२०७० जेठ ६ गते सप्तरी क्षेत्र नं ५का सभासद् सदरुल मियाँ हकको हत्या भयो । घटना हुनु भन्दा ६ महिना अघिदेखि उनलाई कसैले मार्ने धम्की दिईरहेको थियो । सभासद सदरुलले पटक पटक जानकारी दिँदा पनि स्थानीय प्रहरीले वेवास्ता गरेपछि उनले आफै सुरक्षा व्यवस्था गरेका थिए । उनको सुरक्षाका लागि जुन दिन निजि सुरक्षा गार्ड आए, त्यसै दिन राती उनको हत्या भयो । प्रहरीले यस घटनालाई सामान्य मामिला बनाएर औपचारिकता पुरा ग¥यो । तर हत्याका मुख्य आरोपीलाई आजसम्म खोजेको छैन । प्रहरीले सदरुल हकले प्रयोग गर्ने गरेको फोन नं.९७४११६३६४०को कल डिटेल्स समेत छानविन गरेन । जसबाट उसलाई मार्ने धम्की दिने मानिस पत्ता लगाउन सहज हुन्थ्यो । खोपकेको अनुसन्धानमा सदरुलको हत्याको योजना भारतीय जेलमा परेका वंगलादेशी नागरिक सुव्रतो विन र उसका नेपाली र भारतीय एजेन्टहरुको वरिपरि घुमेको देखिन्छ ।
-विजयप्रसाद मिश्र: खोज पत्रकारिता केन्द्र
[प्रकाशित समचारको लागि तलको LINK मा CLICK गर्नुहोला ।]
२०७० जेठ ६ गते हत्या गरिएका सप्तरी जिल्ला क्षेत्र नं ५का, प्रथम संविधानसभाका सभासद् सदरुल मियाँ हकको धेरै जनासंग दुश्मनी थियो । ती मध्ये बंगलादेशी नागरिक सुब्रतो विनसंगको आर्थिक लेनदेन र आफ्नै सालो असलमसंगको व्यापारिक कारोवारमा भएको हेराफेरी नै सवैभन्दा ठूलो विवाद थियो । यसवाहेक श्रीमति नूरजहाँ र विसनपुर मस्जिदका मौलाना नूरजमानवीचको सम्बन्धका कारण उठेका पारिवारिक विवाद पनि ठूलै मामिला बनेको थियो ।
बंगलादेशी नागरिक सुव्रतो विनले सुनसरीबाट अलि असरफको नाममा नक्कली नागरिकता लिएका थिए । सोही काण्डमा सुनसरीको झुम्का जेल परेका बेला, विनले आफ्नी श्रीमति मार्फत् सभासद सदरुलसंग सम्बन्ध बनाएका थिए । नेपाल प्रहरीले विनको नाम ईन्टरपोलमा राख्न खोजेपछि, त्यस प्रक्रियालाई रोक्का गर्न विनले सभासद सदरुललाई प्रयोग गरेका थिए । विनको नाम र फोटो पहिलेदेखि नै ईन्टरपोलको मोस्ट वान्टेड सूचीमा थियो । नेपालले विनको फोटो र नाम (नक्कली नै भएपनि) सार्वजनिक गरेमा उसको पहिचान खुल्न जान्थ्यो । त्यसैलाई रोक्नाका लागि विनले श्रीमति मार्फत सदरुललाई १८लाख (भा.रु.) दिएका थिए । तर सदरुलले पैसा लिएर पनि काम गर्न नसकेपछि, विनले पैसा फिर्ता मागे । सदरुलले पैसा फिर्ता गर्न आनाकानी गरेपछि विवाद लम्बिँदै गयो । र, उनलाई बारम्बार मार्ने धम्की आउन थाल्यो ।
सदरुल, सुब्रतो र धीरेन्द्र यादव
