Print Friendly, PDF & Email

सुर्खेत र अछामका स्थानीय सरकारहरूले नक्कली र त्रुटिपूर्ण भिलेज प्रोफाइल (वस्तुगत विवरण) मा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेका छन् । नक्कली विवरण उत्पादन र प्रयोग गर्न कसैलाई असजिलो लागेको छैन ।

लक्ष्मी भण्डारी: खोज पत्रकारिता केन्द्र

दैलेखको डुंगेश्वर गाउँपालिकाको ‘गाउँपालिका वस्तुगत विवरण’ मा लेखिएको छ– ‘दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिकाको भेरीगंगासँग, पश्चिममा झुप्रा खोलाले वीरेन्द्रनगर गाउँपालिकासँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग छोएको छ ।’

डुंगेश्वर गाउँपालिकाले प्रकाशन गरेको वस्तुगत विवरण–२०७४ (भिलेज प्रोफाइल) को भौगोलिक स्वरुप’ खण्डमा लेखिएका यी ठाउँ डुंगेश्वर गाउँपालिका वरिपरि छैनन् । यी सुर्खेतको लेकबेसी नगरपालिका वरिपरिका ठाउँ हुन् । ११० पृष्ठको डुंगेश्वरको वस्तुगत विवरणमा उल्लिखित भौगोलिक स्वरुप बुझाउन लेखिएका विवरण धेरै लेकबेसी गाउँपालिकासँग मिल्छन् । त्यसमा लेखिएका स्वास्थ्य, शिक्षा लगायत अधिकांश तथ्यांक र विवरणहरू पनि डुंगेश्वर गाउँपालिकासँग मिल्दैनन् ।

गल्तीको भकारी

सुर्खेतको सिम्ता गाउँपालिकाको भवन

विभिन्न ठाउँमा प्रोफाइल, पाश्र्वचित्र र गाउँपालिकाको वस्तुगत विवरण भनिएको उक्त पुस्तिकामा प्रयोग भएको शब्द ‘पाश्र्वचित्र’ लाई नेपाली बृहत् शब्दकोशले ‘ना. धरातलीय स्वरुप देखाउने चित्र (ल्याण्डस्केप)’ भनेको छ । तर यी ‘प्रोफाइल’ वा ‘गाउँपालिका वस्तुगत विवरण’ हरूले त्यो गाउँ वा नगरपालिकाको ‘पाश्र्वचित्र’ देखाउँदैन ।

यस्तो कसरी भयो ? एक ठाउँको विवरणमा केही थपघट गरेर अर्को ठाउँको विवरण तयार गर्ने ठग प्रवृत्तिले यो अवस्था आएको हो । जस्तो कि सुर्खेतको ‘लेकबेसी नगरपालिका’को वस्तुगत विवरणको कम्प्युटर कपीमा शीर्षक मात्र ‘डुंगेश्वर गाउँपालिका’ बनाएर तयार गरिएको देखिन्छ ।

अर्को ठाउँको तथ्यांकसहितको विवरण जस्ताको तस्तै सारेका कारण अधिकांश तथ्यांक फरक पर्न गएका छन् । लेकबेसी नगरपालिकाको वस्तुगत विवरण भनिएको पुस्तिकामा यतिसम्म गल्ती छ कि–कर्णाली प्रदेशको राजधानी आफ्नो छिमेकी वीरेन्द्रनगर नगरपालिका तथा भेरीगंगा र गुर्भाकोट नगरपालिकालाई गाउँपालिका भनेर लेखिएको छ । 

डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल पुस्तिकामा संकलित अधिकांश विवरण त्रुटिपूर्ण भएको बताउँछन् । तर मल्लले प्रोफाइल बनाउँदा नभई छपाइ क्रममा विवरण यताउता भएको दाबी गरे । “हामीले तत्कालै प्रोफाइलका लागि विवरण संकलन गरेर सच्याएका छौैं” उनले भने, “सामान्य कुरामा ध्यान नदिंदा हाम्रो कमजोरी देखिएको छ ।”

प्रोफाइल निर्माणका लागि वडाध्यक्ष राजुकुमार खत्रीको संयोजकत्वमा अर्का वडाध्यक्ष बमबहादुर बीसी र कार्यपालिका सदस्य शान्ति वली सदस्य रहेको समिति गठन गरिएको थियो । समिति अहिले यो गल्ती ढाकछोप गर्न खोजिरहेको छ ।

गाउँपालिकाका कार्यपालिका सदस्य एवं प्रोफाइल निर्माण समितिका सदस्य बमबहादुर बीसीले प्रिन्ट गर्दा भएको गल्तीले प्रोफाइलको विवरण फरक परेको बताए । उनले भने, “हामीले निर्माण गरेको विवरण भन्दा प्रिन्ट गर्दा फरक परेछ ।”

वस्तुगत विवरण प्रकाशन समितिका संयोजक खत्रीको भनाइ पनि त्यस्तै छ । “वस्तुगत विवरणमा केही विवरण सुर्खेतको लेकबेसी नगरपालिकाको कपी भएको रहेछ” खत्रीले भने, “अहिले हामीले सच्याएर गाउँपालिकाको वेबसाइटमा राखेका छौं ।”

प्रोफाइल कपी पेस्ट गर्ने काममा खत्री र उनी नेतृत्वको समिति जिम्मेवार छ । उनले गाउँपालिकाको वेबसाइटमा विवरण सच्याएर राखिएको बताए पनि त्यहाँ गलत विवरण सच्याइएको छैन । लेकबेसी नगरपालिकाको वस्तुगत विवरणलाई तोडमोड गरेर बनाउँदा डुंगेश्वर गाउँपालिकाको तथ्यांक उल्लेख हुन गएको हो ।

यसमा कार्यकारी अधिकृत र वस्तुगत विवरण संकलन समितिको लापरबाही स्पष्ट देखिन्छ । गल्ती कतिसम्म छ भने गाउँपालिकाको कृतज्ञता ज्ञापन र अध्यक्ष, उपाध्यक्षको शुभकामनामा समेत दैलेख जिल्ला लेख्नुपर्नेमा सुर्खेत जिल्ला लेखिएको छ । वस्तुगत विवरण÷प्रोफाइलका लागि गाउँपालिकाले रु.५ लाख खर्च गरेको छ ।

अछाममा पनि उस्तै

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको मल्लेख गाउँपालिकामा पनि यस्तो गरेको भेटिएको छ । गत वर्ष अछामको मल्लेख गाउँपालिकाले रु.१५ लाख खर्चेर गाउँपालिकाको वस्तुगत विवरण तयार पा¥यो । वस्तुगत विवरणमा गाउँपालिकाको वडा नं. ३ को जातिगत विवरण नै गलत छ । उक्त वडामा ठकुरी जातिको बाहुल्य छ तर वस्तुगत विवरणमा भने ठकुरी जातिको जनसंख्या शून्य देखाइएको छ ।

ब्राह्मण जातिको बसोबास नभएको त्यो वडामा ब्राह्मणको जनसंख्या १० प्रतिशत देखाइएको छ । गाउँपालिकाको वडा नम्बर १ मा ब्राह्मण जातिको बसोबास नै छैन, तर वस्तुगत विवरणले ५० प्रतिशत यो जातिको बसोबास रहेको देखाइएको छ ।

सो गाउँपालिकाको वडा नम्बर ८ हात्तीकोटमा ठकुरी जातिको कुनै तथ्यांक छैन । राष्ट्रिय जनगणना २०६८ को स्रोत खुलाउँदै त्यो वडामा हुँदै नभएको नेवार जातिको जनसंख्या भने १० प्रतिशत उल्लेख गरिएको छ । दलित जातिको बसोबास भए पनि उल्लेख गरिएको छैन ।

कस्तोसम्म गल्ती छ भने एक ठाउँमा साँफेबगरलाई वडा नम्बर १ मा राखेर साँफेबगर पक्की विमानस्थल रहेको गलत सूचना राखिएको छ । त्यही विवरणको अर्को ठाउँमा साँफेबगरलाई वडा नम्बर २ मा राखेर दैनिक पाँच वटा बस सञ्चालन हुने उल्लेख गरिएको छ ।

कतैबाट ल्याएको विवरणलाई काँटछाँट गर्दा यस्तो हुन गएको हो । नक्कली वस्तुगत विवरण नेकपाका गाउँपालिका संयोजकसमेत रहेका वडा नम्बर ६ निवासी हिरण्य भट्टराई अध्यक्ष रहेको संस्था प्रविधि विकास केन्द्र नेपालले तयार पारेको हो ।

साविकको एउटा गाविस ऋषिदहलाई दुई वटा वडामा विभाजन गर्दा हालको वडा नम्बर २ मा एउटा उपस्वास्थ्य चौकी समेत छैन । तर वस्तुगत विवरणमा भने तीन वटा जिल्ला स्वास्थ्य कार्यालय, तीन वटा स्वास्थ्य चौकी, चार वटा निजी अस्पताल र एउटा क्लिनिक रहेको उल्लेख छ ।

वडा नम्बर २ मा मात्र होइन ६ मा पनि दुई वटा र ७ मा ३० बेडको जिल्ला स्वास्थ्य रहेको गलत सूचना राखिएको छ । वडा नम्बर ६ मा एक बाल अस्पताल र वडा नम्बर ७ मा एक प्रसूति गृह रहेको गलत सूचना पनि विवरणमा समावेश छ ।

एक त सूचना नै गलत छन् र त्यसमाथि सूचनाको स्रोत पनि गलत राखिएको छ । स्वास्थ्यको सूचनाको स्रोत जिल्ला शिक्षा कार्यालय उल्लेख गरिएको छ ।

६०० भन्दा बढी घरधुरी रहेको सो वडामा जम्मा ६९ घरधुरी संख्या रहेको उल्लेख छ । सदरमुकाम मंगलसेनमा अवस्थित दुई वटा एफएम रेडियोहरू पनि वडा नम्बर २ मा राखिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष केशरबहादुर शाहले वस्तुगत विवरणमा भएका विवरणमा सहीभन्दा गलत कुरा बढी भएको बताए ।

विवरणमा उत्तर बाजुरा जिल्ला र अछामको बान्नीगढी जयगढ गाउँपालिकाको बीचमा अवस्थित मल्लेख गाउँपालिकाको भौगोलिक अवस्थिति नै गलत उल्लेख गरिएको छ । वस्तुगत विवरणले ठीक उल्टो उत्तरमा बान्नीगढी जयगढ गाउँपालिका र दक्षिणमा बाजुरा जिल्ला उल्लेख गरेको छ । वडा नम्बर ७ र ८ का अधिकांश सूचनाहरूको स्थान खाली छोडिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहले भने “वस्तुगत विवरणको सत्यता, पुस्तिकाको आवरण, प्रयोग भएको कागज र छपाइको गुणस्तर हेर्दा झारा टार्ने काम गरेको देखिन्छ ।”

नेकपाका स्थानीय नेता भट्टराईकै संस्थाले यसअघि अछामका ७५ वटै गाविसको वस्तुगत विवरण निर्माण गरेको थियो जुन अहिले प्रयोगविहीन छन् । वस्तुगत विवरणको भूमिकामा नै भट्टराईले आफू संलग्न पार्टी तत्कालीन एमाले र त्यो पार्टीका नेताहरूको बयान गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ र ८ मा निर्माणाधीन २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजना भीम रावल, शेरबहादुर कुँवर र कृष्णप्रसाद जैशी लगायतको पहलमा बन्न लागेको भूमिकामा उल्लेख छ । वस्तुगत विवरणले गाउँपालिकाको यथार्थ चित्रण नगरेको उल्टै गाउँपालिकाको बेइज्जत हुने काम गरेको तत्कालीन जिविस सदस्य तथा नेकपाका जिल्ला नेता हेमराज शाहले बताए ।

फर्जी काम

२०७४ सालमा समाज जागरण केन्द्र स्याकले करीब रु.२ लाखमा सुर्खेतको लेकबेसी नगरपालिकाको प्रोफाइल तयार पा¥यो । उक्त प्रोफाइलको पृष्ठ नम्बर ६ मा नगरपालिकाको ऐतिहासिक पृष्ठभूमिमा बाबियाचौर बजारलाई मुख्य व्यापारिक केन्द्रको उल्लेख गरिएको छ । जबकि बाबियाचौर सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्दछ । नगरपालिकाको प्रोफाइलमा राखिएका धेरैजसो विवरणहरू साविकका गाउँ विकास समितिका विवरणसँग मिल्दोजुल्दो देखिन्छ ।

विवरणहरू यति गलत छन् कि लेकबेसी नगरपालिका फेरि नयाँ प्रोफाइल बनाउने तयारीमा छ । नगरप्रमुख गगनसिंह सुनार भन्छन्, “यो प्रोफाइलमा सबै विवरण नभएकोले नयाँ बनाउने तयारीमा छौं । अब बन्ने प्रोफाइलमा सबै विवरण समावेश गर्नेछौं ।” यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु.३० लाख विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खरेल बताउँछन् ।

सुर्खेतको सिम्ता गाउँपालिकाले रु.५ लाख खर्च गरेर भर्खरै नयाँ प्रोफाइल बनाएको छ । यही काममा २०७४ सालमा साढे तीन लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष कविन्द्र केसीले बताए । “पुरानो प्रोफाइल हामी निर्वाचित भएर आउनुभन्दा अघिको हो” केसीले भने, “यो त्यति उपयोगी देखिएन । त्यसमा फेरि दुई लाख रुपैयाँ थपेर पुरानो प्रोफाइललाई नयाँ रूप दिएका छौं ।”

सुर्खेतकै चौकुने गाउँपालिकाले पनि पुरानै तथ्यांक रहेको प्रोफाइल (विवरण) लाई अन्तिम रूप दिएको छ । एशियन रिसर्च एण्ड ट्रेनिङ इन्ष्टिच्यूट (आरती नेपाल) ले बनाएको विवरणलाई गाउँपालिकाले स्वीकार गरेको छ । गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले आफू निर्वाचित हुनुअघि नै उक्त प्रोफाइल बनेको बताए । उनले भने, “एउटा कन्सल्टेन्सीले बनाइदिएको हो । हामीले त्यसैलाई मानेका छौं ।”

चिङ्गाड गाउँपालिका र पञ्चपुरी नगरपालिकाको प्रोफाइल सुन्दर नेपाल नामक गैरसरकारी संस्थाले बनाएको छ । पञ्चपुरीका प्रमुख उपेन्द्र थापाले संस्थाले दिएका तथ्यांकमा केही थपघट गरिएको बताए । प्रोफाइल निर्माणमा करीब रु.५ लाख खर्च भएको उनको भनाइ थियो । चिङ्गाडले पनि तथ्यांक यकिन नभएको भनेर पुनः रुजु ग¥यो । अध्यक्ष देवबहादुर चन्दले तथ्यांकमा केही तल–माथि गरिएको बताए ।

बराहताल गाउँपालिकाको प्रोफाइल भने आरती नेपालका साथै क्रिएटिभ परामर्श सेवाले बनाइदिएको अध्यक्ष तेजबहादुर बस्नेतले बताए । उनका अनुसार यसको निर्माणमा गाउँपालिकाको करीब रु.५ लाख खर्च भएको छ ।

भेरीगंगा नगरपालिकाले रु.३२ लाख खर्च गरेर आफ्नो प्रोफाइल बनायो । नगर उपप्रमुख रेणु आचार्यले ‘जीआईजेड’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रोफाइल बनाइदिएको र त्यसका लागि नगरले रु.८ लाख मात्रै दिएको बताइन् ।

वीरेन्द्रनगर नगरपालिकाको प्रोफाइल रु.३० लाखमा बनेको छ । नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीका अनुसार कमिटेड नामक संस्थाले ‘स्थानीय सरकार सबलीकरण परियोजना’ मार्फत प्रोफाइल निर्माण गरेको हो ।

यसमा नगरपालिकाको रु.१२ लाख खर्च भएको सुवेदीले बताए । “गहिरो अध्ययन गरी जीपीएस प्रणाली मार्फत प्रोफाइल बनाइएको छ” उनले भने, “हाम्रो प्रोफाइल उत्कृष्ट बन्नेछ ।” जीपीएस अर्थात् ‘ग्लोबल पोजिशनिङ सिस्टम’ भनेको भूउपग्रहहरूबाट प्राप्त सूचनाको आधारमा सही भौगोलिक जानकारी दिने प्रणाली हो ।

यति धेरै स्रोत खर्चेर बनाइएका स्थानीय तहका यी प्रोफाइलमा ढाँचादेखि कतिपय विवरण नक्कलटाँस (कपी पेस्ट) गरिएका छन् । तथ्यांकमा केही अंक फेरबदल भए पनि प्रोफाइलमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतका शुभकामना समेत नक्कलटाँस गरिएको भेटियो ।

सिम्ता, बराहताल र चौकुने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका शुभकामना हुबहु छन् । गुर्भाकोट नगरपालिकाले पनि जीपीएस प्रविधिमार्फत प्रोफाइल निर्माणको प्रक्रियामा रहेको जनाएको छ । नगरपालिकाका उपप्रमुख मैना बिकका अनुसार उक्त प्रोफाइल करीब रु.३० लाखको लागतमा तयार हुन लागेको हो ।

चार वर्षअघि सुर्खेतमा लागू भएको साझेदारी विकास परियोजना अन्तर्गत सुर्खेतस्थित समाज जागरण केन्द्र स्याक र सुन्दर नेपालले २२ वटा गाविसमा प्रोफाइल निर्माण गरेका थिए । ती प्रोफाइलका विवरणहरूलाई नै तोडमोड र यताउता सारेर गाउँपालिका तथा नगरपालिकाका प्रोफाइलहरू बनाइएका छन् ।

उक्त परियोजनाका तत्कालीन संयोजक प्रकाश सुवेदी भन्छन्, “हामीले बनाएका प्रोफाइलहरू कर्णाली प्रदेश र सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहहरूमा प्रयोग गरिएको छ ।” उनले भने, “कतिपयले त मसँग भेटेरै पनि प्रोफाइलहरू लगेका थिए ।”

सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक खिम रेग्मी योजना बनाउनेदेखि विकास निर्माणका कामहरूमा वस्तुगत विवरण÷प्रोफाइल महत्वपूर्ण ऐना भए तापनि यसको निर्माण भने कर्मकाण्डी मात्र बनेको बताउँछन् ।

“स्थानीय तहहरूले बनाएका अधिकांश प्रोफाइलहरूमा २०६८ सालको तथ्यांक प्रयोग भएका छन् । गाउँपालिका आफैंले तथ्यांकहरू खोज्ने काम गरेन जे भेट्टायो त्यसैलाई नै प्रोफाइलमा समेटेकाले यो प्रभावकारी छैन ।” रेग्मी भन्छन्, “योजना निर्माणमा यी प्रोफाइलहरू उपयोगी देखिंदैनन् ।”

यस्ता प्रोफाइलहरू योजना बनाउनमा प्रयोग गर्नै नसकिने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल बताउँछन् । “प्रोफाइल बनाउनु मात्रै ठूलो कुरा होइन, कस्तो बन्यो र कसरी बन्यो भन्नेमा भर पर्छ” ढकाल भन्छन्, “सही र वास्तविक विवरणले मात्र विकास निर्माणका योजना बनाउन सकारात्मक भूमिका खेल्न सक्छ ।”

स्थानीय असल शासन युवा क्लबका पूर्व अध्यक्ष हरि अधिकारीले भने “शुभकामना र अन्य भाषिक विवरण समेत एउटै हुनु लाजमर्दो विषय हो । आर्थिक उद्देश्यले काम गरिएकोले यस्तो भएको हो ।”