म १५ हजार ६४० पुगेको छ । यसले १७ सय नेपालीको भागमा एक जना डाक्टर पर्ने देखाउँछ । त्यसैले यहाँ उपचारका लागि योग्य चिकित्सक पाउनै कठीन छ । विषादी प्रयोग भएका खाद्यान्न, वातावरणीय तथा औद्योग प्रदुषण लगायतका कारणले रोग–बिमारको संख्या बढीरहेको नेपालमा अनधिकृत डाक्टरहरुको बिगबिगी बढेको छ ।
-रामु सापकोटा : खोज पत्रकारिता केन्द्र
विगत आधा शताब्दिको अवधिमा मृत्यु भएका र विदेशिने चिकित्सको संख्या पनि निकै ठूलो छ । तिनको अनुपस्थितिको फाईदा उठाएर देशैभरि “क्वाकहरु”को संख्या बढिरहेको छ । तिनले मृत्यु भएका, विदेशिएका, नामखाली रहेका र अर्को चिकित्सकका एनएमसी नम्बर (नेपाल मेडिकल काउन्सिलले दिने चिकित्सा पेशा अनुमतिपत्र नम्बर) प्रयोग गरेर चिकित्सा पेशा गरिरहेका छन् । यहाँ महिला चिकित्सकले पाएको लाईसेन्समा पुरुष चिकित्सक कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलले लिने पेशागत योग्यता परीक्षामा अनुतीर्ण भएका र उपचार गर्ने अनुमतिपत्र (लाईसेन्स) लिन नसकेका मेडिकल विद्यार्थीहरु पनि चिकित्सकका रुपमा कार्यरत छन् । यस्ता चिकित्सकले बिरामी जाँच्ने, औषधि दिने र शल्यक्रिया गर्ने जस्ता संवेदनशील कार्य गरिरहेका छन् । तर नेपाल मेडिकल काउन्सिलले चिकित्सा क्षेत्रमा नियमित सुपरिवेक्षण वा अनुगमन गर्ने कष्ट उठाएको छैन ।
“क्वाक”को संङक्रमण
बाँके जिल्ला, नेपालगञ्ज वडा ६ का मेहदीहसन सलमानी बझाङको चैनपुरमा बसेर स्टोभ आदि मर्मत सम्भार गर्थे । २०५९ भदौ २७ गते बिरामी परेपछि उनी मनितोषले सञ्चालन गरेको न्यू चैन मेडिकल हलमा उपचार गराउन गए । तर मनितोषले औषधि र ईन्जेक्सन लगाई दिएपछि सलमानी बेहोस भए । मनितोषले जिल्ला अस्पताल बझाङ लैजाउ भनेपछि अस्पताल लैजाँदै गर्दा बाटैमा सलमानीको मृत्यु भयो ।
जिल्ला अस्पतालका डा.पिताम्बर सुवेदीले पोष्टमार्टम गरेर बिरामीको मृत्यु हुनाको कारण खोलेर रिपोर्ट दिए—औषधिको दुष्प्रभाव परेर विरामीको मुटु र श्वासप्रस्वास क्रियामा (केमिकल रियाक्सन) हुन गई मृत्यू हुन गयो । प्रहरीको मुचुल्कामा पनि मृतक सलमानीको शरिर सुन्निएको, नाकबाट रगत बगेको, हत्केला तथा शरिरको छाला कालोनिलो भएको र छालामा फोका उठेको उल्लेख भएको देखिएपछि पीडित पक्षले मनितोष विरुद्ध २०५९ भदौ ३० गते जिल्ला प्रशासन र प्रहरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिए ।
‘बंगाली डाक्टर’ भनिने मनितोष बिरुद्व कर्तव्य ज्यान मुद्धा दर्ता भएकोमा बझाङ जिल्ला अदालतले १२ असोज २०५९ मा फुटकर ज्यान मुद्दा अन्तर्गत दुई वर्ष कैद सजाय तोक्यो । जिल्ला अदालतले सलमानीको उपचारमा मनितोषले लापरवाही गरेको ठहर गर्दै नगद ५०हजार रुपैँया धरौटी माग्दै धरौटी राख्न नसके थुनामा राख्नु भनेर फैसला दियो ।
बझाङका सहायक सिडियो दशरथ राम भन्छन्, अभियुक्त मनितोषले जिल्ला अदालतको फैसला स्वीकार गरे । उनले एक वर्षको जेल सजाय भोगे, अर्को एक वर्षको चाहिँ रकम भुक्तानी गरे । तर २०६१ माघ ४ गतेसम्म जिल्ला कारागार बझाङबाट छुटेको भोलिपल्टै देखि पुन न्यू चैन मेडिकल सञ्चालन गरेर बिरामी जाँच्न थाले ।
स्वघोषित ‘डाक्टर’
भारत कलकत्ता, चौविस प्रगण्डा ठाकुरनगर वडा नं ४बाट २०४८ असोजमा केही औषधी लिएर बझाङ आएका मनितोष न्यू चैन मेडिकल खोलेर उपचार गरिरहेका छन् । उनी भन्छन्—२०४८ साल भन्दा अघि महेन्द्रनगरमा औषधी व्यवसाय गर्थें । बझाङ आएपछि बिरामी जाँच्ने र औषधि उपचार पनि गर्न थालें ।
उनीसंग पटना आयुर्वेदिक मेडिकल कलेजबाट तीन वर्षको रुरल मेडिकल प्राक्टिसनर (आरएमपी) कोर्ष गरेको हस्तलिखित प्रमाणपत्र छ । जसमा प्रमाणपत्र दिने प्रेसिडेण्टको हस्ताक्षर समेत छैन । मनितोषको उपचार पद्धतीमा विरामीलाई प्रेस्क्रीप्सन दिईदैन । तर गर्भपतन गराउनेदेखि जुनसुकै रोगको पनि उपचार गर्छन् ।
बझाङमा बंगाली मेडिकलको नामले चिनिने ५ शैयाको न्यू चैन मेडिकल राप्रपाका नेता विश्वप्रकाश जेठाराको नाममा दर्ता छ । मनितोषको सहयोगी दिल्लीका बासिन्दा प्रविन मण्डल जयपृथ्वी क्याम्पसबाट प्लस टु सकेर सिएमए फर्मासिस्ट पढदैछन् । अर्का सहयोगी संजिव विश्वासले भने कलकत्ताबाटै रुरल मेडिकल प्राक्टिस्नर कोर्ष गरेको बताए ।
मनितोषको अस्पताल र हस्तलिखित प्रमाणपत्र (हे.फोटो)
झापा बुधवारे ९की १७ वर्षिया कविता लुहागनलाई प्रसुती व्यथाले च्यापेपछि २०७१ जेठ १९ गते उनी मनकामना अस्पताल भर्ना भईन् । उनको उपचार सोहि अस्पतालमा कार्यरत एप्रेन्टिस दिलिपकुमार यादवले शुरु गरे । तर त्यसैदिन कविताको शिशु खेर गयो ।
पीडित कविताका परिवारले अयोग्य चिकित्सक यादवको लापरवाहीका कारण शिशुको ज्यान गएको भनि जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरे । तर यादवले पीडित परिवारसंग आर्थिक लेनदेन गरी २०७१ जेष्ठ २० गते मिलापत्र गरे । झापा जिल्ला प्रशासनले नेपाल मेडिकल काउन्सिल मार्फत अनुसन्धान गराउँदा दिलिप यादवले दुई पटकसम्म मेडिकल काउन्सिलको परीक्षा दिएको तर उतीर्ण हुन नसकेको देखियो ।
काउन्सिलले थप छानविन गरिरहेको बेला यादवले तेस्रोपटक परीक्षा दिएर २०७१ साउन १७ गते काउन्सिलको योग्यता परीक्षा पास गरे (हे.फोटो) । योग्यता प्रमाणित नगरि उपचारमा संलग्न भएर डेलिभरीका क्रममा बच्चाको ज्यान गएको विषयमा डा. यादव विरुद्ध मुद्दा चलाउने तयारी गरेको काउन्सिलका प्रसासन प्रमुख अनिता लामा बताउँछिन् । संगसंगै काउन्सिलले डा. यादवलाई दर्ता प्रमाणपत्र दिने निर्णय पनि गरेको छ ।
दिलिपकुमार यादव भन्छन्— मैले किर्गिजिस्तानको ओएसएच विश्वविद्यालयबाट २ वर्ष अघि एमबिबिएस पास गरेको हुँ । अहिले मनकामना अस्पतालमा कार्यरत छु ।
नपाएको पगरी
बुटवल हस्पिटल लाइन, लुम्बिनी अञ्चल अस्पताल छेउमै डा. अमिन्द्र मल्लको “मल्ल मेडिकल हल”छ । यहाँ आम्दा अस्पतालका निर्देशक बालरोग विशेषज्ञ डा.विनोद पराजुली कार्यरत छन् । यिनले साईनबोर्डमा बरिष्ठ कन्सल्ट्याण्ट, बालरोग विशेषज्ञ लेखाएका छन् । तर नेपाल मेडिकल काउन्सिलको अभिलेखमा यिनले एमबीबीएस उपाधिको आधारमा एनएमसी नम्बर (२५२४) पाएका छन् । बालरोग विशेषज्ञ वा कन्सल्ट्याण्टको उपाधि लिनका लागि नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ परीक्षा (एमडी तह) उतीर्ण गर्नुपर्छ । सन् २०००मा जापानबाट बालरोग विषयमा १ वर्षको डिप्लोमा कोर्ष गरेको प्रमाणपत्र बुझाएको आधारमा आफूलाई विशेषज्ञ बनाएका छन् (हे.फोटो) ।
