Print Friendly, PDF & Email

टिकाराम नेती (खोज पत्रकारिता केन्द्र)-
भारतको दिल्ली, मुम्बई र खाडीका विभिन्न देशमा अमानवीय यातना भोगेर चारवटी युवतीहरु, लक्ष्मी लिङदेन, गायत्री कार्की, देवी राया र ज्ञानमायाँ प्रसाई हालै नेपाल फर्किएका छन् । तर दलालहरुले उनीहरुको नागरिकता र पासपोर्ट कब्जामा राखेर फेरि उतै लैजान कसरत गरिरहेका छन् । 

PDF को लागि यहाँ CLICK गर्नुहोला ।

[अडियो सहित प्रकाशित समाचारको लागि तलको LINK मा CLICK गर्नुहोला ।]

http://www.annapurnapost.com/en/news/specialpage/5959/%E0%A4%B5%E0%A4%BF%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8-%E0%A4%B0-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%B0-%E0%A4%AF%E0%A5%81%E0%A4%B5%E0%A4%A4%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%81-%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AB%E0%A4%81%E0%A4%B8%E0%A5%8D%E0%A4%A6%E0%A5%88%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%A6%E0%A4%B2%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%BE%E0%A4%B2%E0%A5%8B%E0%A4%AE%E0%A4%BE.htm   
दर्तावाल वैदेशिक रोजगार व्यवसायीसम्म पुग्ने हैसियत नभएका अतिगरीव, अल्पसंख्यक र निरक्षर महिलाहरु यस्तै संगठित अपराधीहरुको जालोमा पर्दै आएका छन् । यस्ता युवतीहरुले विदेशी भाषा जान्न पनि पर्दैन र कुनै सीप सिक्न पनि पर्दैन । नागरिकता, पासपोर्ट र भिसा बनाउने झण्झट र बस वा हवाईजहाज तथा खानाको खर्च पनि बेहोर्नु पर्दैन । उमेर र स्वस्थ शरीर भए पुग्छ । तर दिल्ली वा बम्बई पुगेपछि भने “दलाल ऋण” तिर्न कम्तीमा तीन महिना “काम” गर्नुपर्छ । त्यसपछि यिनलाई खाडी वा अन्यत्र पु¥याईन्छ, जहाँ उनीहरुले “आफु किनिएको ऋण” तिर्न नारकीय जीवन भोग्नु पर्छ । यस क्रममा विदेशी भूमिमा बेपत्ता हुने र मर्ने चेलीहरुको संख्या बढ्दै गएर नेपालमा लासको बाकस आउने क्रम चलिरहन्छ ।
गाउँबाट उम्काईएका यता चेलीहरुलाई दार्जिलिङ, जलपाईगुडी हुँदै दिल्ली र बम्बई पु¥याईन्छ । त्यहाँ तीन महिनाको श्रम असुली गरेपछि पर्यटक भिसामा खाडी वा अन्य देशको धन्धा चलाउन बेचिन्छन् । यस्ता युवतीहरु घर फर्किए पछि कोही पागल भएका छन् भने कोही रोगले थलिएका छन् ।

दु:ख जति गरिवको थाप्लामा
२०६८ असारमा घर छाडेर दिल्ली हुँदै साउदीको जित्दाह शहर पुगेकी झापा अनारमनिकी लक्ष्मी लिङ्देन अहिले अर्धपागल भएकी छिन् । अत्यन्त गरीव र निरक्षर लक्ष्मी विदेश जाने मौका पाउँदा ज्यादै हर्षित् थिईन् । विदेशमा उनले जे भोगिन्, त्यसको पीडाका कारण अहिले उनी कहिले सुरमा, कहिले बेसुरमा हुन्छिन् । लक्ष्मीका परिवार भन्छन्—पापीहरुले पागल बनाई दिए । लक्ष्मी भन्छिन्—नागरिकता थिएन । झापा जलथल फुलवारीका भोला दहाल आएर नागरिकता बनाई दिए । उनैसंग (भारत) गएँ । मलाई दिल्लीमा अर्कै मानिसको जिम्मा लगाएर उनी हराए । त्यहाँ “नराम्रो काम” गर्न लगाए । त्यसपछि साउदी पठाए । जमुना विक विर्तामोडको नामको पासपोर्ट र भिसामा लक्ष्मी साउदी पुगिन् । (हे. तस्वीर)
   
१. लक्ष्मी लिङ्देन २. जमुना विकको भिसामा लक्ष्मीको फोटो ३.लक्ष्मीको अरबी पत्र
उनले भनिन्—साउदीमा धेरै केटीहरु राखिएको घरमा लग्यो । अरु केटी कता लगे, मलाई रियाद लगेर दुख दिए । मनपरी हुन्थ्यो, केही बोलेमा पिट्थ्यो । लक्ष्मीले दिएको अरु विवरण लेख्न र सुन्न सकिँदैन । उनको नाक, मुख र यौनाङ्गबाट रक्तस्राव भैरहन्छ । परिवारले जुठोपुरो खान दिएर दलानमा राखेका छन् ।
लक्ष्मी त फर्केर आईन् । तर विदेश जान भनेर मुम्बई पुगेका अरु चेलीहरु (माथि दलालसंग तस्वीर खिचाउने) झापा सतासीधाम ७की सीता सुव्वा र बोलमायाँ इजम, झापा सतासीधाम ४की सुशिला सुनुवार, दिक्तेल  ५की दिलमायाँ गजमेर, मोरङ पथरीकी स्मृती सुव्बा र डाकमायाँ विश्वकर्मा, झापा खुदुनावारीकी विमला धमला, प्रेम कुमारी बराइली, मोरङ उर्लावारीकी इन्दिरा महरा, झापा राजगढकी बेगम मियानी र मिना मियानी अनि ठेगाना थाहा नभएका लक्ष्मी दर्नाल, गंगा दर्नाल, कल्पना दर्नाल, प्रमिला दर्नाल, कमला दनुवार, रोसनी दनुवार, वुद्धिमायाँ सिटौला र धनकुमारी हुमागाईं आजसम्म सम्पर्कमा छैनन् । यिनका परिवारले खोजी गरिरहेका छन्, तर कतैबाट सूचना पाउन सकेका छैनन् ।
डुलुवा दलाल मार्फत दिल्ली वा मुम्बई हुँदै पर्यटक भिसामा खाडी मुलुक पुगेर अलपत्र पर्ने युवतीहरुको संख्या लगातार बढिरहेको छ । बेपत्ता हुने, आत्महत्या गर्ने र लास बनेर फर्कनेको संख्या पनि बढिरहेको छ । तर जिल्लामा पासपोर्ट बनाउने युवतीहरुको संख्या पनि बढिरहेको छ ।
झापा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय प्रमुख सागर मिश्र भन्छन्— यहाँ दैनिक १०० जति पासपोर्ट बन्छ । जसमा ४० प्रतिशत महिला हुन्छन् । खासगरि आदिवासी, जनजाति, दलित र अति विपन्न परिवारका २०देखि ४० वर्ष वरिपरिका युवतीहरुले दलाल मार्फत पासपोर्ट बनाईरहेका छन् ।

गरिवीको किनबेच  
झापा गरामनी ३ कामत बस्ती सन्थाल गाँउकी दुई युवती लटुमाई मुर्मु र तालामाई मुर्मु गरीवीले आजित भएका बेला, २०६८ सालको दशैंअघि झापा राजगढका कमल मुर्मु उनीहरुसंग भेट्न आए । उनले मामा भाञ्जीको नाता गाँसे ।   
कमलले लटुमाइ र तालामाईलाई “अरु केटी तयार पार, तिमीहरुलाई विदेश जान पैसा लाग्दैन” भनेर उपाय बताए । मुर्मु दिदी वहिनीले छिमेककी देवी राया, शरणामतीकी रोसनी हासदा मर्डी, राजगढकी दुई मुस्लिम युवतीहरु वेगम मियाँ र मिना मियाँलाई तयार बनाए । यिनलाई कमल मुर्मुले झापा राजगढका खलील अन्सारीकहाँ पु¥याए । खलीलले कमलकोसाथ लगाएर असोजको पहिलो साता रात्रीबस चढाएर काठमाडौ पठाए ।
देवी राया भन्छिन्—कमल मामाले नक्खीपोट भन्ने ठाउँमा लगेर अर्पन (अर्पण) राईको घरमा राखे । त्यहाँ १८ दिन बसेपछि पासपोर्ट ल्याईदिए । अर्पनकी बुढी (श्रीमति) रीता राईले अब दुवईमा काम पाउँछ, महिनाको ३० हजार कमाउँछ भनिन् । हामी मक्ख प¥यौं ।  
देवी सम्झिन्छिन्—रोसनी हासदा मर्डी, मिना मियानी, वेगम मियानी र मलाई तिमीहरुको उमेर पुगेको छैन, नेपालवाट उडाउन मिल्दैन भनेर नक्खीपोटका अर्पण राईले कमल मामा र संगीता राईको साथ लगाएर काँकडभिट्टाको बस चढाईदिए । उनीहरुले बिर्तामोडमा उतारेर भद्रपुर लगे । अनि गलगलीयामा बस चढाएर सिलिगुडी लगे । त्यहाँ अनिता राईको घर रहेछ । अनिताले भोलिपल्टै रेल चढाएर दिल्ली पु¥याई । दिल्लीमा पनि अनिताको ठूलो घर (फ्ल्याट) रहेछ । कार पनि रहेछ ।
दिल्ली पुगेपछि यिनले “दलाल खर्च” तिर्नु पर्ने भयो । पासपोर्ट बनाएको ४० हजार, खाना, यातायात, टिकट खर्च सहितको ठूलो हिसाब निस्कियो । त्यो तिर्न ३ महिना “काम” गर्नु प¥यो । यसपछि उनीहरुले स्काईलर्ड ट्राभल प्रा.लि. कनाट प्लेस, दिल्लीबाट जारी भएको टिकट र भिसा पाए । बेगम मियानी र मिना मियानीलाई एउटा गेटबाट र देवी र रोसनीलाई अर्को गेटबाट एयरपोर्ट छिराए । देवी र रोसनी कम उमेरका भएकाले प्रहरीले रोकिदियो । अनिता राई र प्रहरीवीच विवाद भयो । तर प्रहरीले देवी र रोसनी दुवैलाई फर्काई (अफलोड)दियो ।
 
(अफलोड गरिएको कागज।)
यिनीहरु फेरि “काम”मा फर्के । रोसनी गुनासो गर्छिन्, हामीलाई मामाले पैसा लाग्दैन भनेर लगे तर के के हिसाब देखाएर “काम” गर्न लगाए । विरामी परेपछि मात्र घर आउन पायौं । ऋण बाँकी छ भनेर हाम्रो नागरिकता र पासपोर्ट खोसिदिए ।  
रिपोर्टिङको क्रममा, देवी रायाकोे घरमा पुग्दा उनलाई लामो समयसम्म घरबाट गायव भएकी भनेर छिमेकीले जथाभावीे गाली गरिरहेका थिए । छिमेकी लोकवहादुर श्रेष्ठले भने— रोसनी र देवीले दिनदिनै अपमान भोग्नु परेको छ । देवी भन्छिन्—कमल मामाले वर्वाद पारिदिए । खलील त फेरि लैजान्छु भन्दैछ । हामी नगए उनीहरुको लगानी उठ्दैन रे ।
कमल—खलीलकै सञ्जाल मार्फत कुवेत पुगेकी ज्ञानुमायाँ प्रसाई भर्खरै फर्किईन् । भनिन्–कमलले म काम मिलाई दिन्छु भनेर अर्पन राईकहाँ लगे । चावहिलमा तालीम गराई टोपले । दिनको ५० रुपैयाँ भाडा दिन्थे । अर्पनराइले पासपोर्ट बनाएर काठमाडौबाटै कुवेत पठाए । त्यहाँ पुग्दा त धेरै नेपाली दिदिवहिनीहरु रोइरहेको भेटेँ । त्यहाँ त थुनेर अत्याचार गर्दा रहेछन् । मलाई त मेडिकल्ली फिट छैन भनेर फर्काई दिए ।  
तपाईंलाई उनीहरुले किन लगानी गरे होलान् भन्ने प्रश्न गर्दा उनले भनिन्—उतैबाट पैसा आउँदो रहेछ केटी किन्नलाई । दुनियाँको छोरीचेली उता लगेर खाने धुत्ने मेलो रहेछ । उनले आक्रोश पोखिन्–कुवेत जाँदा अर्पणकी बुढी रितालाई नागरिकता राख्न दिएकी थिएँ । फर्कंदा त तेरो पासपोर्ट बनाउन अर्पणले पैसा लगाएको हो, तिर भनेर खोसिदिई । मसंग अरु ९ जना पनि लगेका थिए । तिनीहरुको त विचल्ली होला । देवी र रोसनीसंगै दिल्ली एयरपोर्ट गएका वेगम मियानी र मिना मियानीको खवर छैन ।
देवी राया—खलील अन्सारी (टेलिफोन वार्ता अडियो)
देवीराया — मामा..
खलील—पासपोर्ट सवै पेसें
देवी — अनि अरुको पासपोर्ट आएन त मामा ?
खलील — उसले दिएन की.. हिजो ३÷४ जनाले पेसे..
देवी —अनि मामा आउछु भन्नुहुन्थ्यो आउनु भएन त
खलील— म ईन्डिया तिर गएको थिएँ … भोलि आउँ ?
देवी —कतिखेर आउनुहुन्छ ?
खलील— बिहानै आउँ ?
देवी —अहिले कहाँ हुनुहुन्छ ?
खलील— जलथल तिर छु …अहिले भेट हुदैनहोला.. म विहानै आउँछु
देवी —अहिले धान काट्दै छु, यतैतिर हुन्छु भोलि आउनु न त
खलील— ल ल आउँछु
देवी —अनि मिनाहरु गए त मामा…
खलील— गए गए ..राम्रो काम गरिरहेका छन् ..फोन पनि गरिरहेका छन् ..२ जना दुईवटा घरमा काम गर्दैछन् २२ हजार रुपैयाँ खाँदैछन् ।
देवी —अनि हाम्रो पासपोर्ट नदिने मामा..
खलील— दिएन .४० हजार माग्दैछ .खर्च भएको दे अनि दिन्छु भन्छ
देवी —अनि रोसनीले के भनि
खलील— म र कमल अस्ती गएका थियौं धान काट्दै थिई.. भेटेर आयौ.. अव फेरि जान्छौ.. मिलाएर आउँछौ
देवी— अनि फोन पनि गर्नुहुन्न …(मसंग) पैसा पनि छैन
खलील— हैन उठाउँछौ की उठाउदैनौ ..अनि नम्वर पनि छैन तर म र कमल आउने भन्दै थियौं..  तिमीले फोन गरिहाल्यौ । हिजो चन्द्रगढीबाट ३ वटा पासपोर्ट..
देवी— उतावाट आएपछि म त पुरै विरामी परे सुतेको सुत्यै भएँ..   

ज्ञानमायाँ—कमल मुर्मु (टेलिफोन वार्ता अडियो)
ज्ञानमायाँ—हेलो कमल होइन ?
कमल –  हजुर
ज्ञानमायाँ– म ज्ञानमायाँ बोलेको… कहाँ हुनुहुन्छ ?
कमल –के गर्न घर गएको?
ज्ञानमायाँ– मेरो नागरिकता विपत्ता, खै मेरो नागरिकता?
कमल –तपाइले कसलाई दिनुभएको थियो ?
ज्ञानमायाँ– खलिललाई
कमल  –ए तेसोभए उसैले राखेको छ
ज्ञानमायाँ–तपाईहरु एजेन्ट भएर मेरो नागरिकता र पासपोर्ट खोसेर राख्ने …
कमल – उनीहरु छँदैछन् केही दिन पछि दिइ हाल्छन् नि
ज्ञानमायाँ— मैले कमाएर पठाएको पैसा पनि रोकियो
कमल–ए १४/१५ हजार पठाउनुभएकोे त्यो पनि रोकियो ?
ज्ञानमायाँ –अँ
कमल–अनि पासपोर्ट ?
ज्ञानमायाँ– पासपोर्ट त्यही रीताले राखेकी छे । अव एजेन्टहरुको काल आयो
कमल – तिनीहरु जेल परेका छन् एक डेढ महिनामा निस्किहाल्छ  
ज्ञानमायाँ– के कारण ले जेलमा परो ?
कमल – म इण्डिया गएको थिएँ, बुझ्न पाइनँ, बुझौला
ज्ञानमायाँ –  मलाई लाने तपाईं हो…मैले त निवेदन हाल्दिसकेको छ ।
कमल– (हाँस्दै)..किन त्यति छिटो हाल्नुहुन्छ …नागरिकता पाईहाल्नुहुन्छ नि
ज्ञानमायाँ–नागरिकता पासपोर्ट चाहियो, मैले तपाईमाथि कारवाही चलाई सकें, अर्पन भन्दा मैले जान्ने तपाइ हो
कमल–मैले त तपाईलाइ केहि पैसा पनि दिएको छु, …मैले बैनीले गरिखाउ भनेर पैसा दिएँ, ममाथि रिसाएर हुन्छ त ?
ज्ञानमायाँ– म त रिसाउँछु मेरो पासपोर्ट र नागरिकता चाहियो

