तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र)-
इलाम, १६ चैत – जिल्लाका गाउँ-गाउँमा खुलेका एग्रोभेट पसलमा विभिन्न किसिमका विषादी बेचिन्छन् । तर, सबै विषादी भन्सार छलेर जिल्लामा भित्रिने गरेका छन् ।
निगरानी र नियमन गर्ने निकायका पदाधिकारी ‘यो विषादीबारे हामीलाई केही थाहा छैन’ भन्दै पन्छिने गरेका छन् । “भन्सारको बाटो भएर त एक थोपो विषादी पनि इलाम भित्रिएको छैन । लुकिछिपी आउँछ होला । हामीसँग जनशक्ति छैन, कसरी चेक गर्नु !” कोइराला भन्छन्, “विषादी नियन्त्रण गर्ने दायित्व भन्सारकै हो । तर, नाकामा बसेका प्रहरीले सहयोग नगरे हाम्रो केही लाग्दैन ।”
[PDF को लागि तलको LINK मा CLICK गर्नुहोला ।]
http://www.karobardaily.com/nepali/news/2014/03/1396234490
विषादी भित्रिने मुख्य मार्गमा नेपाल प्रहरी र फिक्कलमा सशस्त्र प्रहरीका चौकी छन् । तर, प्रहरीले अहिलेसम्म विषादी ओसारपसारमा संलग्नलाई पक्राउ गरेको छैन । मेची भन्सार कार्यालय झापाबाट चाहिँ विषादी निर्वाध भित्रिएको देखिन्छ । “प्रतिबन्धित सूचीबाहिरका विषादी भिœयाउन दिइन्छ,” भन्सार प्रमुख मुक्तिप्रसाद पाण्डे भन्छन् । झापा भन्सारले सबै विषादी कीटनाशक भनेर भिœयाउने गरेको छ ।
यो भन्सारबाट गत वर्ष १९ हजार ९१ किलो विषादी भित्रिएको रेकर्ड छ । नियमअनुसार विषादी भिœयाउँदा विशेषज्ञको राय लिनुपर्छ । तर, भन्सार प्रमुख पाण्डेले विशेषज्ञको राय लिने नगरिएकोे बताए ।
इलाम भित्रिने विषादी चिया, तरकारी, अलैंची र अदुवाजस्ता नगदेबालीमा प्रयोग हुन्छन् । यहाँको तरकारी, चिया, अदुवा र अलैंची स्वदेश तथा विदेशमा समेत निर्यात हुन्छन् ।
काउली र अदुवामा विषादी प्रयोग
पशुपति भन्सार कार्यालयकोे रेकर्डअनुसार इलाम विषादीमुक्त जिल्ला हो । भन्सारमार्फत विषादी भित्रिएको पनि छैन । तर, अर्को सरकारी निकाय जिल्ला कृषि विकास कार्यालय इलामले गत वर्ष किटनाशक झोल विषादी ८८६ लिटर, धुलो विषादी १ सय किलो तथा ढुसीनाशक विषादी ४ सय ८१ किलो प्रयोग भएको देखाउँछ । इलामको खेतबारी, गल्ली र गल्छेंडामा समेत विषादीका प्याकेट र सिसी भेटिन्छन् ।
विषादीको कारोबार
विषादी व्यवस्थापन विभागले ५५ वटा कम्पनीलाई विषादी आयात गर्न स्वीकृति दिएको छ । यिनले वार्षिक ६ देखि ८ लाख किलो विषादी आयात गर्छन् । यसको कारोबार वार्षिक २ अर्बभन्दा बढी छ । यो व्यापारमा ३० देखि ५० प्रतिशतसम्म नाफा हुने व्यापारी बताउँछन् ।
नेपालमा मिथेन, पाराथिएन, मोनोक्रोटोफस, सुफोक्स, क्लोराइड, डीडीटी, एनड्रीन, हेक्टाक्लोर, मिरेक्स, टेक्साफेन, बीएचसी, लिन्डेन र अर्गानोमर्करी फन्जीसाइड्सहरु प्रतिबन्धित भए पनि स्थानीय बजारमा चलिरहेका छन् । “ती ‘दबाइ’ त प्रशस्तै पाइन्छन् । भन्सार छलेर आउँछन्,” जिल्लाका कृषक भन्छन् ।
विषादी वितरणका लागि सरकारले एग्रोभेट खोल्न अनुमति दिएको छ । तर, अनुगमन हुँदैन । यसका कारण एग्रोभेट सञ्चालकले प्रतिबन्धित विषादीको व्यापार पनि गरिरहेका छन् । यिनको कारोबार झन् ठूलो छ । जिल्लामा ६० वटा एग्रोभेट दर्ता छन् । फिक्कलमा ११ वटा, इलाम नपामा ८ वटा, दानाबारीमा ५ वटा, माइपोखरी, पशुपतिनगर, साँखेजुङ र चुलाचुलीमा ४÷४वटा, लक्ष्मीपुर, जीतपुर र कन्याममा ३÷३ वटा छन् । दुर्गम क्षेत्रहरु शान्तिडाँडा, नयाँबजार, चमैता, पञ्चकन्या, लुम्दे , इरौटार, राँके, कोल्बुङ, श्रीअन्तु, एकतप्पा र मंगलबारेमा पनि १÷१ वटा एग्रोभेट छन् । यिनले गाउँको भित्री तहसम्म विषादी पु¥याउँछन् । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत तथा विषादी निरीक्षक बुद्धिराम भट्टराई जिल्लामा विषादीको प्रयोग बढेको स्वीकार्छन् । खतरनाक विषादी आयो, पक्रिनु प¥यो भनेर बिन्ति गर्दा फिक्कलको कृषि सेवा केन्द्रका कर्मचारीले सुनेको नसुन्यै गरेको स्थानीय गुनासो गर्छन् ।
कर छली
इलामका ६० मध्ये ३० वटा एग्रोभेटले विषादीको कारोबार ‘ठूलो स्तर’मा गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण एकाइका प्राविधिक सहायक सत्रुहन यादव बताउँछन् । दर्ता भएका मध्ये ३० वटाले वार्षिक २० लाखसम्म कारोबार गर्ने गरेको अनुमान यादवले गरे । विषादीको कारोबार गर्ने पसलले कारोबारको लेखा परीक्षण कतै बुझाउनु नपर्ने भएकाले यो वास्तविक विवरणमा दिन सकिने अवस्था नरहेको यादवले बताए । करदाता सेवा कार्यालय इलामका प्रमुख खगेन्द्र दाहाल निजी उद्यमीले लेखा परीक्षण प्रतिवेदन बुझाउन नपर्ने हुनाले करछलीको आकलन गर्न नसकिने बताए ।
‘रेड लेबल’ मोह
“चियाको सिजन आएपछि इलामको कपडा पसलमा पनि विषादी पाइन्छ । इलाम, फिक्कल र हर्कटेमा मोनोक्रोटोफस पनि बेचिन्छ,” फिक्कलका एक व्यापारीले भने । स्थानीय कृषक चाहिँ धेरै खेती हुनेलाई ‘रेड लेबल’ नै चाहिने र त्यो ठूला व्यापारीले ल्याउँने बताउँछन् ।
कृषक प्रतिबन्धित विषादी चिन्दैनन् । उनीहरु कडा दबाइ भनेर अति खतरनाक रेड लेबल विषादी चलाउँछन् । “चियामा रोग बढेपछि के गर्ने ? मनो नल्याई सुखै भएन । त्यो कडा छ ,” कन्याम–३ का कृषक पदम गिरीले भने । कडा दबाइ घोडा र गाडी चढेर इलाम आउँने उनले बताए ।
भारतको पानीटंकी र सिलगुडीको बाटो भएर इलामको सीमासम्म भारतीयले नै विषादी ल्याइदिन्छन् । नेपालको सीमा क्षेत्रसम्म नेपाली व्यापारीको घोडा र साना गाडी पुग्छन् । त्यही घोडा र गाडीमा चढेर विषादी इलाम आइपुग्छ । तर, कसैले चेक गर्दैनन् । “बेमौसमी तरकारी र चियालाई थोरै विषादीले पुग्दैन । गोलभेंडाका लागि ढुसीनाशक पनि चाहिन्छ,” उनले जानकारी दिए । व्यापारी पनि टमाटरलाई रेड लेबल चाहिने भएकाले यसको माग बढ्दै गएको अनुभव सुनाउँछन् ।
जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत बुद्धि भट्टराई भन्छन्, “नेपालमा क्लोरोडेन, डीडटी, डाइअल्ड्रिन, इन्डिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्मामिडन, मिथायल पाराथाइन, अर्गेनोमर्करी क्लोराइड, मनोक्रोटोफस, इन्डोसल्फाइन आदि प्रयोगमा छन् ।”
इलाममा मनोक्रोटोफस र यसकै टे«डमार्कअन्तर्गतको सुफोक्स र लुफोक्स पनि बेचिन्छ । जिल्ला कृषि विकास कार्यालयले गत वर्ष एग्रोभेट अनुगमन गर्दा कन्याम र हर्कटेका पसलमा यस्ता विषादी भेटेको थियो । तर, कसैलाई केही कारबाही भएन । त्यसपछि अनुगमन नै भएको छैन । “बिहानै झोलामा विषादी हालेर गाउँ छि¥यो, साँझ नोट बोकेर फर्कियो,” एक एग्रोभेट सञ्चालक भन्छन् । चियाको सिजन सुरु भएपछि वैशाख÷जेठमा त मोनोको व्यापार चम्किन्छ । चियामा रोग लागेपछि कृषक मोनो, सुफोक्स र लुफोक्स माग्न आफैं एग्रो भेट पुग्छन् ।
सरकारी तथ्यांकमा भने इलाममा ३ वर्षदेखि कीटनाशक धुलो विषादीको खपत अत्यन्तै न्यून देखाइएको छ । क्लोर्डेन, अल्ड्रिन, डाइ अल्ड्रिन, मनोक्रोटोफस, बीएचसी, लिन्डेन, इन्डो सल्फाइन, मालाथियन, एसिफेन, पामिथ्रिन, साइपरमेथ्रिन, कार्बोराइल, २–४ डी, सिमाजिन र एट्राजिन, क्याप्टाफोल आदि विषादी बेचिन्छन् । कीटनाशक औषधीका नाममा बेचिने मध्ये सबैभन्दा खतरनाक विषादी चाहिँ मोनोक्रोटोफस हो । यसलार्ई विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक ठहर गरी संसारभर प्रतिबन्ध लगाएको छ ।
इलाममा विषादी खपत
विषादीको नाम ०६७/०६८ ०६८/०६९ ०६९/०७०
कीटनाशक झोल ८२१ लिटर ९८१ लिटर ८८६ लिटर
कीटनाशक धुलो १०० किलो १०० किलो १०० किलो
ढुसीनाशक ८५५ ८०५ किलो ४८१ किलो
स्रोत : जिल्ला कृषि विकास कार्यालय इलाम
नियण्त्रण गर्न गाह्रो छ
बुद्धिराम भट्टराई
विषादी निरीक्षक, इलाम
इलाममा कस्ता विषादी प्रयोगमा छन् ?
चियामा प्रतिबन्धित विषादीमध्ये घातक मोनोक्रोटोफस पाइएको थियो । अन्य घातक विषादीको अवशेष पानीका स्रोत र माटोमा समेत पाइएको छ । पूर्वी क्षेत्रमा अत्यधिक विषादी प्रयोग हुने गर्छ । यहाँ विषादीको प्रयोग गर्ने कृषक धेरै छन् । तर, एग्रोभेटमा प्रतिबन्धित विषादी भेटिएको छैन ।
नियमनकारी निकाय किन फितलो ?
जिल्लामा विषादी निरीक्षकको सुरक्षाको ग्यारेण्टी छैन । निरीक्षणका क्रममा फेला परेका प्रतिबन्धित विषादी वा समय गुज्रेका विषादीको डिस्पोजल गर्ने वैज्ञानिक यन्त्र नेपालमा छैन ।
लाइसेन्सवाला एग्रोभेटलाई त नियन्त्रण गर्न सकिन्छ होला नि !
राजनीतिक दलका आड पाएका ठूला तस्करले यो काम गरेका छन् । त्यसैले नियन्त्रण गर्न कठिन भएको छ । उपयोग गर्ने कृषकमा चेतना अभाव छ ।
छापा मार्न सकिँदैन ?
ऐन र नियमावली कमजोर र निरीह छ ।
[२०७० चैत्र १७ (31 march, 2014) को कारोबार दैनिकमा प्रकाशित]