सन् १९९८मा टिचिंग अस्पतालबाट एमबिबिएस गरेर १९९९मा सोहि कलेजबाट इन्र्टनसिप पुरा गरे देखि नै उनी बुटवलमा बालरोग विशेषज्ञका रुपमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलका पूर्व पदेन सदस्य डा. शुसिल कोइराला भन्छन्, “एक वर्षको डिप्लोमा कोर्ष त तालिम जस्तै हो । त्यस्तो तालिम मात्र लिएकाले विशेषज्ञ चिकित्सक लेख्न पाउदैनन् ।”
चोरीको एनएमसी नम्बर
“मल्ल मेडिकल हल”को भित्रपट्टि डा.अमिन्द्र मल्लले बालरोग क्लिनिक खोलेर सिनियर मेडिकल अफिसरका रुपमा उपचार गरिरहेका छन् । उनले आफ्नो लेटरप्याडमा एनएमसी दर्ता नम्बर ६०८० लेखेका छन् ।
तर डा.मल्लले प्रयोग गरेको एनएमसी ६०८०को असली स्वामित्व चाहिँ २०६६ सालमा अमेरिकामा दुर्घटनामा परेर मृत्यु भएका डा.सन्दिपमेहर श्रेष्ठको नाममा छ । उनले सन् २००७ मा नेपाल मेडिकल काउन्सिलबाट यो अनुमतिपत्र लिएका थिए । (हे. फोटो)
डा. सन्दिप मेहर श्रेष्ठ, बाँके, ६०८०
डा.सन्दीप, वरिष्ठ भेट चिकित्सक तथा पशुसेवा विभागका पूर्व–महानिर्देशक डा.भोलामेहर श्रेष्ठका छोरा हुन् । उनले नेपालगञ्ज मेडिकल कलेजबाट २००५मा एमबिबिएस उतीर्ण गरेर १ वर्षको इन्र्टनसिप पनि सोही कलेजबाटै २००६मा पुरा गरेका थिए । डा. सन्दिपका पिता डा. भोलामेहर श्रेष्ठले बताए, “सन्दिप अमेरिका गएको थियो, सवारी दुर्घटनामा परेर २७ वर्षको उमेरमै असामयिक निधन भयो ।”
‘यो त ठूलो अपराध हो’
–डा. सुन्दरमणि दीक्षित
कुनै डाक्टरको मेडिकल डिग्री वा लाइसेन्स अन्य चिकित्सक वा गैरचिकित्सकले प्रयोग गर्छ भने त्यो क्रिमिनल (आपराधिक) कार्य हो । उसलाई त क्रिमिनल केस अन्तर्गत पुलिसले मुद्दा चलाउनुपर्छ । यो काम नेपाल मेडिकल काउन्सिलको हो । यस विषयमा काउन्सिलले एक्सन लिनुपर्छ । डाक्टरको एनएमसी नम्बर चोर्नु भनेको सोझै क्रिमिनल केस हो । स्वास्थ्य क्षेत्रमा हुर्किंदै गएको अपराधको अभ्यास हो ।
त्यो एनएमसी नम्बर सन्दिपको हो
–डा. भोलामेहर श्रेष्ठ
(सन्दिप मेहर श्रेष्ठका पिता)
मेरो छोरा मेडिकल डाक्टर हो । उसले काउन्सिलबाटै एनएमसी नम्बर लिएर यहाँ करिब २ वर्ष काम ग¥यो । अनि विशेषज्ञताको पढाई गर्न ऊ अमेरिका गयो । तर दुर्घटनामा परेर बितेको ५ वर्ष भयो ।
मेरो छोराले पाएको एनएमसी नम्बर ऊ मरे पनि कसैले प्रयोग गर्न पाउँदैन् । काउन्सिलले परीक्षा लिएर त्यो नम्बर दिन्छ । मेरो छोराको एनएमसी नम्बरको कसैले प्रयोग गरेको छ भने, यो त धेरै ठूलो क्राइम (अपराध) भयो ।
…उसकै ठूलो स्वर
