Print Friendly, PDF & Email

टेलिफोन छैन, रेडियो सुनिंदैन, गाउँको प्रावि वर्षमा तीन महीना मुश्किलले खुल्छ । मतदान केन्द्र
जान–आउन दुई दिन लाग्ने भएकोले कोही पनि भोट हाल्न जाँदैनन् । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको एउटा दुर्गम गाउँको कथा ।

-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्रका लागि

बाजुरा सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रामा पुगिन्छ, गुम्बा गाउँ । पुरानो बिच्छ्याँ गाउँ विकास समितिको सिङ्गो वडा नम्बर १ रहेको यो गाउँ अहिले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्छ । वरिपरिका बौरी र युना गाउँ मिसाएर नयाँ वडा कायम गर्दा गाउँपालिकाको यो ३ नम्बर वडामा वरिपरिका अरू केही गाउँ पनि थपिएका छन् । 

यसै त दुर्गम बाजुरा जिल्ला, त्यसको पनि दुर्गम गाउँ गुम्बाको समाज, अर्थतन्त्र र राजनीति बुझ्न हामीले सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रा तय ग¥यौं । पहिलो दिन कोल्टी, दोस्रो दिन कवाडी, तेस्रो दिन बौडीहुँदै चौथो दिन गुम्बा पुग्यौं ।  

गाउँमा २५ परिवारको बसोबास रहेछ । चलनचल्तीको भाषामा भोटे जाति भनिने समुदायको बसोबास रहेको यो गाउँमा सबै प्रायः एउटै जातका मानिस छन् । स्थानीय अगुवा वयोवृद्ध छिरिङ दोर्जे लामाका अनुसार उनीहरू यहाँ पाँच पुस्तादेखि बसोबास गर्दै आएका छन् ।

गुम्बा गाउँको उत्तरमा देउसैन र लाम्पाटा हिमाल पर्छन् । दक्षिणमा हुम्लाको ताजाकोट गाउँपालिकाको माझपुर गाउँ पर्छ । त्यहाँ पुग्न एक दिन लाग्छ । पूर्व र दक्षिण बिच्छयाँका अरू गाउँहरू बौडी र देउसैन छन् । गुम्बाबाट बौडी पुग्न एक दिन र देउसैन पुग्न डेढ दिन जति लाग्छ । 

गुम्बा गाउँको मुख्य आयस्रोत जडीबुटी हो । गाउँलेहरू एक दिनको दूरीमा रहेको सैन, लाम्पाटा हिमाल र नजिकैको जंगलमा जडीबुटी खोजेर बिक्री गर्छन् । जेठ, असार, भदौ असोज र कात्तिक जडीबुटी संकलन गर्ने महीना हुन् । जडीबुटी बेचेर आएको पैसाले गाउँले चामल किन्छन् । कोल्टीबाट भेडालाई बोकाएर खाद्यान्न गाउँमा पु¥याउन ८ दिन जति लाग्छ । हिउँदमा औल झर्दा मार्तडीबाट ल्याएको नून खान्छन् भने बर्खामा चीनको सीमामा गएर भेडालाई बोकाएर ल्याएको ढिक्के कालो नून खान्छन् । हिमाली भेग भएकाले गहुँ, धान फल्दैन । जौ, मकै, फापर, आलु र कोदो फल्ने भए पनि जमीन त्यति उब्जाउ छैन । त्यसैले गाउँका सबै जसोलाई आफ्नो खेतबारीको उत्पादनले बर्षको तीन महीना जति मात्रै खानपुग्छ । भेडालाई बोकाएर जडीबुटी लैजाने र चामललगायत अन्य सामान ल्याउने भएकोले गाउँमा केहीले यो ढुवानीको साधन पालेरै पनि जीविकोपार्जन गरेका छन् ।

गाउँमा धेरैको नागरिकता छैन । सदरमुकाम टाढा भएकाले कतिले बनाउन सकेका छैनन्, कतिलाई नागरिकता किन बनाउनुपर्ने हो भन्ने पनि थाहा छैन । १८ वर्ष पुगेर पनि फोटोसहितको मतदाता नामावलीमा नाम नभएका ६० जना छन् गाउँमा । तीमध्ये १२ जनाको नागरिकता छ भने ४८ जनाले नागरिकता बनाएकै छैनन् । गुम्बा गाउँ अन्तर्गत स–साना तीन वटा बस्ती छन् । फुली गुम्बामा ४ परिवार, गुम्बामा १४ परिवार र च्याचौरमा ७ परिवार बसोबास गर्छन् । सिङ्गो गुम्बा गाउँको जनसंख्या २०० छ ।

६२ वर्ष नाघेका तोकाङ्ग गुरुङले भने, “मेरो मार्तडी जान सक्ने अवस्थै छैन । वृद्धभत्ता लिन काम लाग्थ्यो तर म हिंडेर नागरिकता बनाउन जान सक्दिनँ । कसैले बोकेर पु¥याइदिंदैन ।” २५ वर्षका काल्चाङ्ग गुरुङले पनि नागरिकता बनाएका छैनन् । सामान्य साक्षर उनलाई नागरिकता किन चाहिन्छ भन्ने जानकारी समेत छैन । स्थानीय डोमा गुरुङ भन्छिन्, “बनाउन खोज्नेलाई पनि सजिलो छैन, टाढाबाट गयो, फेरि सचिव खोज्दै हिंड्नुपर्छ ।” 