स्वतन्त्र सभासद भए पनि एकीकृत माओवादी पार्टीलाई समर्थन गरेका कारण सदरुलको प्रचण्डसंग राम्रो सम्बन्ध थियो । त्यसैले सदरुलले उनलाई सहयोग गर्न सक्ने विश्वास विनलाई थियो । झुम्का जेल तोडेर विनसंगै फरार भएका अर्का अभियुक्त धीरेन्द्र यादवले स्थानीय संचारकर्मीहरुलाई बताएका थिए— इटहरीमा बसिरहेकी विनकी श्रीमतीले सदरुललाई पटक पटक गरी १८ लाख भा.रु दिएकी थिईन् । यी धीरेन्द्र यादव पनि नेपाली नागरिकता लिएर नेपालमा बसिरहेका थिए । उनी भारतको मोष्ट वान्टेड अपराधीको सूचीमा परेका थिए । यी यादवले २०६३ माघ ८ गते कृषि विकास वैंक राजविराज शाखाका प्रबन्धक विक्रम साहको हत्या गरेका थिए । त्यसैको सजाय काट्न काठमाडौंमा जेल भोगिरहेका थिए । २०६८ कात्र्तिक ३० गते यादवलाई काठमाडौबाट सरुवा गरेर झुम्का जेलमा राखिएको थियो । यहाँ विन र यादवको संयुक्त अपराध मोर्चा बनेपछि, झुम्का जेल तोड्ने योजना बनेको थियो । धीरेन्द्र भन्छन्, झुम्का जेल तोड्ने तारतम्य मिलाउन मात्र ३ करोड जति खर्च भयो ।
यसअघि सुब्रतो विन र धीरेन्द्र यादवले सदरुल हक मार्फत माओवादीकी सभासद उमा भुजेलसंग सम्पर्क गरे । धीरेन्द्र यादवले खुलासा गरे, माओवादी सभासद उमा भूजेलले उनीहरुलाई जेलबाट छुटाईदिन तत्कालीन गृहमंत्री कृष्णबहादुर महराकहाँ कुरो पु¥याईन् । तर महराले ठाडै अस्वीकार गरेपछि सभासद् सदरुल हक संकटमा परे । सदरुलले पैसा लिएर पनि काम गराउन सकेनन् । यसपछि नेपाल प्रहरीले पनि बिनलाई ईन्टरपोलको मोस्ट वान्टेड सूचीमा राखिदिए पछि मामिला झन् बिग्रन गयो । सुव्रतो बिन, अण्डरवल्र्ड डन दाउद इब्राहिमको बंगलादेश हेर्ने प्रतिनिधिको रुपमा कार्यरत रहेको र उनले बंगलादेशमा ठूला अपराध गरेका समाचारहरु बंगलादेशमा प्रकाशित भैरहेका थिए । सुव्रतो विनको संकट गहिरिँदै थियो ।
यसैवीच २०६९कात्तिक २३ गते राती सुनसरीको झुम्का जेल तोडियो । त्यसै रात जेलवाट सुब्रतो विन र धीरेन्द्र यादव सहित ८ अपराधी भागे । धीरेन्द्र यादव सुनसरीको सीमा क्षेत्रवाट तुरुन्तै पक्राउ परे भने सुव्रतो विनलाई चाहिँ भारतीय प्रहरीले १९ दिनपछि कलकत्तामा पक्राऊ ग¥यो । यसपछि भारत बंगलादेशवीच अपराधी साटासाट गर्ने कुटनैतिक पहल शुरु भयो । भारत सरकार र बंगलादेश सरकारवीच गृहमंत्री स्तरमा सुव्रतो विन र असमका उल्फा महासचिव अनुप चैत्यको साटासाट गर्ने सहमति भयो । तर दुवैदेशको मन्त्रीपरिषदले कुनै निर्णय लिएको छैन ।
भारतले सुब्रतोलाई जाली भा.रु.को कारोबार गरेको अभियोग लगाएर जेलमा राखेपछि सदरुल हकलाई काकडभिट्टा नजिकको भारतीय सीमबाट (वंगलादेश सीमा क्षेत्र) लगातार फोनमा मार्ने धम्की आउन थाल्यो । नेपालमा नक्कली भारु कारोवार गरेको आरोपमा ३ बर्ष सिरहा जेलमा बसिससेका सिराहा चतरीका ऐनुल शेखा पनि सदरुल हत्यामा संलग्न रहेको देखिएपछि मामिलाले गम्भीर मोड लियो । यी ऐनुल शेखको सम्बन्ध धीरेन्द्र यादव र सुव्रतो विनसंग पनि थियो ।
