बारबर्दिया नगरपालिकाको अग्रसरतामा नगरभित्रका १७ विद्यालयका कक्षा ९ र १० का छात्रछात्रालाई सिकलसेल एनिमिया र थालेसिया पढाउन थालिएको छ ।
कृष्ण अधिकारीः खोज पत्रकारिता केन्द्रको लागि
१६ वैशाख २०७६ को एक दिन बर्दियाको पाञ्चजन्य माध्यमिक विद्यालय, बारबर्दियाको कक्षा ९ को सेक्सन ‘ए’ मा एउटा नौलो विषयको कक्षा चलिरहेको थियो । सामाजिक विषयका शिक्षक तोयानाथ सापकोटा विद्यार्थीलाई ‘सिकलसेल एनिमिया’ पढाउँदै थिए । कक्षामा उनले सिकलसेल एनिमिया उच्चारण गर्दा थारू समुदायका छात्रछात्राले अरू दिन भन्दा ध्यान दिएर सुने ।
सिकलसेल एनिमियाले थारू समुदायलाई प्रभावित बनाएकोले त्यसबारे शिक्षकले कक्षामा पढाउन थालेपछि छात्रछात्राको ध्यान तानिएको हो । सिकलसेलका बारेमा गाउँघरमा धेरै चर्चा हुने गरेको सुनेका थिए कक्षा ९ का विद्यार्थीले । कक्षा ९ का छात्र सरोज थारू भन्छन्, “पहिलो पटक कक्षामै सिकलसेलका बारेमा जान्न पाउँदा खुशी लाग्यो ।”
कक्षामा छात्रछात्राको मुख्य चासो सिकलसेल लाग्ने कारण, लागेको थाहा पाउने उपाय, सिकलसेल भएपछि देखिने लक्षण, उपचार विधि आदि बारे थियो । स्कूलमै सिकलसेलका बारेमा बुझने अवसर पाएपछि छात्रछात्राले त्यसबारेमा आफ्नो परिवार तथा समुदायमा पनि छलफल गर्न थालेका छन् । सरोज थप्छन्, “अचेल सिकलसेल बारे गाउँघरका मान्छेहरूले पनि धेरै थाहा पाइसकेका छन् । स्कूलमा हामीले जानेको कुरो गाउँघरमा पनि फैलिन थालेको छ ।”
विद्यालयमा सिकलसेलको पठनपाठन शुरू भएपछि विद्यार्थीलाई यसबाट बच्ने उपाय सिकाउन, सिकलसेल बारेका भ्रम हटाउन र समाजमा चेतना फैलाउन सहयोग पुगेको पाञ्चजन्य माविका प्रधानाध्यापक गोविन्द ढकाल बताउँछन् । उनको कथन छ, “प्रयोगात्मक विधि अन्तर्गत छात्रछात्रालाई अस्पतालमा लगेर बिरामी देखाउने तथा छलफल गर्ने, रोगको असर बारे बुझाउने गरिएको छ ।”
त्यसैगरी सिकलसेलले असर पारेको रक्तकोषको चित्र निर्माण गरी छात्रछात्रालाई कक्षाकोठामा प्रस्तुत गर्न लगाउने गरिएको छ । यसबारे प्रश्नोत्तर, समस्या समाधान, प्रदर्शन, अवलोकन, छलफल, परियोजना, खोज तथा स्थलगत भ्रमण विधिबाट सिक्ने सिकाउने गरिएको प्रधानाध्यापक ढकालको भनाइ छ ।
विद्यालय र समुदायमा पनि सिकलसेल बारेमा चेतना बढेको परिणाम हुनुपर्छः थारू समुदायमा अचेल विवाह गर्नुअघि केटाकेटीलाई सिकलसेल भए/नभएको यकिन गर्न थालिएको छ । कक्षा ९ की छात्रा आशा थारू भन्छिन्, “बिहेबारीको कुरा चल्दा सिकलसेलका बारेमा सोधखोज हुन थालेको छ ।”
बारबर्दिया नगरपालिकाभित्रका विद्यालयमा सिकलसेलको पठनपाठनको तारतम्य भने नगरपालिकाले मिलाएको हो । नगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयमा सिकलसेलका बारेमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा ९ को सामाजिक विषयमा सिकलसेल सम्बन्धी स्थानीय पाठ्यक्रम समावेश गरिएको छ । २३ भदौ २०७५ देखि यो पाठ्यक्रम लागू भएको हो । यो शैक्षिक सत्रमा त्यसलाई कक्षा १० मा पनि विस्तार गर्ने योजना नगरपालिकाको छ ।
