Print Friendly, PDF & Email

बसन्तप्रताप सिंह (खोज पत्रकारिता केन्द्र)-
सरकारले चरसको उत्पादन, प्रशोधन, बिक्री वितरण तथा ओसार पसारमा प्रतिवन्ध लगाएको छ । लागु औषध नियन्त्रण तथा ओसार पसार सम्बन्धी ऐनले चरेसको कारोवार गर्नेलाई १० वर्ष कैद र दशलाख रुपैयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

तर, वझाङमा गाँजा खेती नै सदावहार नगदेबाली बनेको छ । जिल्लाको ४७ मध्ये ३० गाविसमा  गाँजा खेती गरिन्छ । बझाङको बन क्षेत्र पनि जङगली गाँजाका बोटले ढाकिएका छन् । यहाँका किसान, युवा तथा  किशोरहरुका लागि गाँजा चरेसको व्यापार गर्नु र तिनको सेवन गर्नु सामान्य व्यवहार समान भएका छन् ।

[प्रकाशित समाचारको लागि तलको LINK मा CLICK गर्नुहोला ।]

http://www.annapurnapost.com/en/news/specialpage/5379/%E0%A4%85%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%AE%E0%A4%BE-%E0%A4%9A%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%B0.htm

Charesh

बझाङका साना ठूला सबै पसल तथा होटलहरुमा अत्तरको नाममा चरसको व्यापार हुन्छ । स्थानीय भाषामा अत्तर भनिने कालो चरेस प्रति डोज (एक पटक चुरोटमा मिसाएर खानका लागि वनाइएको पोका) ५ देखि १०रुपैया सम्ममा पाईन्छ ।

सदरमुकाम नजिकको लालटिन वजारमा जयपृथ्वी क्याम्पस छ । यसको केही पर सत्यवादी उच्च माध्यमिक विद्यालय छ । यी दुई शिक्षण संस्थामा झण्डै ५ हजार विद्यार्थी पढ्छन । यस वजारका चिया तथा खुद्रापसलमा चरसको खुला व्यापार हुन्छ । यहाँका एक व्यापारीले भने—“ होटल र पसलमा १० रुपैयाँमा एक डोज चरस पाईन्छ । एउटा पसलमा दिनमा ४÷५ हजार जति त चरसकै व्यापार हुन्छ । विद्यार्थी जतिले चरस लिन्छन्, बुढा पनि यसका नियमित ग्राहक हुन ।”

सदरमुकाम चैनपुर नजिकैको वजारमा चरेस तानिरहेका एक विद्यार्थीले भने— ‘बझाङमा गाँजा र चरेस खान कसैको रोकतोक छैन । यहाँ सबैले अम्मल लिन्छन् ।’

नशामा विद्यार्थी
जयपृथ्वी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत नेपाली थरका चैनपुरका १६ बर्षिय किशोरले आफ्नो समूहका साथीहरुले मात्र दैनिक २ सय देखि ५ सय सम्मको अत्तर (चरस) खाने गरेको वताए ।
उनले  भने—‘साथीको संगतमा परेर ८ कक्षामा हुँदा चुरोट खान सिकियो । अनि चुरोटमा गाँजा र चरेस मिसाएर खान थालियो । अहिले त खाना नखाए केही फरक पर्दैन तर अत्तर (चरेस) खान पाईनँ भने पागल जस्तो हुन्छु ।”

बझाङको सिमखेत, वसपार्क, डुङग्री, भिडमनी, दम्धुर जस्ता बजारका १ सय भन्दा बढी होटल र पसलमा गाँजा र चरस सजिलै किन्न पाइन्छ ।

युवा तथा किशोर किशोरीको क्षेत्रमा काम गरिरहेको संयुक्त राष्ट्र संघीय कार्यक्रम युएनएफपिएका जिल्ला अधिकृत धनबहादुर लम्सालले चिन्ता जनाए—“यहाँका किशोर तथा युवाहरुलाई दुव्र्यसनको लहरोले गाँजेको छ । युवा तथा किशोर किशोरीहरु चरसकोे दुव्र्यसनमा फस्नु ठूलो समाजिक खतरा हो ।”  

