सप्तरीमा वन कर्मचारी, काठ तस्कर, प्रहरी र उपभोक्ता समितिका पदाधिकारीबीच काठ तस्करीबाट हुने आम्दानीका लागि हुने गरेको आपसी कलह र द्वन्द्वले हिंसात्मक रूप लिएको छ । वन जोगाउने जिम्मा पाएकाहरूबाट भएका अनियमितताको कारणले सप्तरीको वन त सखाप पारेकै छ, काटिएका काठ पनि बाँकी छैनन् । त्यसले भ्रष्टाचार र हिंसाकोे जालो पनि फैलाउँदै गएको छ । वन तस्करीलाई समयमै नरोक्ने हो भने सामाजिक हिंसाले भयंकर रूप लिने सम्भावना देखिएको छ ।
-श्रवणकुमार देव: खोज पत्रकारिता केन्द्र
PDF को लागि यहाँ CLICK गर्नुहोला ।
असोज २०७० मा सप्तरीको धर्मपुरमा वन गस्ती टोली र काठ तस्करबीच दुई पटक भिडन्त हुँदा गोली लागेर एक जनासहित आधा दर्जन घाइते भए । तस्करहरूले गस्ती टोलीका सदस्य जमदार जितेन्द्रप्रसाद गुप्ताबाट पाँच राउण्ड गोली लुटे । भिडन्तपछि २३ असोजमा दिनभर धर्मपुर तनावग्रस्त रह्यो । तथापि वन कर्मचारीहरूले १३.३४ क्यूबिक फिटको काठ नियन्त्रणमा लिए । तर अहिले त्यो काठ कुनै अभिलेखमा छैन, कतै फेला पर्दैन ।
२२ पुस २०७० मा घोघनपुरको जंगलमा लुकाएर राखिएको ३.४३ क्यूबिक फिट काठ बरामद भएको इलाका वन कार्यालय रूपनगरका रेञ्जर उमेश यादवले बताएका थिए । यादव नेतृत्वकै गस्ती टोलीले तस्करले ठेलामा हालेर लैजाँदै गर्दा काठसहित एक जनालाई १६ माघमा धर्मपुरबाट नियन्त्रणमा लिएका थिए । त्यतिबेला ५.७५ क्यूबिक फिट काठसहित पक्राउ परेका कंचनपुर–९ का २८ वर्षीय राजदेव राम रिहा भएका छन् । तर, यी दुवै ठाउँबाट बरामद गरिएका काठ भने बेपत्ता पारिएको छ । वन कार्यालयमा बरामद काठको कुनै अभिलेख छैन ।
२९ पुस २०७० रूपनगरस्थित खयरवनबाट २४ थान काठको फेन्टासहित रूपनगर–८ का खड्गबहादुर भुजेल पक्राउ परे । भुजेललाई छाडिए पनि २४ थान काठ भने बेपत्ता पारिएको छ । इलाका वन कार्यालय रूपनगरका एक कर्मचारी भन्छन्, “उक्त काठ वनका कर्मचारीले बेचेर खाइसके ।” ५ मंसीर २०६५ मा इमामुद्दिन अन्सारी सप्तरी जिल्ला वन प्रमुख हुँदा ४६.६४ क्यूबिक फिट काठ लिलामी गरिएको थियो । त्यसपछि अहिलेसम्म लिलामी प्रक्रिया अपनाइएको छैन । त्यसपछि बरामद गरिएका सम्पूर्ण काठबारे मुद्दा चलिरहेका कारण लिलामी हुन नसकेको जिल्ला वनले जनाएको छ । तर, बरामद गरिएका काठ भने कतै फेला परेका छैनन् । अग्निपीडितलाई दैवी प्रकोप उद्धार समितिले वितरण गर्ने काठ पाँच वर्षदेखि वितरण गरेका छैनन् । समितिको सिफारिश लिएर प्रत्येक वर्ष एक हजारभन्दा बढी अग्निपीडित वन कार्यालय काठका लागि आउने गरेका छन् । तर कसैलाई पनि काठ दिन नसकिएको वन कार्यालयले जनाएको छ । सप्तरीमा अहिले एक हजारभन्दा बढी क्यूबिक फिट काठ गायव पारिएको छ ।
वन कार्यालयले विना अनुमति कटानी गरेको भन्दै पठरुदह सामुदायिक वन उपभोक्ता समितिबाट नियन्त्रणमा लिएको काठमध्ये धेरै गायव पारिएको छ । “पठरुदहबाट थुप्रै काठ बरामद गरिएको थियो । अहिले खोज्यो भने भेटिंदैन । कर्मचारीले बेचेर खाइसके जस्तो छ”, स्थानीय पत्रकार वृजमान तामाङले भने । दौलतपुर रेञ्जपोष्टमा पनि बरामद गरिएकामध्ये तीन थान (२.२५ क्यूबिक फिट) काठ रेञ्जपोष्टमा फेला परेन । सहायक वन अधिकृत सुरेन्द्रप्रसाद चौधरी ठाडै भन्छन्, “यहाँ कुनै किसिमको काठ छैन ।” जिल्ला वनको तथ्याङ्कमा भने उक्त रेन्जरपोस्टमा तीन थान काठ रहेको विवरण छ ।
पिप्रा पश्चिमस्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमल थापाको जिम्मामा रहेको ३३० थान काठमध्ये २५ थान मात्र फेला परेको छ । अध्यक्ष थापा भन्छन्, “स्थानीयहरूले लिएर जान्छन्, मैले के गर्नु ?” यता दौलतपुर–४ निवासी सर्वसाधारण चान्द चौधरीको जिम्मामा १२ थान (१७१.४७ क्यूबिक फिट) बेवारिसे काठ रहेको आँकडा छ । चौधरीको भनाइ चाहिं यस्तो छ, “मेरो जिम्माको सबै काठ सहायक वन अधिकृत बलमलाल चौधरीले लगेका छन् । मलाई थाहा छैन ।”
सुन्दरी सामुदायिक वन उपभोक्ता समिति धर्मपुरका सदस्य खगेन्द्र पोखरेलको यस्तो अनुभव छ । १ फागुन २०६७ मा तत्कालीन सहायक वन अधिकृत प्रकाश ठाकुरले दायर गरेको मुद्दामा ६ थान काठ पोखरेलको जिम्मा लगाइएको उल्लेख छ । तर पोखरेलले भने उक्त काठ ठाकुर आफंैले लगेको बताएका छन् ।
२ मंसीर २०६६ मा तत्कालीन मैनाछरका सामुदायिक वन उपभोक्ता समिति रूपनगरका सदस्य बमबम भनिने मो. सलिमको जिम्मामा २६.८५ क्यूबिक फिट बेवारिसे काठ रहेको वन कार्यालयको आँकडाले देखाएको छ । तर बमबम भने आफ्नो जिम्मामा कुनै काठ नरहेको बताउँछन् । उनी भन्छन्, “त्यसबेला मैले तस्करीको काठ पक्राउ गराइदिएबापत पुरस्कार स्वरूप केही काठ पाएँ । तर त्यो लिइनँ, तत्कालीन नेकपा माओवादीका नेता देवनाथ यादवले लिएर गए ।”
फत्तेपुरस्थित झरीखण्ड सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष इन्द्रादेवी राय यादवको जिम्मामा २९३.९० क्यूबिक फिट बेवारिसे काठ रहेको वन कार्यालयको तथ्याङ्कले देखाए पनि त्यो काठ कहाँ छ कसैलाई थाहा छैन । अहिले उक्त वन समूहकी अध्यक्ष रहेकी मूर्तिदेवी चौधरीले इन्द्रादेवी काठमाडौंमा बस्न थालेको र काठबारे आफूहरूलाई कुनै जानकारी नरहेको बताइन् ।
बेवारिसे शीर्षकमै जिल्ला वन कार्यालय प्राङ्गणमा ३२ थान (१०१.४४ क्यूबिक फिट) सिसौको काठ रहेको तथ्याङ्कले देखाए पनि त्यहाँ २५ थान काठ मात्र पाइएको छ ।
खोज्दै जाँदा रूपनगर इलाका वन र पूर्वी सेक्टर कंचनपुर दुवैको गरी २१ वटा टुना पूर्वी सेक्टरमा फेला परेको छ । आफ्नै कर्मचारीको संलग्नतामा ६ असार २०७० मा खाल्डोमा लुकाएको अवस्थामा फेला परेको १७ थान, एसएसपी कार्यालय राजविराजको गाडीबाट बरामद भएको तीन थान र थप ६ गरी २६ थान गोलिया टुना रहनुपर्नेमा २१ वटा मात्र फेला परेको छ । खाल्डोबाट फेला परेको १७ थान र एसएसपी गाडीबाट बरामद भएको काठको बारेमा वन कार्यालयको लिखित कागजमा कुनै किसिमको चर्चा गरिएको छैन । पूर्वी सेक्टरका जमदार जितेन्द्रप्रसाद गुप्ताले खाल्डोबाट झ्कििएको भनिएका काठमध्ये ११ थान मात्र देखाएको छ । बाँकी फेरि बेपत्ता पारिएको छ ।
काठको गाईजात्रा
६ असार २०७० मा रूपनगर गाविस ६ स्थित बाँसघारीबाट ११ थान, खाल्डोमा गाडिएको दुई थान र घाँसपातको झडीमा लुकाएर राखिएको चार थान गरी १७ थान गोलिया काठ फेला प¥यो । १२४ क्यूबिक फिट परिमाणको उक्त काठमा रूपनगर रेञ्जपोष्टका रेञ्जर दिनेश यादवसहितका कर्मचारीको संलग्नता देखिएपछि वनको क्षेत्रीय कार्यालय विराटनगरले उनीमाथि छानबीन गरेको थियो । तर, यादव सरुवा भएर खोटाङ गइसकेकोले उनीमाथि कुनै कारबाही भएको छैन । तथापि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले लुकाएको काठबारे अनुसन्धान शुरू गरेको छ ।
१६ साउन २०७० मा नेपाल प्रहरीको बा.१ग. २२०१ नम्बरको वान्टेड गाडीमा लोड गरी ल्याइरहेको अवस्थामा स्थानीयहरूले तीन थान गोलिया काठ नियन्त्रणमा लिएका थिए । सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजको उक्त गाडी स्थानीयहरूले घेरेपछि प्रहरीले गाडी भगाएर लैजाने प्रयास गरेको थियो । स्थानीयहरूले फत्तेपुर विद्यालय अगाडिबाट पुनः उक्त गाडी आफ्नो नियन्त्रणमा लिए ।
३५ क्यूबिक फिटको उक्त काठ र गाडीलाई अनुसन्धानका लागि इलाका वन कार्यालय कंचनपुरमा राखियो र पछि गाडीलाई छाडिएको थियो । यो घटना सार्वजनिक भएलगत्तै तत्कालीन सगरमाथा प्रहरी प्रमुख एसएसपी भोगबहादुर थापालाई कारबाही स्वरूप प्रहरी प्रधान कार्यालय झ्किाएर अर्का एसएसपी श्यामबहादुर खत्रीलाई पठाइएको थियो । यो घटना पनि वन कार्यालयको अभिलेखमा छैन । नियन्त्रणमा लिइएको उपरोक्त काठको समेत कुनै रेकर्ड वन कार्यालयमा छैन ।
गाविस सचिव पनि तस्कर
३ कात्तिक २०७० मा रायपुरस्थित खाँडो नदीबाट को.१त. ४६४३ नम्बरको ट्याक्टरमा बालुवामुनि लुकाइएको अवस्थामा सशस्त्र प्रहरीले ५५ थान काठ नियन्त्रणमा लियो । पछि बुझदै जाँदा ट्याक्टर र उक्त काठ रूपनगर गाविसका सचिव कासिम मियाँको रहेको खुल्यो । रूपनगर गाविस–४ निवासी उनले त्यहीं विगत आठ वर्षदेखि स–मिल संचालन गर्दै आएका छन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीको तथ्याङ्कले आर्थिक वर्ष २०७०÷७१ मा ३१४.३५ क्यूबिक फिट काठ बरामद तथा नियन्त्रणमा लिएको देखाउँछ । वन कार्यालय सप्तरीकोे तथ्याङ्कमा भने १४८ क्यूबिक फिट मात्र काठ बरामद गरेको देखाइएको छ ।
एक वर्षमा (२०७० साउनदेखि २०७१ असारसम्म) नेपाल प्रहरीले ५५८.७५ क्यूबिक फिट काठ बरामद गरी जिल्ला वनलाई बुझएको तथ्याङ्क दिए पनि जिल्ला वनले ७१.४४ क्यूबिक फिट काठ मात्र नेपाल प्रहरीबाट प्राप्त भएको उल्लेख गरेको छ । नेपाल प्रहरीले ११ पटक काठ बरामद गरेर बुझएको जनाएको छ भने वनले आफ्नो तथ्याङ्कमा प्रहरीले तीन पटक मात्र बुझएको उल्लेख गरेको छ । प्रहरीले २५ कात्तिक २०७० मा ना.५ख ६१७ नम्बरको ट्रकमा लोड गरिएको ५५८.७५ क्यूबिक फिट काठ फत्तेपुरबाट नियन्त्रणमा लिई जिल्ला वनलाई बुझएको जनाएको छ । तर यो ट्रकलाई त्यहीबेला आर्थिक प्रलोभनमा परेर जिल्ला वन कर्मचारीले छाडेको एक कर्मचारी बताउँछन् । जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजकुमार बैदवार भन्छन्, “नियन्त्रणमा लिइएको सबै काठ वनलाई बुझइसकिएको छ ।”
उपभोक्ता समितिको बद्मासी
गंगाजली सामुदायिक वन उपभोक्ता समिति फत्तेपुर ९ बलार्दहको कार्यालय परिसरमै वनबाट काटेर ल्याएको एक सयभन्दा बढी साखुको गोलिया १५ चैत २०६७ मा फेला प¥यो । समितिका पदाधिकारीहरूले नै काठ कटान गरेको खुल्न आएपछि त्यसबेला इलाका वन कार्यालय कंचनपुरका अधिकारीहरूले छानबीन गरेका थिए । तर मुद्दा भने १२ माघ २०६९ मा चलाइयो । त्यतिबेला ९०६.६५ क्यूबिक फिटको ११८ थान काठ अवैध रहेको भन्दै मुद्दा चलाइए पनि अहिले गंगाजली वन उपभोक्ता समूहभित्र त्यति काठ छैन । समूहका अध्यक्ष सुकदेव चौधरी भन्छन्, “बाढीले बगाएका काठहरू बर्बाद हुने भएकाले हामीले वन कर्मचारीको निर्णयमा बेच्ने तयारी गर्दा हामीविरुद्ध मुद्दा चलाइएको हो ।” तर उनको भनाइलाई त्यतिबेलाका सोही वन समितिका उपभोक्ता लक्ष्मी साह खण्डन गर्छन्, “वन क्षेत्रबाट पदाधिकारीहरूले नै काठ कटान गरेर बेच्न लागेका हुन् । त्यसैले मुद्दा चलेको हो ।” जेठ २०६४ मा गाईगोठ सामुदायिक वन उपभोक्ता समिति कंचनपुर रूपनगरले २५० क्यूबिक फिट काठ कटानी गर्ने आदेश पाएकोमा दुई हजार क्युबिक फिट काठ कटान गरेको पाइएको थियो ।
समितिका तत्कालीन अध्यक्ष शिवनारायण साह, सचिव हरि यादव र कोषाध्यक्ष पोषराज खतिवडाको मिलेमतोमा भएको काठ कटानीपछि जिल्ला वन कार्यालयले इलाका वन कंचनपुरलाई कारबाही गर्न सिफारिश गरेको थियो । तर उनीहरूलाई कुनै कारबाही भएको छैन । अहिले पनि वन समूहका पदाधिकारी तथा उपभोक्ता रूख काट्न सक्रिय छन् । गस्तीमा खटिएको वन कर्मचारी र वन पदाधिकारीको संयुक्त टोलीले २२ पुस २०७० को राति घोघनपुर गाविसको पौडाहा खोलाबाट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने कंचनपुर–९ का २० वर्षीय शंकर महतो, १४ वर्षीय सञ्जय महतो र १४ वर्षकै राजेश महतो निकुरीटिकुरी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी थिए । ४.४३ क्यूबिक फिट काठ ल्याउँदै गरेका उनीहरूसँगको काठ बरामद गरी एक वर्षसम्मका लागि उपभोक्ता समितिबाट निलम्बन गरी रिहा गरिएको छ ।
काठ चोरी गर्ने मात्र होइन, आन्तरिक अनियमिततामा समेत डुबेका छन्— वन समितिका पदाधिकारीहरू । कनकपट्टी सामुदायिक वन उपभोक्ता समिति खोक्सर ६ र ७ कनकपट्टीका उपभोक्ताहरूले ६ वर्ष अगाडि काठ बिक्रीबाट आएको रकम बाँडफाँड गरेको आफैंले स्वीकार गरेका छन् । २०६४ असारमा सुनसरीको हाँसपोसास्थित हिमाल कत्था उद्योगलाई बिक्री गरेको खयरको काठबापतको करीब रु.४ लाख र दाउराबाट आएको रु.४ लाख गरी रु.८ लाख रकम समितिका पदाधिकारीले झवाम पारेका हुन् । तर, उनीहरूलाई अहिलेसम्म कुनै कारबाही भएको छैन ।
[२०७१ कार्तिक १७ (3 Nov. 2014)गतेको नागरिक दैनिकको पूर्वेली पेजमा प्रकाशित]