Print Friendly, PDF & Email

नगेन्द्र राई/एम.डी. कुलुङ (खोज पत्रकारिता केन्द्र)-

वि.सं. २०६७ जेठ ८ गते इलाका प्रहरी कार्यालय, बाह्रबिसे, सिन्धुपाल्चोकले दुई भारतीय नागरिक, दुई चिनियाँ नागरिक र कार चालक एक नेपालीलाई करीब ४६ किलो सालकको खपटासहित पक्राउ ग¥यो । तीमध्ये २०६८ असोज ३ गते जिल्ला वन कार्यालयको एकल इजालसले चार जनालाई सफाइ दियो भने चिनियाँ नागरिक जुजी याङ्बालाई एक लाख जरिवाना र १५ वर्ष जेल सजाय तोक्यो । जुजी याङ्बालाई केन्द्रीय कारागारमा राखिएको छ ।

[PDF को लागि यहाँ CLICK गर्नुहोला ।]

यी चिनियाँ नागरिक पक्राउ परेपछि नेपालबाट चीनतिर तस्करी हुँदै आएको सालकको छालाका व्यापारीहरू धमाधम पक्राउ पर्न थाले । सिन्धुपाल्चोकमा ८९ किलो, संखुवासभामा ६३ किलोग्राम इलाममा ४ किलो र भक्तपुरको जगातेमा दुई किलो छसय ८५ ग्राम खपटा बरामद गरेको छ । वन विभागका अनुसार मकवानपुर र काठमाडौंमा १÷१ वटा जिउँदो सालक सहित तस्कर पक्राउ परे । यो क्रम अझैं जारी छ ।

सालक नेपालको संरक्षित २७ प्रजातिका स्तनधारी जीवमध्ये एक हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण शिक्षा अधिकृत कमलजङ कुँवर भन्छन्, ‘विश्व वन्यजन्तु संरक्षणको सूचीमा सालक १७० औं स्थानमा रहेको छ ।’
नेपालमा मध्यपहाडी, चुरे तथा भित्री मधेस क्षेत्र यसका लागि उपयुक्त स्थान हो । यो जनावर नेपालको पूर्वदेखि पश्चिमसम्मकै भूभागमा पाइन्छ । चिनियाँ सालक कालो र भारतीय सालक तामाको रङको हुन्छ । नेपालमा भने चिनियाँ नाम दिइएको सालक नै बढी सङ्ख्यामा पाइन्छन् ।

कहाँबाट आउँछ सालक ?
नेपालको पूर्वी भेगमा भारतका विभिन्न क्षेत्रबाट सङ्कलन गरी ल्याइएको सालकको खपटा काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने र संखुवासभाको किमाथान्का नाकाबाट तिब्बत÷चीन प्रवेश हुने गरेको बताइन्छ ।

वन्यजन्तु संरक्षणमा संलग्न संरक्षणविद्हरू भन्छन्, ‘चनितिर तस्करी हुने सालकहरू नेपालकै हुन् ।’ हिमालय प्रकृतिका संरक्षण अधिकृत प्रतिभा कसपाल भन्छिन्, ‘यहाँका सालकहरू बढी मात्रामा काभ्रपलाञ्चोक र मकवानपुर क्षेत्रबाट चीन पुग्ने गरेको छ ।’ कसपालका अनुसार मकवानपुर र काभ्रपलाञ्चोकको बनेपा र बल्थली क्षेत्र तस्करी हुने क्षेत्र हो । धनकुटा, भोजपुर, इलाम, संखुवासभालगायतका जिल्लाबाट पनि सालकको तस्करी हुने गरेको छ ।

कसले गर्छ, सालकको तस्करी?
सालकको खपटा तस्कर गर्ने क्रममा पहिलो पटक पक्राउ परेका र कारवाही परेका व्यक्ति चिनियाँ नागरिक जुजी याङ्बा हुन् । जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकले उनलाई दोषी ठहर गर्दै एक लाख रूपैयाँ जरिवाना र १५ वर्षे जेल सजाय तोकेको छ । २०६८ असोज ३ गते गरेको फैसलाबमोजिम उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा १० ले इजाजत नलिई संरक्षित वनयजन्तुको ओखेटोपहारको व्यवसाय गरेको र सोही ऐनको दफा १९ (१) को कसुर अपराध गरेको अभियोगमा अभियुक्त जुजी याङ्बालाई उक्त कारवाही गरेको हो ।

जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकका नायव सुब्बा वृषबहादुर राना मगर भन्छन्, ‘सालक तस्करहरूलाई कारवाही नगर्न र कम मात्रामा कारवाही गर्न चारैतिरबाट दवाब आउने गर्छ,।’ चिनियाँ नागरिक जुजी याङ्बालाई कारवाही गर्ने क्रममा जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकका तत्कालीन जिल्ला वन अधिकृत मुरारीप्रसाद पोखरेललाई तत्कालीन वनमन्त्री दीपक बोहरा, वनसचिव युवराज भुसाल, तत्कालीन प्रधानमन्त्रीका सचिव लिलामणि पौडेल, सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यय र जिल्ला प्रहरी कार्यालयले समेत आवश्यक कारवाहीका लागि असहयोग गर्दै कारबाही नगर्न दवाब दिएका थिए । यसमा नेपालस्थित चिनियाँ राजदूतावासले पनि याङ्बालाई छोड्न दबाव दिएको थियो । सिन्धुपाल्चोकका तत्कालीन जिल्ला वन अधिकृत पोखरेल भन्छन्, जुजी याङ्बालाई कारवाही नगर्नका लागि तत्कालीन वन सचिवको समन्वयमा दरवारमार्गस्थित याक एण्ड यती होटलमा रात्रीभोजको आयोजना गरिएको थियो ।’ उनी भन्छन्, ‘रात्रीभोजमा गएको निहुँमा तत्कालीन प्रधानमन्त्रीका सचिव पौडेलले घुस खोजेको आरोप लगाएका थिए ।’

जुजी याङ्बाको साथमा बरामद भएको खपटा २०६८ साउनमा वन कार्यालयकै स्टोरबाट चोरी भयो । लोडसेडिङको समय पारी झ्याल फोडेर चोरी भएको सूचना पाएको बताउँदै तत्कालीन वन अधिकृत पोखरेल भन्छन्, ‘तर फोडिएको झ्यालमा १२ वर्षदेखि दराज राखिएको थियो ।’ उनी भन्छन्, ‘हराएको सामानको मुचुल्का उठाउन समयमा प्रहरी पनि पुगेन ।’ चोरीको समयमा पोखरेल चार दिने कार्यशाला गोष्ठीमा हेटौडामा थिए । हराएको खपटा चोरी भएकै हो भनेर सदर गरियो, जिम्मा दिएको मान्छेलाई सामान्य विभागीय कारवाही बाहेक केही भएन । उनी भन्छन्, ‘दिउँसै सरकारी गाडीमा त्यो सामान लगिएको कुरा स्थानीयवासीले अनौपचारिकरूपमा सुनाएका थिए ।’

यस काण्डपछि पोखरेललाई क्षेत्रीय वन कार्यालय, सुर्खेतमा सरुवा गरियो । ‘यो सरुवालाई मैले कारबाहीको रूपमा लिएको छु,’ पोखरेल भन्छन् ।

तस्करीका वस्तुहरू एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनका लागि दोस्रो व्यक्ति प्रयोग गर्ने गरेको पाइएको छ । सालकको खपटासहित पक्राउ परेकाहरू आफू भरिया मात्र भएको जिल्ला वन कार्यालयलाई बताउने गरेका छन् । २०६८ असार २४ गते संखुवासभाको खाँदबारीमा पक्राउ परेका हटिया–२ का लाक्पादोर्जे भोटे र सोही वर्षको साउन २५ गते खाँदबारीमै पक्राउ परेका चेपुवा–१ का साम्बेन भोटे दुवैले आफूलाई भरिया मात्र भएको बयान जिल्ला वन कार्यालयलाई दिएका छन् । यसको अर्को उदाहरण हो, धरानस्थित एक बिस्कुट उद्योगका मजदुर चिसापानी–१, खोटाङका रूपककुमार खड्का सात किलोग्राम सालकको खपटासहित हटिया–६, संखुवासभामा मकालु–बरुण राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले २०६८ जेठ २२ गते पक्राउ गरेका थिए । त्यसैगरी जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकका नायब सुब्बा वृषबहादुर राना मगरका अनुसार सालककै खपटासहित पक्राउ परेका र हाल पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय, चौतारामा रहेका दिनेश रोका र ङासान्बु शेर्पाले पनि आपूm भरिया मात्र भएको बयान दिएका छन् ।

२०६९ जेठ र भदौमा गरी ७८ किलोग्राम सालकको खपटा संखुवासभाको खाँदबारी हुँदै किमाथान्का नाकाबाट तिब्बत निकासी भएको थियो । यसका लागि हिलेबाट संखुवासभाको सभाखोलासम्म र त्यहाँबाट नुमसम्म दुईवटा ट्रयाक्टर प्रयोग भएका थिए ।

