Print Friendly, PDF & Email

एक जना प्रधानाध्यापक हुनुपर्नेमा तत्कालीन शिक्षा राज्य मन्त्री दिलेन्द्र बडूको स्वार्थमा अर्कोलाई बनाउँदा सुदूरपश्चिमको एउटा नामी स्कूल तहसनहस भयो, कसरी ?

-भवानी भट्ट: खोज पत्रकारिता केन्द्रका लागि 

कञ्चनपुर । वैजनाथ उच्च माध्यमिक विद्यालय कुनै वेला जिल्लाकै उत्कृष्ट विद्यालयमा चिनिन्थ्यो । सदरमुकाम महेन्द्रनगरको यो विद्यालय जिल्लाको पुरानो छँदै थियो, सँगै अब्बल विद्यार्थी उत्पादनमा अग्रणी स्थानमा थियो । कुनै बेला एसएलसीमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमै उत्कृष्ट नतीजा ल्याएबापत दुई पटक ऐश्वर्य विद्या शिल्ड जित्न सफल थियो । 

4-School-minकेही वर्षयता विद्यालयले आफ्नो यो परिचय गुमाउँदै गएको छ । यतिसम्म कि एसएलसीमा एक÷दुई जना विद्यार्थी पास गराउन विद्यालयलाई हम्मेहम्मे पर्न थालेको छ । 

महेन्द्रनगर बजारको मुटुमा करीब १३ बिघा जमीनमा निर्मित विशाल भवनहरू छन् । बाहिरबाट हेर्दा ठूलो कलकारखाना जस्तै देखिन्छ । प्रावि, निमावि, मावि र उच्च माविका छुट्टाछुट्टै आकर्षक ब्लकहरू छन् । तर विद्यार्थी कम हुँदा सबै ब्लकहरू सुनसान झ्ैं लाग्छन् । 

२०५६ सालसम्म एउटै कक्षामा ५/६ वटा सेक्सन चल्थे । अहिले सिङ्गो एउटा कक्षामा ४०/५० जना विद्यार्थी पुग्दैनन् । विद्यालयका अनुसार २०५५/५६ देखि विद्यार्थीको संख्या क्रमशः घट्दै गएको हो । “त्यसअघि निमावि र माविमा मात्रै दुई हजार विद्यार्थी भर्ना हुन्थे” सहायक प्रधानाध्यापक जनार्दन जोशी भन्छन्, “अहिले स्कुलमा साढे चार सय विद्यार्थी मात्रै छन् । पढाइको स्तर खस्कँदै गएपछि विद्यार्थीको संख्या पनि वर्षेनि घट्दो छ ।”

पाँच वर्षमा ३४ पास

पछिल्लो पाँच वर्षयता कुनै वर्ष पनि यो विद्यालयबाट एसएलसीमा १० जना भन्दा बढी विद्यार्थी पास भएका छैनन् । विद्यालयका अनुसार, पाँच वर्षमा एसएलसी दिएका २४९ विद्यार्थी मध्ये ३४ जना मात्रै उत्तीर्ण भएका छन् । गत वर्ष त झ्न् ३७ विद्यार्थीमा एक जना मात्रै पास भए । एसएलसीको राष्ट्रिय नतीजा ४७.४३ प्रतिशत छ । कञ्चनपुरको नतीजा ३० को हाराहारीमा छ । तर यो विद्यालयको नतिजा २.७ प्रतिशत मात्रै छ । 

२०७२ सालको एसएलसीमा ३७ जना परीक्षामा सहभागी थिए । त्यसमा सबैभन्दा धेरै अंग्रेजीमा ३२, गणितमा २९ र विज्ञानमा २८ अनुत्तीर्ण भए । ऐच्छिक विषयमा समेत नतीजा निकै खस्केको छ । ऐच्छिक गणितमा एक जना पनि पास भएनन् । ऐच्छिक स्वास्थ्यमा २३ मा ३ र कम्प्युटरमा १३ मा ३ जना मात्र पास भए । 

शिक्षकहरूको तलबमा मात्रै वार्षिक एक करोड रुपैयाँ खर्च हुने विद्यालयबाट एसएलसीमा एक जना मात्रै उत्तीर्ण हुनु लाजमर्दाे अवस्था हो ।

