Print Friendly, PDF & Email

अस्पतालले एम्बुलेन्स चालकलाई विरामी हेरेर ५ देखि १० हजारसम्म दिने गरेको छ। बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो परे ५ हजार । अस्पतालले बिरामीलाई कस्तो उपाचर दिने भन्दा पनि उसबाट कति दुहुन सकिन्छ भनेर अग्रीम निर्क्यौल गर्छन् ।

-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्र

For PDF Click

For English version with audio (Pay on delivery) Click:

 http://nepalitimes.com/article/from-nepali-press/Pay-on-delivery,1423

अडियो सहित प्रकाशित समाचारको लागि तलको  LINK मा CLICK गर्नुहोला ।

http://annapurnapost.com/en/news/specialpage

सम्बन्धित अन्य समाचारको लागि :

http://www.nagariknews.com/opinion/story/20226.html

स्याङजा पकवादीका मधुमेहका रोगी ६७ वर्षीय पुर्णबहादुर रानाको खुट्टा नचल्ने भएपछि लुम्बिनी मेडिकल कलेज पाल्पाले अप्रेसन गरिदियो । मधुमेहको कारण घाउ निको भएन । थप उपचारका लागि, एक महिनापछि शिक्षण अस्पताल महाराजगन्जको इर्मेजेन्सीमा भर्ना भए । त्यहाँ केही दिनपछि डिस्चार्ज गरेर ओपीडीमा बोलायो । ओपीडीले चाहिँ ‘अवस्था नाजुक छ’ भनेर फेरि भर्ना गरिदियो । अस्पतालको शौचालय जान लाग्दा अचेत भएर लडेपछि चिकित्सकले आईसियुमा भर्ना गर्न रेफर गरे । तर अस्पतालले आइसीयु खाली नभएको भन्दै ब्लुक्रस लैजान सुझाए ।

Ambulanceब्लुक्रसले ३० हजार धरौटी लिएर आइसीयुमा भर्ना गरिदियो । तर विल भने २५ हजार लेखिएको दियो । पुर्णबहादुरका छोरा अरुणले भने—५ हजार कमको विल किन नि भनेर सोध्दा त्यो भेन्टिलेटरको शुल्क हो लेख्नु पर्दैन भने । हामीलार्ई आइसीयु पाइयो, पैसा तिरियो ।’

अरुणलाई अस्पताल प्रशासनले, धरौटी वाहेक आइसीयुको दैनिक ६ हजार, चेकअप र औषधिको छुट्टै चार्ज लाग्छ भनेका थिए । तर तेस्रो दिन भेन्टिलेटरको लागि थप ६ हजार लाग्छ भने । अरुणले दुखेसो गरे—पछि त दैनिक १५ हजारका दरले विल दिए । दश दिनको १ लाख ७५ हजार जति तिरें । तर बाबा बाँचेनन् ।

धादिङ कटुन्जेका लालबाबु सुनारलाई पत्थरी भयो । धादिङको शहिद मेमोरियल अस्पतालमा लैजाँदा अस्पतालले ‘दुईवटा पत्थरी छ, यहाँ साधन छैन’ भनेर फर्काएपछि राजधानीको मनमोहन मेमोरियल अस्पताल आए । त्यहाँबाट कलंकीको सिटी सेन्टर हस्पिटलमा पठाईदियो । श्रीमति सुनिता सुनारले भनिन्—त्यहाँ आइसीयुको धरौटी २० हजार लियो । चारदिन राख्दा ७५ हजार तिरियो ।

स्याङजाका अरुण र धादिङकी सुनिता मात्र होइनन्, निजी अस्पतालमा उपचार गराउन आउने जो कोहीले पनि यसरी नै धेरै पैसा खर्च गर्नुपर्छ । महंगो धरौटी तिर्न नसक्नेले उपचारै पाउँदैनन् ।

निजी अस्पतालहरु किन यति महंगा छन् ? खोज्दै जाँदा अस्पतालले विरामीलाई चार्ज गर्ने पैसा एम्बुलेन्स ड्राईभर र “दलाल”सम्म पुगेको पाईयो ।