सदरुलका हत्यारा
सदरुल मियाँ हक(६०)को हत्या राती सुतेकै अवस्थामा ओछ्यानमै धारिलो हतियार प्रयोग गरेर घाँटी रेटेर (हलाल गरेर) भएको थियो ।
यस हत्याको आरोपमा राजविराज जेलमा रहेका चाँदबाबु भन्ने अब्दुल रउफले बताए—म साउदीबाट २०७० सालको बैशाखमा घर फर्कें । मेरो, ऐनुलको र जमिरुल शेखको घर एउटै गाउँमा छ । घटनाको दिन हामी तिनैजना एउटै मोटरसाईकल चढेर विसनपुरा गयौं । घटनापछि राती १ बजेतिर, जमिरुल र ऐनुल शेख मोटरसाईकलबाटै लहान गए । म चाहि रात्री बस चढेर लहानको घर आएँ । खुट्टीखोलामा जमिरुल र ऐनुलसंग भेट गरें । ऐनुलले केही पैसा र एउटा फुटेको मोवाईल दिएर मलाई विराटनगर पठाए । त्यहाँको चाँदनी होटलमा ७ दिन लुकेर बसें । पछि लहान जाँदा पक्राउ परें ।
रएफलाई उनकी प्रेमिका बसन्तीले लहानचोकमा बोलाएकी थिईन् । बसन्तीलाई उपचार खर्च भनेर २ हजार रुपैया दिन रिक्सा चढेर गैरहेको बेला, घटना भएको २३ दिनपछि, रउफ प्रहरीको कब्जामा परे । प्रहरीले रउफको परिवारलाई भने जाली भा.रु.को कारोवार गरेको आरोपमा पक्राउ गरेको बताएको थियो । जाली भा.रु. खोज्ने सिलसिलामा रउफको घरमा छापा मार्दा प्रहरीले सदरुलले प्रयोग गर्ने मोवाईल सेट फेला पारे । यसपछि रउफलाई सदरुल हत्याको आरोपमा पक्राउ गरि राजविराज जेलमा राखियो । रउफकी श्रीमति रुखसाना भन्छिन्— भारतीय जाली नोटको काम गर्ने ऐनुलले मेरो श्रीमानलाई फसाई दियो । ऐनुलले घटना हुनुभन्दा १०-१२ दिन अघि देखि नै लगातार घरमा आएर रउफलाई कता कता लैजाने गथ्र्यो ।
रुउफकी प्रेमिका बसन्ती भन्छिन्—“विसनपुराको ठूलो मानिसले रउफको साथीको धेरै पैसा ठगेको थियो रे । रउफले त्यसलाई छोडनु हँुदैन भन्थ्यो । ऐनुल र जमिरुल त संगै उठबस गर्थे ।
बसन्तीले थपिन्, सदरुल घटनाको भोलिपल्टै मलाई रउफले बोलाएर विराटनगरको चाँदनी लजमा एक हप्ता श्रीमति बनाएर राखेको थियो । उसको चारवटा मोवाइल थियो । नबुझिने भाषामा कोकोसंग कुरा गरी रहन्थ्यो । ठूलो मान्छेको ठूलै दुश्मन हुन्छ, सदरुलको हत्या पनि ठूलै मान्छेले गराएको हो भन्थ्यो । बसन्तीका अनुसार, सदरुलको हत्या भएपछि रउफले चिन्ता प्रकट गर्दै भनेको थियो, “सब बेकार भयो, पैसा फिर्ता आएन ।”
ऐनुलको रेटाई
ऐनुल शेख, बाबा भनिने जमिरुल शेख र अब्दुल रउफ एकै गाउँका थिए । यी तिनैजना घटनाको दिन एउटै मोटरसाईकल चढेर विसनपुरा गएका थिए । प्रहरीले जेठ २३ गते पक्राउ गरेको अब्दुल रउफका अनुसार, सदरुल मियाँको घाँटी रेट्ने काम ऐनुलले गरेको थियो ।
ईस्लामिक संघ नेपालका अध्यक्ष नजरुल हुसैनले बताए, सदरुलले ६ महिना अघि देखि नै आफ्नो ज्यानको खतरा रहेको बताएका थिए । यो हत्या बाहिरकै मानिसको योजनावाट भएको हो । अपराधी प्रवृतिका जमिरुललाई सदरुलको घरमा भित्राउने काम तिनै योजनाकारले बनाएका हुन् । जमिरुलले छोरीलाई प्रमजालमा फसायो । अनि घटनाको दिन जमिरुलले सदरुलकी छोरी रुवेदा खातुनसंग पटक पटक सम्पर्क गरेर बुबा कहाँ हुनुहुन्छ भनेर सोधेको थियो ।
जमिरुलकी प्रमिका रुवेदाले भनिन्, घटनाको दिन राती १० बजे तिर, बुबा पेट्रोल पम्पमा एक्लै सुत्न गएको कुरा मैले बाबालाई बताई दिएकी थिएँ । जमिरुलले दिउँसो, सांझ र रातीतिर पनि लगातार सोधखोज गरिरहेको थियो ।
सदरुलकी श्रीमति नुरजहाँ भन्छिन्—विसनपुरा मदरसाका मौलाना नुरजमानले जेठी छोरीको झारफुक गराउन जमिरुललाई हाम्रो घर ल्याएका थिए । छोरीको झारफुक गरेकोले जमिरुललाई रु.४० हजार दिएकी थिएँ । उसले हाम्रो परिवारसंग राम्रो सम्बन्ध बढाएको थियो ।
जमिरुललाई सदरुलको घरमा भित्राई दिने, मौलाना नुरजमानलाई धेरै वर्ष अघि सदरुलले बेईज्जती गरेर नराम्रोसंग कुटपीट गरेका थिए । स्थानीय वासिन्दाहरु भन्छन्, आफ्नी श्रीमति र नुरजमानवीचको सम्बन्ध शंकास्पद लागेपछि सदरुलले दुवैजनालाई नराम्रोसंग कुटपीट गरेका थिए । यसपछि नुरजमान सप्तरी जिल्ला छोडेर गए ।
सदरुलका छोरा हेमायूँ भन्छन्, ‘जमिरुललाई झारफुक गर्न मेरो घरमा ल्याउने नुरजमानसंग बुबाको झगडा परेको थियो । आमा र बैनीले कुरा बुझेनन् । उसको बचाउ गरिरहे ।’
जमिरुलको धावा
लहान नगरपालिका वडा नंं ५मा स्थायी घर भएका पाँच छोराछोरीका वुवा ४० वर्षीय मोहम्मद जमिरुल शेख झारफुक गर्दै हिड्ने हुनाले स्थानीयहरुले “बाबा” भनेर चिन्दथे । उ लहानको मस्जिदको नाममा चन्दा उठाउँदै हिँड्थ्यो । घटना हुनुभन्दा २ बर्ष अघि विसनपुर मस्जिदका मौलाना नूरजमानको साथ लागेर यो बाबा सदरुलको घर पुगेको थियो । बाबा भनिने जमिरुल र ऐनुल दुवै जना जाली भारुको कारोवार पनि गर्दथे । सिराहा प्रहरीको रेकर्डमा पनि जमिरुललाई “शंकास्पद क्रियाकलापमा संलग्न” रहेको भनि जनाईएको थियो । किनभने उ तराईका सशस्त्र समूहका सदस्य भएर अपहरण र फिरौती लिने काममा पनि संलग्न थियो ।
जनकपुरमा विवाह भएकी सदरुलकी जेठी छोरीको सन्तान नभएकोले उसलाई छोराछोरी हुने बनाइ दिने भनेर विसनपुराका मौलवी नूरजमानले जमिरुललाई सदरुलको घरमा भित्राई दिएका थिए । जमिरुल स्थानीय स्तरमा मौलवी (ईस्लामिक धर्मगुरु) भनेर पनि चिनिन्थ्यो । मस्जिदको लागि उठाएको चन्दाबाट आधा लिन्थ्यो ।
बसन्ती भन्छिन्, रउफलाई विदेशबाट झिकाउने र घटनामा प्रयोग गर्ने काम त्यही बाबाले गरेकोे थियो ।
स्थानीय वासिन्दाहरु भन्छन्, हत्या हुनु भन्दा एक साता अघि साँझ ७ बजे तिर दुईजना अपरिचित मानिस सदरुलको विसनपुराको ईटा भट्टामा आएर उनैलाई सदरुल हक कता छन् भनेर सोधेछन् । सदरुल आफैले उनीहरुलाई उ त यहाँ छैन, बाहिर गएको छ भनेर फर्काएका रहेछन् । यसरी खोजी गर्ने मानिस एउटा कालोे र अर्को गोरो र अग्लो व्यक्ति थियो । उनीहरुले आफ्नो घर सिरहा बताएकाले शंका लागि सदरुलले प्रहरीलाई खबर गरेका थिए । तर कोही पक्राउ परेनन् । धेरैले यो मानिस मध्ये एक सिराहा चतरीका ऐनुल हुन सक्ने शंका गरेका थिए । ऐनुल शेख फरार छन् । उनी सुव्रतो विनको जाली नोट कारोवारका सहयोगी थिए ।
फरार जमिरुलले आफ्ना परिवारलाई दिएको जानकारी अनुसार, उनीहरु भारतको मधुवनी जिल्लाको ग्रामिण भेगमा बसिरहेका छन् । मधुवनीमै सदरुलका साला असलमको घर पनि छ । नुरजमान भने नेपालकै सुनसरीको दक्षिणी भेगमा बसिरहेका छन् ।
भित्री दुश्मनी
सदरुलको परिवार गरिव थियो । मामा रहिमुद्दिनले उनलाई सानै उमेरमा दिल्ली लगेर लेदर सिलाईको काम सिकाएर ७ बर्ष भित्रै लेदर मास्टर बनाई दिएका थिए । त्यसपछि सदरुलले कानपुर र मुम्वईमा काम गरे । मजदुरी गर्न कोरिया पनि गए । कोरियामा २–३ बर्ष बसेर फर्केपछि कल्याणपुर गाविस—३मा हेमायू काष्ठ मिल खोले । रहिमुद्दिनको आर्थिक साझेदारीमा कल्याणपुर गाविस—२मा स्टील ईटा उद्योग पनि खोले । तर यस ईटा भट्टामा मामा भाञ्जावीच किचलो हँदा सदरुलले भट्टा नै एकलौटी बनाए ।
यसपछि सदरुलले साला असलमलाई मिलाएर बिहार कुशमाही भन्ने गाउँमा पनि ईटा भट्टा खोले । त्यहाँ पनि आर्थिक झमेला सालालाई हटाई दिए । आफूलाई उद्धार गरिदिने मामा रहिमुद्धिन र साला असलमसंग कटाक्ष परेपछि उनले सुनसरीमा पनि ईटा भट्टा खोले । तर यसमा घाटा लाग्यो । भट्टा नै बन्द भयो । यसपछि कृषि विकास बैक कल्याणपुर र सनराइज बैक राजविराजवाट ऋण लिएर पेट्रोलपम्प खोलेर चलाई रहेका थिए, त्यही पेट्रोल पम्पको घरमा उनी मारिए ।
मामा रहिमुद्धिन र साला असलमले हिसाब माग्दा सदरुलले क्रुर व्यवहार गरेका थिए । यसै घटनाले सदरुल र उनकी श्रीमति नूरजहाँ वीच पनि वैमनश्य बढेको थियो । नूरजमानसंगको मामिलामा नूरजहाँको बेईज्जती गरेपछि र भाइको पैसा पचाएपछि श्रीमति पनि विद्रोह गरिरहेकी थिईन् । यसैवीच सदरुलका साला असलम अवैध हतियार सहित भारतमा पक्राउ परी जेल परे । उनी भारतीय जेलमा छँदै सदरुल माथि विभिन्न आपत् आईपरे ।
आजाद काष्ठ उद्योगका मालिक विसनपुराका मोहम्मद इसराइल भन्छन्— हत्या हुनु भन्दा ४ महिना अघि, घरकै खाना खाँदा सदरुललाई उल्टी भयो । लहानको अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरको नोबेल अस्पताल लगियो । त्यहाँका डाक्टरले “फुड प्वाइजनिङ केश” हो भने । वेहोस भएकाले भेन्टिलेटरमा राखेर उपचार गरिंदै थियो । यसैबेला तत्कालिन प्रधानमंत्री डा. बाबुराम भट्टराई सदरुललाई हेर्न विराटनगर आए । त्यसैदिन राती काठमाण्डौ लान खोजे, तर मौसम खराव हुनाले प्लेन आएन । भोलिपल्ट विहान नेपाली सेनाको हवाईजहाज मगाएर काठमाण्डौ लगियो । सदरुललाई हेर्न गृहमंत्री विजयकुमार गच्छदार, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि आए । नर्भिकमा ३ दिन भेन्टिलेटरमा राखेर डा. रावल र जेपी जायसवालले उपचार गरेपछि उनी स्वस्थ भए ।
सप्तरीका अधिवक्ता अवधेशकुमार सिंहकी श्रीमती र सदरुललाई नर्भिक अस्पतालको एउटै कोठामा राखिएको थियो । श्रीमतीको हेरचाह गर्न बसेका सिंहले जिल्लाबासी भएकाले सदरुलसंग कुराकानी गरिरहन्थे । अवधेश भन्छन्—एक दिन म हुँदा नै सद्रुलको मोवाईलमा फोन आयो । उनी तनावमा थिए । फोन गर्नेलाई आक्रोशित हुँदै उनले भनेका थिए, ‘तुम क्या देखोगे, हम् भी काट् देङ्गे तुमको, आओ एकवार देखेँ, कौन क्या करता है ?’ ।
अवधेशको अनुमानमा त्यसबेला सदरुललाई कतैबाट मार्ने धम्की आएको थियो । त्यसैले उनले म पनि कम छैन भनेर धम्की दिनेलाई तर्साई रहेका थिए । अवधेश सम्झन्छन्— यही फोन संवाद पछि सदरुल मानसिक रुपमा अस्वस्थ र चिन्तित हुन थाले ।
कल्याणपुरका ३५ वर्षीय अयूफ राइन भन्छन्—मारिनु भन्दा ६ महिना अघि देखि नै सदरुलले ‘म मारिन्छु होला’ भनिरहेका थिए । उनी राजनीति गर्ने मान्छे । त्यसबेला नेपालमा मुसलमानहरुको लगातार हत्या भैरहेको थियो । केही अघि मात्र सुनसरीका फैजान अहमद काठमाडौंको घण्टाघर नजिक दिउँसै मारिएका थिए । उनी मुस्लिमहरुको संस्था इस्लामीक संघ नेपालका केन्द्रिय सचिव थिए ।
संविधानसभा विघटन हुनुभन्दा ३ महिना अघि सदरुल मुश्लिम इत्तेहाद संघर्ष समितिको संयोजक बनेका थिए । योे संस्था मुसलमानकोे पहिचानको लागि संघर्षरत थियो । अयूफ राइन भन्छन् —यो हत्या राजनीतिक पनि हुन सक्छ ।
खोरमा श्रीमति र छोरी
बुबाको हत्यारालाई सघाएको आरोपमा थुनामा रहेकी सदरुलकी छोरी रुवेदाले भनिन्, बाबा भनिने जमिरुलले मलाई ठग्यो । मैले त दिलैदेखि प्रेम गरेको थिएँ । पापाको हत्या भएको राती उसलाई मैले घरबाट लुकाएर खाना खुवाएकीे थिएँ । यसैगरि हत्यामा सहयोगी रहेको आरोपमा राजविराज जेलमा रहेकी हककी श्रीमती ५० बर्षिया नुरजहाँ भन्छिन्—मलाई केही मालुम छैन ।
तर नुरजहाँ खातुनको पक्षवाट मुद्धा हेरिरहेका अधिवक्ता नविन सिंह भन्छन्, ‘प्रहरीले घटनाको जरिया छोरीको प्रेमलाई मानेको छ । प्रेममा तत्काल आक्रोशमा घटना हुन सक्छ, तर योजनाबद्ध ढंगले पटक पटक धाएर मार्न खोजिँदैन।’
छोरा हेमायूँको जाहेरीमा पनि घटनाको दिन राती ९:२० मा बुबा घरवाट पेट्रोल पम्पमा सुत्नका गएको भन्ने उल्लेख छ । तर, हत्याको आरोप लागेका मानिसहरुको मोवाइलको कल डिटेल्स हेर्दा उनीहरु लहानवाट ७: १५ बजे नै हिडेको र ७:३० बजे तिर विसनपुरा चौकमा उनीहरुको मुभमेन्ट देखिन्छ ।’ अधिवक्ता सिंह भन्छन्, ‘घरका मानिसले भन्दा धेरै अघि देखि रेकी गर्न आउनेले नै पुरानो रिसईवी फेरेको देखिन्छ ।’
सदरुलको व्यवहार
सप्तरी क्षेत्र नंं ५, रायपुर गाविस, रुपनीका ७० वर्षीय ध्रुबलाल यादव, सदरुललाई सानै देखि चिन्दथे । उनका अनुसार, सदरुल लडाकु स्वभावको थियो । पन्चेतीमा कुटपीट गथ्र्यो । उसको एक धुर जग्गा पनि थिएन । भगवानले उसमाथि पैसा बर्साई दियो । चुनावमा ५० लाख भन्दा बढी खर्च गर्यो होला । एकाएक त्यत्रो पैसा कहाँवाट आयो, कसैलाई थाहा छैन ? उसको अनुयायी कोही थिएन, तर पनि चुनाव जित्यो ।
सप्तरी जस्तो सचेत जिल्लामा पहिलो झमटमै स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेर आएपछि यिनको राजनीतिक र आर्थिक आधारबारे निकै चर्चा चलेको थियो । मधेशको राजनीतिमा पनि उति परिचित थिएनन् । पैसाको बलमा चुनाव जितेको कुरा चाहिँ व्यापक चर्चामा थियो । संविधानसभामा पनि यिनको खासै भूमिका थिएन । त्यसैले भनिन्थ्यो—सदरुलले संविधानसभाको “उपयोग” गरिरहेका छन् ।
घटना हुनुभन्दा एकसाता अघि नै आफ्नो हत्या हुने शंका लागेपछि, सदरुलले मकालु सेक्युरिटी एजेन्सी ईटहरीबाट २ जना सुरक्षा गार्ड मगाएका थिए । सेक्युरिटी एजेन्सीे घटनाको दिन साँझ ५ बजे आएर सदरुललाई भेटे । तर सदरुलले उनीहरुलाई भोलिदेखि पेट्रोल पम्पमा बस्ने व्यवस्था मिलाउँछु आज ईटा भट्टामै बस्नु भनेर उतै राखिदिए । सदरुलले सुरक्षाको प्रबन्ध गरिसकेको थाहा पाएपछि हत्याराहरुले त्यसै दिन आक्रमण गरेर उनको हत्या गरिदिए ।
प्रहरीको कमजोरी
हत्यामा संलग्न रउफ ज्यादै बलियो मानिस थियो । ऐनुल शेख चोरी डकैती गर्ने चतुर र क्रुर मानिस थियो । ऐनुलले त जाली नोटको कारोवार र तस्करी गथ्र्यो । जमिरुल नक्कली मौलवी हो, सशस्त्र समूहमा हिँड्थ्यो । स्थानीय अयुफ राइन भन्छन्—हत्या हुनु भन्दा १०–१२ दिन अघि जमिरुलले विसुनपुराका मानिसहरुसंग सम्पर्क बढाई रहेको थियो । ऐनुल र जमिरुल पक्राऊ नपरेसम्म सदरुल हत्याकाण्डको रहस्य खुल्न सक्तैन । प्रहरीले चाहेमा उनीहरुलाई पक्राउ गर्न सक्छ ।
[२०७० श्रावण १२(July 28,2014) को नयाँ पत्रिका दैनिकमा प्रकाशित]