 कुमारी आमा, अपाङ्ग बच्चा
 अलपत्र सोनु र अपांग रश्मी                                 
झापा शान्तिनगर डाँडागाउँकी रमा गुरुङ १५ वर्षको उमेरमै संगीता सुव्वाको साथ लागेर दिल्ली पुगिन्, त्यसपछि साउदी । घर फर्कंदा एक अपाङ्ग बच्चा ल्याईन् । रमाका आफन्त भन्छन्—संगीताको खेलमा परेर रमाले दुख पाई । साउदीमा नराम्रो ठाउँमा पारिदिईछ । उसको कमाई त्यही बच्चा हो । रमाकी आमा भन्छिन्—संगीताले त धेरै छोरीबेटीलाई बिगारी । सबैले दुख पाए ।
झापा सतासीधामकी नरमायाँ गुरुङ पनि १५ वर्षको उमेरमै स्थानीय दलाल मार्फत् दिल्ली हुँदै ७ सेप्टेम्वर २००४मा कुवेत पुगिन् । उनले पनि घर फर्कंदा १८ महिनाको बच्चा ल्याईन् । नरमायाँकी दिदीले भनिन्—बिहे नभएकी बहिनी त डेढ महिनाको नानी बोकेर आई । के गरेको यस्तो भनेर सोध्दा बहिनीले रुँदै भनी काम गर्ने ठाउँ नराम्रो परेछ  । अनि बच्चा यहीँ छोडिदिई । बिग्रेको मान्छेको भत्केको घर, भत्केपछि के को डर भने जस्तै उ त फेरि विदेश गई ।
उही पासो
झापा शान्तिनगरकी गायत्री कार्की दिल्ली हुँदै साउदी पुगिन् । त्यहाँ अत्याचार भोगेपछि दुतावासको सहयोगमा नेपाल आईन् । भन्छिन्– परिवार पाल्न धौधौ परेपछि अमृत तामाङ मार्फत दिल्ली हुँदै कुवेत पुगेँ । कुवेतमा नराम्रो पासोमा परियो । अमृतलाई फोन गरेर घर फर्काई देउ भनें । उसले वास्तै गरेन । अनि गाउँकै माओवादीले घर फर्कायो । तर उसलाई ४० हजार तिर्न नसकेपछि बस्नै दिएन । अनि झापा खुदुनावारीका पदम बराइली मार्फत म सहित ११ जना केटी बम्बई गयौं । तीन महिना काम गरेपछि साउदी उडाई दियो । म त फेरि उही पासोमा परिछु । गरीवलाई जहाँ गए पनि सुख छैन ।
फसाउने जालो
गायत्री कार्कीका अनुसार, बम्वईमा पदम् बराईलीको ठूलो घर (फ्ल्याट) र कार छ । त्यहाँ महिनामा २०/२५ नयाँ केटीहरु ल्याईन्छ । ती केटीहरुले तीन महिना “काम” गरेपछि पासपोर्ट र भिसा पाउँछन् । विदेश जाने बेलामा २०/३० हजार तिर्न बाँकी छ भनेर कागज गराउँछन् । गायत्रीलाई पनि कागज गराएका थिए ।
यस्ता नेपालीहरु खाडी देशमा पनि सक्रिय छन् । दुबईमा अलपत्र परेर नेपाली दुतावासको शरणमा आएका युवती मध्ये आधाजसोले आफूहरु नेपालीबाटै पीडित भएको उजुरी दिएका छन् । दुतावासले १ सय ५१ युवतीको उद्धार गरेपनि पीडकहरुलाई कारवाही गर्न सकेको छैन ।

आवुधावी स्थित नेपाली दुतावासका उपनियोग प्रमुख दीपक अधिकारीले भने—नेपाली दलालहरुले नयाँ केटीहरुलाई कब्जामा राखेर अभरमा पार्छन् । अनि बेपत्ता पारिदिन्छन् । आवुधावीमा ट्याक्सी चलाउने नेपालीको समूहले नवलपरासी र उदयपुरकी दुई युवतीलाई गर्भवती बनाएर अलपत्र बनाएपछि दुतावासले उनीहरुको खोजी गरिरहेको छ । युवतीहरुलाई नेपाल फर्काइएको छ ।

नुवाकोट विदुर नगरपालिका—९की डङ्गोल थरकी युवतीलाई उनकै भिनाजु लक्ष्मीप्रसाद चौहानले र उदयपुर बाँसबोटेकी राई थरकी युवतीलाई आफ्नै मामाका छोरा बलकुमार राईले अन्यत्र पठाउन खोजेको उजुरी परेको छ । पोखरा बगर ९की परियार युवती र रुपन्देही देवदह भलवही ९की पुजन खड्का र झापा धाइजनकी राजवंशी थरकी युवतीलाई नेपाली दलालले शारजाहबाट भगाएर अन्यत्र लैजान खोजेका थिए । यस्ता युवतीहरुलाई अफ्रिकातिर पुग्छन् ।  

दुतावास स्रोतका अनुसार, दुवईमा २० हजार नेपाली चेलीहरु घरेलु कामदार छन् । डुलुवा दलाल मार्फत् अवैध बाटोबाट आएको ५ हजार जति मध्ये १५० युवती डान्सबारमा छन् । यिनको पासपोर्ट र टिकट दलालले राखेका हुन्छन् । यिनीहरु पटक पटक बिक्रीमा पर्दछन् । ओमनको सीमा कटाएपछि नेपाली युवतीहरु अफ्रिका पुग्छन् । यहाँ ठूलो व्यापार चलेको छ ।

उप नियोग प्रमुख अधिकारी भन्छन्—ज्यूँदो फर्काउन ५ सय दिराम खर्च हुन्छ । प्रकृया मिलाउनै १० महिना लाग्छ । लास फर्काउन त झनै गाह्रो छ । संगठित अपराधको जालो नियण्त्रण नगर्ने हो भने विदेशी मुलुकमै चिहान किन्नु पर्ने अवस्था आउन सक्छ ।

           
मुकुन्द आचार्य, एसपी (झापा)
पूर्वमा (पूर्वी नेपालमा)मानव वेचविखन गर्ने गिरोह सक्रिय छ । अपराधमा संलग्न समूहले उमेर नपुगेका कलिला केटीहरुलाई विभिन्न नाकाबाट लाने प्रयास गरेको पनि भेटिन्छ । यसलाई गम्भीर अपराधको श्रेणीमा राखिएको छ । मानव ओसार पसार तथा वेचविखन ऐन २०६४ बमोजिम कारवाही गरिरहेका छौ । यस्ता समुहले गरेको अपराधबारे प्रहरीलाई थाहा नभएको पनि हुनसक्छ । पीडित वा सम्वन्धित व्यक्तिले उजुरी दियो भने कारवाही हुन्छ । प्रहरी आफैले पनि जाहेरी दिन सक्छ । तर प्रहरीलाई थाहा दिनुप¥यो नि । प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको छैन । कसैले जाहेरी दिन्छ भने कारवाहीको कसुर वाँकी राख्दिन ।

[२०७० चैत्र २४ (अप्रिल ७, २०१४)को अन्नपूर्णपोष्टमाा प्रकाशित]