Print Friendly, PDF & Email

जनताको घरदैलोको सरकार भनिने स्थानीय तहमा दलहरू आफूले पाएको बहुमतको कतिसम्म दुरुपयोग गर्छन् भन्ने उदाहरण लहान नगरपालिकामा देखियो, जहाँ एमाले–माओवादीले आफू हारेका वडाका जनतालाई विकासमा समेत विभेद गरेका छन् ।

सुरेन्द्रकुमार कामती:  खोज पत्रकारिता केन्द्रका लागि

सिरहाको लहान नगरपालिकाले ११ माघ २०७४ मा भएको नगरसभा बैठकबाट कुल रु.१ अर्ब ४७ करोडको बजेट पारित ग¥यो । गएको २ असोजमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित मेयर मुन्नी साहले यो बजेट नगरपालिकाका वडाहरूलाई बाँडफाँड गर्दा गरेको दलगत विभेद भने सबैलाई अचम्मित पार्ने खालको छ ।

“सबै वडाको भूगोल र परिस्थिति एउटै छैन, बजेट तर्जुमा गर्दा गल्ती गरेजस्तो लाग्दैन ।”

मुन्नी साह
मेयर, लहान नगरपालिका

नेकपा एमालेबाट निर्वाचित मेयर साहले बजेट विनियोजन गर्दा आफूसम्बद्ध पार्टीका व्यक्ति अध्यक्ष भएका वडामा धेरै र अरू पार्टीका व्यक्ति अध्यक्ष रहेका वडामा थोरै बजेट छुट्याएका छन् ।

वाम गठबन्धनको तर्फबाट मेयरमा निर्वाचित भएका साहले एमाले र माओवादी पार्टीका वडा अध्यक्ष भएको ठाउँमा रु.२५ लाखदेखि रु.६५ लाखसम्म बजेट विनियोजन गरेका छन् । तर, नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका वडा अध्यक्ष निर्वाचित भएका ठाउँमा रु.५ लाखदेखि रु.२० लाख मात्र छुट्याएका छन् । वडा नम्बर ७ का अध्यक्ष राकेश रोशन गुप्ताले मेयर साहले पार्टीगत पूर्वाग्रहको आधारमा बजेट विनियोजन गरेको आरोप लगाए ।

संघीय समाजवादी फोरमबाट निर्वाचित गुप्ताले भने, “विपक्षी पार्टीका वडाध्यक्ष भएको ठाउँमा बढीमा २० लाख रुपैयाँ र आफ्नो पार्टीका वडाध्यक्ष भएको ठाउँमा कम्तीमा २५ लाख रुपैयाँ दिइएको छ, यो सोझै पक्षपात हो ।”

तर, मेयर साहले वडाको आवश्यकता हेरेर वडा समितिको सिफारिशकै आधारमा बजेट विनियोजन गरिएको दाबी गरे । “सबै वडाको भूगोल र परिस्थिति एउटै छैन” उनले भने, “बजेट तर्जुमा गर्दा गल्ती गरेजस्तो लाग्दैन ।” उनले नगरपालिकाका वडा नम्बर ६, ७ र ८ विकसित बजार क्षेत्र भएकोले ५ र १० लाख रुपैयाँ मात्र बजेट दिइएको बताए । तर, बजारक्षेत्रमै पर्ने वडा नम्बर ५ मा ५० लाख छुट्याइएको बारे बोल्न चाहेनन् । किनभने, सो वडाको अध्यक्ष एमालेले जितेको छ ।

विकास र पूर्वाधारका दृष्टिले पछाडि रहेका वडामा पनि नगरपालिकाले थोरै बजेट छुट्याएको छ । त्यसको कारण हो– ती वडाहरूमा एमालेका वडाध्यक्ष नहुनु । यसको उदाहरण चुरेतर्फका १५ र १६ नम्बर वडा हुन् । विकास र पूर्वाधारका हिसाबले वडा नम्बर १५ (ढोढना) र १६ (तरगेना) कमजोर र निकै पछाडि छन् । कांग्रेसका वडाध्यक्ष रहेका यी वडामा क्रमशः रु.२० लाख र रु.१५ लाख बजेट विनियोजन गरिएको छ ।

ग्राफिक्स : इन्द्र श्रेष्ठ

यी वडासँगै सीमा जोडिएका वडा नम्बर १७ गोविन्दपुर र वडा नम्बर १८ भदैयाको विकास र पूर्वाधारको अवस्था खासै फरक छैन । तर, यिनलाई नगरपालिकाले क्रमशः रु.५० लाख र रु.४५ लाख बजेट छुट्याएको छ । कारण, यी दुवैमा एमालेका वडाध्यक्ष छन् । यी चारवटै वडा चुरे क्षेत्रतर्फका गाउँ हुन्, जसको भूगोल, विकास निर्माणको अवस्था र आर्थिक-सामाजिक स्थिति समान छ ।

यी वडाहरूको जनसांख्यिक बनोट पनि उस्तैउस्तै छ । बरु कतिपय थोरै बजेट पाएका वडाको जनसंख्या धेरै बजेट पाउने वडाको भन्दा बढी देखिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार रु.२० लाख प्राप्त गर्ने वडा नम्बर १५ को जनसंख्या ४ हजार ८४१ छ । तर, रु.५० लाख बजेट पाउने वडा नम्बर १७ को जनसंख्या ३ हजार १४३ मात्र छ ।

मेयर मुन्नी साहले आफ्नो घर भएको वडा नम्बर ५ को लागि रु.५० लाख विनियोजन गरेका छन्, जहाँ एमालेकै वडाध्यक्ष छन् । तर, सीमा जोडिएका वडा नम्बर ४ मा रु.१० लाख र वडा नम्बर ६ मा रु.५ लाख मात्र विनियोजन गरेका छन् । लहान नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म सबभन्दा बढी रकम मेयर साहले आफ्नै वडामा राखेका छन् ।

लहान नगरपालिकामा जम्मा २४ वडा छन्, जसमध्ये ११ वटा वडामा वाम गठबन्धनका वडाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

लहान : सिरहामै अपवाद

११ माघ २०७४ मा भएको लहान नगरपालिकाको नगरसभाले विनियोजित बजेट पारित गरेको थियो । एमाले र माओवादी इतरका दलहरूले असन्तुष्टि जनाउँदा जनाउँदै पनि मेयर साहले ‘बहुमत पुगेको’ भन्दै बजेट पारित गरेका थिए । बजेट बाँडफाँडमा कुरा नमिलेपछि वाम गठबन्धनबाहेकका नगर कार्यपालिकाका १४ जना सदस्यले नगर सभा नै बहिष्कार गरेका थिए ।

ग्राफिक्स : इन्द्र श्रेष्ठ

असन्तुष्टि देखिंदा देखिंदै पनि बहुमतका आधारमा वडाको बजेट बाँडफाँड गरेको भन्दै सदस्यहरूले १४ माघ २०७४ मा प्रदेश–२ का प्रमुखको ध्यानाकर्षण गराए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझइएको ज्ञापनपत्रमा ‘नगर प्रमुख साहले बहुमतको आडमा नगर कार्यपालिकाको बैठक र नगरसभाबाट … २४ वटा वडामध्ये आफ्नो दल एमाले र माओवादी केन्द्रले नजितेका १३ वटा वडामा विकास बजेट अत्यन्त न्यून उपलब्ध गराएको प्रति प्रदेश प्रमुखको ध्यानाकर्षण गराउँछौं’ भनिएको छ । पत्रमा ‘अल्पमत र प्रतिद्वन्द्वीलाई समेत सम्मान गर्नुपर्ने लोकतान्त्रिक व्यवस्थामा मेयर मुन्नीले प्रतिशोधको राजनीति थालनी गरेको’ उल्लेख छ । यद्यपि, असन्तुष्टहरूले प्रदेश प्रमुखलाई ध्यानाकर्षण–पत्र दिनुको कुनै संवैधानिक-कानूनी अर्थ भने छैन ।

लहानको ३४ सदस्यीय नगर कार्यपालिकामा वाम गठबन्धन अर्थात् मेयर मुन्नी साह र उपमेयर सरियार चौधरीका पक्षमा २० सदस्य छन् । उपमेयर चौधरी पनि एमालेबाटै निर्वाचित हुन् । वडा नम्बर ६ का अध्यक्ष तथा कांग्रेस नेता अरुण केसीले बहुमतको आडमा मेयरले बजेट, नीति तथा कार्यक्रम पारित गरेको बताए । “थोरै बजेट दिने र काम गर्न सकेन भनेर जनताको बीचमा बदनाम गर्ने योजना देखिन्छ” केसीले भने, “वडाको आवश्यकता हेरेर सवा करोडको प्रस्ताव पेश गरेको थिएँ, तर रु.५ लाख मात्रै विनियोजन भयो ।” संघीय समाजवादी फोरमको तर्फबाट विजयी लहान–८ का वडाध्यक्ष विजय महतोले भने, “बजेट नदिने र केही गर्न सकेनन् भनेर बदनाम गरी आउँदो चुनावमा भोट आफ्नो पार्टीतर्फ तान्ने दाउ रचेको देखियो ।”

वडा नम्बर ७ का अध्यक्ष तथा संघीय समाजवादी फोरमका नेता राकेश रोशन गुप्ताले आवश्यकता नभई पार्टीगत रूपमा बजेटको सिलिङ तोकेको बताए । “बजेट बाँडफाँडमा पूर्वाग्रह राखिएको छ” गुप्ताले भने, “हाम्रो कुनै पनि कुरा मेयरले सुन्दैनन्, हामीले असहमति जनाउँदा जनाउँदै पनि बहुमत छ भन्दै भटाभट निर्णय गर्छन् ।” वडा नम्बर १६ का अध्यक्ष, कांग्रेसका गडुलबहादुर जर्घा मगरले आफ्नो वडा भौगोलिक आधारमा दुर्गम र ठूलो भए पनि रकम दिंदा पक्षपात गरेको बताए । “हाम्रो वडालाई पक्षपात गरेकै हो” उनले भने, “ठूलो भौगोलिक क्षेत्र भएको र विकट हाम्रो वडामा आवश्यकता अनुसार बजेट दिइएन ।”

तुलनात्मक रूपमा बढी बजेट पाएका वडाका अध्यक्षहरू पनि आफूहरूलाई बजेट कम भएको बताउँछन् । वडा नम्बर २४ का अध्यक्ष, एमालेका कमलदेव यादवले भने, “विकास निर्माणका कामहरू हुँदैछन्, हामीलाई दिइएको रकम पनि त्यति धेरै होइन ।” यो वडाले रु.६५ लाख प्राप्त गरेको छ ।

सिरहाका अरू नगरपालिकाले भने सबै वडामा समान रूपमा बजेट विनियोजन गरेका छन् । 

नगरको समीकरण

लहान नगरपालिकाको ३४ सदस्यीय नगर कार्यपालिकामा वाम गठबन्धनको बहुमत छ, जहाँ मेयर, उपमेयर, ११ जना वडाध्यक्ष र सातजना निर्वाचित कार्यपालिका सदस्य गरी गठबन्धनका २० सदस्य छन् । नगर कार्यपालिकामा कांग्रेस र फोरमको तर्फबाट १४ जना मात्र छन् । यस्तै, १२५ सदस्यीय नगरसभामा पनि वाम गठबन्धनको बहुमत छ । नगरसभामा वाम गठबन्धनका ६७ सदस्य छन् भने नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका ५८ जना सदस्य छन् । मेयर साहले बहुमतको आडमा निर्णय गर्न थालेपछि वामगठबन्धन इतरका दलहरूले विरोध जनाइरहेका छन्, जसका कारण पछिल्लो दुई महीनादेखि नगर कार्यपालिकाको बैठक बस्न सकेको छैन ।

२ असोजमा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट लहान नगरपालिकाको मेयरमा एमालेका मुन्नी साह र उपमेयरमा एमालेकै सरियार चौधरी निर्वाचित भएका थिए । २४ वडामध्ये ९ वटा वडामा एमाले, ९ वटा वडामा नेपाली कांग्रेस, ४ वटा वडामा संघीय समाजवादी फोरम र दुइटा वडामा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका थिए ।