परिवारका ६ सन्तानमध्ये माइला, दिलीप भनेर चिनिने ओमप्रकाश महतो परिवारका आदर्श छोरा थिए । उनले सामाजिक दायित्व बहन गर्ने, समुदायमा सक्रिय र इन्जिनियर बनेर आफ्नो परिवारलाई सघाउने आशा बोकेका थिए ।
तर २५ पुस २०७६ मा उनी औरही खोलाको किनारमा मृत भेटिए, त्यही खोला जसलाई अवैध उत्खननबाट बचाउन उनले कडा मिहिनेत गरेका थिए । उनलाई निर्घात कुटपिट गरेर टिपरको पाङ्ग्रामुनि किचिएको थियो । दुर्घटना जस्तो देखाउन उनको शरीरमाथि ट्रक चलाइएको उनको परिवारको आरोप छ ।
दिलीपको हत्या बालुवाखानीमा काम गर्नेहरूले नै गरेको समुदायमा धेरैको विश्वास रहेको छ । औरही खोलाबाट बालुवा निकाल्ने कुरामा विगतमा उनको अनगिन्ती पटक बालुवाखानीमा काम गर्नेहरूसँग टकराव परेको थियो । यो मुद्दा हाल धनुषा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।
“मेरो दाइले वातावरणीय दोहनविरुद्ध लड्दालड्दै आफ्नो ज्यान गुमाए । हामीलाई आशा छ यो फेरि दोहोरिने छैन”, दिलीपकी कान्छी बहिनी संगम महतोले भनिन् ।
२०७७ वैशाख २० गतेको रात, सञ्जय आफ्नो घरभन्दा केही सय मिटर उत्तरमा बग्ने बडहरी खोलामा साथी र छिमेकीहरूसँग मोर्चामा सहभागी भए । यसअघिका धेरै पटक जस्तै, उनीहरूले साँझ ६ बजेको समयसीमा नाघिसकेकाले कामदारहरूले बालुवाका लागि खोला उत्खनन गर्न बन्द गर्नुपर्ने माग राखे ।
विवादले उग्र रुप लियो र घर फर्कने क्रममा प्रदर्शनकारीहरू माथि आक्रमण गरियो, जसमा सञ्जयको टाउकोमा धातुको लिभरले प्रहार गरियो । गहिरो चोट लागेकाले उपचारका लागि उनलाई हतारहतार काठमाडौंको अस्पताल लगिएको थियो ।
“मलाई भुइँमा ढल्नुअघि कुटाइ खाएको अलिअलि याद छ” उनी भन्छन्, “मलाई खोज्न गाउँलेहरू नआएका भए, बालुवाखानीमा काम गर्नेहरूले मलाई ज्यूँदै गाड्ने रहेछन् ।”
आक्रमणपछि सञ्जय पहिले जस्तो शारीरिक रूपमा सबल छैनन्, जसले उनको परिवारको आम्दानीमा असर पारेको छ । पाँच जनाको परिवारको निम्ति कमाउने एक्लो सदस्य उनी कमजोर स्वास्थ्यका कारण पहिले जति काम गर्न नसक्ने पो हो कि भनी चिन्तित छन् ।
“अहिले म भारी सामानहरू उठाउन पनि सक्दिनँ, चोटका कारण टाउको पनि दुखिरहन्छ”, उनी भन्छन् ।
२०७६ पुसमा, बसही खोलाका स्थानीय बालुवाखानी सञ्चालकहरूले नन्दकुमार सिलवालको घर जलाउने धम्की दिए, जब उनी र उनका छिमेकीहरूले बालुवाको अनियन्त्रित उत्खननको विरोध गरे । केही हप्तापछि, दिलीप महतोको नजिकैको गाउँमा भएको निर्मम हत्याको खबर परालको आगोजस्तै सल्कियो र यसले सबैमा त्रास पैदा गर्यो ।
“पहिले सबै बालुवाखानी सञ्चालकहरूको सामना गर्न भेला हुन्थे तर अहिले उनीहरू खोलामा नजान बहाना खोज्छन् । सबै त्रसित छन्” सिलवाल भन्छन्, “गाउँलेहरूलाई संगठित गर्न पहल गर्न अघि सर्नेहरू पनि अहिले डराएका छन् ।”
राजकरन महतोले १० वर्षे पत्रकारिता जीवनमा अनगिन्ती धम्की पाएका छन् । तर, २०७७ बैशाखमा जे भयो त्यस्तो कहिल्यै भएको थिएन ।
महोत्तरीको गौशालामा क्रसर कम्पनीको गतिविधि बारे रिपोर्टिङ गरिरहेका उनी र उनका साथीहरूलाई अचानक करीब आठ/नौ जना कामदारहरूको समूहले पछ्याउन थाल्यो । पत्रकारहरू आफ्नो जीवन जोगाउन भाग्नुपर्यो ।
“मैले मेरो काममा प्रत्यक्ष र परोक्ष धेरै धम्की सहेको छु, तर त्यस्तो ज्यानै मार्ने प्रयासको सामना भने अहिलेसम्म कहिल्यै भोगेको थिइनँ”, महतोले भने ।