Print Friendly, PDF & Email

रूपन्देहीमा बसेर १५ वर्षदेखि पत्रकारिता गरिरहेको मलाई ‘शंकाको भरमा २० वर्ष कैद’ भन्ने खोजमूलक समाचारले राजधानीमा समेत चर्चामा ल्याइदियो । दुई पटक मकवानपुर, दुई पटक रूपन्देही र एक पटक तम्घास पुगेर यो समाचार तयार गर्न पूरापूर चार महीना लागेको थियो । 

-मुकेश पोखरेल

काठमाडौं बस्न थालेको ६ महीना जति भएको थियो । रुचि अनुसारको काम थिएन । एउटा किताब लेख्ने काम एकसरो सकिइसकेको थियो । सम्पादक नारायण वाग्लेको निर्देशनमा त्यसको बाँकी काम गर्दै थिएँ । मलाई त्यति कामले पुगेको थिएन । कुनै विषयमा खोज समाचार गर्ने मनोकांक्षा बोकेर खोपके पुगेको थिएँ । 

२०७२ पुसको त्यो अन्तिम साता खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले सोधे ‘गज्जब विषय छ, रिपोर्टिङ गर्छौ ?’ जाउलाखेलस्थित खोपके कार्यालयको त्यो चिसो बिहानीमा चियाको कप समाउँदै मैले ‘हुन्छ’ भनें । ‘नेपालका जेलमा निर्दोषहरू छन् । खोज्नुपर्ने यही हो !’ सम्पादक गाउँलेले भने ‘गर्नसके अगाडि बढ, नसके अरूलाई नभन्नू ।’ विषय नौलो भए पनि के सोचेर हो फेरि ‘गर्छु’ भनिहालें । 

घटनाबारे जानकारी राख्ने एकजना व्यक्तिको टेलिफोन नम्बर लिएर म त्यहाँबाट निस्किएँ । तत्कालै ती व्यक्तिलाई टेलिफोन गरेर भेट्न चाहें । उनले भेट्न अस्वीकार गरे । 

लामो समयसम्म रूपन्देहीमा बसेर पत्रकारिता गरेको अनुभव यसमा प्रयोग गरें । आफूसँग चिनजानमा रहेका वकील, अदालतका साथीलाई मैले रिपोर्टिङ गर्न खोजेको विषयमा जानकारी गराएँ । गुल्मीमा यस्ता दुई वटा घटना भएको थाहा पाएँ । रूपन्देहीका एक जना वकीलले एक दुई घटना सुनाएर सहयोग गरे । 

यसै बीचमा प्रहरीले लगाएको लागूपदार्थ कारोबारको झूटा मुद्दामा १८ वर्ष कैद सजाय भोगेर जेलबाट बाहिरिएका अरविन्द्र दाससँग पुग्ने सम्पर्क नम्बर पाएँ । चाबहिल बस्ने अरविन्द्र दासलाई भेट्न प्रयास गरें । उनले भेट्ने इच्छा देखाएनन् । पटक पटक सम्पर्क गरें । छोरासँग लामो कुरा भयो । पत्रकारको परिचय दिंदै आफ्नो उद्देश्य बेलीविस्तार लगाएँ । उनले ‘बुवासँग कुरा गरेर फोन गरौंला’ भने ।  एकदिन पर्खें फोन आएन । त्यसपछि आफैं फोन गरें । तेस्रो पटकमा उनी कुरा गर्न राजी भए । 

चाबहिलमा भेट्न बोलाए । सानो गल्लीको कोठामा कपडा सिलाएर बसिरहेका थिए । कुरा गर्न उत्साहित भएर पुगेको छु म । तर, उनले भने ‘अब वितेको घटना बताएर काम छैन, मेरो जीवन बर्बाद भइनै सक्यो ।’ 

‘हाम्रो अनुसन्धान र न्यायप्रणालीमा रहेका कमजोरी देखाउन सके तपाईं जस्ता अरू निर्दोष मानिस जेल बस्नु पर्दैनथ्यो कि ? भनेर कुरा गर्न खोजेको’ भनेपछि उनको मन बदलियो । उनी बोल्न राजी भए । तर आफ्नो जेल जीवनको कथा भन्न नथाल्दै उनको गला अवरुद्ध भयो । सम्हालिन खोजे । फेरि भक्कानिए । लाग्थ्यो उनी पीडै पीडाको पहाड बोकेर जेल बाहिर निस्किएका छन् । 

मलाई उनको भनाइ पुष्टि गर्ने कागजात चाहिन्थ्यो । अदालतमा प्रहरीले पेश गरेका प्रमाण, सरकारी वकीलले गरेको विश्लेषण र न्यायाधीशले गरेका फैसलाहरू जुटाउनु थियो । यी कागज कहाँ पाइएलान् भनेर सोधें । खुशीको कुरा उनले सबै कागजपत्र सुरक्षित राखेका रहेछन् । प्रतिलिपि लिन तीनदिन पछि बोलाए । 

दासको अन्तर्वार्ता र केही कागजात भएपछि अलिक आत्मविश्वास बढ्यो । थप कथाको खोजीमा लागें । ललितपुर भैंसेपाटीतिरका एकजना समाजसेवी छोरालाई मोबाइलको सीम ल्याइदिए बापत बित्थामा दुई वर्ष थुनिएको थाहा भयो । उनको नम्बर फेला पारेर फोन गरें । अर्कोदिन उनले फोन गरे । तर भेट्न अनिच्छा व्यक्त गरे । खोपके सम्पादक गाउँलेले उनीसँग भेटघाटको तारतम्य मिलाए ।  

माघ पहिलो हप्ता उनको घरमा पुग्यौं । कल बाइपास गरेको अभियोगमा छोरा पक्राउ पर्दा बाबु कसरी जोडिन पुगे भन्ने कथा रोचक थियो । दुई वर्ष नख्खु बस्दा उनले जेललाई एउटा अनुसन्धान केन्द्र नै बनाएका रहेछन् । मानिसलाई कसरी दोषी बनाइन्छ ? यसमा प्रहरी, सरकारी वकील र न्यायाधीश कसरी मिल्छन् ? कतिपय अवस्थामा कसरी एउटा निर्दोष मानिस परिबन्दमा पर्छ भनेर उनले धेरै कथा सुनाए ।

उनले १२ घटनाका सूची दिए । उनले दिएका सम्पर्क नम्बरमा टेलिफोन गरेर बुझ्न थालें । धेरै घटनामा विश्वास गर्ने आधारहरू भेटिएनन् । कतिपयमा मानिस नै सम्पर्कमा आएनन् । जति सम्पर्कमा आए उनीहरू निर्दोष हुँदाहुँदै जेल परेका थिए भन्ने विश्वासिलो र भरपर्दो आधार भेटिएन । 

ती १२ मध्येका एक ललितपुरको नख्खु कारागारमा रहेका चितवनका मोहनीलाल बस्याललाई भेट्न गएँ । गेटमा बसेका सुरक्षाकर्मीलाई उद्देश्य बताएँ । नाम भित्र पठाए । व्याग, मोबाइल एक ठाउँमा राख्न भने । उनीहरूले भने अनुसार गरें । गोजीमा रहेका सिक्का पैसा र कलम निकाल्न लगाए । गेटमा रहेका केन्द्रीय अपराध अनुसन्धान ब्यूरोका कर्मचारीले तस्वीर लिएपछि भित्र जान दिए । 

सेतै फुलेका दाह्री कपाल । निधारमा रातो र पहेंलो टीका, टाउकोमा ढाका टोपी, रुद्राक्षको माला लगाएका बस्याल १० मिनेटपछि कारागारको ढोकामा देखिए । देख्नासाथ बोलाएँ । 

बीचमा फलामको बार । उनी भित्र, म बाहिर । हामी जस्तै भित्रबाहिर भएर कुरा गर्ने अरू धेरै थिए । सुस्तरी बोल्दा सुनिन्थ्यो । नजिक आमुन्नेसामुन्ने भएर कुरा गर्दा जेल प्रशासनका मानिसले हप्काउँथे । उनलाई घटनाबारे सबै बताउन भनें । कान ठाडो बनाएर सुनें । कुरा गर्दागर्दै उनी हुँक्क हुँक्क गरेर रुन थाले । कुराकानी रोकियो । फेरि आग्रह गरें, घटनाको विवरण सुनाए । उनले बताएका कुरा त्यहाँ टिप्न र रेकर्ड गर्न सम्भव थिएन । दिमागको ‘हार्डडिक्समा सेभ’ गरेर हिंडें । 

हतार–हतार कार्यालय आएँ । उनले भनेका कुरा सम्झेसम्म डायरीमा नोट गरें । त्यसपछि ती कुरा पुष्टि हुने कागजपत्रको खोजीमा लागें । लामो प्रयासपछि थाहा भयो– मोहनीलालको वकील रामनारायण विडारी रहेछन् । मैले विडारीलाई टेलिफोन गरें । उनले आफ्नो ल फर्मका वकील मुकुन्द न्यौपानेसँग सम्पर्क गर्न भने ।

तीन दिनसम्म दिनहुँजसो ल फर्म गएँ, फाइल भेटिएन । तर अधिवक्ता मुकुन्द न्यौपाने र मेरा बीच नेपालको फौजदारी न्यायप्रणालीका कारण कसरी निर्दोषहरू थुनिएका छन् भन्ने बारेमा छलफल भयो । जुन छलफल समाचार तयार गर्न धेरै उपयोगी थियो । पाँचौं पटक म त्यहाँ जाँदा न्यौपानेले मलाई मकवानपुरका शशिकुमार तितुङको करीब २०० पेजको फाइल दिए । त्यसका महत्वपूर्ण कुरा डायरीमा नोट गरेर दुई दिनपछि फाइल फिर्ता गरें ।

१२ फागुन २०७२ मा गुल्मी सदरमुकाम तम्घास गएँ । उद्देश्य थियो,– जेलमा रहेका सूर्य विश्वकर्मा र राजु सार्कीलाई भेट्नु । उनीहरूलाई भेट्नुअघि नै यस सम्बन्धी मुद्दाको मिसिल हात पारिसकेको थिएँ । तीन–चार पटकसम्म दोहो¥याएर पढें । शङ्का लागेको कुरा नोट गरें । जेलर गोपालप्रसाद पाण्डेलाई टेलिफोन गरेर आफू भेट्न आउने जानकारी गराएँ । उनले दुईजना थुनुवालाई भेट्ने व्यवस्था मिलाइदिए ।  

दिउँसो १२ बजे जिल्ला कारागार गुल्मी पुगें । कुरा शुरू गर्ने बेलामा जेलर पाण्डेले एउटा प्रस्ताव राखे । उनले भने ‘सिडियो साबको अनुमति लिनुपर्छ । एकपटक फोन गर्नुस् ।’ नम्बर मागेर पत्रकार भएको परिचय दिंदै फोन गरें । मेरो अपेक्षा विपरीत प्रमुख जिल्ला अधिकारीले भने ‘भेट गर्न पाइँदैन ।’ उनको कुरा सुनेर रीस उठ्यो । तर, रीसलाई भीत्रै दबाएँ । जेलरका अगाडि हाँस्दै भनें ‘अँ सिडियो सापले भेट्नुस् भन्नुभयो ।’ अनि कुराकानी शुरू भयो ।

राजुसँग कुरा शुरू भयो । एकजना असई सँगै बसे । मैले डायरीमा नोट गरें । सबै कुरा नोट गर्न सजिलो थिएन । तर, उनको भनाइ रेकर्ड गर्न पनि सम्भव थिएन ।  

उनीहरू दुवैजना कानून अनुसार बलात्कारको अभियोगमा थुनिएका भए पनि वास्तविकता चाहिं ‘उमेर नपुगेकी प्रेमिकासँग शारीरिक सम्पर्क राखेको’ भनेर थुनिएका हुन् । नेपालको कानून अनुसार, १८ वर्ष भन्दा कम उमेरकी प्रेमिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि ‘बलात्कार गरेको’ मानिंदो रहेछ ।  

२२ फागुन २०७२ मा मोहनीलाल बस्यालको बारेमा बुझ्न म चितवन माडी गएँ । यो मामिला बुझ्न समस्या भइरहेको थियो । मोहनीलालकी बुहारी दीपालाई सम्पर्क गर्दा उनी सधैं ‘सबै सन्देश दाइलाई थाहा छ’ भन्थिन् । झण्डै दुई महीना पिछा गर्दा पनि सन्देश भन्ने व्यक्तिले केही बताएनन् । त्यसपछि  जिल्ला प्रहरी कार्यालय चितवन गएर बस्यालको बारेमा अदालतबाट भएको फैसलाका केही कागज लिएँ । त्यस आधारमा चितवन जिल्ला अदालत पुगें । वकील राजकुमार श्रेष्ठको सहयोगमा साँझ ४ बजे बल्लतल्ल यो मुद्दाको फोटोकपी हातप¥यो । यसपछि मात्रै मैले ‘प्रहरीसँग सम्बन्ध बिग्रिंदा कसरी बस्याललाई अपहरण मुद्दामा थुनिएछ’ भन्ने थाहा पाएँ ।

यसपछि म शक्तेको मुद्दामा केन्द्रित भएर लागें । भीमफेदी कारागारका जेलर चिरञ्जीवी थापालाई चार दिन अघि नै टेलिफोन गरेर आउने र भेट्नुपर्ने व्यक्तिको बारेमा बताइसकेको थिएँ । ४ चैत २०७२ बिहान ६ बजे बल्खुबाट भीमफेदी जान टाटासुमो चढें । ‘यहाँ आएर दिपेशलाई भेट्नुहोला । म बाहिर जानुपर्ने भयो’ देउराली पुग्दा जेलर थापाले टेलिफोनमा भने । मैले पनि उनलाई भनें ‘गेटमा भन्दिनुहोला । कर्मचारीलाई भनेर तपाइँको कार्यकक्षमा कुरा गर्ने वातावरण मिलाइदिनुहोला ।’

जेलको प्रवेशद्वारमा सुरक्षाकर्मीले दिने हैरानी मैले काठमाडौंमा भोगिसकेको थिएँ । ११ बजे भीमफेदी पुगें । सुरक्षाकर्मीले नाम टिपे, जीउ चेकजाँच गरे, झोला त्यहीं राख्न लगाए । अनि भित्र जान दिए । कारागार प्रशासनसमक्ष शशिकुमार तितुङ र सीताराम थिङलाई भेट्न चाहेको बताएँ । एकैछिनमा दुवै जनालाई कारागारका भाइ नाइकेले म भएको ठाउँमा ल्याए । शुरुमा दुवैसँग छुट्टाछुट्टै कुरा गरें । मेरो उद्देश्य शशिकुमार तितुङ केटी बेच्ने मान्छे हो÷होइन भनेर थाहा पाउनुथियो ।  

जुन महिला बेचेको अभियोगमा शशि जेल परेका थिए, तीनै बेचिएकी महिलाका श्रीमान् सीताराम थिङ पनि सँगै जेलमा थिए । दुवै जनालाई एकै ठाउँमा राखें । बम्बई जाने टोलीमा यी मान्छे थिए कि थिएनन् भनेर सीतारामलाई सोधें । उनले भने, ‘यी मान्छे नै होइनन् । अग्लो, बलियो र हट्टाकट्टा मान्छे थियो । त्यसलाई सत्य भन्थे ।’ सीतारामसँग मैले एक्लै पनि कुरा गरें । उनले भने– ‘यो मान्छे नै होइन, खै किन थुनेका हुन् ?’ 

सत्य खोज्न निस्किएको मकवानपुर प्रहरीले शक्ते समात्नुको कारण के थियो ? तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले एउटा असहाय र निर्दोष मान्छे माथि यति क्रूर सजायको डण्डा किन चलाए ? यस बारेमा मकवानपुर पदमपोखरीका गाउँलेहरू त्यसबेला किन बोलेनन् भन्नेबारेमा धेरै खाले दृष्टान्त भेटिए ।

काठमाडौं फर्केपछि प्रहरीका वरिष्ठ अधिकारी, सरकारी वकील र केही न्यायाधीशलाई भेट्यौं । अहिलेको प्रहरी, सरकारी वकील र न्यायाधीशहरूको काम गर्ने शैली, क्षमता र कार्यप्रणालीका आधारमा निर्दोषहरू जेलमा पर्ने सम्भावना छ कि छैन भनेर बुझ्न खोज्यौं । 

करीब तीन महीनामा पहिलो चरणको काम सकियो । दुई दिन लगाएर लेखेको समाचार खोपकेमा बुझाएँ । समाचार पढेर सम्पादक गाउँलेले भने ‘एकपटक पदमपोखरी जाऊ ।’ मलाई पनि समाचारको थप सत्यता जाँच्न मन लाग्यो । पदमपोखरी जाने निर्णय गरें ।

20 barsa jail-min (1)म त्यतिबेला वुटबलमा थिएँ । २ वैशाख २०७३ बिहान हिंडेको नौ बजे हेटौंडा पुगें । त्यहाँबाट लागें पदमपोखरीतिर । २०४६ सालताका शशिकुमार के गर्थे ? उनको स्वभाव कस्तो हो ? मैले जे जतिसँग कुरा गरें उनीहरूले माछा बेच्ने, साइकल मर्मत गरेर बस्ने गरेको बताए । उनको नराम्रो बानी भनेको तास खेल्दा रहेछन् । गाउँका मानिसले एक मुखले भने ‘यो मानिस बेच्न सक्ने हैसियतको मान्छे नै हैन । कसैसँग मुम्बइ गएकै छैन ।

कहाँबाट पैसा पाओस् र जाओस् मुम्बई ?’ यो भन्दा पनि बलियो प्रमाण के भेटियो भने जो बेचिएकी महिला हुन् उनले नै गाउँमै आएर यो मान्छेलाई फसाइएको हो भनेर बोलेकी रहिछन् । आवाज पनि रेकर्ड गराएकी रहिछन् । मैले त्यो आवाज फेला पार्न धेरै प्रयास गरें । तर, मोबाइल बिग्रिएपछि बनाउन लैजाँदा त्यो रेकर्ड उडेछ । भेट्टाउन सम्भव भएन ।

पदमपोखरी हात्तीगौंडास्थित शशिको घरमा पुग्दा श्रीमती, छोरी, ज्वाईं र कान्छो छोरा थिए । सामान्य टिनले छाएको घरको बाहिरपट्टि साइकल मर्मत गर्न प्रयोग गरिने नट, रेन्च, र टायर सहितको काठको सानो दराज थियो । शशि पक्राउ परेपछि ताला लगाइएको त्यो बाकस त्यसदिनसम्म पनि खुलेको थिएन । 

शशिको गाउँघरबाट फर्केर मैले समाचार पुनर्लेखन गरें । यस पछि तथ्य परीक्षणको काम भयो । समाचारमा उल्लेख भएका तथ्य र विवरणहरूलाई एक एक गरेर परीक्षण गरियो । अन्त्यमा तथ्य ठीक छ भन्ने यकिन गरेपछि उप सम्पादक धर्मराज दाहालले अन्तिम पटक शुद्धाशुद्धि पढे । यति गर्दा पनि तथ्यगत त्रुटि भइछाड्यो । समाचारमा एसएसपी सर्वेन्द्रनाथ खनालको कार्यालयको नाम ‘महानगरीय प्रहरी अपराध महाशाखा’ हुनुपर्नेमा ‘महानगरीय प्रहरी अपराध अनुसन्धान विभाग’ भएछ । त्यस्तै समाचारको एक ठाउँमा ‘८ हप्ताको गर्भपतन गराइएको’ हुनुपर्नेमा ‘८ महीनाको’ हुन पुगेछ ।

३१ वैशाख २०७३ का दिन दिउँसो तीन बजेतिर खोपकेबाट ‘कान्तिपुरमा एउटा फोटो पठाउनुप¥यो’ भन्ने टेलिफोन आएपछि मात्रै मैले ‘यो समाचार कान्तिपुरमा छापिंदै रहेछ’ भन्ने थाहा पाएँ । नभन्दै भोलिपल्ट कान्तिपुरले पहिलो पृष्ठमा महत्वका साथ ‘शंकाको भरमा २० वर्ष कैद’ भन्ने समाचार छापेको थियो । सँगै भित्री पेजमा ‘निर्दोष थुन्ने न्यायप्रणाली’ भन्ने पूरा पृष्ठमा मैले लेखेको समाचार थियो । समाचारमा कान्तिपुरका दुई जना संवाददाताका समाचार पनि समावेश थिए । फौजदारी न्यायप्रणालीमा भएका कमी–कमजोरीका कारण मानिसहरू कसरी जेल बस्न बाध्य हुन्छन् भन्ने धेरै दृष्टान्त समाचारमा थिए । 

आफैंले खोजेको समाचार पढ्दा यति पुलकित म कहिल्यै भएको थिइनँ । रूपन्देहीमा बसेर १५ वर्षदेखि पत्रकारिता गरिरहेको मलाई यो समाचारले राजधानीमा एकाएक चर्चामा ल्याइदियो । समाचार छापिएपछि अदालतले कडा वक्तव्य निकाल्यो । तर, मैले थाहा पाएसम्म प्रहरी, सरकारी वकील र न्यायालय ‘शक्ते निर्दोष छ’ भन्ने निचोडमा पुगेका छन् । आगामी १५ असारमा सर्वोच्च अदालतमा शक्तेको पेशी छ । मानिस निर्दोष हो पनि भन्ने जेलमा पनि राखिरहने यो दुर्भाग्य छिटो अन्त्य होस् । मेरो चाहना यत्ति हो ।