पूर्वी भेगबाट चीनतिर लैजाने खपटाहरू प्रथमतः हिले बजारमा र दोस्रोमा खाँदबारीमा सङ्कलन हुन्छ । गएको साउन ३१ गते मोटरसाइकलको प्रयोग गरी धरानबाट सात किलोग्राम खपटा हिले पु¥याइएको थियो । त्यसैगरी धनकुटाकै खोकु, डाँडागाउँ, बेलहारा र धनकुटा नगरपालिकाबाटै विभिन्न समयमा सङ्कलन गरी हिलेका स्थानीय व्यापारीलाई बुझाएका थिए । भदौ १७ गते भोजपुरको टक्सार गाउँ विकास समितिमा सङ्कलन भएको १३ किलो खपटा खाँदबारी पु¥याएको थियो । प्राप्त सूचनाअनुसार गएको कार्तिक महिनाको तेस्रो हप्तासम्ममा हिलेमा एक सय किलोग्राम खपटा सङ्कलन भइसकेको थियो । सो सामान निकासीका लागि हिलेबजारस्थित टुरिज्म होटलमा कार्तिक १९ गते दिउँसो १ बजे दुईवटा कोठा भाडामा लिई छलफल भएको थियो ।

तस्करका लागि सिन्धुपाल्चोकको तातोपानी–कोदारी नाका चल्दै आएकोमा हाल संखुवासभाको किमाथान्का नाका प्रयोग गर्न थालिएको छ । मकालु–बरुण राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख निलाम्बर मिश्रका अनुसार हिलेबाट लेगुवा हुँदै खाँदबारी जाने र नुम पुगी किमाथान्काको नाका भएर चीनतिर सालकको खपटा तस्करी हुन्छ । हिमाली क्षेत्रका सबै ठाउँका सुरक्षा निकायको उपस्थिति नहुनु र भएपनि एकदम पातलो हुनु तथा वन कार्यालयको उपस्थिति नहुनुको फाइदा तस्करहरूले उठाउँदै आएका छन्, पूर्व प्रमख मिश्र भन्छन् ।

सालकको तस्करी रोक्न वन विभागको प्राथमिकतामा नपरेको स्वीकार गर्दै वन विभागको महानिर्देशक ब्रजकिशोर यादव भन्छन्, ‘जति मात्रामा सालकका खपटाहरू पक्राउ परेका छन्, ती सबै सुरक्षा निकायकै सक्रियातामा मात्र सम्भव भएको हो ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण शिक्षा अधिकृत कमलजङ्ग कुँवर भन्छन्, ‘समातिएपछि समातिनेहरू सामान्य दलाल मात्रै हो भन्ने लाग्छ ।’ उनीहरू सङ्गठित अपराधको सदस्य हुन् । जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकका नायब सुब्बा राना मगर पनि सङ्गठित रूपमा नै तस्करी भइरहेको बताउँछन् । उनी भन्छन्, ‘चीनतर्फ रक्तचन्दनलगायतका अवैध वस्तुहरूको तस्करी गर्ने र सालकको तस्करी गर्ने गिरोह एकै हुन् ।’

किन हुन्छ तस्करी ?
सन् २००७ मा ख्वप कलेज, भक्तपुरका स्नातकोत्तर तहको शोधको क्रममा वीर अस्पतालको अगाडिको एक जडिबुटी पसलमा एक खपटा ५० रूपैयाँमा बिक्री हुने गरेको तथ्य शोधकर्ता प्रतिभा कसपालले फेला पारेकी थिइन् । त्यतिखेर उनको मूल ग्राहक तिब्बतीहरू नै थिए । तर गाउँघरतिर भने त्यतिबेला नै एउटा सालक एक लाख रूपैयाँसम्म खरिद बिक्री हुने जानकारी पाएकी थिइन् । तत्कालीन जिल्ला वन कार्यालयका, अधिकृत मुरारीप्रसाद पोखरेलले भने, ‘जुजी याङ्बाको साथमा बरामद भएको र पछि कार्यालयको भण्डारबाट चोरी भएको सालकको खपटा प्रतिकिलो ९० हजार रूपैयाँमा बिक्री भएको अपुष्ट सूचना पाएको थिए ।’ तर नेपालको पूर्वी भेगमा भने स्थानीय सङ्कलनकर्ताहरूले मार्ने व्यक्तिबाट प्रतिसालक १० हजारदेखि १५ हजार रूपैयाँसम्म खरिद गर्छन् भने उनीहरूले २० हजार रूपैयाँसम्ममा अन्यलाई बिक्री गर्छन् । स्रोतका अनुसार तिब्बतीहरूको हातमा भने प्रतिसालक ३५ हजार रूपैयाँसम्ममा बिक्री हुन्छ ।

मकालु–बरुण राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख मिश्रको कथन छ, ‘वर्षभरिमा ३०० देखि ४०० किलोग्रामसम्म सालकको तिब्बत/चीनतर्फ तस्करी हुन्छ ।

के का लागि सालक उपयोगी ?
विज्ञहरूले सालकलाई ‘मेडिसिन डक्टर’ को रूपमा चित्रण गरेको बताउँदै सालककै विषयमा स्नातकोत्तर तहको शोध गरेकी संरक्षण अधिकृत कसपाल भन्छिन्, ‘खासगरी आदिवासी जनजाति समाजमा यसको प्रयोग युगौंदेखि हुँदै आएको पाइन्छ ।’ रैथाने ज्ञानका आधारमा आयुर्वेदिक प्रयोग, ज्योतिषीय तथा धामी–झाँक्री क्षेत्रमा नजरदोष निवारणका लागि प्रचलनमा रहेका छन् ।

सालकको सबै अङ्गहरू उपयोगी हुन्छन्, संरक्षण अधिकृत कसपाल भन्छिन् । नेपालका ग्रामीण क्षेत्रमा यसको प्रयोग पुरानो नै हो र वैद्यीय औषधिको रूपमा यसको प्रयोग हुँदै आएको पाइन्छ । सालकको मासु प्रोटिनयुक्त हुन्छ । गर्भवती महिलाले यसको मासु खाएमा गर्भपतन हुँदैन भन्ने ग्रामीण सामाजिक मान्यता रहेको बताउँदै अधिकृत कसपाल भन्छिन्, ‘गर्भवती महिलाका लागि पोथी सालकको गर्भेलो अत्युक्तम हुने सामाजिक धारणा छ ।’ यसका साथै दम तथा स्वास–प्रश्वासको समस्या, हाँड–जोर्नी दुख्ने, बाथरोग तथा अल्काइको समस्यामा पनि यो उपयागी हुन्छ । उनका अनुसार शोधको क्रममा ८० प्रतिशत उत्तरदाताले दमको समस्यामा सालक बढी मात्रामा उपयोगी हुने र प्रयागे हुने जवाफ दिएका थिए ।

चीनमा यसको प्रयोग आयुर्वेदिक औषधिको रूपमा हुन्छ । पाङ्गोलियन बचाऊ अभियानले जनाएअनुसार सालकको खपटाको धुलोलाई यौनउत्तेजक औषधि बनाउन, महिलाको महिनावारी बिग्रिएमा नियमित बनाउन, सुरक्षितरूपमा बच्चा जन्माउन साथै महिलाको यौनेच्छा जागृत गराउन पनि यसको प्रयोग हुने गरेको छ । यसैगरी मानसिक असन्तुलनका बिरामी र पेटका रोगीहरू विशेषगरी अल्सरका बिरामीका लागि औषधिका यसको प्रयोग हुने गरेको उक्त अभियानले जनाएको छ । विश्वमा चीन र भियतनाम सालक बढी खपत हुने देशहरू हुन् ।

 मुरारीप्रसाद पोखरेल, तत्कालीन जिल्ला वन अधिकृत, जिल्ला वन कार्यालय, सिन्धुपाल्चोक
२०६७ जेठ ८ गते इलाका प्रहरी कार्यालय, बाह्रबिसेले तातोपानीतर्फ गइरहेको एउटा निजी कारको खानतलासी गर्दा सालकको खपटासहित दुई भारतीय नागरिक, दुई चिनियाँ नागरिक र नेपाली चालक पक्राउ परे । चिनियाँ नागरिक जुजी याङ्बाहेक अरूको संलग्नता देखिएन र उनीहरू रिहा भए । तर जुजी याङ्बाको हकमा भने नेपालस्थित चिनियाँ राजदूतावासका प्रथम सचिवले सिधै सम्पर्क गरी अबिलम्ब छुटाउन दबाब दिएका थिए ।

प्रथमतः मुद्दा दर्ता गर्न नै नदिने वातावरण सिर्जना गर्न खोजिएको थियो । मुद्दा दायर भएकै दिन मुद्दा मिलाउनका लागि ठूलो दवाब आएको थियो । यसलाई थुन्ने कम नगरौं भनेर सात लाखबाट शुरू भएको ‘अफर’ २५ लाख रूपैयाँ पुगेको थियो ।

अभियुक्त चिनियाँ नागरिकले प्रयोग गर्ने मोबाइलको सीमकार्ड अष्ट्रेलियन नागरिकको नाममा दर्ता भएको जानकारी पाको थिएँ । तर, तहकिकातको सन्दर्भमा यस काण्डसँग सम्बन्धित भएर प्रयोग भएका मोबाइल सीमकार्ड र टेलिफोनको पूर्ण विबरण पाउन जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले सहयोगै गरेन र सम्बन्धित सेवा प्रदायक संस्थाले पनि दिएन । जिल्ला प्रशासन कार्यालयले समेत यस काममा सहयोग गरेन बरु असहयोगको काम भने प्रशस्त ग¥यो । नेपाल टेलिकमको रिमकार्डबाट कुरा मिलाउँ भनेर ‘कार्की’ नाम गरेका व्यक्ति बारम्बार सम्पर्क ग¥यो, त्यसको पनि सीमकार्ड र कल डिटेल पाउन सकिएन । सामान्य प्रकृतिको घटनामा सजिलै पाइने सीमकार्ड विवरण र कल डिटेल यसता गम्भीर प्रकृतिको अपराधमा पाउन नसक्नुको पछाडि अवश्य पनि गम्भीर रहस्य छ ।

त्यसै समयमा एक जना नेपाली र एकजना चिनियाँ नागरिक समातिए, सुनाखरी र सामुद्री घोडाका साथमा । पुर्पक्षका लागि तिनीहरूलाई थुन्नुपर्ने भयो तर जिल्ला प्रशासन कार्यालयले सहयोग गरेन र जिल्ला प्रहरी कार्यालयले थुनामा राख्न मानेन । रातको साढे नौ बजे थुन्न सक्दिन भनेर जिल्ला प्रहरी कार्यालयले जिल्ला वन कार्यालयलाई लिखित पत्र नै दियो । त्यसपछि कार्यालयकै दुई जना पालेको भरमा जिल्ला वन कार्यालयमा नै राखें र कारवाही चलाएँ ।

तत्कालीन वन मन्त्रीले त्यस कामको उच्च मूल्याङ्कन गर्ने भनेर उक्त मुद्दा मिलाइदिन दवाब दिएका थिए । दुई देशको सम्बन्धमा असर पर्दछ भन्ने तर्क गरेर ती चिनियाँ अभियुक्तलाई मुक्त गर्न दवाब दिएका थिए । मुद्दा दायर भएको करिब चार महिनापछि अन्तर्राष्ट्रिय सम्बन्धको नाममा होटल याक एण्ड यतीमा रात्रीभोजको आयोजना गरिएको थियो । यस बीचमा छोराका लागि चीनमा छात्रवृत्तिको प्रस्ताव पनि आएको थियो ।

उक्त रात्रीभोज तत्कालीन वन सचिव युवराज भुसालमार्फत बोलाइएको थियो । ‘ल है, पोखरेल जी, आफैं आएको अवसर चिन्नोस्, विचार गर्नोस्,’ बारम्बार भनिरहेकै थिए । उक्त भोजमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, वकिलका साथै चिनियाँ दूतावासका प्रथम र द्वितीय श्रेणीका सचिवहरू उपस्थित थिए । भा्ेज भव्य नै थियो । अन्तिममा चीनको तर्फबाट केही उपहार दिन चाहन्छु भन्दै दुई बण्डल सामान मेरा सामु ल्याए । त्यसको आकृति हेर्दा त्यसमा पैसा नै हुनुपर्छ तर कति थियो, थाहा भएन । यस बेला मेरो छोरो पनि साथमै थिए ।

सिन्धुपाल्चोकमै हुँदा पनि सरकारी वकिलमार्फत मलाई काठमाडौं बोलाएका थिए, वन सचिवले । मलाई सिधै सम्पर्क नगरी अरुमार्फत खबर पठाएकोले म सचिवलाई भेट्न काठमाडौं गइनँ । त्यतिखेर मेरो व्यक्तिगत र कार्यालयको गरी दुईवटा मोबाइल र कार्यालयमै पनि टेलिफोन थियो । वन सचिवलाई नभेटेको निहुँमा प्रम कार्यालयका सचिवले पनि आफ्ना सचिवलाई पनि नटेर्ने? भन्दै हप्काएका थिए ।

भोज खाएको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका सचिव लिलामणि पौडेलले रात्रीभोजमा गएको विषयलाई लिएर टेलिफोनमा हप्काए । सचिवले मलाई वेरीतसँग चाइनिजलाई थुनेका छौं, तिम्रो पैसा खाने दाउ हो भनेर उल्टै आरोप लगाए । अनि सचिवले अह्राएको काम पनि नटेर्ने भनेर हप्काए ।

(१ फागुन २०६९ को अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित)