ठगहरूका कार्यालय, उनीहरू नै छाप्छन् विज्ञापन

26 views

Print Friendly, PDF & Email

पत्रिकामा विज्ञापन छापेर खुलेआम ठग्ने काम राजधानीमा कसरी भइरहेको छ ? ठग्ने र ठगिनेहरूको कथा ।

-मुकेश पोखरेल : खोजपत्रकारिता केन्द्रका लागि

‘नो इन्टरभ्यू । शतप्रतिशत जागीरको ग्यारेण्टी । तलब न्यूनतम १६ देखि अधिकतम् ३७ हजारसम्म ।’ १० माघ २०७२ का दिन एउटा राष्ट्रिय दैनिकमा छापिएको विज्ञापनले खड्कबहादुर तामाङको मन तान्यो । दुई वर्ष कतार बसेर आएका काभ्रे चापाखोरी गाविस कालधरका तामाङसानोतिनो जागीर मिले फेरि विदेश नजाने सोचमा थिए । पत्रिकामा दिएको सम्पर्क नम्बरमा फोन गरे । उनलाई कार्यालयमै बोलाइयो । खोज्दै कलंकी पुगेपछि भेटियो- ‘इन्टरनेशनल आइटी’ अफिस ।

Bikash 1 (2)-min

ललितपुरको बालकुमारीमा 'भि इन्फोटेक' नामको ठगी कार्यालय चलाएका भरतीय नागरिक विकास द्विवेदी

उनी त्यहाँ पुग्दा उनीजस्तै जागीर खोज्न पुगेका अरू ५० जनाजति थिए ।ती सबै पत्रिकाको विज्ञापन हेरेर फोन सम्पर्कका भरमा त्यहाँ पुगेका थिए । कार्यालय सञ्चालक रामवीर रायले उनीहरूको जागीरको बारेमा बताए । घरमै बसीबसी पैसा कमाउने उपाय सिकाउँदै उनले भने, “न्यूनतम २० हजार हो, राम्रो काम गर्नेले रु.१ लाखसम्म पनि कमाइ गरेकै छन् ।” 

रामवीरको कुराले तामाङलाई झनै हौस्यायो । काम थियो, गुगल एडसेन्स अकाउण्ट र ब्लग बनाएर त्यसमा नयाँ नयाँ कुरा पोष्ट गर्दै गएर ‘भिजिटर’ संख्या बढाउने । रायले तामाङलाई उत्साहित पार्दै भने “जति धेरै भिजिटरले ब्लगमा राखेको विज्ञापन ‘क्लिक’ गरेर हेर्छन् त्यति नै धेरै पैसा ।”

तामाङले तुरुन्तै अकाउण्ट खोल्न र शुरूको एकहप्ता काम सिक्न तालीमबापत रु.१६ हजार बुझाए । रामवीरले भने अनुसारको काम शुरु गर्नरु.५० हजारमा ल्यापटप किने र इन्टरनेट पनिजोडे, अनि भने अनुसार काम गर्न थाले । तर, दुई महीना बित्यो रामवीरले पैसा दिने सुरसार गरेनन् । आफूलाई अप्ठ्यारो नै परेपछि मुख खोले । पैसाको कुरा उठेपछि रामवीर अनेक वहाना गरेर उम्कन थाले । तामाङ भन्छन्, “दुई महीना काम गरेपछि ठगिएको पत्तोपाएँ ।” वृत्तान्त सुनाउँदै उनले भने, “तलब आउला भन्ने बेलामा १६ हजार रुपैयाँ तिरेर लिएको एकाउण्ट पनिबन्द भयो । त्यसपछि त काम न दाम । पूरै ठगी धन्दा रहेछ ।”

यसरी ठगिने तामाङ एक्ला होइनन् ।उदयपुर गाईघाटका १९ वर्षीय सुभाष कार्कीले पनि पत्रिकामा विज्ञापन देखे, ‘घरमै बसीबसी मासिक २० हजार कमाइ ।’ दिएको ठेगाना पहिल्याउँदै उनी पनि कलंकीस्थित‘इन्टरनेशनल आइटी’ को कार्यालय पुगे । त्यहाँ उनीजस्तै जागीर खोज्दै पुगेका ३० भन्दा बढी युवा थिए । रामवीर रायले सुभाषलाई पनि‘बसीबसी पैसा कमाउने उपाय’ सिकाए । सुभाष हौसिएर घर फर्किए ।

