बालबालिका ‘सप्लाई’ : बाजुरादेखि काठमाडौंसम्म

-निमेन्द्र शाही : खोज पत्रकारिता केन्द्रका लागि

आफ्ना वडाका बालबालिका कहाँ कहाँ घरेलु श्रमिकको रूपमा काम गर्छन् भनेर बाजुराको गौमुल गाउँपालिकाका दुई जना वडा अध्यक्षले थालेको विवरण संकलनको परिणाम ।

२०७४ असारमा भएको स्थानीय तह चुनावमा बाजुराको गौमुल गाउँपालिकामा एउटा फरक विषय पनि बहसमा थियो । गाउँपालिकाका थुप्रै बालबालिकालाई सुदूरपश्चिमका विभिन्न जिल्लामा र केहीलाई काठमाडौं ल्याएर समेत घरेलु नोकरको रूपमा काममा लगाइएको विषय पनि चुनावमा छिटफुट चर्चाको विषय थियो । गाउँपालिका गठन भएपछि वडा नम्बर ४ र ५ का अध्यक्षसहित प्रमुख, उप–प्रमुखले आफ्ना गाउँपालिकाका बालबालिका कहाँ–कहाँ छन् भनेर खोजीनिती गरे ।
वडा नम्बर ४ र ५ का अध्यक्षहरूले तत्कालै आ–आफ्ना वडाको विवरण संकलन गरेर गाउँपालिकामा बुझाए, अरूले बुझाउने क्रम जारी छ । २०७४ मंसीरसम्मको विवरण संकलन गरेर ‘गौमुल गाउँपालिकाबाट घरेलु कामदारको रूपमा जिल्ला बाहिर गएका बालबालिकाको विवरण’ तयार भएको छ । त्यो प्रतिवेदनले बालबालिकाको नाम, उमेर, ठेगाना, लगिएको घर, घरमूलीको नाम, ठेगाना र लैजान सहयोग गर्ने बिचौलियाको नाम समेत खुलासा गरेको छ ।
१० वर्षीया सीमा रोकाया यस्तै घरेलु श्रमिकमध्येकी एक हुन् । उनलाई बिचौलियाले काठमाडौं ल्याइपु¥याएका छन् । नेपाल प्रहरीका पूर्व एसपी रामकुमार थापाको बाँसबारीस्थित घरमा घरेलु कामदार रहेकी गौमुल गाउँपालिका–४ की सीमासँग हामीले गरेको टेलिफोन कुराकानी ।

सीमा : हेलो
पत्रकार : सीमा
सीमा : हजुर
पत्रकार : चिन्यौ, मलाई ?
सीमा : हजुर को बोल्नुभा ?
...
सीमा : दादा दर्शन, सञ्चै होइसिन्छ ?
पत्रकार : सञ्चै, सञ्चै छौ तिमी ?
सीमा : म पनि सञ्चै छु ।
पत्रकार : के गर्दै छौ त ?
सीमा : यसै बसिरा
...
पत्रकार : तिमी कुन स्कूल पढ्छौ ?
सीमा : बाँसबारी माध्यमिक विद्यालय
पत्रकार : अहिले तिमी कतिमा पढ्ने रे ?
सीमा : चारमा
...
पत्रकार : अनि तिमीले कुन कुन काम गर्छौ घरमा ?
सीमा : लुगा पट्याउने, मिलाउने, गमलामा पानी हाल्ने,
पत्रकार : तिमी कसरी आएको हो यहाँ ?
सीमा : मामाले (ल्याइदिनुभएको)
...
पत्रकार : एउटा कुरा सोध्छु, नढाँटी भन है
सीमा : हस्, हुन्छ
पत्रकार : कहिलेकाहीं घरको मान्छेले गाली गर्नुहुन्छ कि हुन्न ?
सीमा : कहिलेकाहीं गर्नुहुन्छ, काम गर्ने गर, नभूल भनेर । कहिलेकाहीं नसक्ने काम पनि गर्दिन्छु ।
पत्रकार : कुन कुन काम गर्छौ, फेरि भन त एकपटक ।
सीमा : म कौसी-छत सफा गर्छु, बिरुवामा पानी हाल्छु, किचनको कुचो लगाइदिन्छु, रातिको भाँडा माझ्छु, घरमा कुचो लगाइएर पुछिदिन्छु, ब्रस लगाइदिन्छु, कुसन मिलाउँछु, सोफा मिलाउँछु, लुगा पट्याइदिन्छु, उठाइदिन्छु ।
...
पत्रकार : यत्रो काम गर्दा बिग्रियो भने कसले के भन्छ ?
सीमा : राम्रोसँग काम गर भनिसिन्छ नानीले ।

गौमुल–५ मानाकोटका आमाहरु, जसमध्ये धेरैका छोराछोरी राजधानीलगायतका सहरमा घरेलु श्रमिक छन् ।

२०७२ साल वैशाखमा ८ वर्षकी सीमालाई उनकै मामा गौमुल–४ का भरत धामीले ‘राम्रो ठाउँमा लगेर पढाइदिने’ भन्दै काठमाडौं ल्याएका थिए । त्यसवेला भरतले सीमाकी दिदी १२ वर्षीया कमलालाई पनि सँगै काठमाडौं लिएर आएका थिए । काठमाडौं ल्याएर भरतले सीमा र कमलालाई यामाहाका व्यवस्थापक किरण गौतमको धोबीचौरस्थित घरमा लगेर छोडिदिए । सीमा र कमला त्यस दिनदेखि किरणको घरमा घरेलु कामदार भए । पछि किरणले सीमालाई बहिनीज्वाइँ रामकुमार थापाको बाँसबारीस्थित घर पठाइदिए । “अहिले दिदी धोबीचौर, म बाँसबारीमा छु” सीमाले भनिन्, “दिदी र म दुवैले उस्तैउस्तै काम गर्ने हो ।”
‘पढाइदिने’ भन्दै भरतले लगेको दिनदेखि छोरीहरू कसको घरमा छन् भन्ने अभिभावकलाई समेत थाहा छैन । बाबु भक्त रोकाया भन्छन्, “म काम गर्न भारत गएको वेला छोरीहरू लगेछन्, बेला–बेला फोनमा कुरा हुन्छ । उनीहरू कस्तो अवस्थामा छन्, मलाई थाहा छैन ।”

कैलालीको टिकापुरस्थित एक व्यक्तिको घरमा काम गर्न नसकेपछि भागेर गौमुलस्थित आफ्नो घर फर्किएका सुरेश रोकाया आफ्ना बाबुआमासँग ।

आफ्नो गाउँठाउँका कलिला बालबालिकालाई घरेलु कामदारका रूपमा ‘सप्लाई’ गर्ने भरत अहिले कतार पुगेका छन् । उनले गौमुल गाउँपालिका–४ कै १२ वर्षीया शर्मिला धामी र कविता धामीलाई पनि ‘हुनेखानेको घरमा राखेर पढाइ दिने’ भन्दै नेपालगञ्ज पठाएका छन् ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई शहरका राम्रा स्कूल पढाइदिने आश्वासन दिएर घरेलु कामदार बनाउने भरत जस्ता थुप्रै व्यक्ति बाजुरामा अहिले पनि सक्रिय छन् । गाउँपालिकाको विवरण अनुसार, आर्थिक रूपमा विपन्न अभिभावकलाई प्रलोभनमा पारेर बालबालिकालाई घरेलु कामदारको रूपमा ‘सप्लाई’ गर्ने व्यक्तिहरूमा धेरैजसो विद्यालयका शिक्षक र गाउँका केही व्यापारी पनि शहरका ‘हुनेखाने’ लाई बालबालिका ‘मिलाइदिने’ यो अपराध कार्यमा संलग्न छन् ।
सामाजिक प्रभाव हुने शिक्षक र व्यापारी बाहेक परिवारलाई सहमत गराएर कुरा मिलाउने बिचौलियाहरूमा बालबालिकाकै नातेदार पनि छन् । घरेलु नोकरको खोजीमा रहेका व्यक्तिलाई भनेजस्तो बालबालिका उपलब्ध गराएमा ‘लाभ’ लिन सकिने आशमा बिचौलियाहरू यो काम गर्छन् । आर्थिक अवस्था नाजुक भएका स्थानीयवासी त्यस्ता बिचौलियामा विश्वास गरेर आफ्ना सन्तान शहर पठाउन राजी हुन्छन् । अनि ती कलिला बालबालिकाको श्रमशोषण शुरू हुन्छ ।

गाउँका बालबालिकालाई राम्रो स्कूलमा पढाइदिने आश देखाएर साहुसँग ‘सेटिङ’ मिलाउने एक व्यक्ति हुन्, गौमुल–४ का रमानन्द जोशी । उनी कृतिचौर माविका पूर्व प्रधानाध्यापक हुन् । गाउँमा बुद्धिजीवी भनेर चिनिने ‘रमानन्द गुरु’ ले गौमुल–४ का पाँच जना बालबालिकालाई विभिन्न व्यक्तिका घरमा पु¥याउन सहयोग गरेका छन् । गाविसले संकलन गरेको विवरणमा उनको नाम छ । त्यति मात्रै होइन, गौमुल–५ का वडा अध्यक्ष वीरेन्द्र रोकायाले हाकाहाकी भने “बालबालिका बेच्नेमा रमानन्द गुरु अगाडि देखिए ।”

गाउँपालिकाको विवरण हेर्दा रमानन्दले कञ्चनपुर र कैलालीमा धेरै बालबालिका ‘सप्लाई’ गरेको देखिन्छ । उनले पठाइदिएका बालबालिकाहरू प्रायःजसो शिक्षकको घरमा काम गर्छन् । रमानन्दले कैलालीको अत्तरियाका दुर्गा भवानी मा.वि.का शिक्षक रेश्मी शाह, कञ्चनपुरको महेन्द्रनग र माविका शिक्षक चन्द्रकला पन्त, कञ्चनपुरकै शान्ति निकेतन माविका शिक्षक पुष्कल भट्टकहाँ एक/एक जना बालक पठाइदिएको गाउँपालिकाको अभिलेखले देखाउँछ ।

बाजुरा बूढीगंगा नगरपालिका, बड्यालीस्थित शारदा निमाविका शिक्षक गणेश शाह, गौमुलस्थित दुर्गाली प्राविका शिक्षक बलराम जोशी, गौमुलकै मानाकोट माविका शिक्षक भीमबहादुर रोकाया, कैलालीको धनगढीस्थित शारदा माविकी शिक्षक शान्ति सिंहले पनि बालबालिका ‘मिलाइदिने’ काम गरेको गाउँपालिकाको विवरणबाट स्पष्ट हुन्छ । जस्तो कि– गणेशले पठाइदिएका बालक उमेश धामी दाङको सरस्वती माविका शिक्षक बसुन्ता हमालकहाँ काम गर्छन् ।

गौमुल गाउँपालिका–५ का केशव रोकाया गाउँमा ‘बुद्धिजीवी’ भनेर चिनिन्छन् । उनले पनि गौमुलका पाँच बालबालिकालाई घरेलु कामदारको लागि अन्यत्र पठाइदिएका छन् । उनले पठाएका बालबालिका अहिले काठमाडौं, बाँके, पोखरालगायतका ठाउँमा घरेलु कामदार रहेको गाउँपालिकाको विवरणमा उल्लेख छ ।

यस क्षेत्रमा बालबालिकालाई घरेलु कामदारका रूपमा लैजाने पुरानै चलन देखिन्छ । किनकि अहिले बालबालिका ‘सप्लाई गर्ने’ भनेर चिनिने गौमुल–५ का भविन्द्र रोकाया केही वर्ष पहिलेसम्म आफैं घरेलु कामदार थिए । दुई वर्ष पहिलेसम्म उनी भक्तपुरका एकजना शिक्षक रुद्र खड्काको घरमा काम गर्थे । भविन्द्रलाई नेपाली सेनाका पूर्व जवान ज्ञानबहादुर रोकायाले खड्काकहाँ पठाएका थिए ।

अहिले उनै भविन्द्रले चितवन, भक्तपुर, पोखरा र काठमाडौंमा चार जना बालबालिका पठाएको गाउँपालिकाको विवरणबाट स्पष्ट हुन्छ । भविन्द्रले चितवनका पूर्व जिल्ला शिक्षा अधिकारी श्यामजी अतिथिलाई पनि एक बालक पठाइदिएका छन् । भविन्द्रले नै गौमुल–५ का दलबहादुर रोकाया र बुदी रोकायाका १३ वर्षीया छोरा महेशलाई दुई वर्ष अगाडि श्यामजीकहाँ काम गर्न पठाएका थिए ।

गाउँपालिकाको विवरण अनुसार, गौमुलका व्यापारीहरू पुने धामी, अर्जुन धामी र पूर्ण धामी पनि बालबालिका ‘सप्लाई’ गर्नेमा पर्छन् । अर्जुन धामीले कैलालीका पूर्व जिल्ला शिक्षा अधिकारी नन्दराज पन्थको घरमा काम गर्न गौमुलबाट शिव धामीलाई पठाइदिएका छन् । धामी अहिले पनि पन्थको घरमा घरायसी काम गर्छन् ।

यसबारेमा बुझ्न पूर्व जिशिअ पन्थलाई फोन गर्दा उनी सम्पर्कमा आएनन् । नन्दराजकी बुहारीले फोनमा भनिन्, “शिवले बालबच्चा हेर्ने काम गर्छ ।” शिवको बारेमा थप प्रश्न गर्न थालेपछि नन्दराजका छोरा गजेन्द्रले फोन खोसेर भने “तपाइँ को हो, किन चाहियो ?” गजेन्द्रले थपे, “मैले मेरो रिलेसनको आधारमा उसलाई ल्याएको हुँ, उसको परिवार अप्ठेरोमा परेको भएर सहयोग गरेको हो ।”

गाउँपालिकाले तयार पारेको विवरण अनुसार धनगढीकी व्यापारी दुर्गा सिंह, नेपाली सेनाका भूतपूर्व जवान तथा मानाकोटका स्थानीय ज्ञानेन्द्र रोकाया पनि बालबच्चा साहूकोमा पठाउने बिचौलिया हुन् । यतिसम्म कि गौमुल गाउँपालिकाका कार्यालय सहयोगी रामबहादुर रोकाया पनि यो काममा संलग्न भएको गाउँपालिकाको विवरणबाट देखिन्छ ।
यस बाहेक राष्ट्रिय वाणिज्य बैंक, बाजुरा शाखाका सुरक्षा गार्ड प्रेमराज जोशी, स्थानीयहरू खडक रोकाया, सौरे रोकाया, शंकर रोकाया, राम रोकाया, दिनेश रोकाया, सविना रोकायाले पनि बालबच्चा पठाउन ‘सहयोगीको भूमिका निर्वाह गरेको’ विवरणबाट देखिन्छ । हुँदाहुँदा छिमेकी जिल्ला बझाङका अरुण सिंह पनि यो कार्यमा संलग्न रहेको देखाउँछ विवरणले ।

गाउँका गरीब परिवारका बालबालिकालाई प्रलोभनमा पारेर काम गर्न पठाउने अर्का व्यक्ति हुन् बलराम जोशी । उनी गौमुल गाउँपालिकाको दुर्गाली प्राविका शिक्षक हुन् । उनले मानाकोटका टंकप्रसाद जोशीका छोरा युवराजलाई भूतपूर्व सैनिक सुरनसिंह बोगटीको ललितपुरस्थित घरमा घरेलु कामदारका रूपमा पठाएका छन् । बलराम टंकप्रसादका नातेदार समेत हुन् ।

बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई काममा लगाउन रोक लगाएको छ । ऐनको दफा ४ मा ‘कसैले पनि बालकलाई ललाईफकाई वा झुक्याएर वा प्रलोभनमा पारेर वा डर, त्रास वा दबाबमा पारी वा... अन्य कुनै तरिकाले काममा लगाउनुहुँदैन’ भन्ने उल्लेख छ । यदि यसो गरेमा ‘निजलाई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ ऐनमा उल्लेख छ ।

कैलाली धनगढीस्थित शारदा माविकी शिक्षक शान्ति सिंहले बाजुरा गौमुलका सरोज धामीलाई आफ्नो घरमा राखेकी छिन् । उनलाई घरेलु श्रमिकका रूपमा राखेको स्वीकार गर्दै सिंहले भनिन्, “घरमा सहयोग गर्ने मान्छे नभएकोले ल्याएकी हुँ ।”

लामो समय गुपचुप रहेको गौमुलको यो मामिला केही महीनादेखि मात्रै बाहिर आउन थालेको हो । २४ असोज २०७४ मा राष्ट्रिय मानवअधिकार आयोगले गाउँपालिकालाई पत्र लेख्दै बाजुराबाट ‘बालबालिकालाई राम्रो विद्यालयमा पढाइदिने र राम्रो काममा लगाइदिने भन्ने सपना देखाएर जिल्ला बाहिर लगी घरेलु मजदूरको रूपमा काम लगाउने प्रवृत्ति बढ्दै गएको’ ध्यानाकर्षण भएको जनाएको थियो । बाजुराको महिला तथा बालबालिका कार्यालयले ७ पुस २०७४ मा ‘घरेलु कामदारको लागि जिल्ला बाहिर पठाएका बालबालिकालाई यथाशीघ्र फिर्ता ल्याउन’ गाउँपालिका र अभिभावकहरूलाई पत्र लेखेको थियो ।

२०७४ पुसयता गौमुल गाउँपालिकाको दुई वटा वडाका ९ बालबालिका घर आएका छन् । अहिलेसम्मको सार्वजनिक विवरण अनुसार यो गाउँपालिकाका दुई वटा वडाका मात्रै ४३ जना बालबालिका अझै पनि राजधानीलगायत विभिन्न जिल्लामा घरेलु कामदार छन् । गाउँपालिकाका अनुसार, वडा नम्बर ४ बाट २३ र वडा नम्बर ५ बाट २० जना अहिले पनि घरेलु श्रमिक छन् । गौमुलको गाउँ बाल संरक्षण समितिको विवरण अनुसार ‘कामदार बनाइएका सबै बालबालिका १८ वर्ष भन्दा कम उमेरका छन् ।’

प्रक्रिया पूरा नगरी लगिएका बालबालिका शोषणमा पर्ने गरेका छन् । पढाउने आशा देखाएर अर्कै काममा लगाइएको भए मानव बेचबिखनमा मुद्दा चलाउनुपर्छ ।

—लुकबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी

कानून विपरीत लगिएका बालबालिका तत्कालै फर्काउन प्रयास भइरहेको छ” रोकायाले भने, “२०७५ वैशाखसम्म सबैलाई फिर्ता ल्याउँछौं ।

—हरिबहादुर रोकाया, गौमुल गाउँपालिकाका अध्यक्ष







अहिले ‘गाउँ बाल संरक्षण समिति’ ले गौमुलको मानाकोट गाउँलाई बाल श्रममुक्त घोषणा गर्ने तयारी गरिरहेको छ । घोषणा गर्नुपूर्व सबै बालबालिकालाई गाउँ फर्काइने गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । रोकायाले बालबालिकालाई श्रमशोषण गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउने दाबी गरे । “कानून विपरीत लगिएका बालबालिका तत्कालै फर्काउन प्रयास भइरहेको छ” रोकायाले भने, “२०७५ वैशाखसम्म सबैलाई फिर्ता ल्याउँछौं ।”

पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा १३ असार २०७० सालसम्म कमलरी प्रथा प्रचलनमा थियो । त्यहाँका जमीनदारहरूले थारू समुदायका बालबालिकालाई कमलरी बनाएर राख्ने गर्दथे । सरकारले ती जिल्लालाई ‘कमलरीमुक्त’ घोषणा गरेपछि अहिले पहाडी भेगबाट बालबालिका ल्याएर घरेलु कामदार बनाउन थालिएको छ । गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष वीरेन्द्र रोकायाले भने “कमलरी प्रथा हटेपछि दुर्गम भेगका बालबालिकालाई घरेलु श्रमिक बनाउन थालिएको छ ।”

बाल कल्याण समिति बाजुराका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बालबालिका लगिएको बारे आफूलाई औपचारिक जानकारी नभएको बताए । संयोजक क्षेत्रीले भने, “यसरी प्रक्रिया पूरा नगरी लगिएका बालबालिका शोषणमा पर्ने गरेका छन् र खोज्न पनि कठिन भइरहेको छ ।” उनी भन्छन्, “पढाउने आशा देखाएर अर्कै काममा लगाइएको भए मानव बेचबिखनमा मुद्दा चलाउनुपर्छ ।”

गौमुल–६ का वडा अध्यक्ष गणेशबहादुर रोकायाले अब बालबालिकालाई घरेलु कामदारको लागि लैजान नदिने बताए । “अहिलेसम्म जे भयो भयो” उनले भने “अब अर्को आर्थिक वर्षदेखि यस्तो हुन दिन्नौं, सबैलाई घर फर्काउँछौं ।”

गौमुल–५ स्थित मानाकोट गाउँ ।


‘कहिलेकाहीं स्कूल पठाउँथे’

गाउँबाट ‘राम्रो पढाइदिने’ भनेर लगिएका बालबालिकाले कस्तोसम्म अत्याचार सहनुपर्छ भन्ने दुई वटा उदाहरण यहाँ छन् । बाजुरा गौमुल गाउँपालिका–४ मानाकोटकी धनी बुढाका १४ वर्षीय छोरा मुकेशलाई २०७१ सालमा एक सैन्य अधिकारीले लिएर गए । ललितपुर स्थायी घर भएका ती सैन्य अधिकारीले राजधानी लगेर राम्रो स्कूलमा पढाइदिने भनेर मुकेशलाई लगेका थिए । तर उनले मुकेशलाई नियमित स्कूल पठाएनन् ।
“भर्ना त भएको थिएँ, तर कहिलेकाहीं मात्र स्कूल पठाउँथे” मुकेशले भने, “सधैं घरको काम गरेर बस्नुपथ्र्यो ।” ती सैनिक अधिकारीको घरमा काम गर्न नसकेर मुकेश २०७३ सालको दशैंमा ‘सामान किन्न जान्छु’ भनेर भागेर घर पुगे । “राम्रो पढ्ला भनेर पठाएँ” मुकेशकी आमा धनी बुढाले भनिन्, “पढ्न पाएन, दुःख मात्र पाएछ ।” मुकेशले आफूलाई लिएर जाने सैनिक अधिकारीको नाम बताउन सकेनन् ।

ललितपुरका एक सैन्य अधिकारीको घरबाट भागेर घर फर्किएका घरेलु श्रमिक मुकेश बुुढा आमासँग ।

गौमुलकै १६ वर्षीया सरिता जोशीलाई चार वर्ष अगाडि उनका सानोबाबु बलराम जोशीले ‘शहर लगेर राम्रो पढाइदिने’ भनेर गाउँबाट लगे । सरिताकी आमाले पनि छोरीलाई रोकिनन्—किनकि उनलाई लागेको थियो, शहरमा छोरीले राम्रो पढ्न पाउली, भविष्य राम्रो होला । तर बलरामले सरितालाई बुटवलका शिक्षक कमल खनालकहाँ लगेर छोडिदिए । कमल बलरामका मिल्ने साथी थिए । जब सरिता कमलको घर पुगिन्, उनको नारकीय जीवन शुरू भयो । पढ्न पाइनन्, बस्तुभाउ हेर्ने र घाँसपात काट्ने काम गर्नुप¥यो । अत्याचार खप्न नसकेपछि सरिता २०७२ वैशाखमा भागेर घर फर्किन् । बलरामले पनि हामीसँग गल्ती स्वीकार गरे । उनले भने, “साथीले भनेपछि लगिदिएको थिएँ, उनीमाथि नराम्रो व्यवहार गरेछ ।” सरिताकी आमा कमला जोशीले भनिन् “छोरीले अत्याचार सहनुप¥यो, तर बोलिदिने कोही भएन ।” सरिता अहिले वैदेशिक रोजगारीको लागि यूएई गएकी छिन् ।

Leave a Reply

Your email address will not be published.