डा.अमिन्द्रले बताए, “बुटवलको मल्ल मेडिकल हल र रुपन्देहीको फर्साटिकर हेल्थ केयरमा ५ वर्षदेखि बिरामी जाँच्ने र औषधि उपचार गर्ने काम गरिरहेको छु ।” डा. अमिन्द्रले डा. विनोद पराजुलीको अनुपस्थितमा बुटवलको मल्ल मेडिकल हलमा बसेर बालबालिका जाँचेर औषधि लेख्छन् । मल्ल भन्छन्, “मैले काउन्सिलमा २००८ परिक्षा दिएर ‘प्रोभिजनल’ दर्ता नम्बर ६०८० लिएको हुँ ।” तर, ‘प्रोभिजनल’ नम्बर एक वर्षका लागि इन्र्टनसिपको समयमा दिइने नम्बर हो । एमबिविएस गरेकाले सुरुमा सिनिएर डाक्टरको सुपरिवेक्षणमा ‘इन्र्टनसिप’ गर्छन् । त्यस्ता सिकारु डाक्टरलाई काउन्सिलले दिने दर्ता नम्बर ‘प्रोभिजिनल रजिष्ट्रेसन’ हो । ‘इन्र्टनसिप’ पुरा गरेपछि काउन्सिलले लिने जाँच पास गरेर दुई वर्षे अस्थायी दर्ता नम्बर पाईन्छ । त्यसपछि मात्र स्थायी एनएमसि नम्बर पाईन्छ ।
काउन्सिलका पूर्व सदस्य डा. शुसिल कोइराला २००८ को ‘प्रोभिजिनल’ नम्बरको भरमा डाक्टर बन्नेलाई त प्रहरीले सिधै थुन्न सक्ने बताउँछन् ।
डा.विनोद पराजुली बुटवलमा चल्तीका डाक्टर हुन् । डा. विनोदकहाँ आउने विरामीले अमिन्द्रको सेवा पाउँछन् । क्लीनिकमै विरामीको किनबेच हुन्छ ।
२०७० असोज ३० गते उनले मल्ल मेडिकल हलमा १३ वर्षिया जस्मिन अर्यालको र ४ वर्षिया श्रीस चापागाँईँको स्वास्थ्य जाँच गरे । त्यसको ४ महिनापछि, २०७० पुष २४ गते जाँदा उनी अश्विन बुढाथोकी, र १८ महिनाका आदित्य चौधरीको स्वास्थ्य जाँच गर्दै थिए । यसको दुई दिन पछि, २०७० पुष २६ गते १ वर्षीया रेनु मल्लको स्वास्थ्य जाँच गर्दै थिए । २०७१ जेठ २१ गते जाँदा उनी ९ वर्षिया बालिका रोश्नी थारु र १ वर्षिया प्रनव शाहीलाई जाँच्दै थिए (हे.फोटो) ।
फर्साटिकर हेल्थ केयर सेन्टर प्रा.लिमा डा. मल्लले इमर्जेन्सी सेवा, स्त्री तथा प्रसुति सेवा, बालरोग तथा हाडजोर्नी सम्बन्धि उपचार सेवा पनि दिन्छन् । २०७१ असोज १२ गते मदनगञ्जका विरेन्द्र थारु डा. अमिन्द्रलाई बिहानैदेखि कुरेर बसेको अवस्थामा भेटिए । उनले भने, “आमालाई पेट दुखेर उपचार गर्न ल्याएको, बिहान ८ बजे आएको ४ बजिसक्यो तर डाक्टर आउनु भएन ।” पेटको रोग पनि हेर्नुहुन्छ र भन्ने जिज्ञासा राख्दा डा.अमिन्द्रले भने,“यहाँ सबै रोगको उपचार हुन्छ ।”
अमिन्द्रले काम गर्ने फर्साटिकरमा रहेको मेडिकल सेन्टर । अमिन्द्रको नाममा फर्साटिकर हेल्थ केयर सेन्टरकोे बहिरंग विभागमा राखिएको बोर्ड ।
बुटवलबाट एसएलसी गरेका अमिन्द्रले काठमाण्डौको क्यारेभियन कलेजबाट प्लस टु गरेपछि चीनको सियन साउदर्न विश्वविद्यालयबाट सन् २००७ मा एमबिबिएस गरेको बताए । तर नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सा पेशा गर्न पाउने अनुमतिपत्र लिने योग्यता परीक्षा भने उतीर्ण गर्न नसकेपछि मृतक चिकित्सकको लाईसेन्स प्रयोग गरिरहेका छन् । (फोटो)
चिकित्समा अपराध
कानुनत नेपाल मेडिकल काउन्सिलले लिने योग्यता परिक्षा उतीर्ण भएर लाइसेन्स लिएका डाक्टरले मात्र बिरामी जाँच गर्न पाउँछन् । काउन्सिलले दिएको एनएमसी नम्बरकै आधारमा चिकित्सकीय पेशाको अभ्यास गर्न पाउँछन् । एनएमसी नम्बर प्राप्त चिकित्सकको मृत्यु भएमा अन्य चिकित्सकले मृतकको एनएमसी नम्बर प्रयोग गर्न पाउँदैन ।
काउन्सिलका दर्ता समिति संयोजक डा.ए.ई अन्सारीले भने, “कुनै एक जना डाक्टरलाई दिइएको एनएमसी नम्बर उसैले मात्र प्रयोग गर्न पाउँछ । एउटा चिकित्सकले पाएको नम्बर अर्कोले प्रयोग गर्नु गैरकानुनी काम हो, दण्डनीय छ ।” काउन्सिलका एथिकल कमिटि संयोजक डा. सतिस देव भन्छन्, “डाक्टर नभएको व्यक्तिले डाक्टर लेखेर विरामी औषधि उपचार गरेमा ३ वर्ष सम्म कैदको व्यवस्था छ ।”
एउटा लाईसेन्स, दुईटा डाक्टर
पोखरा मणिपाल अस्पताल बालरोग विभागमा कार्यरत डा.लक्ष्मी के.सी त्यसै अस्पतालमा बालरोग सम्बन्धि एमडी तहको अध्ययन गरिरहेकी छिन् । काठमाडौ विश्वविद्यालय, धुलिखेल अस्पतालबाट २०१०मा एमबीबीएस उतीर्ण केसीले २०११ मा इन्र्टनसिप पुरा गरेर २०११ अप्रिलमा काउन्सिल परीक्षा उतीर्ण गरि एनएमसी नम्बर १०८५५ लिएकी थिईन् (हे.फोटो) ।
डा. केसीले लिएको लाईसेन्स नम्बर १०८५५, ललितपुर महालक्ष्मी स्थानको शुभतारा अस्पताल, (हाल गणेशमानसिंह मेमोरियल अस्पताल)को इमेर्जेन्सी विभागमा कार्यरत छन्, डा. विजयश्याम रञ्जितले पनि प्रयोग गरिरहेका छन् । शुभतारा अस्पताल एण्ड रिसर्च सेन्टरको वेवसाईटमा डा.रञ्जितले प्रयोग गरेको एनएमसी नम्बर पनि १०८५५ नै उल्लेख गरिएको छ (हे.फोटो) ।
डा. विजयश्याम रञ्जितले बताए, “चीनको थ्रि गर्जेज विश्वविद्यालयबाट २००९मा एमबिबिएस गरेको हुँ । बि एण्ड बि अस्पताल, कान्ति बाल अस्पताल, त्रिपुरेश्वर आँखा अस्पताल, प्रसुतिगृह थापाथली र मानसिक अस्पताल ललितपुरबाट ईन्टर्नशिप गरे । सन् २०१० देखि मेडिकल अफिसरका रुपमा कार्यरत छु । बुद्धनगरको ह्याम्स अस्पताल र धापाखेलको ग्राण्डी अस्पतालमा पनि काम गरे । हाल गणेशमान सिंह मेमोरियल अस्पताल र ह्याम्स अस्पतालको आइसियु, वार्ड तथा इर्मेजेन्सी लगायतका सेवा हेर्छु । ग्राण्डी अस्पतालको एनआइसियुमा कार्यरत छु ।” रञ्जितले तीन वर्ष अघि १०८५५ एनएमसी नम्बर लिएको दाबी गरे । उनले भने, “मिति याद भएन, तर मैले ३ वर्ष अघि काउन्सिलमा परिक्षा दिएरै यो नम्बर लिएको हुँ ।”
२०७१ साउनमा ग्राण्डी अस्पतालले डा.रञ्जितलाई ‘ग्राण्डी स्टार अफ दि मन्थ’ को उपाधि दिएर पुरस्कृत ग¥यो (हे.फोटो) । तर नेपाल मेडिकल काउन्सिलको योग्यता परीक्षा उर्तीर्ण गर्ने चिकित्सकहरुको नाम सूचीमा डा. विजयश्याम रञ्जितको नाम छैन । डा.रञ्जितले लिएको एनएमसी १०८५५मा नेपाल मेडिकल काउन्सिलको रेकर्डले डा.लक्ष्मी के.सीको नाम देखाउँछ । डा. के.सी भन्छिन्, एनएमसी १०८५५ त मेरो हो । कसरी अर्कोले प्रयोग गर्यो ? काउन्सिलका एथिकल कमिटि संयोजक डा. देवले एउटा नम्बर दुईजनाले पाउने संम्भावना नै नहुने बताए ।
थरिथरिका विदेशी डाक्टर
डा.पि.के पावल, पोखरा भैरवटोलको आशिष मेडिकल हल एण्ड प्याथोलोजी क्लिनिकमा काम गर्छन् (हे.फोटो) । खोपकेले दिएको फारममा उनले आफ्नो एनएमसी नम्बर ११० हो भनेर लेखेर दिए । नेपाल मेडिकल काउन्सिलको रेकर्डमा भने एनएमसी नम्बर १०९,११०र १११मा चिकित्सकको नामखाली छ । काउन्सिलका एथिकल कमिटि संयोजक डा. सतिस देव भन्छन्, एनएमसी दर्ता नम्बर ११०मा डा.पावल भन्ने कुनै मानिसकाबारे कतै केही रेकर्ड छैन ।”
डा.पावल पनि आफू नेपाली नागरिक नभएको बताउँछन् । गैर नागरिकले वर्किंग विजा मात्र पाउँछन् । तर पावलसंग त्यो पनि छैन । तथापि यिनी पोखरा बैदामको, ११२ नम्बर घरमा डक्र्टस क्लिनिक एण्ड प्याथोलोजी सेन्टर खोलेर बिरामी जाँच्न व्यस्त छन् । भन्छन्, “यहाँ४० वर्षदेखि सेवा गरिरहेको छु, ह्याङ्ग्जा मिलन चोकको बास्तोला मेडिकल र तनहुँ खैरेनीटारको कालिका मेडिकलमा पनि काम गरें ।” कास्कि जिल्ला प्रशासनको सिफारिसका साथ काठमाडौंको टेकुमा रहेको काउन्सिलमा अन्तर्वाता दिएर एनएमसी नम्बर ११० लिएको उनले बताए । तर, मेडिकल काउन्सिलका दर्ता समिति संयोजक डा. ए.ई अन्सारी भारतीय लागायतका विदेशी डाक्टरले एनएमसी नम्बर लिन अरु निकायको सिफारिस नचल्ने बताउँछन् ।
भारतीय नागरिक सुप्रिथ मणिपाल पनि नेपाल मेडिकल काउन्सिलको अनुमति बिनै नेपालमा चिकित्सकीय अभ्यास गरिरहेका छन् । पिपल्स डेन्टल कलेजमा अर्थोडोन्टिक्सको रुपमा काम गर्नका लागि डा. सुप्रिथ मणिपालले नेपाल मेडिकल काउन्सिलबाट १ वर्षको अनुमति पाएका थिए, तर नवीकरण नै नगरी ७ वर्ष बिताईदिए । उनी नयाँ बानेश्वरको विनायक डेण्टल क्लिनिकमा काम गर्छन् । २०७१ कात्तिक २३ गते बिनायक क्लिनिक पुग्दा उनी कार्यरत अवस्थामा भेटिए । मेडिकल काउन्सिल ऐनमा ‘विदेशी नागरिक चिकित्सकको नाम दर्ता बढीमा एक वर्षको लागि मात्र हुने व्यवस्था छ । काउन्सिलले आवश्यक देखेमा बढीमा अर्को एक वर्षसम्मका लागि दर्ता नविकरण गर्न सक्छ ।
काउन्सिल र नेपाल डेन्टल एशोसियसनले गत २१ माघमा नर्भिक अस्पतालमा छापा मार्दा सुप्रिथले काउन्सिलमा दर्ता नभई बिरामी जाँचेको भेटिएपछि उनीमाथि कारवाहि प्रक्रिया थालेको काउन्सिलले जनाएको छ ।
डेन्टल क्षेत्रमा समस्या छ
–डा.सुशिल कोईराला
डेन्टल क्षेत्रमा नेपाल बसेर ३०÷४० बर्ष काम गरेका विदेशी मान्छेहरु पनि छन् । नेपाल मेडिकल काउन्सिलले सामान्यतः विदेशी नागरिकलाई यहाँ चिकित्सकको रुपमा काम गर्न १ वर्ष भन्दा बढी समय दिदैँन । विदेशबाट त्यसरी प्रक्रिया पु¥याएरै आउने चिकित्सकले यहाँ काम गर्दा स्वमंसेवकको रुपमा भूमिका खेल्ने हो । तर पैसै कमाउने उद्देश्यले विदेशी चिकित्सक यहाँ काम गर्नै पाउँदैन ।
एक वर्षसम्मको कार्य अवधि पुरा गरेका विदेशी डाक्टरले पुनः अभ्यास गर्न लाइसेन्स नविकरण गर्नुपर्ने हुन्छ । तर यहाँ मैरे आँखा अगाडी ४ जना भारतीय डाक्टर बिना रजिष्ट्रेसन काम गरिरहेको देखेको छु ।
फर्जी अस्पताल र चोरीको लाईसेन्स
तनहुँ दमौली बजारको ने–कोर्यो अस्पतालमा उत्तर कोरियाली नागरिक डा.काङ सिञ्जु कार्यरत छन् । अस्पतालका प्रमुख चिकित्सक डा. काङले खोपकेको अनुसन्धान फाराममा आफ्नो एनएमसी नम्बर भनेर ४३०१ लेखिदिए ।
काउन्सिलको अभिलेखमा यो अस्थायी नम्बर कोरियन नागरिक आनी हाङको नाममा छ । काउन्सिलको रेकर्डमा हाङ सन् २०१० मा अस्थायी रुपमा दर्ता भएको देखिन्छ । उनले स्वयम् सेवक चिकित्सकको रुपमा बढीमा तीन महिनाको भिजा अवधि लिएर नेपाल आएको काउन्सिलले जनाएको छ ।
डा.काङले भने,“वर्र्किङ विजा लिएर ४ वर्षदेखि तनहुँ दमौलीको ने–कोर्यो अस्पतालमा जनरल फिजिसियनको रुपमा काम गरिरहेको छु । मसंग अरु ३ जना कोरियन डाक्टर पनि कार्यरत छन् ।” नशा रोग, स्त्री तथा प्रसुतिरोग, मुटुरोग मधुमेह, हाडजोर्नी, पेटरोग तथा विशेषज्ञ चिकित्सकको सेवा दिने ७ वटा वार्ड र ४ इर्मेजेन्सि शैया भएको अस्पतालमा कार्यरत अन्य ३जना कोरियन डाक्टरसंग चिकित्सा पेशा गर्ने कुनै किसिमको अनुमतिपत्र छैन ।
गोपाल कोइराला नेतृत्वको चीन–नेपाल मैत्री अस्पताल समूहले उपत्यका भित्र र बाहिर चिनियाँ उपचार केन्द्रहरु खोलेका छन् । हलचोकमा सञ्चालित चीन—नेपाल मैत्री अस्पतालमा ६ शैया छ । यहाँ कार्यरत चिनियाँ डाक्टर डा.सु ले चिकित्सा पेषा गर्ने अनुमतिपत्र लिएका छैनन् । वर्किंग विजा पनि छैन । तर पनि ५ वर्षदेखि उपचार कार्यमा संलग्न छन् (हे.फोटो) ।
ललितपुर लेलेकी मख्खनकुमारी थापाले डा. सुसंग चिनियाँ अक्युपञ्चर विधिबाट स्वास्थ्य जाँच गराएकी थिईन् । मक्खनकी छोरी विमलाले भनिन्, एक हप्तासम्म उपचार गराउँदा पनि कुनै सुधार भएन । पैसा मात्र खर्च भयो ।
चीन–नेपाल मैत्री अस्पतालको शाखा पोखराको लेकसाइडमा पनि छ । यहाँ डा. फङ सुयुनले उपचार गर्छन् । यस अस्पतालकी सहायक छममाया राईले भनिन्, “यहाँ ७ वर्षदेखि अक्युपञ्चर विधिबाट नशा च्यापिएका बिरामीको उपचार गरिन्छ ।” चिनिया ‘डाक्टर’ फङ सुयुनले काउन्सिलमा २०६६ बैशाख १० गते दर्ता भएर ‘ ए १३’ नम्बर लिएको बताए । तर ‘ए १३’ नम्बर २०६६ सालमा फङ सुयुनको नाममा काउन्सिलमा दर्ता भएको देखिँदैन । नेपालमा चिकित्सा पेशा गर्न चाहने विदेशीले स्वास्थ्य मन्त्रालयमा निवेदन र काउन्सिलमा परिक्षा दिएर दर्ता हुनुपर्छ । नेपालमा एक दिन मात्र डाक्टरी गर्ने विदेशी चिकित्सकले पनि काउन्सिलमा दर्ता हुनैपर्ने कानुन छ । अस्पताल पनि दर्ता हुनैपर्छ ।
वैकल्पिक चिकित्सा सेवा दिइरहेको चीन—नेपाल मैत्री अस्पताल आयुर्वेद विभाग अन्तर्गत दर्ता हुनुपर्ने हो । विभागका कविराज कृष्णजंग थापाले भने, “चीन—नेपाल मैत्री अस्पताल विभाग अन्तर्गत दर्ता छैन ।”
पोखरा बैदामकै सेलेस्टाइल हेल्थ केयर सेन्टरमा भारतीय नागरिक सुभाषचन्द्र गुप्ता कार्यरत छन् । आफुलाई ‘हाडजोर्नी विशेषज्ञ’ भन्ने सुभाषचन्द्र गुप्ताले कर फस्र्योट गरेको प्रमाण बुझाउन नसक्दा नेपाल मेडिकल काउन्सिलले लाईसेन्स नविकरण नगरेको बताए । आग्राको एसएन मेडिकल कलेजबाट एमबिबिएस र विशेषज्ञ तह पुरा गरेको दाबी गर्ने भारतीय ‘डाक्टर’ गुप्ताले भने, “१५ वर्ष अघि ४५६९ नम्बरको लाइसेन्स लिएर स्वदेशी–विदेशी सबैको सेवा गरिरहेको छु ।” १० वर्षसम्म काउन्सिलमा नै दर्ता नभई उपचारमा संलग्न गुप्ता सन् २०१० मा आएर १ वर्षका लागि काउन्सिलमा अस्थायी दर्ता भएको देखिन्छ । काउन्सिलले कम कर तिरेको भन्दै गुप्तालाई दर्ता गरेको छैन ।
मेडिकल काउन्सिल ऐनमा ‘विदेशी नागरिक चिकित्सकको नाम दर्ता बढीमा एक वर्षको लागि मात्र हुने व्यवस्था छ । काउन्सिलले आवश्यक देखेमा बढीमा अर्को एक वर्षसम्मका लागि दर्ता नविकरण गर्न सक्छ ।
नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. श्यामबाबु यादव भन्छन्, यस्ता अस्पतालले गर्ने खराब कामको जिम्मा कसले लिने भन्ने नै स्पष्ट नहुँदा भद्रगोल भएको छ ।
गैर जिम्मेवार मन्त्रालय
वैकल्पिक उपचारका नाममा होस् वा अन्य उपचार पद्धतीका विषयमा विदेशी नागरिकले गर्ने चिकित्सा कार्य बारे डा. सुशिल कोइरालाले भने, “यहाँ बैकल्पिक उपचारको नाममा गैर चिकित्सकले काम गर्ने मौका पाएका छन् । चिकित्सा क्षेत्रलाई यसरी छाडा छोड्नै हुँदैन ।”
वैकल्पिक चिकित्साका नाममा नेपालमा खोलिएका अस्पताल तथा क्लिनिकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद विभागको वैकल्पिक चिकित्सा शाखाबाट अनुमति लिनुपर्ने व्यवस्था छ । तर यो विभाग लगभग निस्क्रिय छ ।
डा. खगेन्द्र दाहाल भन्छन्, ‘बहुसंख्यक नेपालीहरु गैरचिकित्सक स्वास्थ्यकर्मी, अनमी, अहेव, औषधि पसले, बैद्य, झारफुके आदिका सेवा लिन वाध्य छन् । चिकित्साशास्त्र नपढेका ठग चिकित्साकर्मीको संख्या पनि उत्तिकै छ । चिकित्सक नामधारी यस्ता ठगहरुलाई जेल हाल्नुको विकल्प छैन ।’
अक्षम काउन्सिल
मेडिकल काउन्सिल ऐन २०२० ले चिकित्सा पेशा गर्न अनिवार्य रुपमा लाइसेन्सीङ जाँच पास गरेर रजिष्ट्रेसन नम्बर लिनुपर्ने व्यवस्था गरेको छ । तर, यो नियम विपरित बिरामी जाँचेर औषधि उपचार गर्ने काम खुलमखुला भइरहेको छ । मुलुकभर कति डाक्टर कार्यरत छन्, भन्ने विषयमा रि–रजिष्ट्रेसन सम्बन्धि व्यवस्था नहुँदासम्म ‘क्वाक’हरुलाई सजिलो पर्ने काउन्सिलका पूर्व सदस्य डा. शुशिल कोइराला बताउँछन् ।
काउन्सिलको दर्ता सम्बन्धि व्यवस्था पुरानै ढाँचामा छ । दर्ता नम्बर प्रयोग सम्बन्धि कानुन अस्पष्ट छ । दर्ता व्यवस्थामा काउन्सिल फितलो भएको एथिकल कमिटि संयोजक डा. देव बताउँछन् । काउन्सिलले चिकित्सा क्षेत्रमा नियमित सुपरिवेक्षण वा अनुगमन गरेकै छैन । काउन्सिलका उपाध्यक्ष तथा दर्ता समिति संयोजक डा. ए.ई अन्सारी भन्छन्, “इमान्दारीपुर्वक भन्नुपर्दा, काउन्सिलको आन्तरिक प्रशासन धेरै बिग्रिएको छ (हे. बक्स) ।
‘काउन्सिल कमजोर भयो’
–डा. ए.ई अन्सारी
उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल
लाइसेन्स दुरुपयोग हेर्ने रजिष्टारको काम हो । दुरुपयोग भएको रहेछ भने त्यो विषय काउन्सिलको इथिकल कमिटिमा जान्छ । एमबिबिएस गरेका तर काउन्सिलको परिक्षामा फेल भएकाहरुको बिषय इथिकल कमिटिले हेर्छ । कसैले एमबिबिएस नगरि डाक्टर बनेर काम गरेको रहेछ भने जिल्ला प्रशासनले पनि कारबाही गर्न सक्छ । चिकित्सकको लाइसेन्स दुरुपयोगको विषयमा काउन्सिलको आन्तरिक प्रशासन धेरै कमजोर छ । काउन्सिलमा सदस्यहरु कोहि पनि नियमित जादैनन् । म आफैं पनि गएको छैन । दुई महिना भयो, काउन्सिलको बैठक नबसेको । रजिष्टारले काउन्सिललाई समय नै दिएका छैनन् । रजिष्टार नै निस्कृय भएपछि काउन्सिलको काम कारवाहि अगाडी बढ्दैन ।
[२०७१ फागुन ३ (feb 15, 2015) गतेको हिमालखबर पत्रिकामा प्रकाशित]