अंग्रेजी विषय गएको बर्ष अवकाश पाएका हजारी भट्टले पढाउँथे । गणित र ऐच्छिक गणित तपेन्द्र भट्ट पढाउँछन् । विज्ञान नरेन्द्र जोशीले पढाउँछन् । कम्प्युटर सागर पौडेल र ऐच्छिक स्वास्थ्य हरेन्द्र पाण्डेयले पढाउँछन् । यिनै विषयमा सबैभन्दा कम विद्यार्थी पास भएका छन् । “प्रअको लडाइँ शुरू भएदेखि विद्यालयको पठनपाठन बिग्रेको हो” पुराना शिक्षक लालमणि पाण्डेय भन्छन्, “प्रअको लडाइँमा शिक्षकहरू गुटबन्दीमा लागे, विद्यालयको बेहाल भयो ।” 

२०२३ सालमा वैजनाथ व्यावसायिक माविका रूपमा स्थापना भएको यो विद्यालय २०३३ मा वैजनाथ माविमा परिणत भएको थियो । स्थापनाकालदेखि नै पर्याप्त शिक्षक थिए । हाल प्राविदेखि माध्यमिक तहसम्म २४ जना शिक्षक छन् । 

शिक्षक संघ–संगठनहरूमा राजनीति गर्ने धेरैजसो शिक्षकहरू यही विद्यालयका छन् । सदरमुकाम नजिकैको विद्यालय भएकाले संगठनको राजनीति गर्न सजिलो छ । यसैले अन्य ठाउँका शिक्षकहरू पनि सरुवा मिलाएर यहाँ आउन चाहन्छन् । शिक्षकहरूको छाता संगठन शिक्षक युनियन कञ्चनपुरका जिल्ला अध्यक्ष लालमणि पाण्डेयदेखि विभिन्न शिक्षक संगठनका जिल्लास्तरका नेता शिक्षकहरू यसै विद्यालयमा छन् । ओमप्रकाश जोशी एमाओवादी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष हुन् । तपेन्द्र भट्ट पनि त्यही संगठनका जिल्ला सदस्य हुन् । शिक्षिका निर्मला जोशी कांग्रेस निकट नेपाल शिक्षक संघकी जिल्ला उपाध्यक्ष हुन् । ध्रुव पण्डित एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य छन् । 

शिक्षकहरू राजनीतिमा लागेपछि विद्यालयको पठनपाठन बिग्रेको अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू बताउँछन् । कुनै पनि दिन सबै पिरियड पढाइ नहुने विद्यार्थी बताउँछन् । “स्कूल लाग्छ तर पढाइ हुँदैन” कक्षा १० मा अध्ययनरत छात्र विजय चौधरीले भने, “दिनमा दुई÷तीन पिरियड त प्रायः खाली नै हुन्छन् ।” वर्षमा २२० दिन अनिवार्य पढाइ हुनैपर्ने प्रावधान छ । “सात पिरियड पढाइ भएको कुनै दिन छैन” विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वीरेन्द्र चन्द भन्छन्, “वर्षमा डेढ सय दिन पनि पढाइ हँुदैन । विद्यार्थीले कोर्ष पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता छ ।” विद्यालय खुल्ने र शिक्षकहरूको हाजिरीका हिसाबले पठनपाठन नियमित नै भएको देखिन्छ । तर शिक्षकहरू विद्यालयमा हाजिरी लगाएर आफ्नो काममा लाग्ने, विद्यालयमै भए पनि नियमित पठनपाठनमा सहभागी नहुने शिक्षकहरू नै बताउँछन् । 

विद्यालयमा कक्षाकोठा, कार्यालय, प्रयोगशाला र छात्रावाससहित ७० कोठे ७ वटा छुट्टाछुट्टै भवन छन् । कक्षाकोठा मात्रै ३५ वटा छन् । धेरैजसो कक्षाकोठा प्रायः खाली छन् । वर्षेनि भौतिक पूर्वाधार निर्माणका लागि शिक्षा कार्यालयबाट प्राप्त हुने रकम पनि यो विद्यालयले पाइरहेको छ । यस वर्ष पनि करीब २५ लाख रुपैयाँको लागतमा शिक्षा कार्यालयको अनुदानमा चारकोठे भवन निर्माणाधीन छ । विद्यालयले पाँच बिघा जमीन लिजमा दिएर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्छ । त्यसका अतिरिक्त इन्जिनियरिङ कलेजलाई भवन भाडामा दिएबापत वार्षिक साढे चार लाख आम्दानी हुन्छ ।

