लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र न्यायालयले समेत यस्ता नक्कली लिखतलाई मान्यता दिइरहेका छन् । कर्जाले कंगाल भएका महोत्तरीका पहुँचहीन नागरिकको कथा ।
-एकल सिलवाल: खोज पत्रकारिता केन्द्रका लागि
मधेशका गाउँगाउँमा गरीबहरूलाई साहूसँग कर्जा नलिए बाँच्न मुश्किल छ । यहाँका अति विपन्न तथा बेरोजगार परिवारले छोरीको बिहेमा दिनुपर्ने तिलक र दहेज, कामको खोजीमा खाडी र मलेशिया जाँदा तिर्नुपर्ने पैसाका लागि साहूमहाजनसँग ऋण लिनैपर्ने बाध्यता छ । यस बाहेक बिरामी हुँदा उपचार गर्न, सामान्य घर खर्च चलाउन पनि ऋण खोज्नुपर्छ ।
मुलुकी ऐनले साहूलाई आसामीबाट सावाँको वार्षिक दश प्रतिशतभन्दा बढी व्याज लिन बन्देज लगाएको छ । वर्षदिन पुगेपछि व्याजलाई पनि सावाँमा जोडेर एकमुष्ट बनाई व्याज लगाउने र सवादुई वर्षपछि सावाँमा दोब्बर तमसुक बनाउनु सोझै कानुन बिपरित हो । अधिवक्ता कोषराज काफ्ले भन्छन्, ‘सावाँमा लागेको व्याजलाई समेत सावाँ बनाएर त्यसको पनि व्याज लिनु सरासर गैरकानुनी काम हो । कसैले त्यसरी लिएको छ भने फिर्ता गर्नुपर्छ ।’ काफ्लेका भनाइमा, ‘मुलुकी ऐन लेनदेनसम्बन्धी महलको दफा ६ र ७ ले सयकडा १० प्रतिसत र सावाँ बराबर भन्दा बढी व्याज भराउनै नपाइने कानुनी व्यवस्था गरेको छ ।’
तर मधेशमा जे सुकै परेर ऋण लिए पनि स्थानीय साहूलाई वार्षिक ३६ प्रतिशत व्याज तिर्नुपर्छ । त्यति मात्रै होइन, आफ्नो लगानीको सुरक्षाका लागि ऋण दिने साहूले सावाँ रकममै चार गुणा बढाएर तमसुक बनाउँछन् । त्यसमा ऋणीले हस्ताक्षर वा ल्याप्चे लगाउनुपर्छ । यो पुस्तौंदेखि चलिआएको चलन हो । यसरी वास्तविक लेनदेनको अङ्क भन्दा चार गुणा बढीको कागजात तयार गर्नु किर्ते काम हो । दुर्भाग्य त्यही कीर्ते लिखतलाई राजनीतिक दल, समाज र सरकारी अड्डा अदालतले मान्यता दिंदै आएका छन् । यसरी मधेशी समाजमा खुलेआम ठगी धन्दाले प्रोत्साहन पाइरहेको छ र त्यसको शिकार भइरहेका छन् निमुखाहरू ।
-तस्वीरहरु : एकल सिलवाल
प्रधानमन्त्री भन्दा साहू ठूला
सरपल्लो–८ महोत्तरीका तुफानी अन्सारीले सात वर्षअघि छिमेकी सोनेलाल महतोसँग घरखर्च चलाउन १० हजार रुपैयाँ ऋण लिएका थिए । वार्षिक ३६ प्रतिशत व्याज दिने शर्त थियो । सोनेलालले गएको वर्षसम्म ३ लाख २० हजार रुपैयाँ पुगेको भनेर अर्को तमसुक गराएका छन् । तुफानी एक लाख रुपैयाँसम्म तिर्न तयार भए तर साहूले मानेनन् । निराश भएका ६६ वर्षीय तुफानी सोनेलालले कुनै पनि दिन अदालतमा लेनदेन मुद्दा दर्ता गर्लान् भन्ने त्रासमा छन् ।
आडियो सुन्ना को लागि यहाँ क्लिक गर्नुहोस
चर्को व्याजमा साहूमहाजनको ऋण बोकेर बसेका तुफानी समाजका अगुवा नागरिक हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट चुनाव जितेर उनी वडाध्यक्ष भएका थिए । सर्वहारा वर्गको हितमा राजनीति गरेको ठान्ने तुफानी ऋण खाएर आफैं सर्वहारा भएका छन् । तर उनले पार्टीमा कुनै दुखेसो गरेका छैनन् । तुफानी भन्छन्, “यो चलन बदल्न कसैको ताकतले नसक्ने भएपछि कोसँग किन भन्नु ?” उनको विचारमा “जसको पासमा पैसा छ उही ठूलो । त्यसकारण गाउँका साहूमहाजनहरू देशका प्रधानमन्त्री भन्दा ठूला हुन् ।”
सरपल्लो– ९, पछियारीटोलका सत्यनारायण यादवले २०६३ असोजमा वार्षिक ३६ प्रतिशत व्याजमा गाउँकै साहू गंगा महतोसँग १३ हजार रुपैयाँ ऋण लिएका थिए । समयमा ऋण तिर्न सकेनन् । उनले साहूको खेत खनजोत गरेर ऋण चुक्ता गर्ने विचार गरे । गंगाकै खेतमा काम गर्दागर्दै विरामी भए । खाना नरुच्ने र पेट फुल्ने समस्या देखियो । काम गर्न सकेनन् । उपचार गर्न पैसा थिएन । २०७० चैतमा उनी सिकिस्त भए । गाउँलेले चन्दा उठाएर उपचारका लागि पहल गरे । जनकपुर अस्पताल लैजाँदा बाटैमा सत्यनारायणको मृत्यु भयो । गंगाको खेतबारीमा सत्यनारायणले पाँच वर्ष काम गरे । तर च्यात्न नसकी छाडेर गएको तमसुकका कारण त्यो ऋण उनकी विधवा श्रीमती र चार नाबालिग छोराछोरीको थाप्लामा स¥यो ।
साहू गंगा महतो भन्छन्, “उसले लगेको १३ हजार हो । काम गरेर सधाउँछु (चुक्ता गर्छु) भनेर जन (मजदूरी) मा बसेको थियो । पाँच वर्ष जति काम गरेर ऋण नसधाई म¥यो । तमसुक छ । अब म के भनूँ ? उसको परिवारले तिर्नुप¥यो नि !” गंगाका भनाइमा, “अझै पनि सत्यनारायणका दाजु जगदीशले काम गरे ऋण काटिन सक्छ ।” सत्यलाई १३ हजार रुपैयाँ ऋण दिएकै दिन सावाँ रकम ५२ हजार लेखिएको तमसुक (तस्वीर) देखाउँदै गंगाले भने, “तमसुक यही हो, १० वर्ष भयो । अब यस अनुसार हिसाब गर्ने हो भने एक लाख नाघिसक्यो । तर गाउँ समाजले जति भन्छ त्यति लिएर चित्त बुझउँछु ।”
१९ चैत २०७२ को विहान बलवा– ५, देमनवा टोलमा बाटो नभएको जग्गामा छाप्रो बनाइरहेको अवस्थामा भेटिए ५० वर्षीय सुबलाल यादव । १० वर्ष पहिलेसम्म सडकसँगै जोडिएको १२ धुर जग्गामा सुविधाजनक घर थियो उनको । ऋण गरेर खेत किने । एकपछि अर्को साहू थपिंदै गए । पैसा तिर्न नसकेर उनी कतार गए । आठ वर्षसम्म त्यहाँ कमाए जति सबै पैसा साहूहरूलाई पठाए । तर कसैको पनि ऋण तिरेर सकिएन ।
तीन जना साहू मिलेर अदालतमा लेनदेनको मुद्दा दिए । ८० हजार रुपैयाँ ऋण लिएको पाँच वर्षपछि साहूहरूमध्येका एक रामेश्वर यादवले सुबलालको खेत पास गराएर लिए । रामेश्वरले सुबलालबाट पटक पटक गरी पाँच लाख नगद लगिसकेका थिए । सुबलालले अर्का साहू रासविहारी चौधरीलाई चार लाख सावाँको व्याज समेत जोडेर १० लाख ७५ हजार रुपैयाँ तिरे । त्यो पैसा तिर्न उनले २०७२ माघमा छिमेकी सोनवा साहलाई १२ लाखमा घरघडेरी बेचे । अहिले उनको उठीबास भयो । गाउँकै भगलु चौधरीको बाटो नभएको ६ धुर जग्गा किनेर त्यहाँ छाप्रो हालेर सरेका छन् । सुबलाल भन्छन्, “पहिले खेत किन्ने, बालबच्चाको शिक्षा अच्छा बनाउने सपना थियो, अहिले त सिर्फ दुःख मात्रै छ ।”
बनौटा– ९, सरञ्चियाका रामाशिष महतोले ६ वर्षअघि ज्वाइँ भोला महतोलाई विदेश पठाउन छिमेकी सरपल्लो गाविसका साहू मुजावीर बैठासँग ८० हजार रुपैयाँ ऋण लिएका थिए । जमानत वापत रामाशिषले बैठालाई १२ कट्ठा जग्गा रजिष्ट्रेशन पास गरेर दिने सहमति जनाए । तर, बैठाले झ्ुक्याएर उनको लालपुर्जामा भएजति सबै १८ कट्ठा जग्गा नै पास गरेर लिएछन् ।
विदेश पठाएका ज्वाइँले ऋण तिरेनन् । उनले कान्छा छोरा जोगिन्दरलाई अर्को ऋण खोजेर कमाउन कतार पठाए । तीन वर्ष काम गरेर फर्केका जोगिन्दरले आफू जाँदाको ऋण मात्र तिर्न सके । जग्गा फिर्ता गर्न नसकेको चिन्ताले जोगिन्दर बिरामी परे । घर फर्किएको ६ दिनपछि हृदयघातबाट उनको मृत्यु भयो ।
जोगिन्दरकी श्रीमती छोराछोरी लिएर माइत गइन् । जेठा छोरा बुनिलाल पनि आफ्नो परिवार लिएर घर छाडेर हिंडे । विरक्तिएका बुनिलाल साधु भए । यसरी हेर्दाहेर्दै हँुदाखाँदाका रामाशिषको परिवार छिन्नभिन्न भयो । ऐलानी जग्गामा बनेको छाप्रोभित्र वृद्धाबस्थामा सहाराविहीन उनको दम्पती मात्रै बाँकी रहे । उनलाई भेट्न हामी उनको छाप्रोमा पुगेका थियौं । आफ्नो कथा सुनाउन के थालेका थिए–पत्नीका अगाडि रामाशिष भक्कानिए ।
सिंगै जीवन साहूका लागि
बलवा– ५, चमारटोलका ठकन रामले ऋण तिर्नुपर्ने साहूहरू ६ जना छन् । स्थानीय राजेश यादवसँग पाँच वर्ष पहिले छोरा लक्ष्मणदेवलाई विदेश पठाउन ६० हजार रुपैयाँ लिएका थिए । त्यो ६० हजार तिरिसके । तर, साहूले ब्याज जोडेर गत वर्ष २ लाख ५० हजार सावाँ बाँकी रहेको तमसुक बनाएका छन् । अहिले तीन लाख जति पुगेको हुनसक्ने ठकनको अनुमान छ ।
ठकनले सबैभन्दा पहिले २०६७ सालमा ऋण गरेर छोरा लक्ष्मणलाई मलेशिया पठाएका थिए । तर जीउमा दाग देखिएपछि कम्पनीले लक्ष्मणलाई काम दिएन । दुई महीनापछि खालीहात नेपाल फर्किए । त्यसपछि साहूहरू चन्देश्वर यादवसँग १ लाख ६० हजार र राजकिशोर यादवसँग १ लाख ऋण काढेर उनले छोरालाई साउदी अरब पठाए । जानेवित्तिकै बिरामी भएका लक्ष्मणले काम गर्न सकेनन् । तीन महीनापछि त्यहाँबाट पनि फर्किए । तीन महीना घर बसे । केही होला कि भनेर तेस्रो पटक कतार गए । त्यहाँ उनले राम्रो काम पाएनन् । दुई महीनापछि फर्किए । कमाइको आशामा छोरालाई पटक पटक विदेश पठाउँदा लागेको खर्चको सावाँ ब्याज गरेर अहिले उनको टाउकोमा ११ लाख रुपैयाँको ऋण छ । महीनाको सयकडा तीन रुपैयाँका दरले ६ वर्षदेखि जोडिंदै गएको व्याजले ऋणको अंक यसरी आकाशिएको हो ।
सम्पत्तिको नाममा उनीसँग चार धुर घडेरीमा बनेको एउटा छाप्रो छ । आम्दानी केही छैन । ऋण सम्झ्ंिदा आँखाको डिलमा टिलपिलाउन आइपुगेका आँशुका ढिका गम्छाले पुछ्दै ठकनले भने, “मैले यति ऋण कमाएँ । अब यही ऋण मेरा दुई छोराहरूलाई भाग लगाइदिन्छु । सके तिर्छन्, नसके उनीहरूले पनि आफ्ना छोराहरूलाई भाग लगाएर जान्छन् ।”
सरपल्लो– ८ महोत्तरीका बलिरामप्रसाद महतोले २०५९ सालमा मलेशिया जान जनकपुरका बिल्टु महतोसँग १ लाख रुपैयाँ कर्जा लिएका थिए । १८ महीनापछि खुट्टा भाँचिएर मलेशियाबाट घर फर्किए । साहूलाई व्याज तिर्ने पैसा पनि पुगेन । तीन कट्ठा खेत रु.२ लाखमा बेचेर व्याज बुझए । दोस्रो पटक उनै साहूसँग थप रु.१ लाख कर्जा लिएर फेरि मलेशिया गए । त्यसबेला पनि कम्पनी राम्रो परेन । दुई वर्षपछि फर्कंदा रु.२ लाख मात्र कमाएर ल्याए । ल्याएजति सबै उनै साहूलाई बुझए ।
पहिलो पटक ऋण लिएको १२ वर्षपछि २०७१ मा साहूले हिसाब गरेअनुसार दुई पटक गरी लिएको २ लाख रुपैयाँको सावाँव्याज जोड्दा बलिरामले तिर्नुपर्ने रकम रु.१५ लाख पुगेको देखियो । त्यसबेलासम्म बलिरामले नगद रु.८ लाख तिरिसकेका थिए । तिरेको सो रकम कटाउँदा अब तिर्न बाँकी रु.७ लाख देखियो । साहूले त्यसलाई सावाँ मानेर दुई वर्षयता वार्षिक ३६ प्रतिशतका दरले व्याज लगाइरहेका छन् । बलिराम भन्छन्, “पहिलो पटक ऋण लिएर मलेशिया जाँदा पक्की घर बनाउने, खेत किन्ने, छोराछोरीलाई राम्रो स्कूलमा पढाउने सपना थियो । अब त सके कमाएर, नसके बाँकी रहेको सबै सम्पत्ति बेचेर पनि साहूको ऋण तिर्न पाए पुग्छ ।”
मृत्युपछि ऋणमुक्त : परिवारको विचल्ली
सहसौला–३, महोत्तरीका ३० वर्षीय रामस्नेही मण्डल २०७२ मंसीरमा छिमेकी शिवजी खत्वेसँग ३६ प्रतिशत व्याजमा १ लाख ३० हजार रुपैयाँ ऋण लिएर साउदी अरब गएका थिए । राम्रो काम परेन, पाँच महीनासम्म एक रुपैयाँ पनि पठाउन सकेनन् । ११ चैत २०७२ का दिन सुतेको ओछ्यानमै उनको मृत्यु भयो । हामी उनको घरपुग्दा पनि रामस्नेहीका बाबुआमा मानसिक पीडा खप्न नसकेर रुने र बर्बराउने गरिरहेका थिए । गर्भवती श्रीमती गंगा आँखै नहेरी रोइरहेकी थिइन् । एक वर्षकी छोरी आँचल आमाको काखमा बसेर आमाको अनुहार नियाल्दै उसरी नै रुँदै थिइन् ।
रामस्नेहीको मृत्युको खबर सुनेपछि उनका बाबु रामशोभितले नौ जना साहूलाई तिर्नुपर्ने सावाँ जोडेर हिसाब निकाले । सबैलाई गरी करीब सवा ६ लाख रुपैयाँ तिर्न बाँकी देखियो । यो ऋणको सूचीमा तीन वर्षअघि छोरा जन्मियोस् भन्ने भाकल गर्दै रामस्नेहीका दुई दाजुभाइले महोत्तरीकै परवलमा रहेको कारिकस्थान मन्दिरमा बलि चढाएका चार बोका किन्दा अनिल मण्डलसँग लिएको ३० हजार रुपैयाँ पनि समावेश थियो । त्यो समेत ६ लाख २० हजार रुपैयाँ सावाँको वार्षिक ३६ प्रतिशत अर्थात् मासिक सयकडा तीन रुपैयाँका दरले व्याज लागिरहेको थियो ।
मृत्यु भएको २४ दिनपछि रामस्नेहीको शव घरमा आइपुग्यो । उनलाई काम लगाउने कम्पनीले नै शव पठाइदिए पनि मृत्युअघि काम गरेको तलब वा क्षतिपूर्ति केही पनि आएन । परिवारले ऋण खोजेर काजक्रिया ग¥यो । श्रम स्वीकृति लिएर गएका रामस्नेहीको परिवारलाई पछि नेपाल सरकारले बीमा र क्षतिपूर्ति वापत ७ लाख रुपैयाँ दियो । त्यही रकमले रामस्नेहीलाई मृत्युपश्चात् ऋणमुक्त बनायो । अहिले परिवारमा रामस्नेही छैनन् । उनको परिवारले तिर्नुपर्ने ठूलो ऋण पनि बाँकी छैन ।
रामगोपालपुर– ३ महोत्तरीका झ्गरु सदा २०६८ असारमा गाउँका महाजनहरूबाट ३६ प्रतिशत व्याजमा डेढ लाख रुपैयाँ कर्जा लिएर पैसा कमाउन साउदी अरब गएका थिए । १० महीनापछि काम गर्दागर्दै उनको त्यहीं मृत्यु भयो । श्रीमती कुश्मादेवीले ६० हजार रुपैयाँ ऋण खोजेर ६ महीनापछि उनको शव नेपाल ल्याएर दाहसंस्कार गरिन् । सरकारबाट बीमा वापतको पाएको ५ लाख रुपैयाँ साहूको कर्जा र श्रीमान्को काजक्रिया गर्दा सकियो । घरजग्गा जोड्ने योजनाले कमाउन विदेश गएका श्रीमान् गुमाएकी ४० वर्षीया कुश्मादेवी ऐलानी जग्गामा बनेको छाप्रोमा बसेर ज्यालामजदूरी गर्दै चार छोराछोरी पालिरहेकी छन् ।
साहूको हतियार चार गुणाको तमसुक
ऋण लिंदै सावाँ रकमलाई चार गुणा बढाएर तमसुक बनाउने चलन छ मधेशका गाउँमा । साहूमहाजनसँग ऋण लिने गरीबनिमुखालाई सताउने तरबार हो यो तमसुक । एउटै गाउँका दुई जना ऋणीमध्ये ज्यालामजदूरी गरेर परिवार पाल्ने विपन्न वर्गको ऋणीलाई सावाँको चार गुणा बढाएर ३६ प्रतिशत व्याजदरको तमसुकमा ल्याप्चे लगाएपछि मात्र ऋण दिने चलन छ । तर, उही ठाउँको मध्यम तथा उच्च वर्र्गीय ऋणीले भने न चार गुणा बढीको तमसुकमा सहीछाप गर्नुपर्छ न त ३६ प्रतिशत व्याज नै तिर्नुपर्छ । उनीहरूलाई सरकारी बैंक तथा गाउँका वित्तीय संस्थाले सस्तो व्याजमा कर्जा दिन्छन् । सरपल्लो– ९, पछियारीटोलका श्रमिक सत्यनारायण यादवलाई छिमेककै साहू गंगा महतोले १३ हजार रुपैयाँ ऋण दिएर ५२ हजारको तमसुक बनाए र ३६ प्रतिशत व्याजमा कर्जा दिए । त्यही ऋण कट्टी गर्न पाँच वर्षसम्म साहूको खेत खनजोत गर्दागर्दै बिरामी भएर सत्यनारायणको मृत्यु भयो । अहिले पनि ऋण जतिको तत्ति नै छ ।
सत्यनारायणका साहू गंगाका भाइ जामुनप्रसाद महतोले चाहिं कृषि विकास बैंकबाट १५ प्रतिशत व्याजदरमा तीन लाख रुपैयाँ ऋण पाएका छन् । गाउँकै एक धनाढ्य व्यक्तिसँग अर्को तीन लाख रुपैयाँ ३० प्रतिशत व्याजमा लिएको र त्यसको तमसुक नै नबनाएको उनको भनाइ छ । त्यति मात्र होइन, उनले अरू दुई लाख रुपैयाँ ऋण छोटो समयका लागि नजिकको साथीबाट निव्र्याजी पाएका छन् । उनी भन्छन्, “आयस्रोत नभएका र विश्वास गर्न नसकिने मान्छेलाई ऋण दिंदा कसैलाई तमसुक बनाए पुग्छ, कसैबाट त पहिले नै जमानतस्वरुप जग्गा पास गरेर लिनुपर्छ । नत्र साहूको पैसा डुब्छ ।”
बलवा– ६, रामटोलकी परमदेवी रामले ६ वर्षअघि छिमेकी भोला रामका ज्वाइँ फुलगेन रामका लागि साहू रामप्रसाद यादवसँग १ लाख रुपैयाँ ऋण लिइदिइन् । पैसा एजेन्टले खाइदिए । फुलगेन विदेश जान पाएनन् र पैसा तिर्न सकेनन् । ऋणको भार परमदेवीकै थाप्लामा थियो । उनले पटक पटक गरेर साहूलाई ५ लाख ६० हजार रुपैयाँ तिरिसकिन् । साहूले अझ्ै ४ लाख ४० हजार तिर्न बाँकी देखाएका छन् । फुलगेनका लागि लिइदिएको ऋणको फन्दामा आफू परेपछि परमदेवीले पनि फुलगेनलाई ९ माघ २०७१ मा वार्षिक १० प्रतिशत व्याजमा १३ लाख ९२ हजार रुपैयाँ ऋण दिएको तमसुक बनाएकी छन् । (हे.तमसुक)
यो तमसुक वास्तवमा ३ लाख ३८ हजार रुपैयाँ सावाँको हो । त्यसको ३६ प्रतिशतका दरले व्याज लाग्ने भए पनि चलनचल्ती अनुसार सावाँ रकमलाई चार गुणा बढाएर १३ लाख ९२ हजार देखाई व्याजदर १० प्रतिशत राखेर तमसुक बनाइएको हो । तमसुकको व्यहोरामा चार गुणा बढी रकम र १० प्रतिशत व्याजदर तथा पुछारको छेउमा वास्तविक रकम र ३६ प्रतिशत व्याजदर लेखिएको छ । तराईमा ऋण लेनदेन गर्दा प्रायः यसरी नै तमसुक लेख्ने गरिन्छ । पैसा नउठेर मुद्दामामिला गर्नुपरेमा साहूले तमसुकको अन्त्यमा लेखिएको वास्तविक सावाँ र व्याजदर उल्लिखित भाग काटेर फ्याँकिदिन्छन् र माथिल्लो व्यहोरा अनुसार चार गुणा बढाएको सावाँ र त्यसको १० प्रतिशत व्याज दाबी गर्दै अदालतमा निवेदन दिन्छन् । साहू रामप्रसाद यादवले परमदेवीको नाममा पनि यस्तै तमसुक लेखाएर राखेका छन् । एउटै ऋणको दुष्चक्रमा डुबेका परमदेवी र फुलगेन तराईमा व्याप्त शोषणको साङ्लोमा बाँधिएका पीडितका प्रतिनिधि पात्र हुन् ।
‘एजेण्टका चम्चा’ हरू
यो ज्यादती कसरी हुन्छ भन्ने थाहा पाउन मधेशको समाज, राजनीति, अर्थतन्त्र र नेपालको राज्य प्रणालीका कामकारबाही थाहा पाउनुपर्छ । राजधानी काठमाडौंमा रहेका वैदेशिक रोजगार कम्पनीका एजेण्टहरू जिल्ला सदरमुकाम जलेश्वर तथा नजिकको शहर जनकपुरमा कार्यालय खडा गरेर बसेका छन् । उनीहरू मुख्यतया खाडी मुलुकका लागि श्रमिक आपूर्ति गर्छन् । त्यस्ता एजेण्टहरूले कमिशन दिएर गाउँगाउँमा आफ्ना प्रतिनिधि खटाएका छन् । ‘एजेण्टका चम्चा’ भनेर चिनिने त्यस्ता व्यक्तिहरू गाविसका प्रत्येक वडामा कम्तीमा पाँच जना भेटिन्छन् । भिन्नाभिन्नै वैदेशिक रोजगार कम्पनीका लागि काम गर्ने तिनै ‘चम्चा’ हरूको धन्दाबाट शुरू हुन्छ यो शोषणको घातक शृंखला ।
उनीहरू घरघरमा पुगेर बेरोजगार गरीबहरूलाई आकर्षक वैदेशिक रोजगारीको प्रलोभन दिन्छन् । कसैको बनिसकेको पासपोर्ट पाए संकलन गर्नु र बनाइनसकेकालाई आफैंले ऋण समेत हालिदिएर पासपोर्ट बनाउन प्रेरित गर्नु उनीहरूको काम हो । त्यसरी बटुलिएका पासपोर्ट एजेण्ट हुँदै काठमाडौंका म्यानपावर एजेन्सीसम्म पुग्छन् ।
गाउँका बेरोजगार गरीबलाई पासपोर्ट बनाउँदादेखि नै ऋण चाहिन्छ भन्ने ज्ञान ‘चम्चा’ हरूलाई हुन्छ । पासपोर्ट बनाउने र म्यानपावर कम्पनीलाई बुझउने पैसा उनीहरूले आफैं या आफ्नो वृत्तका साहूबाट ऋण मिलाइदिन्छन् । बेरोजगारी र विपन्नताको फाइदा उठाउँदै चर्को व्याजमा ऋण लगानी गर्ने साहूसँग ‘चम्चा’ हरूको साँठगाँठ हुन्छ । गरीबलाई कंगाल बनाउने त्यही ऋणको जगमा फस्टाइरहेको छ रोजगार व्यवसायी कम्पनी, एजेण्ट र स्थानीय ‘चम्चा’ हरूको ठगी धन्दा ।
यस्तो धन्दा सहजै फस्टाएको छ । बेरोजगार र अनपढ युवा सोझ्ै ठगिन्छ । स्वास्थ्य जाँचमा फेल भएकालाई पास भएको किर्ते प्रमाणपत्र दिइन्छ । पैसा लिइन्छ तर महीनौंसम्म अलमल्याएर राखिन्छ । पैसा र पासपोर्ट गायब बनाएर ‘चम्चा’हरू बेपत्ता हुन्छन् । यसको परिणाम चर्को व्याजमा ऋण दिने गाउँका साहूहरू चार गुणा सावाँ बढाएर बनाएको कीर्ते तमसुकको आडमा गरीब ऋणीका परिवारलाई ‘घर छाड’ भनेर तर्साउन थाल्छन् ।
समाजमा साहूको पक्षमा हाकाहाकी तर्क गर्नेहरू भेटिन्छन् । नेकपा माओवादी केन्द्र सरपल्लो गाउँ कमिटी इञ्चार्ज, लालबाबु साह भन्छन्, “ऋण लिएकै बेलामा चार गुणा सावाँको तमसुक बनाएपछि गाउँमा पैसा उठेन भने अदालत गएर लेनदेनको मुद्दा लड्नुपर्दा सजिलो हुन्छ । यसो हुँदा साहूलाई नोक्सान पर्दैन ।”
चार समाजवादी फोरम नेपाल सरपल्लो गाउँ इकाई कमिटी अध्यक्ष उमेशकुमार महतो भन्छन्, “१ लाख ऋण लिंदा ४ लाखको कागज बन्छ । वार्षिक ३६ प्रतिशत व्याजको हिसाबले ऋण लिएको सवा दुई वर्षमा दोब्बर हुन्छ । त्यसपछि तमसुक बदलिन्छ । यहाँ ऋणीलाई भगवानले पनि बचाउन सक्दैनन् ।”
तमसुकको सामाजिक अर्थ–राजनीति
सोझा गरीबहरू साहूले लेखाएको तमसुकमा ल्याप्चे लगाएका वा हस्ताक्षर गरेका दिनदेखि ऋणको तलाउमा डुब्छन् । शोषणको यो अर्थतन्त्रबाट गाउँगाउँका लेखनदासहरूको लेखापढी पेशा चलेको छ । टोलटोलमा तमसुक लेखेरै जीविका चलाउने लेखनदासहरू भेटिन्छन् । उनीहरू एउटा तमसुक लेखेको एक सयदेखि तीन सय रुपैयाँसम्म लिन्छन् । यो पैसा ऋणीले तिर्नुपर्छ । लेखनदासले औसतमा दिनको तीन वटा तमसुक लेख्छन् । दैनिक सरदर पाँच सयका दरले उनीहरूको मासिक आम्दानी १५ हजार रुपैयाँ हुन्छ । खाडी मुलुक गएका कामदारले जोखिम मोलेर कमाएको श्रमबाट हुने कमाइभन्दा यो रकम बढी हो ।
एउटै ऋणीले धेरै जना साहूसँग थोरैथोरै ऋण लिने र प्रत्येक साहूले हरेक सवा दुई वर्षमा तमसुक बदलिरहने हुनाले लेखनदासहरूले काम पाइरहेका हुन्छन् । तमसुक लेख्दा खर्च हुने समयको बचत गर्न हिजो आज उनीहरूले नेपाली कागजमा छपाइ भएका तयारी तमसुक फारामहरू प्रयोग गर्न थालेका छन् । यसमा साहू, ऋणी र साक्षीको विवरण तथा सावाँ र व्याजको अंक लेखे पुग्छ । जलेश्वर बजारमा किन्न पाइने यस खालका फारामको माग बढ्दै गएपछि तमसुक अर्थतन्त्रबाट हुने लाभको अंश स्टेशनरी व्यवसायी र छापाखानासम्म पुग्न थालेको छ । यसरी सबैले कमाइरहँदा गुमाउने चाहिं तल्लो वर्गका ऋणी मात्रै छन् ।
महोत्तरी जिल्ला अदालतमा चलेका मुद्दामामिलाको तथ्यांकले यहाँको साहूमहाजनी प्रथाको सामाजिक असर कति व्यापक छ भन्ने देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा जिल्ला अदालतमा दर्ता भएका ३८ प्रकारका ३ हजार ५३१ मुद्दामध्ये सबैभन्दा बढी ९४१ वटा लेनदेनसँग सम्बन्धित थिए । यो संख्या कुल मुद्दाको झ्ण्डै २७ प्रतिशत हो । जिल्ला अदालत महोत्तरीले वर्षभरि गर्ने न्याय सम्पादनको झण्डै एकतिहाई काम लेनदेन मुद्दामै केन्द्रित हुने यो आँकडाबाट स्पष्ट हुन्छ ।
साहूले लेखाएको कीर्ते तमसुकलाई न्यायालयले मान्यता दिने गरेको छ । किनभने ऋण लेनदेनका प्रायः सबै मुद्दामा अदालतले चार गुणा सावाँ बढाएर बनाएको नक्कली तमसुकलाई नै प्रमाण मानेर साहूको पक्षमा फैसला गर्दै ऋणीबाट बिगो बराबरको सावाँव्याज भराइदिएको देखिन्छ । अदालतका स्रेस्तेदार भोजकुमार बस्नेत भन्छन, “ऋणीको मौखिक दाबीलाई भन्दा साहूको लिखित तमसुकलाई मान्यता दिने प्रचलित कानुनका कारण यस मामिलामा सामाजिक न्याय दिन नसक्नु अदालतको वाध्यता हो ।” गरीब ऋणीहरूमाथि ठगी गर्ने साहूमहाजनको नियतले न्यायालयबाट यसरी नै वैधानिकता पाइरहेको छ ।
यस्ता मुद्दा अदालत पुगेमा ऋणीहरूको हालत कतिसम्म नाजुक हन्छ भन्ने उदाहरण गाउँमा वग्रेल्ती भेटिन्छन् । सरपल्लो–३, खुशनगरीका अघनु मण्डलले छिमेकका साहू ठगा साहसँग दुई पटक गरी २ लाख ५ हजार रुपियाँ ऋण लिएका थिए । साहले त्यसमध्ये एक लाख ५ हजारको पाँच गुणा र अर्को एक लाखको आठ गुणा बढाएर तमसुक बनाएका कारण चार वर्षमै त्यो ऋणले अघनुको सिंगो परिवारलाई सुकुम्बासी बनाइदियो । २०७३ असार २५ गते विहान १० बजे चर्को घाममा भैंसी चराइरहेको अवस्थामा भेटिएका अघनु मानसिक रुपमा विक्षिप्त देखिन्थे ।
अघनुलाई ऋण दिँदा बनाएको आठ गुणासम्म बढी सावाँका किर्ते तमसुकहरु लिएर उनका साहू ठगा साह न्यायालयसम्म पुगे । महोत्तरी जिल्ला अदालतले तिनै तमसुकलाई मान्यता दिँदै एक वर्षअघि साहूकै पक्षमा फैसला सुनाएपछि अदालतकै आदेशमा अघनुको नाममा रहेको घरसहितको डेढ कठ्ठा घडेरी र आठ कठ्ठा खेत साहूका छोरा रामबाबु साहले पास गरेर लिए । खेत साहले कब्जा गरेर पनि पाँच कठ्ठा बेचिसकेका छन् । अघनुको १९ जनाको परिवार अन्त जाने ठाउँ नभएकाले पुरानै घरमा बसिरहेको छ । साहू ठगा साह अब उनको परिवारलाई निकालेर घर कब्जा गर्ने तयारीमा छन् ।
शोषणको यो जालोमा नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थाहरू पनि कुनै न कुनै रूपमा जोडिएका छन् । नेपाल राष्ट्र बैंक र सहकारी विभागको पछिल्लो तथ्यांक अनुसार महोत्तरी जिल्लामा विभिन्न बैंक तथा वित्तीय संस्थाका ४८ वटा शाखा छन् । बचत तथा ऋणको कारोबार गर्ने ६७४ वटा सहकारी संस्था कार्यरत छन् । तीमध्ये स्थानीय सहकारी संस्थाहरूले गरेको ऋण लगानीको अंश ४८ करोड ६७ लाख ८७ हजार रुपैयाँ छ । यो रकमको धेरथोर अंश ती साहूमहाजनकहाँ पुगेको छ जो गरीब र विपन्न माथि अत्याचारपूर्ण ब्याजमा कर्जा लगाएर उनीहरूको उठीबास गराइरहेका छन् ।