प्रवीण अधिकारी (खोज पत्रकारिता केन्द्र)-
२०७० मंसिरको पहिलो सातातिर ललितपुर कुुसुन्ती निवासी लक्ष्मी गजुरेललाई एककिलो नून खोज्न ४ दिन लाग्यो । उनले भनिन्- पहिलो दिन पसलले नुन सकिएको छ, भोलि आउनुस भन्यो । दोस्रो दिन जादा आज पनि छैन भनेर फर्काई दियो । तेस्रो दिन बजारका अरु पसल चहारेँ, नून भेटिएन । चौथो दिन एउटा पसलेले १०० रुपैया लिएर नून बेचेको सुईंको पाएँ । अनि १०० रुपैयाँमा एक पोका नून लिनु पर्दा पो झसंग भएँ ।
[प्रकाशित समाचारको लागि तलको LINK मा CLICK गर्नुहोला ।]
http://www.newsofnepal.com/new/mahanagar/2014/03/45379
अनामनगरका सन्तोष ज्ञवालीले सुनाए- त्यसबेला नून नपाएर गाह्रो प¥यो नि ! एउटा, दुइटा पसल गर्दै बिहानैभरि अनामनगरका सारा पसल चहारें । तर नून पाईएन । सांझपख ६० रुपैयाका दरले २ प्याकेट नून पाईयो ।
साल्ट ट्रेडिङका नून विभाग प्रमुख कुमार राजभण्डारी भन्छन्, त्यसबेला नाफाखोर व्यापारीहरुले नूनको कृत्रिम अभावको सिर्जना गरेर उपभोक्तालाई ठग्ने काम गरेका हुन् ।
तर उपभोक्ताहरु भन्छन्- नूनको अभाव हुनुमा साल्ट टे्रडिङका कर्मचारी पनि कम जिम्मेवार छैनन् । नूनमा समेत खेलवाड गर्नु त देशभरिनै ठगीको महामारी चलाउनु हो ।
चुनावका समयमा तराईमा नूनको हाहाकारै भयो त ? सर्वसाधारणले किन सहजै पाएनन् त ? मोरङका उपभोक्ताले चाहिँ नपाउने, नेताले चाहिँ स्टक राखेर नून बितरण गरेको पाइयो नि ? नेताले मात्र कहाँबाट नून पाएछन् ? तपाईले अनुगमन गर्नु भएन ? कुमार राजभण्डारी , नायब महाप्रवन्धक तथा नून बिभाग प्रमुख, साल्ट ट्रेडिङ कर्पोरेशन |
दोश्रो संविधान सभाको निर्वाचनको मुखैमा, मंसीरको पहिलो सातातिर काठमाडौ उपत्यका र पूर्वी तराईमा एकाएक नुनको अभाव हुन गयो । त्यसबेला उपत्यकाका उपभोक्ताले समेत एक किलो नूनलाई १०० रुपैयाँसम्म तिर्नु प¥यो भने पूर्वी तराईका उपभोक्ताले १५० सम्म तिरे । तर साल्ट ट्रेडिङको वितरण विभागले नूनको कालो बजारी रोक्न कुनै तत्परता देखाएन ।
२०४६ सालको परिवर्तन पछि देशले खुल्ला अर्थनीति लिएपनि, आयोडिनयुक्त नूनको आपूर्ति गर्ने एकाधिकार साल्ट टे«डिङ कर्पोरेसनलाई दिईएको छ । साल्ट टे«डिङको एकाधिकारमा रहेका अन्य अत्यावश्यकीय उपभोग्य बस्तुहरुको आपूर्तिमा पनि यस्ता समस्याहरु आईरहेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे भन्छन्- नूनमा साल्ट्र टे«डिङको एकाधिकार तोड्नु पर्ने बेला आईसक्यो । कुनै पनि व्यापारमा एकल मनोमानी हुँदा यस्ता समस्या आईरहन्छन् । साल्ट ट्रेडिङका नायब महाप्रवन्धक तथा नून बिभाग प्रमुख कुमार राजभण्डारी पनि बजार अनुगमन गर्दा साल्ट ट्रेडिङका केही आधिकारिक बिक्रेताले बदमाशी गरेको स्वीकार गर्छन् । उनले भने, समस्या हामीमा होईन, निजी क्षेत्रले उब्जाएका हुन् । साल्ट ट्रेडिङका बिक्रेतालाई त हामीले तुरुन्त नियण्त्रणमा लियौं । तर निजी क्षेत्रले अवाञ्छित हल्लाको फाईदा उठाउँदै बजारमा अभाव सिर्जना गरिदियो । तिनलाई नियण्त्रण गर्ने काम सरकारको थियो ।
जनकपुरमा नूनको अभाव भएछ नि ? बजार अनुगमन गर्नुभयो र ? जगदिश नारायण चौधरी,शाखा प्रवन्धक,साल्ट ट्रेडिङ, जनकपुर,८७१७६ |
साल्ट ट्रेडिङका २२ सय भन्दा बढी आधिकारीक बिक्रेताहरु छन् । राजधानीमा मात्रै ६सय जति छन् । नून विभाग प्रमुख भने आफ्नै आधिकारिक बिक्रेताप्रति शंका गर्छन् । उनले भने- “अनुगमन गर्दा केही डिलरले बदमासी गरेको भेटियो ।” उनले आरोप त लगाए । तर तिनको नाम सार्वजनिक गर्न चाहेनन् । त्यति मात्र होईन, बदमासी गर्नेलाई कारवाही पनि गरेका छैनन् ।
उपत्यकाका नून डिलरहरु चाहिँ, “साल्ट ट्रेडिङको शंका र आरोप हावादारी हो” भनिरहेका छन् । पाटनका नून डिलर देवेन्द्र श्रेष्ठले सबै दोष उपभोक्तामाथि नै थुपारे । उनले भने- नूनको अभाव भएको हल्लाको पछि लागेर उपभोक्ताले आवश्यकता भन्दा बढी नून किनेर राखिदिनाले त्यो समस्या आएको हो ।
नाफा खाने मुख
साल्ट ट्रेडिङले डिलरहरुलाई १३ रुपैया ५० पैसामा प्रतिकिलो नून उपलब्ध गराउँछ । डिलरहरुले प्रतिकिलो नूनमा रु. १।५० नाफा लिएर साधारण बिक्रेतालाई १५ रुपैयाँमा बेच्छन् । सामान्य बिक्रेताले उपभोक्तासंग १६ रुपैयाँ लिन्छ । यसरी साल्ट ट्रेडिङको कालीमाटीको गोदामबाट कालीमाटीकै किराना पसलमा आईपुग्दा एक किलो नूनमा रु.२।५० मूल्य बढिसकेको हुन्छ ।
निजी क्षेत्रका व्यापारीहरुले नूनको मूल्य बढाउन र नाफा बढी लिन खोजीरहेका छन् । उनीहरु भन्छन्- विगत ४ बर्षदेखि नुनको मूल्य बढेको छैन ।
त्यसैले नूनको मूल्य बढ्ने हल्ला चलिरहन्छ । संविधानसभा निर्वाचनको समयमा पनि नूनको मूल्य बढ्ने हल्ला फैलियो । मूल्य बढ्ने आशामा केही डिलर र बिक्रेताहरुले नून लुकाएको आरोप साल्ट ट्रेडिङले लगाउँदै आएकोे छ । तर कुन डिलरले के कति नुन लुकाए भन्ने बारेमा केही बताएको छैन । नायब महाप्रवन्धक तथा नून बिभाग प्रमुख कुमार राजभण्डारी भन्छन्–बजारमा नूनको मूल्य बढ्ने हल्ला चलिरहन्छ । तर साल्ट ट्रेडिङलाई नूनको मूल्य निर्धारण अधिकार छैन । बाणिज्य मन्त्रालयको सहसचिवको संयोजकत्वमा रहेको समितिले सिफारिस गरेपछि मात्र सरकारले नूनको भाउ बढाउने निर्णय गर्छ ।
सबै जोगी कानै चिरेका
संविधानसभाको निर्वाचनको मुखमा बिहार राज्यको केही स्थानहरुमा नुन अभाव हल्ला चल्यो । त्यसैको फाईदा उठाएर नेपालका व्यापारीहरुले पनि नूनको कृत्रिम अभाव सिर्जना गरिदिए । मंसिरको पहिलो साताभरि राजधानी लगायत मुलुकका धेरै स्थानमा उपभोक्ताहरु नराम्ररी ठगिए ।
यसै समयमा पूर्वी तराई र राजधानीका व्यापारीले रामै्र फाइदा उठाए । यसै मेसोमा ठूला राजनीतिकर्मीहरुले पनि नूनलाई राजनीतिक हतियार बनाए । निर्वाचनको मुखमा, पूर्वी तराईमा नूनको यति ठूलो हाहाकार भयो कि सामान्य किराना पसलहरुका त के कुरा ठूला पसल र डिपार्टमेण्ट स्टोरहरुबाट समेत नून गायब भए ।
निर्वाचनको समय भएकोले प्रशासक, कर्मचारी र प्रहरी समेत व्यस्त थिए । नूनको बिषयमा पसले र उपभोक्ता बीच विवाद हुन्थे । तर सर्वसाधारणले गुनासो गर्ने ठाउँ कहीँ थिएन ।
यसबेला सिराहा बजारमा भने नून खोज्नेहरुको घुईँचो लागेको थियो । स्थानीय खुद्रा पसलेहरु नून सकिएको भनेर ग्राहकको भीड पन्छाउँदै थिए । ग्राहकहरु चाहिँ जनकपुरमा नुन पाईन्छ रे, किलोको १५० रुपैँयामा बेचिरहेको छ रे भनेर सूचना साटासाट गर्दै थिए ।
रेडियो मिथिलाका समाचार प्रमुख सुजित कुमार झाले स्मरण गर्दै भने—मंसिर १ गते त जनकपुरमै नूनको हाहाकार भयो । संचारमाध्यमहरुले पनि नून अभावको समाचार फैलाए । रेडियोबाट समाचार सुनेका सर्वसाधारणहरुले जहाँ पायो त्यहीँबाट सकेजति नून उठाई रहेका थिए । साना पसलेहरुले पनि नून पनि लुकाई रहेका थिए । मौकामा चौका हान्न पल्किएका व्यापारीहरुले भने एक किलो नूनको १०० देखि १५० रुपैया सम्म लिईरहेका थिए । हप्तादिन सम्म उपभोक्ता ठगिँदा पनि प्रशासनले कुनै कदम चालेको थिएन ।
साल्ट ट्रेडिङ कर्पोरेशन जनकपुर शाखा प्रमुख जगदिश नारायण चौधरी भन्छन्—“हामीसंग नून पर्याप्त थियो, तर यहाँका रेडियोहरुले भने नून छैन भनिरहेका थिए । रेडियोको समाचार सुनेर म त छक्क परिरहेको थिएँ ।”
चौधरीले भने— रेडियोले हल्ला गर्न थालेपछि, प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर साल्ट ट्रेडिङमा नून प्रर्याप्त मात्रामा छ भन्ने सूचना जारी गर्दा न त रेडियोले पत्यायो न उपभोक्ताले ।
शाखा प्रवन्धक चौधरीले जनकपुरमा नूनको अभाव नरहेको जिकिर गरेपनि स्थानीय सञ्चारकर्मीहरु जनकपुरमा तीनदिनसम्म नूनको हाहाकार भएको दावी गर्छन् । जनकपुर टुडेका सम्पादक बृज किशोर यादवले भने- सक्दो नाफा खाएर व्यापारीले नून बेचिसकेपछि बजार अनुगमन भएको हो ।
अर्का सम्पादक सुजित झाले थपे— व्यापारीले अनुगमन टोलीलाई नून छ भने तर सर्वसाधारणलाई दिएनन् । अनुगमन टोलीले व्यापारीका कुरा पत्याउने कि उपभोक्ताका ? बजारमा नून भएको भए साल्ट टे«डिङ आफैले बिक्रि केन्द्र खोल्नु पथ्र्यो ?
नूनमा राजनीति
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छेदार मोरङ ७ बाट निर्वाचन लडिरहेका थिए । उनले आफ्नो पक्षमा भोट तान्न नूनको राजनीति गरे । आफ्नो निर्वाचन क्षेत्रमा नूनको अभाव रहेको थाहा पाउने बित्तिकै एक पोका नूनसंगै आफ्नो पर्चा बाँडेर भोट मागेका थिए ।
बिराटनगर–१४को चुनाव प्रचार कार्यालयमा नून लिनेको भीड जम्मा गराए । नून अभावको चुनावी लाभ लिन खोजेका गच्छदार, देशको उपप्रधान मन्त्री र गृह जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका व्यक्ति हुन् । यिनको सिको गरेर बिहार राज्यसंग सीमा जोडिएका जिल्लाहरुमा पनि विभिन्न दलका नेताहरुले भोट तान्नका लागि नूनलाई माध्यम बनाए ।
मोरङ, सुनसरी, बारा, पर्सा, रौतहट, सिरहा, सर्लाही, धनुषा, सप्तरीका साथै पूर्वका केही पहाडी जिल्लाहरुमा समेत नून अभावको हल्ला फिजाएर कमाउने ब्यापारीलाई राजनैतिक दलका ठूला नेताहरुले राम्रैसंग साथ दिए । त्यसैले ती व्यापारीहरुले कुनै कारवाही भोग्नु परेन ।
साल्ट ट्रेडिङको तथ्याँक अनुसार, मंसिर १,२ र ३ गते गरी ३ दिनमा काठमाडौबाट २२ हजार बोराभन्दा बढी नून बिक्री भएको थियो । उपत्यकामा एक महिनामा खपत हुने नूनको परिणाम हो यो । यत्रो नून, तीनदिनसम्म कहाँ हरायो भनेर साल्ट ट्रेडिङ खोजी गरेको छैन ।
यसैगरि बीरगंजमा ८,२२८ बोरा, बिराटनगरमा ६,८०० बोरा, बिर्तामोडमा २५सय बोरा र नारायणगढमा १,४३९ बोरा नून तीन दिनमा बिक्री भएको देखिएको छ । महिना दिनलाई पुग्ने नून ३ दिनमै बिक्रिी हुँदा पनि साल्ट ट्रेडिङले भने कुनै गडबडी भएको देखेको छैन ।
तैँ चूप, मैँ चूप
नायब महाप्रवन्धक तथा नुन बिभाग प्रमुख कुमार राजभण्डारीको कुनै तर्क काम नलागे पछि उनले दोष जति अदृश्य कालो बजारमाथि थोपरिदिए । यसै क्रममा उनले यसो पनि भन्न भ्याए—बजार अनुगमन गर्दा साल्ट ट्रेडिङकै आधिकारिक बिक्रेताले पनि बदमाशी गरेको देखियो । व्यापारीहरुमा मौकाको फाइदा उठाउने प्रवृति देखियो ।
उपभोक्ता अधिकारकर्मीहरु भने साल्ट टे«डिङका कर्मचारीको मिलेमतो बिना व्यापारीले कालोबजारी गर्न सक्तैनन् । उपभोक्ता हित संरक्षण मञ्च काठमाडौका अध्यक्ष जगन्नाथ मिश्र भन्छन–साल्ट टे«डिङसंग सेटिङ मिलाएरै कालोबजारी भएको हो । प्रशासनले छानविन किन गरेन ? त्यो चाहिँ रहस्यमा छ । जिम्मेवार निकाय तैँ चूप, मैँ चूपको खेलमा लाग्ने अनि निर्धा उपभोक्ता सधैँ मर्कामा पर्ने ?
निर्धालाई सरकार छैन
देशको मध्य र सुदुरपश्चिम पहाडका वासिन्दाहरु, जीवनको लागि अत्यावश्यकीय वस्तु नूनको अभावमा छटपटिई रहेकाछन् । यस क्षेत्रमा चामल किन्नेको लाईन भन्दा नून माग्नेको लाम लामो हुँदैछ । काठमाडौ उपत्यकाका उपभोक्ता खानेपानीको लागि जसरी तडपिन्छन्, मारामार गर्छन्, ठीक त्यसैगरि मध्य र सुदुर पश्चिम पहाडका उपभोक्ताहरु नूनका लागि तडपिईरहेका छन् ।
यस बाहेक नून पाउन सफल उपभोक्ताले चाहिँ आयो नुनको गुणस्तर र नूनिलोपन खस्किएको गुनासो गरिरहेका छन् । नून नपाएर महिनौं अलिनो खान वाध्य भएका उपभोक्ताहरु भन्छन्- साल्ट ट्रेडिङगको नाममा नून बार्नु पर्ने दिन आएछ । एक त नून पाईंदैन, अर्को पाईएको नून पनि कमसल र अलिनो छ । निर्धालाई सरकारै छैन । हामीलाई कसले हेर्ने ?
[२०७० चैत्र ०६ (20 March 2014)को नेपाल समाचारपत्र दैनिकमा प्रकाशित]