उनले चेतावनी दिँदै भने, “बझाङका युवालाई चरेस जस्ता लागू औषधले मानसिक र सामाजिक रुपमा अपाङ्ग बनाउँदैछ । यहाँ गाँजा र चरेसको प्रयोगले एचआइभी एड्स लगायतका यौन रोगको संक्रमण बढ्ने खतरा छ ।”

चरसमा बालश्रम …..
बालबालिकाको काम ः गाँजा माड्ने, चोप निकाल्ने, साना पोका (डोज) बनाएर चुरोटको बट्टामा प्याक गरेर बजारमा दिने ।

जिल्लाका बालबालिकाहरु पनि चरेस उत्पादनमा संलग्न छन् । आफ्ना खेतवारीमा बाबुआमालाई सघाउन जाने बालबालिकालाई गाँजाको बोटबाट चोप निकालेर चरेस बनाउने काममा लगाईन्छ ।

स्कुल जाने नानीहरु विहान बेलुका, विदाको दिन र गोठालो जाँदा चरस बनाएर बेच्छन् । र, त्यसबाट आएको पैसाले मिठाई, चक्लेट, चाउचाउ आदि किनेर खान्छन् । चरस बनाउँदा पैसा आउने भएकोले कतिपय बालबालिकाहरुले विद्यालय छाड्ने गरेका छन् । यहाँ विद्यालय छाड्ने विद्यार्थीहरुको संख्या बढिरहेको छ ।  
 
कालिका प्राथमिक विद्यालयका कक्षा ५का विद्यार्थी मनोज कठायत पढ्न भन्दा चरस बनाउन सिपालु छन् । उनले आफ्ना उमेरका अरु ३ जना नावालकहरुलाई पनि स्कूल छोडेर चरेस वनाउन जाने गरेको बताए ।

यिनीहरुले चरेस बनाईरहेको बेला (माथि तस्वीरमा) स्कूलबाट किन भागेको भनेर सोध्दा उनीहरुले भने— ‘ अत्तर बनाउनु परेन त ?’ मनोजले प्रष्ट भने— ‘मैले त अत्तर बनाएर दिनमा २०÷३० रुपैयाँ मात्र कमाउँछु । तर स्कुल नगएर दिनभरि अत्तर बनाउने साथीहरुले दिनको १ सय पनि कमाउँछन ।”

स्कूले  नानीहरुलाई चरस बनाउन लगाउँदा पसलेहरुलाई पनि सस्तो पर्छ । उनीहरु मोलमोलाइ नगरी सस्तो दाममा बेच्छन् ।  कैलासका सम्पती सिंहले भने—‘ व्यापारीहरुले केटाकेटीलाइ उधारोमा विस्कुट, चाउचाउ र खेलौनाहरु दिएर चरेस बनाउन लगाउँछन् । स्कूले विद्यार्थीहरु बिग्रिसके ।’

अभिभावकहरु भने आफ्ना छोराछोरीले स्कूल छाडेर चरस बनाउन गएकोलाई पनि गलत मान्दैनन् । कैलास गाविसका रमेशबहादुर विस्टले भने— ‘यहाँका अभिभावकहरु नै छोराछोरीलाई चरेस बनाउन सिकाउँछन् । यसो गर्दा गर्दै धेरैले चरेस खान सिक्छन् ।’ गाँजाबाट भन्दा चरसबाट बढी कमाई हुने भएकोले स्थानीय अभिभावकहरु आफ्ना बालबालिकालाई गाँजाको बोट बाटै चरेस बनाउन सिकाउँछन् । उनीहरु आफ्ना परिवार र सातु—सामल बोकेर भदौ र असोजतिर चरस बनाउन बन जान्छन् । रमेश विस्ट भन्छन्—यो यहाँको सामान्य व्यवहार हो ।  

प्रहरीले गएको कार्तिकमा चैनपुरको सिमखेत वसपार्कमा सुवेडाका १३ बर्षिय बालकलाई ४०० ग्राम चरेस सहित पक्राउ गरेको थियो । तर बालक भनेर तत्कालै छोडिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज सापकोटा भन्छन्—‘यहाँ गाँजा र चरसको व्यापार हुन्छ भन्ने हल्ला धेरै सुनेको छु, तर पक्राउ नपरेसम्म केही भन्न सकिन्न ।’ (हे. अन्तर्वार्ता)

कालो चरसको व्यापार
बझाङको खुला गाँजा खेती             बझाङमा उत्पादित चरस                  पक्राउ परेको चरस

सदरमुकाम चैनपुरका व्यापारी भन्छन्—यहाँ वर्षको ढाईसय (२ सय ५०) क्विन्टल जति चरस बिक्छ । जिल्लामै २० क्विन्टल जति चरस बिक्छ । बाँकी भारत र तिब्बतमा लगेर बेचिन्छ । बझाङका सामान्य व्यापारीहरु भन्छन्, जिल्लाबाट वर्षेनी ५०० क्वीण्टल गाँजा निकासी हुन्छ । २०÷३० क्विन्टल गाँजा जिल्लामै खपत हुन्छ ।

जिल्लाको सुर्मा, दौलिचौर, काँडा, मेलबिसौना, दाँतोला, रिलु, कैलास, गडराय, बाँझ, भामचौर, दहवगर, लेकगाँउ, सैनपसेला, चैनपुर, रिठापाटा, सुनिकोट लगायतका ३० भन्दा वढी गाविसमा व्यवसायिक गाँजा खेती गरिएको छ ।  यहाँ प्राकृतिक रुपमा उम्रिएका बन भाँगोको उत्पादन पनि ३०० क्वीण्टल जति हुन्छ । स्थानीय भाषामा भाँगो भनिए पनि ती सबै गाँजा नै हुन् । बन को भाँगो र खेती गरिएको भाँगो दुवैबाट चरस उत्पादन गरिन्छ ।

बझाङसँग सिमाना जोडिएको    बाजुराका डोगडी, मानाकोट, दहकोट लगायतका गाविसमा पनि वार्षिक २० देखि ३० क्विन्टल जति कालो चरेस उत्पादन हुन्छ । त्यो चरेस पनि बझाङकै बाटो भएर भारत र तिब्बत निकासी हुन्छ । गडरायका एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए—जिल्लाबाट निकासी हुने एक मात्र वस्तु यही मात्र हो ।

गाँजा—चरस लोकमार्ग
गडरायमा बसेर गाँजा र चरेसको व्यापार गर्ने एक किसानले भने—“बझाङको चैनपुरबाट बैतडीको डाँसे फलिण्डे हुँदै डडेल्धुराको जोगबुढा पुगेर महेन्द्रनगर झर्न १५÷२० दिन लाग्छ । पहिले हिड्नु पथ्र्यो, धेरै दुख हुन्थ्यो । गाडी थिएन । एउटा भरियाको खर्च नै १५÷२० हजार खर्च पुग्थ्यो । तर अचेल गाडी चलेपछि सजिलो भएको छ । भरियाको खर्च घटेर नाफा बढेको छ ।”

मंसिरको पहिलो साता ४५० किलो चरस महेन्द्रनगर पुर्याएर फर्केका रिलुका व्यापारीले भने,—“गाडी पुगेपछि १५÷२० दिनमै २÷३ ट्रिप गर्न सकिने भयोे । पहिले भरिया लगाउँदा एक किलोको ३०÷४० रुपैयाँ भाडा पर्दथ्यो भने अहिले गाडीबाट लैजाँदा किलोको ५ देखि ८ रुपैयाँ पर्छ ।

