तराईमा चुनावको राप बढे संगै अवैध हतियारको कारोबार गर्ने व्यापारीहरु भित्रिने क्रम पनि बढेको छ । सीमापारीका व्यापारीहरु नेपालतिर आएर साना हतियारका मोलमोलाइमा व्यस्त छन् ।
राकेश चौधरी | खाेज पत्रकारिता केन्द्र
चुनावको बेलामा आफ्ना सुुरक्षाका लागि भनेर उम्मेदवारहरुले गोप्य रुपमा अनेकन खालका हतियारको खोजी गरिरहेका बेला घरेलु हतियारको अवैध कारोवार गरिरहेका एक व्यक्तिले नाम नलेख्न अनुरोध गर्दै भने,‘ मेरो काम पैसा र समय हेरेर ग्राहकको हातमा हतियार पु¥याउनु हो, त्यही काम गरिरहेको छु ।’ उनले खुलेरै भने ‘मैले सबैकुरा बताउन मिल्दैन, हजुर । यसपाली चुनावको लागि यतातिर हतियारको माग बढेको छ । ’
आफ्नो नाम गोप्य राखिदिन अनुरोध गर्दै एक नेपाली व्यापारीले थप जानकारी दिंदै भने—यस पटकको चुनावमा हतियारको माग बढेको छ र भाउ पनि बढेको छ । कमाई गर्ने राम्रो अवसर आएको छ, खरिदबिक्री चलिरहेको छ । राजनीतिक पार्टीका प्रभावशाली प्रतिस्पर्धीहरुले आफूसंग भएका हतियारहरुको पूजा गर्न थालेका छन् र आफ्ना कार्यकर्ताहरुलाई पनि हतियार बाँड्न थालेका छन् ।
दोश्रो संविधान सभाको चुनावी माहौल शुरु हुनु भन्दा ४ महिना अघि देखि नै तराईमा अवैध हतियारहरुको प्रयोग हुन थालेको थियो । अहिले यो काम झन बढेर गएको छ ।
भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहले २०७० असार २ गतेदेखि साउन १० भित्रमा महोत्तरी जिल्लामा मात्रै तीनवटा घटना गरेका थिए । अवैध हतियार प्रयोग गरिएका ती घटनामा पाँच जना घाइते भएका थिए । मधेशी जनअधिकार फोरम नेपालको जलेश्वरस्थित पार्टी कार्यालयमै गोली प्रहार हुँदा कार्यालय सचिव रामप्रगाश साह घाइते भएका थिए । असार ५ गते मनरामा भएको गोली काण्ड स्थानीय अभय कुमार सिंह तथा उनकी श्रीमति सोनम कुमारी सिंह घाइते भए । यस अघि असार २ गते मनरामै भएको गोली प्रहारको घटनामा स्थानीय शैलेन्द्र कुमार मण्डल र बिकास कुमार सिंह घाइते भएका थिए । घाइतेहरु समान्य जीवनमा फर्किसकेको भएपनि दोषीहरुको खोजविन भएको छैन ।
(पmोटो १, वायाँबाट दायाँतिर । साउन १० गते जलेश्वरमा घाइते भएका फोरम कायर्कता रामप्रगाश साह । असार २ गते मनरामा घाइते भएका शैलेन्द्र कुमार मंडल र विकास कुमार सिंह । फोटोःखोपके ।)
उम्मेदवारी दर्ता गर्ने दिनमा पनि हतियार व्यापारी विभिन्न राजनीतिक पार्टीका समूहमा देखा परेका थिए । राजनीतिक पार्टीका पष््रचार समूहमा भूमिगत संगठनका सदस्यहरु पनि देखिन थालेका छन् । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीको समूहमा पनि देखापरेका थिए ।
हालै हतियारको व्यापारमा लागेका जलेश्वरका एक व्यापारीले भने—‘हतियार व्यापारी र भूमिगत समूहका मान्छेहरु शरदसिंह र राजेन्द्र महतोसँग मात्र नभई जिल्लाका अधिकांश पार्टीका नेताहरुको सम्पर्कमा छन् । उनीहरु तिनका जुलुस र कार्यक्रममा भाग लिन्छन् । अनि व्यापारको कुरो चलाउँछन् । तिनले कुरो मिलाएपछि हामीले सप्लाई गरिदिन्छौं । बजारमा माग बढेकोले यसपटक हाम्रो व्यापार रामै्र भएको छ ।’
महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले भने—अवैध हतियारका कारण जिल्लामा सुरक्षा चुनौति बढेको छ । अवैध हतियारको खतरा बढिरहेको हुनाले कुनै अपराधिक घटना हुन नदिन उच्च सर्तकता अपनाएका छौं ।
२०७० कार्तिक २० गते महोत्तरीको सुगा गाउँबाट दुई जना भारतीय हतियार व्यापारीलाई इटालियन ट्याग लगाइएको पेस्तोल र गोली सहित प्रहरीले बरामद ग¥यो । पक्राउ पर्नेमा सदरमुकाम जलेश्वरसंग सीमा जोडिएको विहार राज्यको श्रीखण्डी भिठ्ठाका मिथिलेश कुमार सिंह र दिवारीका रत्नेश कुमार यादव थिए । नेपालमा बिक्री गर्न ल्याईएका पेस्तोलहरु एकलाख रुपैया सम्म बिक्री हुने गरेको कुरा तिनले बताएका थिए । (हेर्नोस, फोटो २ ) (फोटो २, प्रहरीले बरामद गरेको घरेलु पेस्तोल र गोली) /फोटो—खोपके
यसैगरि २०७० कार्तिक १६ गते राती सर्लाही जिल्लासँग जोडिएको भारतीय क्षेत्रबाट नेपाल छिर्न खोजेका दुई हतियारधारी र भारतीय सीमा सशस्त्र बल (एसएसवी) सँगको मुठभेड हुन गयो । भारतीय प्रहरीले बताए अनुसार, तिनीहरु मेजरजंगका बैधनाथ सहनी र सुरेश सहनी थिए । उनीहरुले बोकेको झोलाबाट ९ वटा पेस्तोल, २वटा राइफल र ४६ वटा गोली बरामद भएको थियो ।
(फोटो ३, प्रहरीले विभिन्न समयमा बरामद गरेका अवैध हतिायर र बारुदहरु/फोटो—खोपके)
यो समाचार भारतीय समाचारपत्र दैनिक जागरणको सीतामढी संस्करणले नोभेम्वर १को अंकमा छापेको थियो र ती हतियारधारीहरुले नेपालका पूर्व मन्त्री तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा उम्मेदवार महन्थ ठाकुरको हत्या गर्न नेपाल छिर्न लागेको दावी गर्दै उनीहरु नेपाली काँग्रेसमा उम्मेदवार अमरेश कुमार सिंहका मानिस भएको खुलासा गरिदिएको थियो । तर यस विषयमा नेपालको सुरक्षा निकायले कुनै पनि किसिमको छानविनको प्रक्रिया अघि बढाउन चाहेन ।
कार्तिक १४ गते सीतामढीमा भएको दुई देशीय जिल्लास्तरीय बैठकमा अबैध साना हतियारको पैठारी नियन्त्रण बिषयमा छलफल भएको थियो । छलफलमा महोत्तरी, सर्लाही र रौतहट जिल्ला एवं विहारको सितामढी जिल्लाका प्रशासनिक तथा सुरक्षा प्रमुखहरु सहभागी थिए । स्रोतका अनुसार प्रत्येक पटकजस्तै यस पटकको छलफलमा पनि भारतीय सुरक्षा निकायले आतंकवादको नियन्त्रण गर्न दुबैपक्षबाट सीमा अपराध नियन्त्रण हुनुपर्ने बहसले साना हतियारको बिषय गौण भएको थियो ।
कतिपय अवस्थामा हतियार र लागूऔषधको कारोवार एकसाथ हुने गरेको पाइएको छ । सदरमुकामसँगैको सुगाबाट पक्राउ परेका सिंह र यादवको साथबाट समेत लागूऔषध बरामद भएको थियो । त्यही राजनमुक्तिका एसटीएफ कमाण्डर सिंहको साथबाट समेत लागूऔषध बरामद भएको प्रहरी दावी गरे । धनुषाका झा बाट समेत अध्याधिक मात्रामा लागूऔषध बरामद भएको थियो ।
महोत्तरीमा हतियार बेच्न आएकासँग ज.१.प. ७४२० तथा सर्लाहीमा ना.५.प.७५४४ नम्बरको मोटरसाइकल प्रयोग गरिएको थियो । धनुषाका साथले ज३प ६७९३ नम्बरको मोटरसाइृकल प्रयोग गरेका थिए । भारतीय क्षेत्रबाट सस्तोमा पाउने वा चोरीको मोटरसाइकलमा नेपाली नम्बर प्रयोग गर्ने भएकोले पनि साना हतियारको व्यापार तह लगाउन सकिएको देखिदैन ।
गत बर्ष महोत्तरीको कर्मटोकीमा अत्याधुनकि साना हतियारको कारोबार हुन लागेको अवस्थामा हातिलेटका मंगलसिंह बिश्वकर्मा तथा बिजलपुराको शिवकुमार महतो पक्राउ गरिएको थियो । उनीहरुको साथबाट युएसए निर्मित नौ राउण्ड गोली राख्न मिल्ने नौ एमएम तथा युएसए निर्मित आर्मी ब्राण्डको ७१११ नम्बरको ५.५६ एमएमको पेस्तोल बरामद गरिएको तियो । गत बर्ष यस्ता पेस्तोलको बिक्री दर ५० हजार रुपैयासम्म रहेपनि अहिले अधिकतम एक् लाख रुपैयासम्ममा बिक्री हुने गरेको अबैध साना हतियारका व्यापारीहरु बताउँछन् । पक्राउ परेका बिश्वकर्मा छ बर्षसम्म नेपाली प्रहरीको जवान रहेर काम गर्दै २०३६ सालमा भगौडा बनेका थिए । नेपाल हतियार बिक्रीका लागि पठाउने व्यक्ति भारत सीतामढीका जामुन ठाकुर रहेका थिए । अहिले पनि यस क्षेत्रमा नलकटुवा,पेस्तोलसहितका साना हतियार र गोली भाडामा लगाउने गरिएको स्रोतको दावी छ ।
यस क्षेत्रमा यस्ता हतियारको व्यापारमा मुख्यतया दुई किसिमका व्यक्तिहरु लागेका छन् । पहिलो समूह राजनीतिक पार्टीका रुपमा देखापरेका सशस्त्र समूहका कार्यकर्ता छन् भने अर्को समूह चाहिँ मौकाको लाभ लिन चाहने बिशुद्ध व्यापारीहरु देखा परेका छन् ।
हतियारको अवैध कारोबार गर्नेहरु प्रहरीको फन्दामा पर्न थालेका छन् । यसरी पक्राउ परेकाहरुले चाहिँ राजनीतिक नेताहरुले नै उनीहरुको सुरक्षाको लागि सहयोग मागेका हुनाले आफूहरुले हतियार उपलब्ध गराएको बयान दिई रहेका छन् ।
२०७० कार्तिक १५ गते शनिवार जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका एसटिएफ कमाण्डर अजय मुक्ति भनिने दिपककुमार सिंह धनुषाको तुल्सीयाही जब्दी ७ मा पक्राउ परेपछि यहाँ हतियारको किनबेच भैरहेको रहस्य खुलेको हो । महोत्तरीको बथनाहा निवासी सिंहको साथबाट ९ एमएमको एउटा पेस्तोल २ वटा गोली बरामद भएको थियो ।
(फोटो ४, प्रहरीको कब्जामा रहेका हतियार व्यापारी दिपक सिंह । फोटो—खोपके)
धनुषाका प्रहरी उपरिक्षक उत्तरम राज सुवेदीको समूहले उनलाई पक्राउ गरेको थियो । तर सिंहले भने आफूलाई उम्मेदवारले नै सहयोग गर्न बोलाएको भनेर राजनीतिक दाउपेच लगाउँदै छन् । प्रहरीले भने सिंहलाई धनुषा जिल्लामा भएका ५ वटा हिंसात्मक घटना र महोत्तरीको विभिन्न ठाउँमा भएको बम विष्फोट, चन्दा आतंक जस्ता क्रियाकलापमा संलग्न रहेको भनेर अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७० असोज १ गते राती महोत्तरीको रामनगरबाट एक थान नलकटुवासहित रामनगर ७ का ३० बर्षीय जनक महत्तो पक्राउ परेका थिए भने बैशाख २८ गते महोत्तरी प्रहरीले धनुषा उमाप्रेमपुर ६ का २६ बर्षीय दिपेन्द्र झाका साथबाट तीन वटा गोलीसहित एउटा पेस्तोल र औरही ३ का २० बर्षीय जितेन्द्र सदाबाट एक थान नलकटुवा बरामद गरेको थियो ।
यिनले दिएको बयानमा नेपालमा भित्रिरहेका घरेलु हतियारको मुख्य बजार भारत बिहारको मुंगेर शहरमा रहेको बताएका छन् । पक्राउ परेकाहरुले दिएको जानकारी अनुसार, मुंगेर जिल्लाको अनेकौं स्थानमा साना हतियार बनाउने अवैध कारखानाहरु खुलेका छन् । यहीँबाट उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल तथा बंगलादेशको चुनावमा समेत साना हतियारहरु सप्लाई हुने गरेको छ ।
यसबाहेक सीमावर्ती शहर सितामढीको सुरसण्ड र त्यस वरपरका स्थानमा देशी कट्टा लगायतका हतियारहरु बनाउने गरिएको छ । तर अहिले देशी कट्टा भन्दा पनि साना पेस्तोलको माग बढ्न थालेको हुनाले यहाँबाट पेस्तोलकै सप्लाई हुन थालेको छ ।
(फोटो ५, बिहारबाट नेपाल भित्रिईरहेका नयाँ पेस्तोलहरु, फोटो—खोपके)
अवैध हतियारको व्यापारको अध्ययन गर्ने सिलसिलामा पटना पुगेको बेलामा स्थानीय प्रहरीहरुसंग कुराकानी गर्दा उनीहरुले स्पष्ट भने—मुंगेर र नालान्दा जिल्लामा अवैध हतियारको मुख्य बजार रहेको छ । युएस, युके र ईटालीको ट्याग लागेका साना हतियारहरु बिहारको गया पनि निर्माण हुने गरेको छ । ती हतियारहरुको नेपालमा माग बढिरहेको देखिन्छ । ”
हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत सजाय काटिसकेका स्थानीय एक युवकले भने—‘ सितामढीमा बनेका हतियारहरुको फोटो देखाएपछि मोलमोलाई गरिन्छ, अनि बिचौलिया मार्फत सुरसण्डमा ग्राहक बोलाएर हतियार र रकम लेनदेन गरिन्छ ।’ सुरसण्ड बजार महोत्तरी सदरमुकाम जलेश्वरबाट १० किलोमिटर मात्रै टाढा छ ।
ती युवकका अनुसार तराईका जिल्लाहरुमा ‘कारवाइन’मार्कको हतियार बिक्ने गरेको छ । यसको पार्टपुजा खोलेर सुटकेशमा हालेर ओसारपसार गर्न सजिलो पर्दछ । यो भरपर्दो भएकोले मूल्य पनि सबैभन्दा बढी छ । यो हतियार चाहिँ नेताहरुले मात्र मगाउने गरेका छन् ।
सजाय काटेर अहिले खुल्ला घुमिरहेका ती युवाले भने—तर सानोतिनो अपराध गर्ने आपराधिक समूह र नयाँ युवाहरुको पहिलो रोजाइ चाहँि देशीकट्टा अर्थात् नलकटुवा नै रहेको छ । किनभने एउटा देशी कट्टाको मूल्य भारतीय ३५ सय रुपैयासम्म पर्दछ । तर बिचौलियाहरुले सुरसण्ड ल्याई पुर्याउँदा दोब्बर रकम लिन्छन् । नेपालको महोत्तरी जिल्लासम्म आएर डेलिभरी दिनु परेमा नेपाली २५ हजारसम्म लिने गरेका छन् । यसको व्यापार चाहिँ सदावहार रुपमा चलिरहेको छ ।
तर सीमा क्षेत्रका भारतीय जिल्लामा ८ देखि १० हजार भारतीय रुपैयासम्म पर्ने पेस्तोलको बजार चम्किन थालेको छ । यस्ता हतियारहरु ठाउँ हेरेर नेपाली ३५ देखि ५५ हजारसम्ममा बिक्री भैरहेको कुरा पनि खुल्न आएको छ । तर पेस्तोलहरु चाहिँ नेताहरुको रोजाईमा पर्ने गरेको छ ।
गत संविधानसभाको चुनावमा महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र तिवारी चढेको गाडीबाट पर्सापतैलीमा यस्तै पेस्तोलबाट गोली चलेर एक जनाको मृत्यु भएको थियो । तर त्यो मामिलाको कुनै छानविन गरिएन । यति मात्र होईन, त्यसबेला महोत्तरीकै क्षेत्र नम्बर ४ का उम्मेदवार सुरेन्द्रप्रसाद सिंहको गाडीबाट प्रहरीले नलकटुवा बन्दुक बरामद गरेको थियो । यसको केहीदिन पछि महोत्तरीका क्षेत्र नम्बर ५ का काँग्रेसका उम्मेदवार सीताराम भण्डारीको हत्या गर्ने उद्धेश्यले गोली प्रहार भएको थियो । भण्डारीलाई गोली नलागेको हुनाले अपराधीको खोजी पनि भएन ।
२०७०को बैशाखदेखि असारसम्मको तीन महिनामा महोत्तरीको मनरा गाविसमा गोली प्रहारका दुई घटना भए, जसमा चारजना घाइते भए । यसबेला मधेशी जनअधिकार फोरम नेपालका पार्टी कार्यालय सचिव रामप्रकाश साहमाथि गोली प्रहार गरिएको थियो । यसको लगतै सरपल्लो गाविसका एक युवक बिक्रम सहनी अपहरणमा परे । अपरहरणकारीहरुले उनको हत्या नै गरिदिए । तर कुनै पनि अपराधीहरु फेला परेनन् । यसपछि अपहरणका घटनाहरु झनै बढ्न गए ।
साना हतियारको अबैध कारोवार गर्नेहरुका अनुसार, यस्ता घटनाहरु गराउने काममा स्थानीय नेताहरुकै संलग्नता थियो । २०६४ सालको संविधानसभाको चुनावको बेलामा नेपाली काँग्रेस र मधेशवादी दलहरुले नै सबैभन्दा बढी हतियार खरिद गरेका थिए । तिनलाई जवाफ दिन साना पार्टीहरुले पनि आफ्ना कार्यकर्ताहरुलाई हतियार खरिद गर्ने काममा खटाएका थिए ।
पहिलो संविधानसभाको बेलामा भित्रिएको हतियार पाएपछि स्थानीय युवाहरुले मधेशमा अनेकन सशस्त्र समूह खोलेर काम शुरु गरेका थिए । प्रहरीले दिएको जानकारी अनुसार महोत्तरी जिल्लामा अझै पनि ३०० जति इजाजत प्राप्त हतियार छन् । तर ५० वटा हतियार मात्र सरकारलाई बुझाएका छन् । धेरैको हातमा अवैध हतियार रहेका हुनाले ईजाजत पाएका व्यक्तिहरुले आफ्ना हतियार बुझाउन चाहेनन् । एकीकृत माओवादीका जिल्लास्तरका एक नेताले भने,‘आफ्ना कार्यकर्ताहरुसँग भएको हतियारको विवरण माग गरेका छौ । यस पटक हतियारको प्रयोग सुरक्षाको लागि मात्रै हुनेछ । सुने अनुसार शरदसिंह भण्डारीको मान्छेले हतियार ल्याएको छ ।’ गत संविधानसभाको चुनावमा महोत्तरीको खैरबन्नी नाकाबाट हतियार भित्र्याउन खोज्दा शरदसिंहका दुई जना मान्छेलाई आफूहरुले पक्राउ गरि बुझाएको दावी माओवादीका एक कार्यकर्ताको छ ।
नेपालमा २०६९/७०मा मोरङ्गदेखि कपिलबस्तुका १३ जिल्लामा १०५वटा हातहतियार तथा खरखजानाको मुद्दा चलेको थियो । तर अपराधमा प्रयोग भएका, बिक्री वितरण तथा ओसारपसार गर्दा बरामद भएका अवैध हतियारहरु पुन प्रयोगमा देखिएका छन् । साथै अपराधीहरु सानो तिनो कारवाही भोगेर उम्किई रहेका छन् । धेरैजसो त पुन उही व्यापारमा लागेका छन् ।
अधिवक्ता बिकरु यादव भन्छन्,‘हातहतियार तथा खरखजानाको मुद्दा प्रमुख जिल्ला अधिकारीले सुन्ने र फैसला गर्ने परिपाटी छ । जो समस्याको मूल हो । यस्ता मुद्दामा राजनीतिक दलका नेता, कार्यकर्ताहरु समेत हुने गर्दछन् । जिल्लास्तरीय राजनीतिक दलका नेता र प्रजिअको सम्बन्ध नङ्ग र मासुको हुने भएकोले अपराधीहरु उम्कने गर्दछन् । त्यसैले यस्ता मुद्दाहरु प्रजिअको अधिकार क्षेत्रबाट हटाएर न्यायालयको परिधि भित्र ल्याउन जरुरी छ ।
हालको व्यवस्था अनुसार हतियारको मुद्दामा तीनदेखि सात बर्षसम्म कैद वा ६० हजार देखि १ लाख ४० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकेको छ । साना हतियारको हकमा भने तीन बर्षदेखि पाँच बर्षसम्म सजाय वा ६० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ । तर हतियारका अवैध व्यापारीहरुका लागि यी प्रावधानहरु दालभात सरह भएका छन् ।