छोराले अकस्मात् जागीर पाएपछि गाईघाटमा रहेका बुवा–आमाले ऋण खोजेररु.५० हजार पठाइदिए । “घरमै बसीबसी काम गरेर पैसा कमाउन सकिन्छ भनेपछि विश्वास लाग्यो”, कार्की भन्छन्, “बुवाआमाले अब महीनैपिच्छेखर्च पठाउन पर्दैन । छोराले कमाउँछ भने ठीकैछ भनेर मेरोलागि ऋण खोजेर पैसा पठाउनुभयो । तर, काम गरेको तीन महीनासम्म एक पैसा नपाएपछि मात्रै मैले आफू ठगको फन्दामा परेको थाहापाएँ ।” तामाङको जस्तै उनको पनि ‘एकाउण्ट’ बन्द भयो ।कर्मचारीलेतलब मागेपछि रामवीर कार्यालय नै आउन छोडे ।

रामवीरको कार्यालयमा पुगेर पैसा बुझाएर सजिलै जागीर खान थालेकाहरू दुई तीन महीना केही नभनी काम गर्थे । जबतीन महीनासम्म तलब दिने सुरसार हुन्न अनि मात्रैउनीहरूको मनमा चिसो पस्न थाल्थ्यो । अनि मात्रै उनीहरू कतै आफू ठगिएको त हैन भनेर शंका गर्न थाल्थे । यस्तैमध्ये एक हुन् बुटवल सुख्खानगरका मोहन राना । उनी पढ्न पोल्याण्ड जान चाहन्थे त्यसको तयारी गर्न बुटवलबाट काठमाडौं आएका थिए । काठमाडौंको दैनिक खर्च धान्न गाह्रो भइरहेको बेला उनका आँखा पत्रिकाको वर्गीकृत विज्ञापनमा प¥यो । उनी पनि हान्निंदै रामवीर रायको कार्यालयमा पुगे । “महीनामालाख रुपैयाँसम्म कमाइहुने भनेरशुरूमै ल्यापटप र इन्टरनेटमा १ लाख ४० हजार सिध्याए ।” उनी भन्छन्, “पछि त केको कमाइ हुनु तीन महीनामै थाहा भयो नराम्ररी ठगिएको ।”

यसरी रामवीरबाट ठगिएकामध्ये २५ जनाले१६ साउन २०७३ मा महानगरीय प्रहरी परिसर टेकूमा ‘झूटो विज्ञापन दिएरठगी गरेको’ भन्दै उजुरी दर्ता गरेपछि रायलाई प्रहरीले ६ भदौ २०७३ मा पक्राउ ग¥यो ।आशिष पन्तसहित १२ र सरस्वती चौधरीसहित ७ जना गरेर १९ जनाले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘प्रति महीना २० हजार कमाउने प्रलोभन देखाई रु.१६ हजार लिएर ‘जागीर लगाइदिएको’ मा काम गरेको तलब समेत नदिई बेपत्ता भएकोले कानून अनुसार कार्बाही गरी ठगीको रकमको हर्जना समेतफिर्ता दिलाइपाऊँ ।’

रामवीर रायले १९ जनाबाटरु.२१ लाख २५ हजार ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकूले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर ग¥यो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले ५ भदौ २०७३ मा रायलाई धरौटीमा रिहा ग¥यो ।अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा  विचाराधीन छ ।

विज्ञापनले विथोल्यो

उदयपुर गाईघाटका दीपक दाहालको सपना थियो जापान जाने । राजधानीको डिल्लीबजारस्थित एककलेजमा व्यवस्थापन संकायमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत १९ वर्षीय दाहालले आफू जापान जान चाहेको कुरा घरपरिवारलाई पनि सुनाएका थिए । जापानमा रहेका मामासँग पनि एकसरो कुरा भइसकेको थियो ।

ad-min

रोजगारीका लागि पत्रपत्रिकामा छापिएका विज्ञापन

२०७३ भदौमा काठमाडौंबाट प्रकाशित एक दैनिकमा एउटा विज्ञापन देखे । त्यहाँ दिइएको सम्पर्क नम्बरका आधारमा उनी ललितपुरको बालकुमारीमा रहेको‘भी इन्फोटेक’ कार्यालयमा पुगे । त्यसका सञ्चालक थिए, भारतीय नागरिक विकास द्विवेदी र उनकी श्रीमती सर्लाहीकी अस्मिता घिमिरे ।विकासको कुरा सुनेर दाहालले जापान जाने सोचाइ बदले । रु.५ लाख ६० हजार जम्मा गरेपछि ‘भी इन्फोटेक’ को शाखा कार्यालय खोले त्यसबाट कमाई हुने मासिक रु.६ लाखबाट कम्तीमारु.२ लाखबचत हुने योजना विकासले दाहाललाई सुनाएका थिए । अझ विकासले दाहाललाई विश्वास दिलाउन ‘आफूले मासिक ६ लाखको बैंक ग्यारेण्टी दिने’वचन समेत दिए ।

बैंक ग्यारेण्टी दिने कुराले दाहाल विश्वस्त भए । दाहालले भने “नोबेल टाइपको काम(उपन्यासलाई टाइप गर्ने) हो, म्याक मिलियन प्रकाशनबाट मैले काम लिएको छु, महीनामा ४ हजार पेज टाइप गरे ६ लाख रुपैयाँ पाइन्छ, भनेपछि मलाई विश्वास लाग्यो ।” ३३ जना कर्मचारी राख्नुपर्ने र एकजनाले कम्तीमा पनि एक दिनमा ४ पेज टाइप गरे महीनामा सजिलै ४ हजार पेज टाइप गर्न सकिने योजना विकासले सुझाए ।हिसाब गर्दा पनि महीनामा ६ लाख प्राप्त गर्न ४ हजार पेज टाइप गरेपुग्थ्यो । त्यो असम्भव काम पनि थिएन ।

यो योजना सुनेपछि दीपकको पैसा कमाउने चाहना झन् बढ्यो । उनले जापान जाँदा लाग्ने खर्चले काठमाडौंमै बसेर महीनामारु.२ लाखकमाउन सकिने योजना घरमा सुनाए । उनको कुरामा परिवार पनि सहमत भयो ।जग्गा बेचेर रु.१५ लाखपठाउन लगाए ।त्यसपछि शंखमूलमा महीनाकोरु.३३ हजार भाडा तिरेर‘भी इन्फोटेक’ को कार्यालय खुल्यो ।यो १ कात्तिक २०७३ को कुरा हो । त्यसपछि दीपकले १८ वटा कम्प्युटर रएक लाखको फर्निचर किने । ३३ जना कर्मचारी भर्ना गरे । अफिस सजावट र शाखा खोल्दा, कर्मचारीको तलब, उनीहरूलाई खाजा गर्दातीन महीनामा उनको १५ लाख रुपैयाँ सकियो ।

पूर्व सहमति अनुसार विकासले ६ लाखको बैंक ग्यारेण्टी दिन केही दिन आनाकानी गरे । महीना बितेपछि काम गरेवापतको पैसा पनि दिएनन् । बाध्य भएरपैसा माग्दा विकास सम्पर्कविहीन भए । अनि मात्रै दीपकले आफू ठगको फन्दामा परेको चाल पाए ।

ठगिने दीपक एक्ला थिएनन् ।हामीले आकर्षक कमाइको लोभमा काभ्रे र राजधानीका विभिन्न ठाउँमा शाखा खोल्ने १० जना दीपक जस्ता युवालाई भेट्यौं ।त्यसमध्येका एक हुन् ललितपुरको हात्तीवनका भुवन घिमिरे । घिमिरेसहितका तीनयुवाले पनि हात्तीवनमा ‘भी इन्फोटेक’ कोकार्यालय खोल्न, व्यवस्थापन गर्न ३३ जना कर्मचारीलाई तलब र मासिक भाडा गर्दारु.१७ लाखसकेछन् । “हामीले पहिलो महीना २५ सय पेज टाइप गरेर उसलाई बुझायौं, तर एक पैसा पनि पाएनौं”, भुवन भन्छन् “रिपोर्ट आएको छैन भनेर कुरायो, कहिल्यै पैसा दिने कुरा गरेन ।” दुई महीनासम्म काम गरेर पैसा नपाएपछि भुवनलेसबै कर्मचारीलाई विदा गरे । अनि विकास विरुद्ध ठगी मुद्दा लिएर प्रहरी कार्यालय पुगे । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले विकास र उनकीश्रीमती अस्मिता घिमिरेलाई ९ माघ २०७३ मा पक्राउ ग¥यो ।

भुवन भन्छन्,“उपत्यकामा भएका हरेक शाखाले कम्तीमारु.१० लाखदेखि अधिकतम रु.१८ लाखसम्म खर्च गरेका छन् ।” यस्ता शाखा कति छन् भन्ने पनि यकिन छैन ।महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्की भन्छन्,“विकासले मासिक रु.६ लाखकमाइ हुने भन्दै आठ जना व्यक्तिबाट रु.५ लाख ६० हजार लिएका रहेछन् ।महीनामा रु.६ लाख कमाइहुने भनेर अर्का एकजनाले तरु.१८ लाखखर्च गरेको पनि पाइयो ।”  

यसरी ठगिनेहरू धेरैजसो १८ देखि २५ वर्ष उमेरका क्याम्पस पढ्ने विद्यार्थी छन् ।कतिले ब्याङ्कबाट ऋण गरेर लगानी गरेका छन् । काभ्रेकाज्ञानेन्द्रश्रेष्ठले बनेपा माइक्रो फाइनान्सबाट रु.१० लाख र नागरिक लगानी कोष नयाँबानेश्वरबाट रु.३ लाख ऋण गरेर बनेपाको गोदामचोकमा ‘भी इन्फोटेक’ को कार्यालय खोलेका थिए । इन्भर्टर, २० वटा कम्प्युटर, सोलारलगायतका सामग्री किन्न र कार्यालय व्यवस्थापन गर्नमै उनलेरु.९ लाखसिध्याए । दैनिक काम गर्ने ६० जना कर्मचारी थिए । उनीहरूको दुई महीनाको तलब समेत जोड्दा उनको रु.१८ लाख सकियो । काम गरेबापत एक पैसा पनि पाएनन् ।

सोधखोज गर्ने शाखाहरूलाई विकासलेअमेरिकी कम्पनी ‘म्याक मिलियन’ सँग नोबेलको पुनः प्रकाशनकालागि सम्झौता गरेको र ‘भी इन्फोटेक’ को मुख्य कार्यालय दिल्लीमा भएको बताउँथे । पैसा नपाउनेहरूले त्यो कार्यालयको सम्पर्क नम्बर माग्दा विकासलेनानाथरी वहानाबाजी गरेर टार्थे । ती नोबेल (उपन्यास) लेखकहरू को हुन् भनेर उनले शाखाहरूलाई कहिल्यै बताएनन् । ‘स्क्यान’ गरेका पेज इमेलद्वारा शाखाहरूलाई पठाउँथे । शाखाहरूले सो पेजमा भएका शब्द ‘वर्ड’ मा टाइप गर्नुपथ्र्यो । जब शाखाहरूले पैसा पाएनन् उनीहरू आफैंले इन्टरनेटको माध्यमबाट ‘भी इन्फोटेक’ को दिल्लीस्थित कार्यालय खोज्न थाले । उनीहरूले त्यस्तो कुनै कार्यालय फेला पार्न सकेनन् । बल्लतल्ल ‘म्याक मिलियन’ को इमेल भेटियो । उसले नोबेल प्रकाशनका लागि कसैसँग सम्झौता नगरेको जानकारी दियो । बल्लयुवाहरूले आफू ठगिएको थाहा पाए ।

भी इन्फोटेक नेपालमा चाहिंकम्पनी रजिष्ट्रारको कार्यालयमा अस्मिता घिमिरेको नाममा दर्ता छ । ११ साउन २०७३ मा दर्ता भएको योकम्पनीको अधिकृत र जारी पूँजी रु.१/१ लाखछ । आन्तरिक राजश्व कार्यालयबाट लिएको स्थायी लेखा नम्बरमा कम्पनीले ‘कम्प्युटर सफ्टवेयर सम्बन्धी कारोबार गर्ने’ उल्लेख छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीका अनुसार, “विकासले आठ जना युवाबाट करीब डेढ करोड ठगी गरेको भेटिइसकेको छ ।” जिल्ला अदालत ललितपुरको आदेशले उनी रउनकी श्रीमती अहिलेठगी मुद्दामा पुर्पक्षकालागि नख्खु जेलमा थुनामा छन् ।

‘दैनिक ४०० ठगिन्छन्’

राजधानीमा अहिले लुकीछिपी होइन कार्यालय खोलेर, पत्रिकामा विज्ञापन गरेर ठगी धन्दा चलाउने काम निर्वाध रूपमा भइरहेको छ । योठगीधन्दा सामान्य झैं लाग्नुमा चाहिं चार वटा कारण देखिन्छन् । पहिलो, पीडित ठूलो संख्यामा हुने तर ठगिएको अङ्क केही हजारदेखि एक लाख, दुईलाख मात्रै हुने हुँदा कसैले पनि उपचार खोज्न खासै चासो राख्दैन । दोस्रो यो काम वा कारोबार गर्न सम्झौता गरेजस्तो देखिने भएकोले प्रहरी प्रशासनलाई पनि हत्तपत्त यो ठगी हो जस्तो लाग्दैन । तेस्रो, यस्तो कार्यालय खोलेर काम गर्न कानूनी प्रक्रिया पूरा नगर्नेहुनाले उपचार खोज्न सजिलो छैन । र चौथो पीडितले आफू ठगिएँ भन्दा सामाजिक रूपमा लज्जित ठान्ने मानसिकता देखिन्छ । यस्ता कारणहरूले विज्ञापन गरेर ठगी धन्दा चलाउनेहरू राजधानीमा बदनाम छैनन् र केही छिटपुट बाहेक प्रहरी कारबाहीमा पनि पर्न सकेका छैनन् ।

1

महानगरीय प्रहरी परिसर, काठमाण्डौंमा निवेदन दिन पुगेका पीडितहरु

हामीले पाँचवटा राष्ट्रिय दैनिकहरूमा निस्किएका विज्ञापनको अध्ययन गरेर ठगी धन्दा बारे बुझ्ने कोशिश ग¥यौं । कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र गोरखापत्र मा छापिने आवश्यकता सम्बन्धी (डिस्प्ले वर्गीकृत) को अध्ययन ग¥यौं ।तिनमा संख्या तोकेर दिइएका सबैजसो विज्ञापनमा कामको प्रकृति एउटै खालको भेटियो ।जस्तो कि टाइपिङ, डाटा इन्ट्री, र ‘गुगल एडसेन्स’ । जागीरको प्रकृति भनेको अनलाइनमा काम गर्नुपर्ने ।रमाइलो कुरा एउटा विज्ञापन एक महीनामा २० दिनसम्म दोहो¥याएर छापिएको पनि भेटियो ।

विज्ञापनकोअन्त्यमा सम्पर्क नम्बर दिइएको हुन्छ ।त्यही सम्पर्क नम्बर पहिल्याउँदै जागीरको खोजीमा रहेका युवाहरू त्यहाँ पुग्छन् । २०७३ फागुन महीनाका दैनिक पत्रिका पल्टाएर ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भनिएका डिस्प्ले वर्गीकृत विज्ञापनमा चाहिएको भनेर उल्लेख गरिएको संख्या गणना गर्दा ८ हजार ८२५ जनाको माग भएको भेटियो । यसमा सुरक्षा गार्ड, कुक तथा सेल्सम्यान भनेजस्ता विज्ञापनको संख्या समावेश छैन ।

दिइएको सम्पर्क नम्बरको आधारमा हामी चाबहिल, कोटेश्वर र बागबजारका केही सम्पर्क कार्यालयहरूमा पुग्यौं । त्यहाँ हामी पुग्दा ६ देखि१० जनासम्म युवाहरू भेटिए ।एकजना सञ्चालकका भनाइमा, “दिनमा २०–२५ जनासम्म जागीर खोज्दै यहाँ आइपुग्छन् ।” 

यस्तै जागीर दिन चाबहिलमा ‘एनएओ’ प्रालि खोलेर बसेका सञ्चालक डम्बर मिश्रका भनाइमा, ‘उनीहरू कामको प्रकृति हेरेर शुरूमा सदस्य बन्न रु.१५ हजारसम्म शुल्क लिन्छन् ।’ हामीलाई ग्राहक ठानेर उनले फटाफट भने “अष्ट्रेलियाका कम्पनीहरूको विज्ञापन गरेबापत आउने कमिशन नैतलब हो ।” उनले पैसा पाइने प्रक्रिया यत्ति झन्झटिलो बताए कि सुन्दा नै पट्यार लाग्ने ।

मिश्रले भने, “एउटा विवरण एक सयवटा अनलाइन साइटमा भरेर त्यसको विवरण नोट प्याडमा उतार्नुपर्दछ । त्यस वापत २३ अष्ट्रेलियन डलर पाइन्छ ।” शंका लागेर हामीले यही काम गरेकी शान्ता घिमिरेलाई भेट्यौं । उनले यसको रहस्य खोलिन् । “शुरूमा त हो कि जस्तो लाग्छ” उनी भन्छिन्, “तर जति गरेपनि उनीहरूले भने अनुसार हुन्न, यो पूरै ठगी धन्दा हो ।” शान्ताले भनिन्, “म ठगिइसकें, अब कहाँ उजुरी गर्न जाऊँ ? लाजको पसारो ।” 

घिमिरे ठगिएको अर्को कथा रोचक छ । २०७३ जेठमा एउटा पत्रिकामा छापिएको विज्ञापन पढेर उनी बागबजारको ‘इन्टरनेशनल वेभ कनेक्सन’ भन्ने कार्यालयमा पुगिन् ।रु.१००तिरेर फारम भरिन् ।कम्पनी सञ्चालक नवराज मिश्रले दैनिक पाँच घण्टा काम गर्दा ५ हजार शब्द टाइप गर्न सकिने र त्यसबापत कम्तीमा पनि मासिकरु.१५ हजार कमाइ हुने बताए । विश्वासमापरेर ‘अकाउण्ट खोल्न’ शुरूमै रु.३ हजार दिइन् । “घरमै बसीबसी टाइप गर्ने हो, अफिस पनि आउनुपर्दैन भन्यो” घिमिरे भन्छिन्, “ठगी हो भनेर कसरी थाहा पाउनु र ?”

ग्राहकलाई विश्वास दिलाउन ठगी धन्दा सञ्चालकहरू जे पनि बोल्छन् । जस्तो कि खड्कबहादुर पहिलो दिन जागीरको खोजीमा कलंकी पुग्दा रामवीरले अर्को एकजनालाई देखाउँदै ‘उहाँ महीनाको रु.१ लाख ५० हजार बुझिरहनुभएको छ’ भनेका थिए । तर, दुई महीनापछि तलब नपाएर खड्कबहादुर रामवीरलाई भेट्न जाँदा ती व्यक्ति आफ्नो रु.१५ हजार तलब नपाएर हैरान थिए ।
‘भी इन्फोटेक’ का विकासको तरीका पनि यस्तै थियो । दीपक दाहाललाई उनले ‘आठ जनाले शाखा खोलिसकेको र दुई वटा कोटा मात्र बाँकी रहेको’ बताएका थिए । तर, केही दिनमै दीपकलाई थाहा भयो उनी नै कार्यालय खोल्ने पहिलो व्यक्ति थिए । भुवन घिमिरेलाई पनि विकासले यही तरीका अपनाएर फसाएका थिए । विकासले पावर पोइन्टबाट आफ्नो योजना देखाउँदै पैसाको चिन्ता नलिन भन्थे ।(तस्वीर)

पत्रिकामा अहिले पनि दिनहुँ यस्ता विज्ञापन छापिन्छन् ।अहिले पनि दिनहुँजसो यस्ता कथित जागीर दिने कार्यालयहरूमा मानिसहरू गइरहेकै छन् । काठमाडौंमा चलिरहेको यो ठगी धन्दाको आकार कत्रो होला ? कुनै बेला आफू पनि ठगीमा परेका यो मामिला बुझ्ने एक युवाको विश्लेषणमा, “दैनिक ठगिनेको संख्या ४०० हाराहारी हुनसक्छ ।” 

महानगरीय प्रहरी परिसर टेकूमा चाहिं यति धेरै उजुरी पर्दैनन् । तर, पनि पछिल्लो समय त्यहाँ पनि ठगीका उजुरीहरू उल्लेख्य मात्रामा आउन थालेका छन् ।आर्थिक वर्ष २०७०÷७१ मा २०८ उजुरी परेकोमा २०७१÷७२ मा यो संख्या १९२ थियो । त्यस्तै आव २०७२÷७३ मा यो संख्या २१५ पुग्यो ।२०७३ साउनदेखि माघ मसान्तसम्म ७१ वटा ठगीका उजुरी प्रहरी कार्यालयमा दर्ता भइसकेका छन् । प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ रेग्मी भन्छन्, “यति धेरै ठगीका उजुरी आउनु गम्भीर अवस्था हो ।” उजुरी आए कार्बाही गर्ने बताउने रेग्मी भन्छन्, “तर प्रमाणसहित आउनु प¥यो ।”  

भ्रामक विज्ञापन रोक : सर्वोच्च 

जापानजाने सपना छोडेर जागीर खान कस्सिएका दीपक दाहाल भन्छन्, “पत्रिकामा आएको कुरा झूट हुँदैन भनेर विश्वास गर्दा आज मेरो यो हालत भयो ।” पीडितहरूले शुरूमा हामी पत्रकार हौं भन्नासाथ ‘गलत र भ्रामक विज्ञापन छाप्ने’ भनेर आक्रोश व्यक्त गरे । ललितपुर हात्तीवनका भुवन घिमिरे मुलुकका प्रतिष्ठित पत्रिकाहरूले पैसाका लागि जस्तो पनि विज्ञापन छापिदिनु नहुने बताउँछन् । उनी भन्छन्, “कहीं न कहींबाट परीक्षण गरेर मात्रै छाप्नुप¥यो, आज हामी ठगियौं, भोलि अरू ठगिन नपरोस् न !”

भ्रमपूर्ण विज्ञापनबाट सर्वसाधारण ठगिएको भन्दै २० चैत २०७० मा अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । तिमिल्सिनाले वस्तु वा सेवामा भ्रम सिर्जना गर्ने विज्ञापन निर्वाध प्रकाशित प्रसारित भइरहेकोमा सरोकारवाला निकायले वास्ता नगरेको भन्दै त्यसमा नियन्त्रण गर्नुपर्ने माग गरेका थिए ।

रिटको सुनुवाइ गर्दै २७ जेठ २०७२ मा न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको इजलासले, ‘विद्यमान अवस्थामा विज्ञापनको नियमन गर्ने छुट्टै कानून निर्माण नभएको’ भन्दै‘कानून नबनेसम्म भ्रमपूर्ण विज्ञापन, प्रचार–प्रसार गर्ने कामलाई रोक्न सरकारका नाममा परमादेश जारी गरेको’ थियो । तर, अदालतको आदेश आएको दुई वर्ष भइसक्दासम्म पनि सरकारले न कानून बनाएको छ न यस्ता भ्रमपूर्ण विज्ञापन बारे अनुगमन नै गरेको छ ।

(पीडितको आग्रहमा घिमिरे,दाहाल र श्रेष्ठकोनाम परिवर्तन गरिएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked as *

*