व्यापारीले स्थानीय उत्पादकबाट भने प्रति तोला (११.६६२ ग्राम जति) १ सय २० देखि १ सय ७० सम्ममा चरस खरिद गर्ने गरेको बताए । उनले भने, ८६ तोलाको एक किलो हुन्छ । यस हिसावमा, अत्तर (चरस)को नमूना (गुणस्तर) हेरेर गाउँले किसानसंग किलोको १२ देखि १७ हजार तिरेर किन्नु पर्दछ । तर महेन्द्रनगर वा धनगढीमा पु¥याउन पाए किलोको भारुमा १५देखि १७ हजार पाईन्छ । नेपाली पैसा तुरुन्तै भारतीय नगद बन्छ ।

धनगढीका व्यापारी भन्छन्— एक किसान परिवारले बढीमा ५ देखि १० किलो सम्म चरस ल्याउँछन् । बझाङमा भैरवनाथको लोतु र रिलुको दय अनि बाजुराको डोगडी मानाकोट र दहकोटको चरस राम्रो हुने हुनाले मोल बढी पर्छ ।

ती व्यापारीले भने—हामीले भन्दा तिब्बती भोटेहरुले बढी मोल दिन्छन् । चीनमा लागुऔषध सम्बन्धी कडा कानुन भएको र ढुवानी गर्दा पनि हिमालको बाटो भएर धेरै दिन पैदल हिडेर बजारमा पुर्याउनु पर्ने भएकोले मूल्य बढी पर्छ । तर कञ्चनपुर र कैलालीबाट भारत निकासी गर्न सजिलो र सुरक्षित हुने भएकाले ९० प्रतिशत भन्दा बढी गाँजा र चरस यिनै नाका भएर विदेश जान्छन् ।

महेन्द्रनगर नाकाबाट मात्र ७० प्रतिशतको जति निकासी हुने गरेको कुरा केही कारोवारीहरुले बताए । उनीहरुका अनुसार, बुटवलको सुनौली भन्सार र नेपालगंजको रुपैडिया नाकाबाट पनि जाने गरेको छ । केहीले गाडीमा हालेर काठमाडौं लैजाने गरेका छन् ।

तर बझाङका डिएसपी जयराज सापकोटाले भने गाडीबाट गाँजा चरस ओसार पसार भैरहेको कुरालाई अस्वीकार गर्दै भने, हामीले कडा जाँच गर्ने गरेका छौं, लुकछिपी जानेलाई के गर्नु ? । (हे. अन्र्तवार्ता ।)  

सापकोटाले गाडी मार्फत गाँजा चरस ढुवानी हुने कुरालाइ अस्विकार गरे पनि २०६८ यता पक्राउ परेका गाँजा र चरेस अधिकाँशत गाडीकै बाटो भएर गएको देखिन्छ । २०६८ मंसिर ७ गते बझाङबाट डडेल्धुरा गइरहेको गाडीमा गाग्रीमा लुकाएर लैजाँदै गरेको अवस्थामा डडेल्धुराका करी टमटा, पुरन टमटा, कञ्चनपुरका सुरेन्द्र बोहरा, गणेश टमटा, यज्ञराज भण्डारी, बैतडीका राजेश बोहरा र बानी टमटालाइ पक्राउ गरेको थियो । यसैगरी सोही वर्ष मंसिर ४ गते महाकाली यातायातको यात्रुबाहक बसमा महेन्द्रनगर तर्फ लुकाएर लैजाँदै गरेको अवस्थामा बझाङ कँडेलका मदन ऐडी, बैतडी सित्तडका धर्मानन्द जोशी र गणेशदत्त जोशीलाइ १ सय २१ केजी चरेस सहित बझाङको स्याडीमा प्रहरीले पक्राउ गरेको थियो ।

२०६८ साल माघ १७ गते बझाङ मेलविसौनाका रामबहादुर बुढा ६०० ग्राम चरस सहित बसमै पक्राउ परेका थिए । २०६९ श्रावण १७ गते १३ किलो २० ग्राम चरेस सहित सुर्माका ऐन बहादुर बोहरालाई गाडी समेत प्रहरीले पक्राउ गरेको थियो । २०६९ मंसिर ९ गते स्याडी चौकीलाइ छल्नका लागि पैदल लगेर विथ्थडबाट गाडीमा राख्ने तयारीका साथ ओडारमा लुकाइएको ६४ किलो चरेस बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो ।

तर यो वर्ष संविधान सभाको चुनावको मेसो परेकोले कोही पक्राउ परेनन् । क्वीण्टलको भारी बनेर जाने गाँजा र चरस पक्राउ पर्दा चाहिँ किलोको वजन मात्र देखाईने गरिएको छ ।

सिंह परिवार ध्वस्त भयो
१२ बर्ष अघि बझाङ को कैलास ३ पिमी गाँउका ललीसिहंको घरमा खुशीको साम्राज्य थियो । आमा बिति सकेको भए पनि बुवा तेजबहादुर सिहका ३ भाइ छोरा ललि, चखे र पब्बुको दैनिकी सामान्य थियो । आर्थिक समस्या भएपनि ललिसिहं बुवाका साथ देश, भोट गरेर घरखर्च चलाउँथे । माइलो चखे र कान्छो पब्बु स्कुल जान्थे ।

समय सँगै ५ कक्षामा पढ्ने चखे सिहलाई चरेस खाने लत लाग्यो । जेहन्दार छात्रको रुपमा चिनिँदै आएको चखे ६ कक्षामा २ पटक फेल भयो ।
 
बाबु तेजबहादुरले चरेस छुटाउन आफुले मजदुरी गर्ने ठाँउ भारतको केदारनाथ लगे । तर चखेले चरेस खान छोडेन । बाबुले घर फर्काएर बिहे गरिदिए । तर उसको लत छुटेन । श्रीमती पनि घर झगडाले आजित भईन् । एक पटक त चखेले पिटेर उनको एउटा आखाँ फुटाई दियो । आखाँ उपचार गराउन आफन्तसँग भारतको बेङलोर गएकी उनी घर फर्किईनन् ।
 
चखेसंगै उसको भाइ पब्बुले पनि १२ वर्षको उमेरमै चरेस खान सिक्यो । पव्बुले पनि पढ्न छाडिदियो । पब्बुको हालत चखेको भन्दा खराव भयो । अत्यधिक चरेसका कारण उसको मानसिक सन्तुलन नै विग्रियो । कहिले जंगलमै बास बस्ने, कहिले घरमा आएर जेठा दाजु र उनका परिवारसँग झगडा गर्ने त कहिले बाटोमा हिडिरहेका मानिसहरुलाइ गाली गलौज गर्ने, केटाकेटी लाई कुटपिट गर्ने जस्ता अस्वाभाविक व्यवहार देखाउन थाल्यो ।

यता जेठो दाई ललिसिहंका ४ छोराछोरी भै सकेका थिए । बाबुको मृत्यू पछि परिवारको जिम्मेवारी ललि माथि आएको थियो । गरीव परिवार थियो । भाईहरु चरेसले बिग्रिएका थिए ।
यसमाथि कान्छी छोरी लाटी जन्मिए पछि दुख मेटाउने प्रयासमा ललि पनि मदिराको मातमा झुल्न थाले । अनि उनका जेठा छोरा गोपालको पढाइ छुट्यो । काकाहरु र बाबु नसामा लठ्ठीए पछि   परिवारको जिम्मा गोपालको काँधमा आयो । अनि गोपाल पनि श्रीमती लिएर भारतको बेङ्गलोरमा चौकीदारी गर्न पलायन भए ।
मदिराले मात्तिएको अवस्थामा भेटिएका ललिले तपाइका भाइहरु कता छन भनेर सोध्दा मरिसकेको र उनीहरुको बारेमा आफुसँग कुरा नगर्न आग्रह गरे । चखे सिहंको मानसिक अवस्था ठीक छैन । छिमेकीहरु भन्छन्—पागल भएर बेसुरा भैसक्यो । पब्बु सिंह कहिले जंगलमा कहिले खेतमा बास बस्छ ।
कैलास पिमी गाउँको सिंह परिवार चरेसकै कारणले ध्वस्त भयो ।

 

  • चैनपुर र गाँउका पसलहरुमा चरेस बिक्री भैरहेको छ । यहाँका  विद्यार्थीहरुमा चरेसको लत बढदै गएको छ, नियण्त्रण गर्न प्रहरीले कुनै योजना बनाएको छ ?