लैनो कि बकेर्नो

पहिले डाँकुहरुले सुराकी लगाएर लैनो (दुधालु, धनी) कि बकेर्नो (थोरै दूध दिने, गरीव) भन्ने सोधेर शिकारलाई टाढैबाट पहिचान गर्थे रे । निजी अस्पतालहरुले पनि बाटैमा विरामीको आर्थिक अवस्था पहिचान गर्न एम्बुलेन्स ड्राईभरलाई सोध्छन्–विरामी कस्तो हो ? ड्राईभरलाई फकाउँछन्–लिएर आउनुस्, विरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छौं ।

विरामी लैनो परे एम्बुलेन्स ड्राईभरलाई १० हजार, बकेर्नो परे ५ हजार । यसरी अस्पतालले विरामीलाई कस्तो उपचार दिने भन्दा पनि उसलाई कति दुहुन सकिन्छ भनेर “अग्रिम पहिचान” गर्छन् ।

आईसियु व्यापार

निजी अस्पतालहरुले आइसीयुको व्यापार चलाउन कर्मचारी र एजेन्ट खटाएका हुन्छन् । तिनको काम एम्बुलेन्स चालकहरुसंग लगातार सम्पर्कमा रहनु हुन्छ । राजधानी बाहिरबाट विरामी ल्याउँदै गरेका एम्बुलेन्स चालकले पनि अस्पतालसँग कमिसनको बार्गेनिङ गरिरहेका हुन्छन् ।

थापाथलीको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ र त्रिपुरेश्वरको ‘ब्लु क्रस हस्पिटल’ले आइसीयूमा एउटा विरामी ल्याइदिए बापत एम्बुलेन्स चालकलाई ३÷४ हजार रुपैयाँसम्म कमिसन दिन्छन् ।

कलंकीको ‘यति अस्पताल’ र ‘सिटी सेन्टर अस्पताल’, बल्खुको ‘स्टार हस्पिटल’ र ‘शिवज्योति अस्पताल’ले आइसीयूमा राख्ने विरामीका लागि ५–५ हजार रुपैयाँ दिएर एम्बुलेन्स चालकलाई नै किन्छन् । बसुन्धराको ‘ग्रिन सिटी हस्पिटल’ले ३ हजार, जावलाखेलको ‘अल्का अस्पताल’ले १ हजार, ‘दियाज अस्पताल’ र ‘अन्तर्राष्ट्रिय बालमैत्री’ अस्पतालले पाँच–पाँचसय रुपैयाँ दिन्छन् ।

गम्भीर रोगीको व्यापार

विरामीको अवस्था गम्भीर भए एम्बुलेन्स चालकको बार्गेनिङ शक्ति बढ्छ । आइसीयूमा विरामी ल्याउन लागेको थाहा पाउने बित्तिकै अस्पतालले चालकलाई फकाउन थाल्छन् । विरामी सिकिस्त भए कमिसन पनि बढ्छ ।

बम्पर उपहार

आइसीयूमा विरामी ल्याइदिए बापत ‘बम्पर उपहार’ दिने गरेको सुन्धाराको लाइफ केयर अस्पतालले एम्बुलेन्स चालकलाई थप ‘पुरस्कार’को पनि व्यवस्था गरेको छ । अस्पतालले ल्याएको ‘नयाँ स्किम’ अनुसार तीन महिनामा १० वटा विरामी ल्याए एम्बुलेन्स चालकले एउटा मोटरसाइकल पाउँछ ।

अस्पतालको चिटिंग

विरामीको खडेरी परेमा अस्पतालले रेट बढाएर कमिसन दिन्छन् । यो रकम विरामीबाट असुलिन्छ । विरामी भर्ना हुनु अघि नै कमिसन समेत जोडेर डिपोजिट गर्न लगाउँछन् । चितवनको कलेज अफ मेडिकल साइन्सेसले आकस्मिक र आइसीयुमा एउटा विरामी ल्याउने चालकलाई ४०० रुपैयाँ दिन्छ । विरामी लिएर आएपछि चालकहरुले सुरक्षा गार्डबाट स्लीप पाउँछन् । त्यो स्लीप काउन्टरमा देखाएपछि चालकले ४०० रुपैयाँ पाउँछ । चितवनको एनपीआई नारायणी सामूदायिक अस्पतालले एम्बुलेन्स चालकलाई वार्षिक कमिसन दिन्छ । चालकहरु भन्छन्–‘विरामी पिच्छे लिनु भन्दा वार्षिक लिनु राम्रो भो ।

लुट गर्ने छुट

धेरै अस्पतालले विरामी किन्न उपहार कार्यक्रम समेत चलाएर नेपाल मेडिकल काउन्सिलको हुर्मत लिईरहेको देखियो । मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले यो विषय व्यक्तिमा भन्दा संस्थासँग जोडिएकोले आफूहरुले केही गर्न नसक्ने बताए । ‘चिकित्सकले इन्डिभिज्यूल रुपमा यस्तो क्रियाकलाप गरेको हो भने हामीले कारवाही गर्न सक्थ्यौँ’ डा. गजुरेलले भने, ‘यो म्यानेजमेन्टसँग जोडिएकोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हो ।’

वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले भने, ‘सरकारले स्पष्ट मापदण्ड ल्याउन नसकेको हुनाले अस्पतालहरुले मनपरी गरेका छन् । अस्पतालहरुले विरामी भर्ना लिंदा वा नियमित परीक्षण गर्दा कति चार्ज लिने भन्ने कुराको स्पष्ट मापदण्ड छैन । सरकारले उचित मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने थियो, गरेको छैन ।

स्वास्थसेवा विभागका निमित्त महानिर्देशक डा.बाबुराम मरासिनी गुनासो गर्छन्, विरामीहरु मर्कामा परिरहेका छन् तर मापदण्ड बनाउन बिभागलाई मन्त्रालयले नै स्वीकृति दिएको छैन ।

स्वास्थ्य मन्त्री खगराज अधिकारी भन्छन्, कमिसनको खेलले निजी अस्पताल महंगा भएका हुन भनेको सुनेको छु, तर प्रमाण पाईएको छैन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा खेलवाड गर्नेलाई छुट दिईने छैन ।

अस्पतालको अनुगमन गर्ने विधि बनाउन नसक्ने स्वास्थ्य मन्त्रालयको यही कमजोरीको फाईदा उठाएर अस्पतालले विरामीहरुलाई अनेक तरहले लुटिरहेका छन् । मन्त्रालयसंग यसको निदान छैन ।

अडियो १

रिसेप्सन ः हेलो, लाइफकेयर हस्पिटल ।
पत्रकार ः म चितवनको एम्बुलेन्स ड्राइभर हो । विरामी ल्याउँदा कस्तो व्यवस्था हुन्छ भनेर ।
रिसेप्सन ः लिएर आउनुस् । विरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छम् ।
पत्रकार ः सँधै त्यहाँ ल्यायो भने कस्तो हुन्छ नि ?
रिसेप्सन ः सँधै ल्याउन थाल्यो भने बढाइदिँदै पनि जानुहुन्छ ।
पत्रकार ः क्यास दिनुहुन्छ कि ?………
रिसेप्सन ः विरामीको आफन्तले डिपोजिट नगरेको अवस्थामा एक दुई दिन पछि जान्छ । नत्र ल्याउने बेलामै दिन्छौँ ।
पत्रकार ः राति आइपुगियो भने के गर्ने ? रिसेप्सन बन्द हुन्छ होला ?
रिसेप्सन ः यहाँ आएर मलाई सोध्दा पनि हुन्छ । मेरो नाम जसना शाक्य । नत्र हाम्रो देवश्री श्रेष्ठ दिदी हुनुहुन्छ । उहाँसँग कुरा गर्दा पनि हुन्छ ।

अडियो २
देवश्री श्रेष्ठ ः हेलो ।
पत्रकार ः दिदी नमस्कार । म ड्राइभर । नयाँ परेँ । कस्तो व्यवस्था हुन्छ थाहा छैन मलाई । भर्खरै रिसेप्सनमा फोन गर्दा हजुरलाई फोन गर्न भने ।
देवश्री श्रेष्ठ ः केही समस्या हुँदैन । भाई तपाइँ जानुस् । म फोन गरिदिन्छु । पत्रकार ः कति हुन्छ भन्नु न दिदी ।
देवश्री श्रेष्ठ ः कति बेरमा पुग्नुहुन्छ ?
पत्रकार  ः अब हिँड्न लाको ।
देवश्री श्रेष्ठ ः  ५÷६ घण्टा पछि ?
पत्रकार ः त्यस्तै । कति पाउँछु विरामी लगेँ भने ?
देवश्री श्रेष्ठ ः तपाइँ जाने वित्तिकै डिपोजिट गराउनु । पाईहाल्नुहुन्छ ।
पत्रकार  ःकति ?
देवश्री श्रेष्ठ ः १० हजार ।
पत्रकार  ः सँधै विरामी ल्याएँ भने कस्तो व्यवस्था छ ?
देवश्री श्रेष्ठ ः अहिले घरमा छु, बोल्न मिल्दैन के । भोलि फोन गर्छु नि ।
पत्रकार ः हुन्छ ।

अडियो ३
(ग्रिनसिटी हस्पिटल)रिसेप्सन ः हजुर भन्नुस् त । पत्रकार ः चितवनबाट विरामी ल्याउँदैछु, आइसीयूको लागि । कति दिनुहुन्छ भनेर ?
रिसेप्सन ः आइसियूको लागि हो भने वन थाउजेण्ड (एक हजार) हुन्छ । विरामी कहाँ भर्ना हुन्छ, त्यसमा भर पर्छ ।
पत्रकार ः जम्मा ? अन्त त धेरै दिन्छन् नि ।
रिसेप्सन ः त्यसो भए म बुझ्छु, एक्कैछिन ल ।
रिसेप्सन ः विरामी आइसियूमै ल्याउने हो नि ?
पत्रकार ः हो, हो ।
रिसेप्सन ः त्यसो भए थ्री थाउजेण्ड पाउँछ रे । ल्याउँदा हुन्छ । क्यास नै दिन्छौँ ।

अडियो ४
(अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल) फोन काउन्टर ः हजुर ।
पत्रकार ः विरामी ल्याए कति पाउँछु भनेर ।
काउन्टर ः आइसियूमा हो भने पाँचसय  ।
पत्रकार ः अन्त त धेरै दिन्छन् नि ?
काउन्टर ः यहाँ त यत्ति नै हो रेट ।
पत्रकार ः त्यहाँ आएर कसलाई भेट्ने ?
काउन्टर ः यहाँ काउन्टरमा आउनुस, भैहाल्छ ।

अडियो ५
पत्रकार ः दिदी नमस्कार ।
रिसेप्सन ः नमस्कार ।
पत्रकार ः म एम्बुलेन्स ड्राइभर । त्यहाँ विरामी ल्याउँदा के छ व्यवस्था ?
रिसेप्सन ः एकछिन है । म सेक्यूरिटीमा दिन्छु ।
फेरि कल गर्न भनियो
पत्रकार ः दिदी अघि फोन गरेको थिएँ ।
रिसेप्सन ः ए । चितवनबाट होइन ?
पत्रकार ः अँ ।
रिसेप्सन ः त्यहाँ हाम्रो अंकित सर हुनुहुन्छ । उहाँलाई कुरा गर्दिएको छु । उहाँले फोनमा कुरा गराइदिनु भन्नुभएको छ । उहाँको नम्बर म दिन्छु तपाइँलाई । उहाँसँग कुरा गर्नु न ।
पत्रकार ःनम्बर दिनु न ।
रिसेप्सन ः ९८५१०५००८६, यो अंकित सरको नम्बर हो । उहाँलाई भन्नुस् ।
पत्रकार ः अंकित के दिदी ?
रिसेप्सन ः अंकित अग्रवाल ।
पत्रकार ः ल ।
अंकितलाई फोन गर्दा
पत्रकार ः सर नमस्कार ।
अंकित ः नमस्कार ।
पत्रकार ः हजुरलाई फोन गर्न भनेर गरेको । म ड्राइभर हो ।
अंकित ः यातायातको हो कि अरु विरामी ?
पत्रकार ः मुटु सम्बन्धि हो । रेफर गरेको ।
अंकित ः कहाँ रेफर गरेको ?
पत्रकार ः त्यहाँ ल्याउँदा के कस्तो छ हामीलाई भनेर ।
अंकित ः बढि त हुँदैन । मिलाएर गर्दिउँला नि ।
पत्रकार ः कति हो भन्ने थाहा नभई कसरी ल्याउनु ?
अंकित ः रोग हेर्नु पर्यो । पेसेन्ट भर्ना नै भएन भने के गर्ने ।
पत्रकार ः आइसीयुकै विरामी हो के ।
अंकित ः मिलाएर गर्दिउँला नि हजुरलाई ।
पत्रकार ः कति दिनुहुन्छ त ?
अंकित ः हजुरको आश कति छ ?
पत्रकार ः अन्त ६÷७ हजार दिँदारैछन् ।
अंकित ः ६÷७ हजार त हुँदैन ।
पत्रकार ः कति दिने भन्नु न ।
अंकित ः म ३÷४ हजारसम्म गराईदिन्छु ।

अडियो ६
रिसेप्सन ःनमस्ते ब्लु क्रस हस्पिटल
पत्रकार ः नमस्ते ।
रिसेप्सन ः भन्नुस् ।
पत्रकार ः सर म चितवनबाट, एम्बुलेन्स ड्राइभर हो ।  एउटा विरामी छ आइसीयूमा लैजानुपर्ने ।
रिसेप्सन ः आइसीयूमा कुरा गरिसक्नुभयो र ?
पत्रकार ः गरेको छैन ।
रिसेप्सन ः तपाइँ आउनुस् । विरामी भर्ना होस् । आइसीयूमा ल्याउन ड्यूटी डाक्टरसँग कुरा गर्नुपर्छ । तपाइँको सेल नम्बर दिनुस् न ।
पत्रकार ः आइसीयु खाली छ भने त म ल्याइहाल्छु । तर कति दिने त भन्नु पर्यो नि ।
रिसेप्सन ः तपाइँलाई हेरिहाल्छौँ नि हामी ।  
पत्रकार ःअन्त पनि दिन्छन्, त्यहाँ कति हुन्छ त्यहिअनुसार ल्याउने कुरा भयो नि त ।
रिसेप्सन ः विरामी भर्ना भएपछि सक्दो गरिहाल्छौँ नि।
पत्रकार ः यति हो भन्ने भए पो ।
रिसेप्सन ः एक हजार हो ।
पत्रकार ः जम्मा ?अन्त त धेरै दिन्छन् नि ।
रिसेप्सन ः हाम्रो त त्यहीअनुसार हो ।
केही समयपछि श्रीप्रसाद तिवारीले कलब्याक गरे
श्रीप्रसाद ः गुरुजी बोल्नुभको होइन ?
पत्रकार ः हो ।
श्रीप्रसाद ः म ब्लु क्रस हस्पिटलबाट के ।
पत्रकार ः अँ भन्नु त ।
श्रीप्रसाद ः अघि फोन गर्नुभएको रैछ हैन ।
पत्रकार ः हो गरेको थिएँ ।
श्रीप्रसाद ः  चितवनबाट ल्याउने भन्नु भा ?
पत्रकार ः हो हो ।
श्रीप्रसाद ः ए, म पनि चितवनकै हो । यहिँको स्टाफ हो म । लिएर आउनु न त । मिलाएर गरौँला नि ।
पत्रकार ः कति दिने भन्ने नै भएन ? जम्मा हजार भन्छन् ।
श्रीप्रसाद ः मिलाउँला नि । ४ हजारसम्म दिउँला ।
पत्रकार ः अघि फोन गर्दा जम्मा हजार भने ।
श्रीप्रसाद ः यहाँ हजार नै दिने प्राक्टिस छ । तपाइँलाई मिलाउँला नि । लिएर आउनुस् पछिलाई पनि रिलेसन हुन्छ ।

अडियो ७
रिसेप्सन ः गुड इभिनिङ्ग, सिटी सेन्टर हस्पिटल ।
पत्रकार ः म एम्बुलेन्स ड्राइभर । विरामी ल्याउँदा के कस्तो व्यवस्था छ भनेर ।
रिसेप्सन ः के केस हो ?
पत्रकार ः लङस् (फोक्सो)सँग सम्बन्धित हो ।
रिसेप्सन ः एकैछिन ल । इर्मेजेन्सीमा ट्रान्सफर गर्छु । पत्रकार ः हुन्छ ।
इमेर्जेन्सीमा दिएपछि
इमेर्जेन्सी ः हजुर दाई ।
पत्रकार ः कस्तो व्यवस्था हुन्छ भनेर फोन गरेको के ।
इर्मेजेन्सी ः कहाँ आइपुग्नु भयो ?
पत्रकार ः मुग्लिन ।
इर्मेजेन्सी ः एक्कैछिन ल । म डाक्टरलाई नै दिन्छु ।
फेरि रिसेप्सनमा
रिसेप्सन ः कतिदिने गरेको छ त्यो हामीलाई थाहा हुँदैन । विरामी ल्याइसकेपछि सरहरुले कुरा गरेर  बिलिङ्गबाट दिने गर्नुभएको छ ।
पत्रकार ः सरहरुलाई फोन गरेर बुझ्न सकिँदैन ?
रिसेप्सन ः त्यसो भए म बुझेर कल गर्छु नि ल ।
पत्रकार ः हुन्छ ।

नवराज थापाले कल व्याक गरे
नवराज ः रिसेप्सनमा फोन गर्नुभएको रैछ ?
पत्रकार ः हो, कति व्यवस्था छ भनेर ?
नवराज ः चण्डिभन्ज्याङ्गको नवराज थापा मै हो । म पनि एम्बुलेन्स चलाउँछु के ।
पत्रकार ः कति व्यवस्था हुन्छ ?
नवराज ः आउनु न । फरकै पर्दैन । के केस हो ?
पत्रकार ः फोक्सोको हो ।
नवराज ः आउनुस् । चित्त बुझाएर पठाइदिम्ला ।
पत्रकार ः कति हो ? थोरै भए अन्तै लैजान्छु ।
नवराज ः पाँच हजारसम्म दिन्छु ।


अडियो ८
रिसेप्सन ः नमस्ते, यती हस्पिटल
पत्रकार ः म एम्बुलेन्स ड्राइभर । विरामी ल्याउन खोजेको । कस्तो व्यवस्था छ ।
रिसेप्सन ः व्यवस्था त छ । यहाँ सरसँग कुरा गर्नु न ।
सुरेन्द्रले बोले ।
सुरेन्द्र ः कहाँबाट हो हजुर ?
पत्रकार ः फोक्सो सम्बन्धि हो । मलाई कति आउँछ ?
सुरेन्द्रं ः आउनुस् न । डा. सुनिल यहीँ हुनुहुन्छ । दिउँला नि चार, साढे चार हजार ।

अडियो ९
पत्रकार  ः हेलो ।
देवश्री श्रेष्ठ ः म लाइफ केयरबाट । हिजो विरामी ल्याएनछौ त ?
पत्रकार ः विरामीका आफन्तले अन्तै लग्ने भने । अनि ल्याउन पाईनँ ।
देवश्री श्रेष्ठ ः ल भाई ठीकै छ । हिजो घरमा कुरा गर्न मिलेन के । एकपटक मलाई भेट्न आउनु । अहिले कुरा गर्न मिल्छ तपाइँसँग ?
पत्रकार ः अँ मिल्छ ।
देवश्री श्रेष्ठ ः यस्तो छ के भाई । तपाइँ आउने वित्तिकै हामीले १०  हजार रुपैयाँ दिन्छौँ । अहिले हामीले एउटा स्किम ल्याएका छौँ के । त्यो भनेको के भने –फागुन, चैत र वैशाख भित्रमा एउटै ड्राइभरले १० केस पुर्यायो भने एउटा मोटरसाइकल दिन्छौँ ।
पत्रकार ः कुन मोटरसाइकल नि ?
देवश्री श्रेष्ठ ः खै, मोटरसाइकलको नाम त मलाई आउँदैन । जे होस् एउटै गाडीको १० केस पुग्यो भने दिन्छौँ ।
पत्रकार ः हुन्छ दिदी ।

[२०७१ जेठ २१ (May 4, 2014) को अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित]