Print Friendly, PDF & Email

पाण्डुसेन–७ अगाउपानीकी ४० वर्षीय रेउली सार्कीलाई २०५९ साल कार्तिक ७ गते बज्रपात प¥यो । त्यसदिन उनको श्रीमान काशी सार्की राज्यपक्षको आक्रमणमा परी मारिए । यसै दिन पाण्डुसेन गाविसमा सेना र प्रहरीको आक्रमणमा परी ८ जना सर्वसाधारणको सामुहिक हत्या भयो ।

-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्र

PDF को लागि यहाँ CLICK गर्नुहोला ।

तत्कालीन शाही नेपाली सेनाको शमशेर दल गुल्म र जिल्ला प्रहरी कार्यालयको संयुक्त कमाण्डमा आएको एक टोलीले बिहान ३.४५ बजे नै अगाउपानी गाउँलाई घेरामा हाले । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रतिवेदन अनुसार, त्यसबेला गाउँका सर्वसाधारणमाथि अन्धधुन्ध आक्रमण गरियो । घटनामा परी ७ जना मारिए ।

शंकै शंकामा नरसंहार

पाण्डुसेनमा माओवादी आएर बसेका छन् भन्ने सूचनाका आधारमा सेना र प्रहरीको टोली सर्चको लागि पाण्डुसेन गएको थियो । टोलीले मूल बाटोमा रहेको हिमाली प्राविबाट दक्षिण पूर्वतिर १० देखि १२ मिनेटको दुरीमा रहेको पाण्डुसेन गाविस–७ अगाउपानी गाउँलाई घेरामा लिएको थियो ।

तिहारको समय भएकोले गाउँलेहरू तास खेल्दै थिए । हरिकृष्ण राउतको घरमा तासको खेल चलिरहेको थियो । त्यहाँ मानिसहरू झुम्मिएर बसेको देखेर ती सबै माओवादी हुन् भन्ने शंका गरी सेना र प्रहरीले उनीहरूलाई घेरामा लिए । सेनाले घर घेरा हालेपछि, घर भित्रको कोठामा तास खेलिरहेका सातै जनाले माओवादी आएको शंका गरेर तास खेल्न छाडी बत्ति निभाए । बलिरहेको बत्ति एक्कासी निभेपछि सेना र प्रहरी टोलीले उनीहरू माओवादी भएकाले बत्ति निभाएर आफूहरूमाथि आक्रमण गर्ने तयारी गरेको शंका गरेर आक्रमण गरे । घेरामा परेका खेलाडीहरू भाग्न खोज्दा उनीहरूमाथि एकाएक गोली चल्यो । त्यस घटनामा परेर रामलाल दमाई, तुला राउत, काशी सार्की, सौरे राउत, नरबहादुर बोहरा, चन्द्र बोहरा र रूप दमाई समेत ७ जना मारिए ।

Prakash story photo

द्वन्द्वका बेला मारिएका पाण्डुसेन ७ का काँशी सार्कीकी श्रीमती रेउली सार्की र उनका परिवार ।

यस घटनाको भोलिपल्ट बिहान ८ बजे सेनातिर र प्रहरीको टोलीले अर्को कारवाही ग¥यो । उनीहरूले खेतमा धान काटिरहेका पदमबहादुर शाहीलाई पक्राउ गरे । मध्यान्हतिर शाहीलाई पनि गोली हानेर मारिदिए ।

 प्रत्यक्षदर्शीहरू भन्छन्, त्यसदिन हरिकृष्ण राउतको घरमा तासको खेल चलिरहेको थियो । उनको घरमा उज्यालोे देखेपछि फौजले आक्रमणको तारो बनाए ।

स्थानीय बासिन्दा भन्छन्, ‘त्यसबेला बिहान हुन लागिसकेको थियो, अन्दाजी पौने चार बजेतिर हरिकृष्णको घरमा गोली चलेको सुनियो । त्यहाँ गएर हेर्दा घर भित्रै ५ जनाको लाश भेटियो । एकजना रामलाल दमाई भने गोली लागेर छटपटाई रहेका थिए, उपचार गर्दा गर्दै तीन दिनपछि उनको मृत्यु भयो । तुला राउतको लाश चाहिँ हरिकृष्णको घरभन्दा करिब १ सय मिटर तल दमाई बाडामा भेटियो । यसरी सातै जना एकैघान भए ।

फौजले भोलिपल्ट पनि खोज तलास जारी राख्यो । यसक्रममा कार्तिक ८ गते बिहान ८ बजेतिर पाण्डुसेन पिरेकोटका पदमबहादुर शाहीलाई पक्राउ ग¥यो । शाही घटनास्थलभन्दा २० मिनेटको दूरीमा रहेको आफ्नो खेतमा धान काटिरहेका थिए । उनलाई मध्यान्हसम्म सोधपुछ गरेपछि गोली हानेर हत्या गरियो ।

गाउँमा फौजले गोली हानेर सर्वसाधारणको हत्या गरेको देखेर उद्वेलित भएका गाउँलेहरू दिउँसो १ बजेतिर सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासनलाई खबर गर्न हिँडे । यसरी हिंडेका धनबहादुर र अन्य ३ जना गाउँले पाण्डुुसेन नजिकै आइपुग्दा रेडियोबाट पाण्डुसेनमा पदम शाहीलगायत ८ जना माओवादी आतङ्ककारी सुरक्षा फौजको कारवाहीमा परी मारिएको समाचार सुने । त्यसपछि उनीहरू पनि मार्तडी जान डराए । प्रशासनले आफूहरूलाई पनि माओवादी भनी कारवाही गर्न सक्ने डरले उनीहरू त्यहींबाट गाउँ फर्किए ।

यता फौजले मृतकहरूको शवलाई त्यसैदिन आफन्तको जिम्मा लगाए । गाउँलेहरू शोकमा डुबेकाले उनीहरूले दोस्रो दिन पनि शवको संस्कार गर्न सकेनन् । तर तेस्रो दिन ७ जनाकै शव एकैचोटी संस्कार गरे । यस दिनसम्म रामलाल दमाईको मृत्यु भइसकेको थिएन ।

फौजको निशानामा

देशको विकट जिल्ला बाजुराको पनि दुर्गम क्षेत्रमा रहेको पाण्डुसेन गाविसमा माओवादीको प्रभाव धेरै थिएन । जिल्लामा माओवादीहरूले छिटफुट घटना भने गरिरहेका थिए । तर अगाउपानी गाविसमा भने माओवादीहरूले समर्थकहरू बनाएको चर्चा चलिरहेको थियो । यसै चर्चाको आधारमा फौजले त्यहाँ निगरानी राखिरहेको थियो । तर गाउँलेहरूलाई भने गाउँमा फौजले आक्रमण गर्न सक्ने शंका पनि थिएन । तर यस गाउँमा शंकै शंकामा नचिताएको घटना भयो । अकल्पनीय नरसंहार भयो ।

घटनाका प्रत्यक्षदर्शी एवम् हरिकृष्ण राउतको छोरा भीमबहादुर रावतले बताए, ‘त्यस दिन मेरो गह्रामा (खेतमा) कोदोको नल काट्ने काम थियो । तिहारको बेला भएकोले राती अवेरसम्म नल काटेका थियौं । घटनामा परेका अन्य मानिसहरूले पनि हामीलाई नल काट्न सघाएका थिए । रातपरेपछि उनीहरू मेरो घरमा तास खेल्न बसे । मेरा बुवा तास नखेल्ने हुनाले बुबा, आमा र हामी अर्को कोठामा सुत्यौं । राती एक्कासी बन्दुक पड्कन थालेपछि हामी डराएर बाहिर निस्केनौं । तर बुबालाई भने फौजले बोलाएर लगे । उहाँलाई तँ माओवादीलाई पाल्छस् भनेर मर्नेहरूको नाम सोधेर लियो ।’

भीमबहादुर सम्झन्छन्, ‘त्यसबेलासम्म सौरे राउत, रूप नेपाली (दमाई), काशी सार्की, चन्द्र बोहरा र नर बोहराको मृत्यु भइसकेको थियो । अलि तल दमाई बाडामा तुला राउतको मृत्यु भएको थियो । रामलाललाई गोली लागेको थियो, तर सास चल्दै थियो । तीन दिनपछि उनको पनि मृत्यु भयो ।’

भीमबहादुर भन्छन्, ‘पदमबहादुर शाही चाहिँ गाउँमा लम्फू शाही भनेर चिनिन्थे । उनी भोलिपल्ट बिहान पिरेकोटमा समातिएका हुन् । उनलाई फौजले कुटपीट गरेर काँधमा गोली हानेर मारिदिएका थिए । गाउँमा चिताउँदै नचिताएको घटना भयो ।

माओवादीको निशानामा

नेकपा एमालेका बाजुरा जिल्ला उपसचिव, कोल्टी ३ का ताराचन्द्र रेग्मी माओवादीको निशानामा परे । २०६० फागुन २३ गते बाजुराको तल्लो भेगमा पर्ने कैलाशमाडांै गाविसको मौरेमा माओवादी पार्टीको सैन्य अभियान चलिरहेको थियो । तारा रेग्मी चाहिँ शान्तिका लागि जनपरिचालन अभियानअन्तर्गत गाँउ दौडाहामा थिए । उनी मौरे पुगेको बेला माओवादीहरूले सुराकी गर्न आएको शंका गरी अपहरण गरेर चैत २२ गते मारिदिए ।

ताराचन्द्रका भाइ बलदेव रेग्मी भन्छन्, ‘माओवादीले अपहरण गरेर लगेपछि परिवारका सदस्यलाई भेट्न पनि नदिई मारिदिए । यातना शिविरमा लगेर अमानवीय तरिकाले कुटपीट गरेछन् ।’  

पीडित परिवार

अगाउपानी घटनामा परी मारिएका काशी सार्की भारतमा नोकरी गर्थे । उनी तिहार मनाउन घर आएका थिए । हरिकृष्णको घरमा राती अवेरसम्म तास खेलिरहँदा यिनी फौजको आक्रमणमा परी मारिए ।

काशी सार्कीको हत्या भएको ११ वर्ष भयो । तर उनकोे परिवारमा परेको चोट अझै पुरिएको छैन । उनकी श्रीमती रेउली सार्की भन्छिन्, ‘कमाएर परिवार पाल्ने मानिस नै मारिदिए । भोकभोकै सुत्नुपर्ने अवस्था आएको छ । दुख झन्–झन् बढ्दैछ ।

दैनिक ज्याला गरेर हातमुख जोर्नुपर्ने रेउलीका ४ जना नावालक बच्चा छन् । उनीसँग भएको थोरै जमिनको उब्जनीले २ महिनाभन्दा बढी खान पुग्दैन ।

पाण्डुसेन गाविसमा रेउली जस्तै पीडा भोग्ने अरु ८ परिवार छन् । त्यस दिनको घटनामा परेका नरबहादुर बोहराकी श्रीमती लालजना बोहरा भन्छिन्, हामी ७ जना छौं । खेतीबाट २÷३ महिना पनि खान पुग्दैन । जडिबुटी टिपेर, ज्याला मजदुरी गरेर गुजारा चलाइरहेकी छु ।’

उनको माइलो छोरो मनबहादुर बोहराले गत वर्ष आत्महत्या गरे । लालजनाले बताइन्, ‘छोराले सोलार किनिदेउ भन्याथ्यो, आफूसँग कौडी थिएन, त्यही पीरले आत्महत्या ग¥यो ।’  

त्यस घटनामा परेका चन्द्र बोहराकी श्रीमती रूपा बोहरा भन्छिन्, ‘हाम्रो बाँच्ने आधार नै खोसियो । उनले गुनासो गरिन्, मेरो श्रीमानलाई राज्यले मारेको हो । त्यसैले दोषीलाई कारवाही गराउन पनि सकिएन ।’

सरकारले ढाँट्यो

बाजुरा जिल्ला नेपालकै कम उत्पादन हुने हिमाली क्षेत्र हो । यो जिल्ला निरन्तर खाद्य संकटको चपेटामा पर्दै आएको छ । यहाँ अतिनिम्न र निम्नमध्यम वर्गका मानिसहरूको वसोवास छ । यहाँका अधिकांश मानिसहरू दैनिक मजदुरी गरेर वा भारतमा गएर कमाई गरी जीवन निर्वाह गर्छन् । यसरी कमाएको पैसाले मार्तडी र कोल्टीमा रहेको खाद्य संस्थानबाट चामल किनेर गुजारा चलाउन सकिंदैन ।

राजनीतिक द्वन्द्व पीडित सार्की र बोहाराजस्ता आठवटै परिवार निम्न आय स्तरका थिए । प्रत्यक्ष पीडितको पीडा कम गराउन भनी नेपाल सरकारले १० लाख दिने घोषणा गरेको थियो । तर अहिलेसम्म ३ लाख मात्र दिएको छ ।
रूपा भन्छिन्, ‘सरकारले एकपल्ट २ लाख र अर्को वर्ष १ लाख गरेर ३ लाख दियो । बाँकी रकम दिएन । हामीलाई त सरकारले नै ढाँट्यो ।’  

रेउली थप्छिन्, ‘सरकारले दिन्छु भनेर वाचा गरेको राहत पनि दिएन । गाँस, बास र कपासको ग्यारेन्टी गरिदिएकोे भए केही पीडा भुल्ने थियौं । श्रीमान त मरेर गए । तर बाँचेकालाई हुर्काउने र बढाउने पीडाले बढी सताएको छ ।’  

घटनामा परेका लालबहादुर बोहराकी श्रीमती हस्ता बोहारा भन्छिन्, ‘बाँचेका  छोराछोरी पाल्न अरुको दैलौदैलो चाहरिरहेकी छु । गाँउ समाजले पनि विधवालाई अलि हेला गर्छन् । ऋण पनि पत्याउँदैनन्, बाँच्नै नसकिने भयो ।  

सौरे राउतकी श्रीमती प्यारु राउत थप्छिन्, ‘विधवाले त काम पर्दा गाउँलेको सहयोग पनि सहजै पाउँदैनन् । विरामी भए पनि ऋण पाउँदैनन् । चाडपर्वका बेला निको खाने नौलो खाने लाउने मन हुन्छ । तर जुटाउन सकिंदैन । मन मारेर बस्नु पर्छ ।’ चन्द्र बोहोराकी श्रीमती रूपा बोहाराले भनिन्, ‘विधवाले तिर्न सक्तैनन् भनेर कसैले ऋण पनि पत्याउँदैनन् ।’

माओवादीको अपहरणमा परी मारिएका चन्द्र रेग्मीको परिवारको पीडा पनि उस्तै छ । ताराचन्द्र रेग्मीकी श्रीमती शान्ता रेग्मीले भनिन्, ‘राहतका लागि पटक–पटक गृह मन्त्रालयमा धाएपछि अलिकति राहत पाइयो । तर हामीले राहतभन्दा पनि न्याय खोजेका छौं । दोषीलाई कारवाही भइदिए पनि मनमा शान्ति हुन्थ्यो ।’

बालबालिकामाथि असर

सरकारले सबै बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने नीति बनाएता पनि बाजुराका द्वन्द्व पीडित परिवारका बालबालिका आर्थिक अभावका कारण भारतका विभिन्न स्थानमा गएर ज्याला मजदुरी गरिरहेका छन् ।
नरबहादुर बोहराका छोरा १६ वर्षीय पुने बोहराले ५ कक्षामै विद्यालय छोडे । पुनेले दुखेसो गरे, ‘पढने रहर थियो, तर परिवार पाल्न प¥यो ।’ उनका अर्का छोरा प्रेम पनि पढाइ छाडेर भारतमा काम गर्न गए । पे्रम भन्छन्, ‘पहिला माओवादीले पढ्न दिएन । सेनाले बुबाको हत्या गरिदिएपछि, घरको जेठो भएकाले परिवार पाल्ने जिम्मा आयो । त्यसैले पढ्न छोडें ।

रेउली सार्कीका ४ बच्चा, नरेन्द सार्की, गंगा सार्की, दिप सार्की र मन सार्की भने क्रमश १०, ९, ६ र ३ कक्षामा पढ्दैछन् । तर यिनीहरू नियमित विद्यालय जान पाउँदैनन् । रेउली भन्छिन्, ‘बिहान बेलुका ज्याला मजदुरी गरेर भएपनि खाना खर्च जुटाउनै पर्छ । कापी कलम किन्ने खर्च पनि जुटाउनै प¥यो ।’

पाण्डुसेनका विद्यालयमा पढाइ शुरू भएको दुई महिना बितिसक्दा पनि नरेन्द्र सार्की र दिप सार्की भने खाना खर्च जुटाउन दुई महिना जति हिमाली भेगमा जडिबुटी संकलन गर्न जान्छन् । उनीहरू वैशाखको अन्तिमतिर बुढिनदा, मालिकामा जडिबुटि कोर्न गएका थिए । प्यारु राउतका ३ बच्चा पनि पढाइ छाडेर खाना खर्च जुटाउन गाँउलेसँगै जडिबुटी संकलन गर्न हिमाल तिर गए ।

यी विद्यार्थीहरूले हिउँदको दुई महिना र वर्षाको एक महिना विद्यालयको पढाइ छोड्छन् । पदमबहादुर शाहीका छोराका ५ बच्चा छन् । उनका जेठा छोरा केश शाहीले भने, ‘४ जना भाइ बहिनी छन्, पढाउने जिम्मा मेरै छ । बहिनी सुमिता एसएलसी दिएर बसेकी छ, टेक्निकल शिक्षा पढ्छु भन्छे मेरो हैसियत छैन ।’ सुमिता भन्छिन्, ‘मेरो सपना त पूरा हुँदैन होला ।’

संविधान बनोस्, शान्ति होस्

नरबहादुर बोहराकी श्रीमती लालजना बोहराले भनिन्, ‘मेरो श्रीमानको हत्यारालाई कारवाही हुनुपर्छ । त्यो नगरे सरकारले गाँस, बास, कपास र बच्चाको शिक्षाको ग्यारेन्टी दिनुपर्छ ।’ पूर्णबहादुर राउत भन्छन्, ‘पीडितलाई न्याय दिएमा मात्र देशमा शान्ति वहाल हुन्छ । न्याय नपाएको अवस्थामा देशमा जस्तोसुकै संविधान बनेपनि हाम्रो मन खुशी हुँदैन ।’

स्थानीय बुद्धिजीविहरू भन्छन्, ‘द्वन्द्व पीडित परिवारलाई आयमूलक काम दिने, तिनको क्षमता अभिवृद्धि गर्ने तथा जीवन निर्वाहका लागि सरकारी र गैरसरकारी निकायहरू मिलेर ठोस काम गरिदिए द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।’

तर पीडित केशबहादुर शाहीले जोड दिँदै भने, ‘देशमा संविधान बनेमा सबै किसिमका द्वन्द्वका निकास निस्कन्थे । अनि शान्ति पनि आउँथ्यो ।’

[२०७१ साल भदौ २(18 August 2014) गतेको धनगढीपोष्ट दैनिकमा प्रकाशित]