सम्भवतः देशमै पहिलो पटक सरकारी विद्यालयमा सिकलसेलको पठनपाठन शुरू गर्ने पहिलो नगरपालिका बारबर्दिया भएको छ । विद्यालयको यो प्रयासबाट थारू समुदायमा मात्र नभएर त्यो नगरपालिकाका अरू जाति र समुदायमा पनि सिकलसेलबारे जागरण बढाउने विश्वास गरिएको छ । बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारू भन्छन्, “थारू समुदायमा सिकलसेल बढी देखियो, हाम्रो नगरपालिका थारू बहुल भएकोले सिकलसेलबाट थारू समुदायलाई जोगाउन र जनचेतना अभिवृद्धि गर्न स्थानीय पाठ्यक्रम नै तयार पारेर पठनपाठन शुरू गरेका हौं ।”
नगरपालिकाले आफ्नो क्षेत्रका सरकारी विद्यालयमा सिकलसेलको पठनपाठन मात्र शुरू गरेको छैन, समग्र शिक्षाको गुणस्तर सुधार्न चालु आर्थिक वर्षमा रु.४ करोड १५ लाख ७२ हजार (३२ प्रतिशत भन्दा बढी) शिक्षा क्षेत्रका लागि विनियोजन गरेको छ । जबकि शिक्षामा संघीय बजेट १० प्रतिशत पनि पुग्नसकेको छैन ।
सिकलसेल सम्बन्धी कक्षा ९ को स्थानीय पाठ्यक्रम तयार पार्ने काम चाहिं भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले गरेका हुन् । पाठ्यक्रम तयार भएपछि पाण्डेले नै बारबर्दिया नगरपालिकाभित्रका माध्यमिक तहका सामाजिक शिक्षकहरूलाई तालिम दिएका थिए । तालिम लिएपछि सामाजिक शिक्षकले सिकलसेल पढाउन थालेका हुन् । आगामी शैक्षिक सत्रबाट कक्षा १० मा पनि लागू हुने सिकलसेल एनिमियाको स्थानीय पाठ्यक्रम चाहिं डा. पाण्डे, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकी एशोसिएट प्रोफेसर डा. प्रज्ञा गौतम र बाल रोग विशेषज्ञ डा. रोमा बोहराले मिलेर तयार पारेका हुन् ।
बारबर्दिया नगरपालिकाभित्रका १४ वटा सरकारी र ३ वटा निजी गरी १७ वटा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा २५ पूर्णांकको सिकलसेल सम्बन्धी पाठ्यक्रम लागू गरिएको हो । प्रति महीना दुई घन्टीका दरले एक शैक्षिक सत्रमा कम्तीमा १८ घण्टी पठनपाठन हुने व्यवस्था मिलाइएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकाराम गोसाइ बताउँछन् । गोसाइ भन्छन्, “यसले छात्रछात्रालाई मात्र होइन, समुदायलाई नै ठूलो लाभ पुग्ने छ ।” नगरभित्रका कक्षा ९ र १० का करीब ३ हजार ६०० भन्दा बढी छात्रछात्रा त यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुन्छन् । पाठ्यक्रममा सिकलसेल एनिमियाको बारेमा जानकारी, पहिचान, लक्षण, संक्रमणबाट बच्न अपनाउनुपर्ने उपाय पनि सुझाइएको छ ।
२०६८ सालको जनगणना अनुसार बारबर्दिया नगरपालिकाको जनसंख्या ६८ हजार १४४ छ । त्यसमा करीब ७२ प्रतिशत थारू छन् । उनीहरूमध्ये करीब १० प्रतिशत भन्दा बढीमा सिकलसेल एनिमिया देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । परिषद्ले चालु आर्थिक वर्षमा त्यो नगरपालिकाको थारू जनसंख्याको रगत संकलन गरी सिकलसेल एनिमिया र थालेसियाको परीक्षण गरेको थियो । परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार बारबर्दिया नगरपालिकाका करीब २० हजार थारूको रगत संकलन गरेर वीर अस्पतालमा सिकलसेल एनिमिया परीक्षण जारी छ । त्यसको अन्तिम नतिजा असार पहिलो सातासम्ममा तयार हुनेछ ।
के हो सिकलसेल ?
सिकलसेल भए नभएको थाहा पाउन रगतको होमोग्लोबिन इलेक्ट्रोफोसिस परीक्षण गर्नुुपर्छ । विवाह गर्दा किशोरकिशोरीहरूले सजकता अपनाउने हो भने नवजात शिशुुमा सिकलसेलको संक्रमण शून्यमा झार्न सकिने कन्सल्टेन्ट फिजिसियन पाण्डे बताउँछन् । उनको कथन छ, “विवाह गर्दा ध्यान पु¥याउने भने यो रोगबाट नयाँ पुस्तालाई मुक्त राख्न सकिन्छ । विद्यालयमै रोग बारे पठनपाठन भएपछि किशोरकिशोरहरू विवाह गर्दा सचेत होलान् भन्ने आशा पलाएको छ ।”
विवाह गरेका दम्पतीमै सिकलसेल छ भने तिनका सन्तानमा पनि जन्मँदै यो देखा पर्न सक्छ । त्यस्ता दम्पतीलाई सामान्यतया चिकित्सकहरूले सन्तान नजन्माउने सल्लाह दिने गरेका छन् । कतिसम्म भने गर्भमा रहेको बच्चामा सिकलसेल भए/नभएको पनि परीक्षण गर्ने सुविधा उपलब्ध छ । परीक्षणबाट सिकलसेल भएको पाइएमा गर्भपतन गराउनु उपयुक्त हुने डा. पाण्डे बताउँछन् । विद्यालयमा लागू गरिएको सिकलसेलको पाठ्यक्रममा यी लगायतका महत्वपूर्ण जानकारी समावेश छ ।
सिकलसेल एनिमिया पश्चिमका थारू समुदायमा कतिसम्म भयावह छ भने एउटै परिवारका सात जनासम्ममा यसको संक्रमण देखिएको छ । अहिलेसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायमा यो देखिएको छ । सिकलसेल भएकाहरूमा रगत कम हुने, जन्डिस देखा पर्ने, शरीरका जोर्नी दुख्ने, सुन्निने, शरीर दुख्ने, दुब्लाउने, हल्का ज्वरो आउने लगायतका लक्षण देखिन्छ । बारबर्दिया नगरपालिकामा लागू गरिएको यस सम्बन्धी पाठ्यक्रम थारू बहुल अरू स्थानीय तहमा पनि लागू गर्दा त्यसले समुदायमा ठूलो लाभ पुग्ने बताउँछन् मेयर दुर्गाबहादुर थारू । उनी भन्छन्, “थारू बहुल सबै विद्यालयमा सिकलसेलबारे पढाउन जरूरी छ ।”
सिकलसेल एनिमियाका बिरामीहरूलाई सरकारले २०७२ भदौदेखि नेपालगञ्जको भेरी अस्पतालबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउँदै आएको छ । भेरी अस्पतालमा मात्रै करीब दुई हजार सिकलसेल एनिमियाका बिरामीहरू पहिचान गरिएका छन् ।
शरीरमा रहेका राता रक्तकोषमा हेमोग्लोविन हुन्छ । हेमोग्लोविनले कोषिकाहरूमा अक्सिजन तथा आवश्यक पोषकतत्व पु¥याउने काम गर्छन् । तर, सिकलसेल भएपछि यो प्रक्रियामा नकारात्मक असर गर्छ र शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्छ । तर, विद्यालयमा सिकलसेल पठनपाठन, समुदायमा सचेतनामूलक कार्यक्रम र थारू समुदायको रगतको नमूना संकलन शुरू भएपछि सिकलसेल बारे समुदायमा व्यापक जागरुकता बढेको छ ।
भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा उपचार तथा परामर्शका लागि आउने बिरामी बढेका छन् । अचेल त्यो अस्पतालमा हरेक साता सिकलसेलका दुई जना नयाँ बिरामी भेटिने गरेका छन् । अस्पतालमा आउनेमध्ये करीब ४० प्रतिशत अविवाहित किशोरकिशोरी छन् । त्यसरी अस्पताल आउने किशोरकिशोरीले चिकित्सकसँग रोगका साथै विवाह गर्दा अपनाउनुपर्ने सजगताका बारेमा समेत परामर्श लिन थालेका छन् । डा. पाण्डे भन्छन्, “अस्पताल आउने अविवाहितहरूमा सिकलसेल बारे जिज्ञासा बढ्दो छ । यो सकारात्मक पक्ष हो ।”