बडूको स्वार्थः द्वन्द्वको बीउ 

२०५६ सालसम्म विद्यालयको अवस्था ठीकै थियो । सोही वर्ष प्रधानाध्यापक विष्णुदत्त भट्ट शिक्षक सेवा आयोगमा गएपछि प्रधानाध्यापक हुने चलखेल शुरू भयो । उनले तत्कालीन शिक्षा सहायक मन्त्री दिलेन्द्रप्रसाद बडूको दबाबमा कृष्ण उमावि झ्लारीका शिक्षक गगन गिरीलाई ल्याएर प्रधानाध्यापक बनाएपछि शिक्षकहरू दुई कित्तामा विभाजित भए । विद्यालयको शैक्षिक वातावरण खल्बलियो । गिरी कांग्रेस नेता तारणीदत्त चटौतका मीत पनि हुन् । 

सामान्यतया एउटा विद्यालयको प्रअ अर्काे विद्यालयमा सोझ्ै सरुवा हुँदैन । तर विष्णु भट्टले बडूको दबाबमा सबै कागजात र प्रक्रिया मिलाउन सहयोग गरेर मात्रै गिरी यहाँ आएका हुन् । गिरी विद्यालयमा हाजिर हुन आएका दिन पनि अन्य शिक्षकलाई जानकारी दिइएन । प्रअ भट्टले नै गिरीको हाजिरी गराएर सोही दिनदेखि विदा लिएका थिए । शिक्षा ऐन, नियममा एउटा विद्यालयको प्रअलाई प्रअकै रूपमा अर्को विद्यालयमा सरुवा गर्न मिल्ने प्रावधान छैन । 

त्यतिवेला वरिष्ठताका आधारमा प्रावि तहका शिक्षक वीरबहादुर चन्द प्रधानाध्यापक हुने लाइनमा थिए । बाहिरबाट ल्याएर प्रधानाध्यापक बनाएको विरोधमा केही शिक्षक वीरबहादुर चन्दको पछि लागे भने केही गगन गिरीको । “त्यतिवेला वीरबहादुर सरले नै प्रधानाध्यापक पाउनुपथ्र्याे” २४ वर्ष प्रअ भई विद्यालय चलाएका अवकाशप्राप्त शिक्षक विष्णुदत्त भट्ट भन्छन्, “तर बडूले गगन गिरीलाई प्रधानाध्यापक बनाउन मलाई दबाब दिए ।”

(सुन्नुहोस अडियो)

शिक्षकहरूबाटै असहयोग भएपछि गगन गिरीले चार वर्ष मात्रै स्कूल चलाए । त्यसपछि मोहनदत्त जोशी प्रअ भए । उनले पनि तीन वर्ष चलाए । २०६४ सालमा विष्णुदत्त भट्ट फर्केपछि विवाद चुलियो । प्रअ जोशीलाई राजीनामा दिन लगाएर भट्टलाई नै प्रअ बनाउने खेल शुरू भयो । भट्टलाई प्रअ बनाउने सहमति अनुसार भट्ट, लालमणि पाण्डेय र हजारीदत्त भट्टले आवेदन दिए । तर शिक्षा कार्यालयले भट्टको मूल्यांकनमै नराखेपछि व्यवस्थापन समितिसँग पनि शिक्षकहरूको द्वन्द्व शुरू भयो । शिक्षा कार्यालय हुँदै क्षेत्रीय शिक्षा निर्देशनालयसम्म पुगेपछि भट्टलाई नै प्रअ बनाइयो । व्यवस्थापन समितिले भट्टलाई नै प्रअ बनाउन भनेर शिक्षा कार्यालयमा निवेदन दिएका थिए ।  

भट्ट २०७० सालमा अनिवार्य अवकाश हुँदा लालमणि पाण्डेयलाई निमित्त दिएका थिए । तर हजारीदत्त भट्ट नेतृत्वको शिक्षक समूहले जुनियरलाई निमित्त दिएको भन्दै विद्यालयमा तालाबन्दी ग¥यो । मुद्दा पनि प¥यो । विद्यार्थी संगठनले पाण्डेयलाई नियम विपरीत प्रअ हुन खोजेको भन्दै कालोमोसो दलेर बजार घुमाए । २०७१ साउनमा हजारी भट्टलाई जबर्जस्ती प्रअ बनाइयो । उनले २०७२ असारमा आफू अवकाश हुँदा कसैलाई पनि निमित्त नदिंदा विद्यालय सञ्चालनमा झन् समस्या देखियो । त्यसपछि सहायक प्रअ जनार्दन जोशीले स्कूल सञ्चालन गर्न थाले ।

निमित्त भएदेखि कार्यालयका ताला र कागजात राख्ने दराजको साँचो आफूसँगै राखेका पाण्डेय प्रधानाध्यापक हुन नपाएको झेंकमा आक्रोशित बन्दै गए । उनले विद्यालयमा पढाउन पनि छाडे र अन्य शिक्षकलाई पनि आफ्नो विषय पढाउन दिएनन् । १४ असार २०७२ मा कक्षा १० मा पढाइरहेका वेला सहायक प्रह जोशीमाथि पाण्डेयले कक्षाकोठामै हातपात गरे । त्यसपछि विद्यार्थीले उनलाई समातेर जिल्ला शिक्षा कार्यालय पु¥याए । जोशीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । पछि दुवैले सहमति गरेर मुद्दा फिर्ता लिए । पाण्डेयले दुई वर्षदेखिको हिसाबकिताब बुझ्बुझरथ गर्ने सहमति जनाए ।  

प्रअ छनोट हुँदा पटक–पटक विवादमा आउने पाण्डेय व्यवस्थापन समितिले असहयोग गरेका कारण विवाद भएको बताउँछन् । “मलाई व्यवस्थापन समितिले प्रअ बनाउन चाहेन” उनी भन्छन्, “त्यही भएर पटक पटक विवाद भई विद्यालयको वातावरण बिग्रिएको हो ।” उनी कांग्रेस निकट नेपाल शिक्षक संघका तर्फबाट शिक्षक युनियनको जिल्ला अध्यक्ष समेत हुन् । उनी निमित्त हुँदा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पनि कांग्रेसकै वीरेन्द्र चन्द अध्यक्ष थिए । विष्णु भट्ट र गगन गिरी पनि शिक्षक संघकै हुन् । जनार्दन जोशी, हजारी भट्ट र वीरबहादुर चन्द एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन आबद्ध हुन् । 

सहायक प्रअ जोशी र प्रअका प्रत्यासी पाण्डेय भर्खरै अवकाश भइसके । विद्यालयलाई लामो समयसम्म सञ्चालन गर्न सक्ने भन्दै विज्ञानका शिक्षक नरेन्द्र जोशीलाई निमित्त प्रअ बनाउने सहमति गरेका थिए । त्यसै अनुसार प्रअ छनोटको प्रक्रिया पनि अघि बढाएका छन् । उनलाई पुराना शिक्षक÷शिक्षिका गंगादत्त जोशी, तपेन्द्र भट्ट र नारा जोशीले पनि समर्थन गरेका थिए । तर उनका विरुद्ध पनि नियम विपरीत प्रअ बनाउन लागेको भन्दै अख्तियारमा मुद्दा परेको छ । तपेन्द्रले सबैका अगाडि समर्थन जनाए पनि उक्त निर्णय भएदेखि उनी असन्तुष्ट भई विद्यालय आउन छाडेका छन् । 

शिक्षा नियमावली २०५९ मा मावि तहको प्रधानाध्यापकको लागि कम्तीमा शिक्षाशास्त्रमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकले दरखास्त दिनसक्ने व्यवस्था छ । उक्त नियमावलीलाई आफू अनुकूल व्याख्या गरेर पुराना शिक्षकहरू अनावश्यक झ्मेला गर्दै आएका छन् । शिक्षाशास्त्रमा स्नातकोत्तर नभएका तर अन्य विषय वा संकायमा स्नातकोत्तर गरेकाहरूले पनि सोसरहको प्रावधानलाई टेकेर विवाद गरिरहेको जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामी बताउँछन् । ‘सो सरह’ भन्ने प्रावधानको आफू अनुकूल व्याख्या हुने गरेको छ । 

नातागोताको भीड

विद्यालयको शैक्षिक तथा भौतिक विकासमा व्यवस्थापन समितिको भूमिका पनि महत्वपूर्ण हुन्छ । तर यहाँ आउने अध्यक्ष तथा पदाधिकारीहरू विद्यालयलाई के दिन सकिन्छ भनेर नभई के लिन सकिन्छ भन्ने सोचाइ राखेर आउने हुँदा विद्यालयको शैक्षिक स्तर वर्षेनि खस्किंदै गएको हो । 

2 - School 1-min“शिक्षक पनि राजनीतिमै लागे भने व्यवस्थापन समिति पनि विद्यालयमै राजनीति गर्न थाले, त्यही भएर शैक्षिक वातावरण खराब हुँदै गएको हो” पूर्व प्रअ विष्णु भट्टले भने । उनका अनुसार वैजनाथमा जति पनि व्यवस्थापन समितिको अध्यक्ष भए सबैले आ–आफ्ना नातेदार शिक्षकमा भर्ना गराए । उनका अनुसार २०६४ मा सुरेन्द्र विष्ट अध्यक्ष हुँदा उनले आफ्नी श्रीमती कुसुम विष्टसँगै ध्रुवराज पण्डित र वाचस्पति भट्टलाई अस्थायी शिक्षक भर्ना गर्न प्रक्रिया पु¥याए । पण्डित र भट्ट एमाले निकट हुन् भने अध्यक्ष विष्ट पनि एमाले सम्बद्ध हुन् । 

उनीपछि आएका अध्यक्ष वीरेन्द्र चन्दले पनि आफ्नी श्रीमती विमला चन्दलाई राहत दरबन्दीमा शिक्षक भर्ना गराइछाडे । वीरेन्द्र चन्द अघिका अध्यक्षले जमीन भाडामा लिने व्यक्तिसँग मिलेर सस्तो दरमा लिजमा दिने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । “पहिले प्रति बिघा १३ हजार मात्रै भाडा आउँथ्यो” सहायक प्रअ जोशीले भने, “अध्यक्ष परिवर्तन भएपछि त्यो रकम दोब्बर बढेर प्रति बिघा साढे २५ हजार पुग्यो ।” 

“विद्यालयबाट लिन खोज्ने मात्रै आए दिन खोज्ने कोही आएनन्” पूर्व प्रअ विष्णु भट्टले भने, “आफ्ना छोराछोरी बोर्डिङमा पढाउने अर्काका छोराछोरी पढ्ने ठाउँमा राजनीति गर्न मात्रै आउने प्रवृत्तिले विद्यालय बिग्रियो ।”

सम्बन्धित विद्यालयमा अध्ययनरत बालबालिकाको अभिभावक मात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन पाउने व्यवस्था छ । तर बोर्डिङ पढ्ने बालबालिकालाई प्रक्रिया पु¥याउन यहाँ भर्ना गरेर पनि अध्यक्ष हुने प्रवृत्ति छ । विद्यालयको अभिभावक नै नभएका पनि कति अध्यक्ष भएका छन् ।

पूर्व अध्यक्ष वीरेन्द्र चन्द अघिका धेरैजसो अध्यक्षहरू अभिभावक थिएनन् । वीरेन्द्र चन्दले व्यवस्थापन समिति गठन हुँदा आफ्नो छोरालाई उक्त विद्यालयमा भर्ना गरे पनि डेढ दुई महीनामै त्यहाँबाट अन्यत्र लगेका थिए । पूर्व अध्यक्ष सुरेन्द्र विष्ट र रवीन्द्र कुवर पनि अभिभावक थिएनन् । २०७१ मा विष्णु भट्टले अवकाश पाएपछि नयाँ प्रअ छनोटका लागि भएको प्रक्रियामा वीरेन्द्र चन्द अध्यक्ष थिए । त्यतिवेला लालमणि पाण्डेयसहितका केही शिक्षकले ‘अभिभावक नभएको अवैध अध्यक्षले गरेको छनोट नमान्ने’ अडान लिएका थिए । 

मेरो चासोको विषय होइनः बडू

आफ्नो सानो स्वार्थका कारण विद्यालय यति तहसनहस भएकोमा तत्कालीन शिक्षा सहायक मन्त्री तथा कांग्रेस नेता दिलेन्द्र बडूमा कुनै पश्चात्ताप देखिन्न । उनले यो आफ्नो सरोकारको विषय नभएको बताए । बडूले “विष्णु सरलाई शिक्षक सेवा आयोगमा नियुक्त गराए पनि प्रधानाध्यापक सरुवामा आफ्नो कुनै संलग्नता नरहेको” बताए । उनी भन्छन्, “कुन विद्यालयमा को प्रअ हुन्छ, त्यो मेरो चासोको विषय होइन र को शिक्षक कहाँबाट कसरी आयो मलाई थाहा पनि छैन ।”