त्यस्तो छ र ? मैले त देख्या छैन । विद्यार्थीले गाँजा चरेस खाएको भेटिएको छैन । दौलिचौर, सुर्मा, सैनपसेला तिर उत्पादन हुन्छ भन्ने अपुष्ट खवर चाँही छ ।

  •  चैनपुर बजार र गाउँका पसलहरुमा १० रुपैयाको १ डोजका हिसावले बिकिरहेको छ, तपाई कसरी छैन भन्नु हुन्छ ?

त्यो मेरो जानकारीमा छैन । तपाई देखाउनोस् । म छापा मार्न थाल्छु ।
चरेस खाएपछि घटना घट्छ । समूह वन्छ । त्यो समूहले गोप्य स्थान खोज्छ । त्यता गएर सेवन गर्छन । तिनले झै झगडा गर्छन, चोरी गर्छन । त्यस्तो घटना यहाँ छैन । उनीहरु भेला हुने ठाँउ पनि हामीले थाहा पाएका छैनौ । बजारमा झै झगडा, चोरी भएकोे छैन । चरेस सवेन गरेको भए शान्ति खलबलीन्छ ।  

  •  सुदुर पश्चिममा प्रहरीले लागु औषध कारोवारी विरुद्ध क्लिन स्विप अपरेसन चलाएको थियो बझाङमा यसको प्रभाव कस्तो रह्यो ?

क्लिन स्विप भनेको प्रहरीको अपरेसनलाइ एउटा नाम दिएको मात्र हो । प्रहरी अपरेसन त सधै चलिरहन्छ । त्यो अभियानमा प्रहरी अलि बढी एक्टिभ गराइएको थियो ।

  •  गाँजा खेतीबारे तपाइहरु सँग कुनै तथ्याङ्क छ ?

त्यसको लागत निकालेको छैन । तर दौलिचौर, सुर्मा कफलसेरी, दहवगर, भामचौर चाही वढी गाँजा खेती हुने क्षेत्र हो भनेर सुन्या हो ।

  •  अचेल चरेस निकासी नभएको कि ? पक्राउ गर्न नसकेको ?

निकासी नभएको त भन्न सकिँदैन । निकासी त भयो होला । मैले बुझे सम्म बुङगल साइड (दाचुर्ला र बैतडी सँग सिमाना नजिक रहेका जिल्लाको दक्षिणी भेगका १३ गाविस)बाट लिएर आउने अनि दार्चुला तिर लाने । त्यसपछि उता बैतडी झार्ने गर्छन् अरे । हामीले चौविसै घण्टा सडकमा चेकिङ्ग गरेको छौ । अहिले सम्म फेला परेको छैन । दार्चुला र बैतडीको पैदल मार्ग प्रयोग हुन्छ भन्ने सुनेको हो । हामी स्याडीमा चेक गर्छौं, रायलमा चेक गर्छौं । स्पष्ट कुरा के हो भने गाडीको बाटो भन्दा पनि दार्चुला र बैतडीको बाटो प्रयोग हुन्छ भन्ने मलाइ गोग्य सूचना छ । म ठोकुवा साथ भन्छु यहाँ खुल्लमखुला चाँही छैन । हाम्रो नजरमा नपारीकन लुकिछिपी गर्छन् भने त के गर्नु ?

लुकिछिपी गर्छन् भने के गर्नु ?

जयराज सापकोटा , डिएसपी, जिप्रका—बझाङ

[२०७० चैत्र १०(24 Mar, 2014)को अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित ]