Print Friendly, PDF & Email

सम्पादकज्यू,

खोज पत्रकारिता केन्द्र, जावलाखेल, ललितपुर ।

खोज पत्रकारिता केन्द्रका लागि प्रमोद आचार्यले २९ भदौ २०७३ मा नेपाली भाषामा प्रकाशित ‘त्रिविमा थेसिसको खरीदबिक्री : नाम चलेका प्राध्यापकदेखि फोटोकपी पसलेसम्म’ र अंग्रेजी भाषामा तयार पारी प्रकाशित गरिएको ‘थेसिस अन् सेल’ शीर्षकका खोज समाचार र प्रसारण भएको भिडियोमा मेरो नाम तीनवटा प्रसंगमा उल्लेख भएको पाइएकोले यी तिनै प्रसंगका सम्बन्धमा मेरो गम्भीर चासो र आपत्ति छ ।

गलत रूपमा उल्लेख भएको प्रसंग १ :

“आफ्नो नाम शिवराम गौतम बताउने त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका शाखा अधिकृत शिवशंकर गौतम विद्यार्थीलाई थेसिस बेच्ने काम गर्छन् । उनको अर्को काम पुराना थेसिस स्वीकृत गर्न विश्वविद्यालयभित्र ‘सेटिङ्ग’ मिलाउने पनि हो । हामीले उनलाई ‘समाजशास्त्रको थेसिस चाहियो, त्यो स्वीकृत पनि हुनु प¥यो भन्यौं ।’ उनले तुरुन्तै आफूसँग पहिलाको थेसिस भएकोले १२ हजार रुपैयाँमा दिनसक्ने र त्यो स्वीकृतसमेत गराइदिने बताए । उनले हाकाहाकी भने ‘कृष्ण भट्टचनलाई राखेर गराइदिन्छू । चिन्तै लिनुपर्दैन ।’ अरूलाई पनि राख्न सकिंदैन ? भन्ने प्रश्नमा शाखा अधिकृत गौतमले भने– जसलाई पनि राख्न सकिन्छ ।” 

प्रसंग १ को सम्बन्धमा सत्यतथ्य :

मैले शिवराम गौतमलाई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पेशागत काम र थेसिसको विद्यार्थीसँग भेटको सिलसिलामा २०७२ सालको चैत महीनादेखि आजसम्म दुई÷चार पटक मात्र भेटेको छु । उनीसँग त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको कर्मचारीको रूपमा मात्र सामान्य चिनजान भएको हो । उल्लेख भए अनुसारको गलत काममा उनको संलग्नता भए नभएको बारेमा मलाई यो खोज समाचार पढ्नु अघिसम्म कुनै जानकारी थिएन, र सो मेरो कल्पनामा पनि थिएन । उनले आफूलाई शिवराम गौतम भन्छ भन्ने पनि मलाई जानकारी छैन । 

विभिन्न समयमा उनले चिनजानका तीन जना विद्यार्थीको थेसिस उनीहरूको जागीरको व्यस्तताले बुझाउन ढिला भइसकेकोले सुपरभाइजरको रूपमा हेरी दिन अनुरोध गरेका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयको अधिकृतले गरेको अनुरोध र विद्यार्थीप्रति एउटा शिक्षकको कर्तव्य र दायित्वका  साथै विभागको प्रचलन, परम्परा र मेरो पेशागत विज्ञता, सदासयता र असल विश्वासमा सम्बन्धित विद्यार्थीको थेसिस सुपरभाइजर भएको हुँ । तल प्रसंग ३ मा उल्लिखित विभिन्न व्यावहारिक समस्याहरूको कारणले कुनै पनि थेसिसलाई भाईभा (मौखिक परीक्षा) को माध्यमबाट विद्यार्थी आफैंले के कति मिहिनेत र काम गरेको हो र थेसिसलाई अन्तिम रूपमा बुझाउनु अघि सामान्य सुधार वा धेरै सुधार वा पुनर्लेखन वा हाललाई प्रशासनिक कार्य सकेर फेरि नयाँ शिराबाट अनुसन्धान गर्नुपर्ने÷नपर्ने निक्र्योल गर्ने गरिन्छ । थेसिसको अन्तिम निर्णय प्रक्रिया तथा अख्तियारी नै भाइभा हो जसमा बाह्य परीक्षकको टीम समेतको कमिटीले परीक्षण र निर्णय गर्दछ । गौतमले मेरो बारेमा भनिएको भन्ने उल्लिखित भनाइ जुन सन्दर्भमा जोडिएको छ त्यो बदनियतपूर्ण र मेरो चरित्र हत्या गर्ने नियतको भएकोले आपत्तिजनक र खेदपूर्ण छ । 

खोज समाचारमा उल्लेख भएको पुराना थेसिस स्वीकृत गर्न विश्वविद्यालयभित्र ‘सेटिङ्ग’ को कुरा र अर्कोतर्फ १२ हजार रुपैयाँमा दिनसक्ने भन्ने गौतमका सम्बन्धमा उल्लेख भएको प्रसंगसँग एकतर्फी रूपमा मेरो बारेमा उनले भनेको कथित भनाइसँग जोडेर सत्यतथ्यलाई बङ्ग्याएर विना प्रमाण मलाई थेसिस किनबेचमा संलग्न भएको अर्थ लाग्ने गरी लेखिएको छ । त्यस्तो गलत कार्यमा मेरो कुनै संलग्नता नभएको अवस्थामा हचुवाको भरमा नितान्त गलत आरोप लगाएको प्रष्ट छ । हुनतः प्रतिवेदनमा गौतमले मलाई पैसा दिएको भनेर उल्लेख गरेको छैन र सत्य कुरा यही होे कि मेरो र शिवराम गौतमसँग थेसिस वा अन्य कुनै पनि कामका लागि कहिल्यै पनि एक पैसा पनि लेनदेन वा ‘सेटिङ्ग’ भए, गरेको छैन । तीन दशकभन्दा बढीको प्राध्यापन कार्यको सिलसिलामा मैले आजसम्म कसैसँग त्यस्तो गलत र अनैतिक लेनदेनको कार्य गरे, गराएको छैन । मेरो जानकारी विना मेरो नाम लिएर आरोपित शिवराम गौतम होस् वा अन्य जो कोहीले त्यस्तो गलत कार्य गर्छ भने त्यस्तो गलत कार्यको जिम्मेवार त्यस्तो गर्ने व्यक्ति स्वयम् हुन्छ । त्यसको लागि म जिम्मेवार हुने कुरै आउँदैन । 

कुनै व्यक्तिविशेष माथि गम्भीर आरोप लगाउनु अगाडि उसलाई आरोपको बारेमा सत्यतथ्य के हो भनी सोध्ने, आफ्नो भनाइ राख्ने मौका दिने, र उसको भनाइलाई उद्धृत गर्ने काम पत्रकारिताको सामान्य मूल्य र प्रक्रिया हो । यो खोज समाचारमा ती प्रक्रियाहरू पूरा गरेको पाइएन ।

मसँग ‘प्लेजरिजम’ भनेको के हो र यो के कसरी हुने गर्छ भन्ने सामान्य कुराकानीमा भनेको मेरो भनाइलाई खोज समाचारको अन्त्यमा उद्धृत गरी कथित आरोपको सम्बन्धमा मलाई सोधेर मेरो भनाइ पनि उद्धृत गरिएको जस्तो देखाउन खोजिएको छ । जबकि मलाई लगाइएको कथित आरोपको बारेमा तपाईंलाई गौतमले यस्तो भनेको छ यस सम्बन्धमा तपाईंको के भनाइ छ भनेर मलाई सोध्ने काम भएन । पत्रकारिताको मूल्य, मान्यता र मर्म विपरीत एउटा सम्मानित नागरिकको प्रतिष्ठा र गोपनीयताको अधिकारलाई हनन् गरिएको छ ।

उल्लेख भएको प्रसंग २ :

‘समाजशास्त्र विभाग अन्तर्गत पूजा बस्नेत र ललिताकुमारी पराजुलीले लेखेका थेसिसहरूको भाषा र व्याख्या अधिकांश एउटै छ । यी दुवै थेसिसका सुपरभाइजर छन् डा. कृष्ण भट्टचन । पराजुलीको नाममा रहेको ‘महोत्तरी जिल्ला हाथिलेट गाविसका कामी जातिको अन्य जातजातिसँगको सम्बन्ध‘ शीर्षकको थेसिस र बस्नेतको नाममा रहेको ‘महोत्तरी जिल्ला हाथिलेट गाविसका मगर जातिको अन्य जातजातिसँगको सम्बन्ध’ शीर्षकको थेसिस स्वीकृत गर्ने थेसिस कमिटीमा डा. सुरेन्द्र मिश्र, मधुसूदन सुवेदी र प्रा.डा.तुलसीराम पाण्डे छन् ।’ 

प्रसंग २ को सम्बन्धमा सत्यतथ्य :

पूजा बस्नेत र ललिताकुमारी पराजुली दुवै महोत्तरी जिल्लामा बस्ने नजिकका नातेदार हुन् । उहाँहरूलाई पूजाको मगरसँग विवाह भएको क्षेत्री महिला भएकोले मगरको अन्य जातजातिसँगको सम्बन्ध र ललिता बाहुन महिला भएकोले कामी (दलित) को गैरदलितसँगको सम्बन्धको बारेमा अध्ययन गर्न म आफैंले प्रेरणा र निर्देशन दिएको हो । उहाँहरू दुवैको विषयवस्तु एउटै तर मधेशका एउटा जातजाति फरक र अन्य जातजाति समान भएकोले दुवैमा के समान छ र के फरक छ हेर्न खोजिएको थियो । विषयवस्तु कतिपय उस्तै र कतिपय फरक छन् । दुवैले यो नयाँ विषयमा एकअर्काको अनुसन्धानको अनुभव आदानप्रदान र छलफल गरी एकअर्काबाट धेरै सिक्ने अवसर मिलोस् भनेर गरिएको थियो । स्थलगत अध्ययन कार्य मसँग छलफल गरेपछि भएको र स्थलगत अध्ययनका बेला समस्या हुँदा फोनबाटै निर्देशन लिने–दिने काम पनि भएको थियो । लेख्न र व्याख्या विश्लेषण गर्दा पनि मसँग दुवैले परामर्श गरेका थिए । थेसिस एउटै विषय, एउटै अध्ययन क्षेत्रमा धेरैले एक साथ वा अघि पछि गर्न सक्छन् । दुवैले आफ्नो अध्ययनबाट प्राप्त तथ्यांक दिएको तर व्याख्या विश्लेषण गहन रूपमा गर्नुभन्दा पनि तथ्यांकमा मात्र आधारित भएर सामान्य रूपमा गरेकोले हेर्दा उस्तै देखिन गएको मात्र हो । यसरी दुवै विद्यार्थी आफैं आफैंले छुट्टाछुट्टै गरेको अध्ययनलाई एउटै थेसिसबाट दुईजनाले डिग्री लिएको गलत आक्षेप लगाउनु सम्बन्धित विद्यार्थीको शैक्षिक योग्यता, पेशा तथा भविष्य माथिको गम्भीर प्रहार हो । 

उल्लेख भएको प्रसंग ३ :

‘थेसिसमा यति विघ्न लापर्वाही कसरी हुन्छ ? डा. कृष्ण भट्टचन भन्छन्, ‘गुणस्तरीय थेसिस नलेखिनुमा संरचनागत समस्या छ, दोष विश्वविद्यालय प्रणालीमा छ । राम्रो अभिलेखालयको अभाव र अमिल्दो शिक्षक–विद्यार्थी अनुपात कायम रहेसम्म यो समस्या नियन्त्रण गर्न मुश्किल छ ।’ 

प्रसंग ३ को सम्बन्धमा सत्यतथ्य :

प्रसंग ३ मा उद्धृत प्रश्नको सन्दर्भ र उत्तरको सन्दर्भ फरक फरक छ । मसँग भएको कुराकानी थेसिस किनबेचका सम्बन्धमा नभएर प्लेजरीजम भनेको के हो र यो के कसरी हुने गर्छ र यसलाई कसरी रोक्ने भन्नेमा थियो । प्रसंग ३ मा उद्धृत मेरो भनाइ तल उल्लिखित धेरैजसो कुरा भनेपछि अन्त्यमा यी समस्याको समाधान कहिले र कसरी होला भन्ने प्रसंगमा कुराकानीको अन्त्यमा भनिएको भनाइकोे एउटा अंश मात्र हो । प्लेजरीजमको प्रसंग ३ मा उद्धृत वाक्यमा मेलै दिएको उत्तर मैले भने अनुसार उल्लेख छ तर प्रसंग ३ मा उल्लेख भएको ‘थेसिसमा यति विघ्न लापर्वाही कसरी हुन्छ ?’ भन्ने प्रश्न खोज समाचार लेख्ने क्रममा जोडेकोले यो प्रश्न प्रसंग १ र खोज समाचारको शीर्षकसँग जोडेर मलाई थेसिस किनबेचको कथित आरोपको बारेमा सोधेको देखाउन खोजिएकोले यो पत्रकारिताको मूल्य, मान्यता र मर्म विपरीत छ । 

‘चैते थेसिस’ र ‘खेताला थेसिस’

प्रसंग ३ मा उद्धृत मैले भनेको कुरा, अहिले मेरो सम्झनामा आए जति, निम्न तितो यथार्थमध्ये धेरैजसो कुराकानीका क्रममा भनेको थिएँ । कतिपय विद्यार्थीले लगनशील, मिहिनेती र इमानदार भएर थेसिसका लागि अध्ययन, अनुसन्धान र लेखन कार्य गर्छन् भने कतिपयले गलत तरिका अपनाएर थेसिस तयार गर्छन् भन्ने तितो यथार्थ विद्यमान छ । कतिपय विद्यार्थीले थेसिस खरीद गर्ने, कतिपयले आफ्नो परिवारको सदस्य वा नातेदार वा साथीलाई लेख्न लगाउने, कतिपयले काल्पनिक कुरा लेख्ने, कतिपयले अर्काको थेसिस नाम र अध्ययनस्थल फेरेर बाँकी कुरा हुबहु वा अधिकांश वा अत्यधिक जस्ताको तस्तै सारेर वा आफ्नो भाषामा ढालेर वा विचार मात्र साभार नगरी लिएर वा अन्य विभिन्न गलत तरीका प्रयोग गर्ने कार्य नेपालमा मात्र होइन अन्य मुलुकहरूमा पनि हुने गरेको कारण ‘प्लेजरिजम’ लाई हेर्ने गरिएको हो । मात्रात्मक र गुणात्मक फरक मात्र हो । अमेरिका, बेलायत र यूरोप जस्तो सबै स्रोत, साधन र प्रविधिले सम्पन्न मुलुकहरूमा पनि प्लेजरिजम् ९एबिनबचष्कm० गर्ने जस्ता कार्य ठूलो टाउको दुखाइको विषय रहँदै आएको छ । अर्काको मौलिक कामलाई वैधानिक, नैतिक रूपमा साभार नगरी दुरुपयोग गरे नगरेको कुरा शिक्षक, सुपरभाइजर र बाह्य परीक्षक जो कोहीलाई पनि गाह्रो पर्ने भएकोले यस्तो गलत कार्य गरे नगरेको पत्ता लगाउने सफ्टवेयर हुन्छ तर यसले कम्प्युटर वा इन्टरनेटमा नराखेको मौलिक कृतिबाट चोरी गरे नगरेको पत्ता लगाउन सक्दैन । त्यसैले शंकास्पद थेसिसहरूमा उल्लेख भएको मुख्य शब्दहरू र सन्दर्भ सामग्रीहरूको नाम र प्रकाशन मिति अधिकांश मिल्छ कि मिल्दैन भनी हेरेर पत्ता लगाउने कोशिश गर्दछन् । 

कतिपयले विचार ‘प्लेजराइज’ गर्ने तर लेख्दा आफनै तरीकाले लेखेर प्लेजरिजम गरेकोमा पक्रन भने गाह्रो हुन्छ । नेपालमा एउटै विभागमा बुझाएका सबै थेसिस उपलब्ध छैन भने अन्य विभागमा बुझाएका थेसिस झनै उपलब्ध छैनन् । विभागमा सेमेष्टर प्रणालीमा आएर ५० देखि ५५ विद्यार्थी भर्ना हुने गरेको भए पनि हालसम्म निरन्तर वार्षिक शैक्षिक सत्रमा कम्तीमा १५० जना र विगतमा बढीमा १,२०० जनासम्म विद्यार्थी भर्ना हुने गरेको सन्दर्भमा विभागमा शिक्षकको संख्या कम हुने भएकोले एकजनाले धेरै विद्यार्थीलाई सुपरभाइज गर्नुपर्दा कतिपय विद्यार्थीसँग चिनजान, सम्झना, गहन निर्देशन कार्य र अनुगमनलगायतका काम हुन असम्भव छ । 

कतिपय विद्यार्थीहरू कक्षामा नआउने, थेसिसका बेला मात्र भेट्न आउने, थेसिस गर्नेहरूमध्ये कतिपय सुपभाइजरसँग अरू बेला सम्पर्कमा नआउने र अन्तिम समयमा सम्पर्कमा आउँदा विवाह गर्नुपर्ने, विदेश जानुपर्ने, जागीर खानुपर्ने, घर टाढा भएकोले बस्न नसक्ने, बच्चा जन्माउनुपर्ने, बिरामी पर्ने, थेसिस बुझाउने मिति सकिन लागेको जस्ता कारण देखाएर थेसिस बुझाउन अत्यन्त हतारो गर्ने अवस्था विद्यमान छ । कतिपय अवस्थामा केही विद्यार्थी स्वयम् उपस्थित हुनसक्ने अवस्था नहुँदा विद्यार्थीले आफ्नो थेसिस बुझाउन वा थेसिससँग सम्बन्धित विभिन्न प्रशासनिक कार्यहरू गर्न परिवारका अन्य सदस्य वा नातेदार वा साथी–भाइ वा अन्य कसैलाई पठाउने प्रचलन पनि रहेको छ । 

यी विविध अवस्था र कारणले शिक्षक, सुपरभाइजर, बाह्य परीक्षक, विभागीय प्रमुखलगायतका सबैलाई विद्यार्थीले बुझाएको थेसिस मौलिक हो कि ‘प्लेजरीजम’ गरेको हो वा खरीदबिक्रीको हो पत्ता लगाउन गाह्रो पर्दछ । थेसिस अनिवार्य भएको अवस्थामा अनुसन्धानमा रुचि पनि नभएको, लिखित परीक्षाहरूमा कम नम्बर आएका कतिपय विद्यार्थीको उद्देश्य पाससम्म हुने भएकोले उनीहरूमा मौलिक थेसिस गर्ने जाँगर पनि देखिंदैन । यी सबै कारणले ‘चैते थेसिस’ र ‘खेताला थेसिस’ जस्ता शब्दहरू प्रचलनमा आएका हुन् । 

कतिपय विद्यार्थीले विभिन्न कारणले सुपरभाइजरले भने अनुसार काम नगर्ने वा गर्न नसक्ने पनि हुन्छ । कतिपय अवस्थामा सुपरभाइजर, शिक्षक र विभागका कर्मचारीले विद्यार्थी स्वयम् हो कि होइन चिन्न नसकिने अवस्था पनि विद्यमान छ । यी सबै दबाबहरूलाई सुपरभाइजरले र थेसिस कमिटीले थेग्न सक्दैन । त्यसैले, यी सबै विकृतिलाई रोक्न वा न्यूनीकरण गर्न भाइभा (मौखिक परीक्षा) को माध्यम विद्यार्थी आफैंले के कति मिहिनेत गरेको हो, काम गरेको हो, र थेसिसलाई अन्तिम रूपमा बुझाउनु अघि कि स्वीकृत गर्ने कि अस्वीकृत गर्ने सम्बन्धमा राम्रो भए स्वीकृत गर्ने र कामको गहनताको आधारमा राम्रो भए बढी नम्बर र नराम्रो भए कम नम्बर दिने प्रचलन छ । 

समस्यामूलक थेसिसको हकमा हाललाई प्रशासनिक कार्य सकेर उपयुक्तता अनुसार सामान्य सुधार वा धेरै सुधार वा पुनर्लेखन वा फेरि नयाँ शिराबाट अनुसन्धान गर्न लगाउनु पर्ने नपर्ने निक्र्योल थेसिस समितिले गर्ने प्रचलन छ । थेसिस श्राद्धमा बिरालो बाँध्ने भन्ने भनाइ जस्तो हुँदै गएकोले थेसिससँग सम्बन्धित यी सबै विकृति अन्त्य गर्न म लगायतका कैयन् प्राध्यापकहरूले थेसिसलाई अनिवार्र्य गर्नुभन्दा पनि ऐच्छिक बनाएर थेसिस गर्न रुचि भएका प्रतिबद्ध विद्यार्र्थीलाई मात्र थेसिस गर्न मौका दिनु उचित हुन्छ भन्ने राय राख्दै आएका हौं । प्रतिबद्ध विद्यार्थीलाई पनि थेसिसको कार्य गर्नु भन्दा अघि अनुसन्धान विधिको व्यावहारिक ज्ञान, विषयवस्तु लेखन कार्यका साथै अंग्रेजी भाषामा लेखन सम्बन्धी दक्षता बढाउन गहन प्रशिक्षणको व्यवस्था आवश्यक छ भनेर पटक पटक भन्दै आएका छौं, तर व्यवहारमा लागू भएको छैन । हाल आएर सेमेष्टर प्रणाली लागू भएको र एउटा कक्षामा २५ जना जति विद्यार्थी भर्ना गरिने भए पनि दुई वटा कक्षामा ५० जना जति भर्ना हुने भएकोले यी समस्या केही हदसम्म कमी हुने अपेक्षा  गर्न सकिन्छ । तर, अन्य अवस्था यथावत् रहेसम्म समस्या भने कायम रहने देखिन्छ ।

अन्त्यमा, मेरो सम्बन्धमा प्रवाहित गलत सूचना सच्याउनु हुन हार्दिक अनुरोध गर्दछु ।

भवदीय,

डा. कृष्णबहादुर भट्टचन
शान्ति बस्ती, नयाँ बाटो, ललितपुर–३ नेपाल
इमेलः
bhattachan.k@gmail.com

२ असोज २०७३ 

खोपकेको स्पष्टीकरण

पत्रका लागि आदरणीय डा. कृष्णबहादुर भट्टचनलाई धन्यवाद । यो समाचार तयार गर्न हामीलाई तीन महीना भन्दा बढी समय लागेको थियो । रिपोर्टिङका शुरुमा नेपालमा थेसिस लेखन र बौद्धिक चोरी ‘प्लेजरीजम’ का बारेमा उहाँसँग कुराकानी भएको हो । तर, रिपोर्टिङ गर्ने क्रममा एउटै विवरण दोहोरिएका कतिपय थेसिसको सुपरभाइजरका रूपमा उहाँको हस्ताक्षर रहेको भेटियो । डा. भट्टचनले पत्रमा उल्लेख गर्नु भएझैँ समाचारमा उहाँमाथि अर्का एक व्यक्तिले लगाएको आरोपबारे उहाँको प्रतिक्रिया समावेश हुन नसकेको त्रुटी हामी स्वीकार गर्छौँ ।

यस बाहेक समाचारमा थेसिस किनबेचमा किनबेचकै प्रसङ्ग छ, पास गराउनेमा पास गराउनेकै प्रसङ्ग छ र ‘सेटिङ’ मिलाउनेमा ‘सेटिङ’ कै प्रसङ्ग छ । यसलाई समग्रमा अथ्र्याएर इमानदार प्राध्यापक, कर्मचारी, विद्यार्थी र पसलेहरूलाई लाञ्छित गर्ने हाम्रो उद्देश्य थिएन÷छैन ।  

खोज समाचारको बाँकी तथ्यमा हाम्रो भन्नु यति मात्रै छ– हाम्रो प्रस्तुति स–प्रमाण छ । कसैले चुनौती दिए हामीसँग रहेको प्रमाण प्रस्तुत गर्न तयार छौं । अनि जुनसुकै बहानामा हुने बौद्धिक चोरी, त्यसलाई किनबेचको विषय बनाउने, प्रश्रय दिने, साथ वा सघाउ पु¥याउने कार्यप्रति हाम्रो अनुसन्धान आगामी दिनमा पनि जारी राख्नेछौं । 

–सम्पादक   

त्रिविमा थेसिसको खरीदबिक्री