Photo

बर्षमा तीन महिना पनि नखुल्ने गुम्बा गाउँको प्रावि स्कुल ।

जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ताको अवस्था के छ भनेर हामीले स्थानीय स्वयंसेविकालाई सोध्यौं । स्वयंसेविका पासाङ्ग लामा भन्छिन्, “अहिलेसम्म कसैले पनि गरेका छैनन् । उनीहरूलाई व्यक्तिगत घटना दर्ता गर्नुपर्छ भन्ने जानकारी नै छैन ।” 

एउटा उदाहरण स्थानीय प्रेमसिंह गुरुङ्ग हुन् । उनका ९ वटा बच्चा छन् । जेठो २५ वर्षका भए, कान्छी छोरी पाँच वर्षकी छिन् । अहिलेसम्म कसैको पनि जन्म दर्ता छैन । प्रेमका बुवा–आमाको निधन भइसकेको छ, मृत्यु दर्ता छैन । प्रेमले आफ्नो विवाह दर्ता पनि गराएका छैनन् । प्रेमका छिमेकी दासाङ्ग गुरुङ्गका पाँच बच्चा छन् । ती कसैको पनि जन्मदर्ता छैन । 

सरकारले सन् २०१७ सम्म देशलाई पूर्ण खोपयुक्त बनाइसक्ने भनेको छ । तर गुम्बामा पाँच वर्षमुनिका ३६ जना बालबालिकाले खोप पाएका छैनन् । यसमा दुई वर्षमुनिका २० जना छन् । दुई वर्ष मुनिका बच्चाहरूमा ११ रोग विरुद्ध ११ प्रकारका खोप लगाउनुपर्छ । बीसीजी, पेन्टा, पीसीभी, एमआर, जापानिज इन्सेफ्लाइटिस र पोलियो खोप बच्चालाई लगाउनै पर्छ । तर यी २० बालबालिका यो सेवाबाट बञ्चित छन् ।  

स्थानीय डोमा गुरुङ्गको बच्चा ८ महीनाको भयो । उनले अहिलेसम्म बच्चालाई कुनै पनि खोप लगाएकी छैनन् । डोमाकी छिमेकी लक्ष्मीका तीन वटा बच्चा छन् । लक्ष्मीलाई त बच्चालाई खोप लगाउनुपर्छ भन्ने जानकारी पनि छैन । स्थानीय छमु थापाले चाहिं खोप लगाउनुपर्छ भन्ने सुनेकी छन्, तर स्वास्थ्य चौकी पुग्न एक दिन लाग्ने भएकोले जान सकेकी छैनन् । 

एक दिनको दूरीमा रहेको बिच्छयाँ स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले गुम्बाका बालबालिका खोपबाट बञ्चित भएको स्वीकार गरे । आचार्यले भने “त्यहाँको खोप केन्द्र युना गाउँमा हो । प्रत्येक महिनाको २२ गते खोप सञ्चालन गर्छौं । गुम्बाबाट युना गाउँ पुग्न एक दिन लाग्ने भएकाले यति लामो बाटो हिंडेर कुनै बालबालिका खोप लगाउन आउँदैनन् ।” उनले भने, “स्वास्थ्यकर्मी जान पनि सकिंदैन, जंगल र नदीको बाटो छ । म यो स्वास्थ्य चौकीमा आएको १४ महीना भयो, अहिलेसम्म गुम्बा पुगेको छैन ।” हामीले जिल्ला स्वास्थ्य कार्यालय मार्तडीका निमित्त प्रमुख डा. रूपचन्द्र विश्वकर्मालाई गुम्बा गाउँमा किन यस्तो भएको हो भनेर जिज्ञासा राख्यौं । उनले ‘त्यसरी नछुट्नुपर्ने’ भनेर कुरा टुङ्ग्याए ।  

यहाँका बासिन्दाले सिटामोल किनेर घर फर्कन बाटामा एक दिन बास बस्नुपर्छ । त्यसैले प्रायः उनीहरू स्थानीय जडीबुटीले काम चलाउँछन् । एक महीनादेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङ्ग जडीबुटी खाएर सञ्चो हुने प्रतीक्षामा थिइन् । सञ्चुरा भन्छिन्, “एक दिन जान, एक दिन आउन लाग्छ, कसरी सक्नु ?”

गाउँमा परिवार नियोजन र यसका अस्थायी साधन बारे जान्ने स्वयंसेविका पासाङ्ग लामाले भनिन्, “यो गाउँका कसैले पनि परिवार नियोजनका साधन प्रयोग गर्दैनन् । स्थायी बन्ध्याकरणको कुरै छाडौं ।” परिवार नियोजनको साधन प्रयोग नगर्ने भएकाले गाउँमा पाँचदेखि ११ वटासम्म सन्तान जन्माएका दम्पती छन् ।  

७ जेठ, २०७४ मा गाउँमा रहेको हिमाल भक्ति प्राथमिक विद्यालयमा पुग्दा विद्यालय बन्द थियो । २०३७ सालमा स्थापना भएको सो विद्यालय वर्षमा सरदर दुई महीना खुल्दोरहेछ । वैशाखको पहिलो सातादेखि पढाइ सञ्चालन हुने भने पनि ८ जेठमा हामी त्यहाँ पुग्दा विद्यालय खुलेको थिएन । 

कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा १४ जना विद्यार्थी छन् । कक्षा १ मा १० जना, २ मा २ जना र ३ मा २ जना । स्थानीय जगत थापाका भनाइमा, “रजिष्टरमा १४ विद्यार्थी छन्, अरू त्यस्तै हो ।” बिद्यालयका प्रअ भीम गिरी स्थायी शिक्षक हुन् भने शिक्षक रत्नलाल विक करारमा छन् । एकजना स्थानीय कार्यालय सहयोगीको काम गर्छन् । विद्यालयमा नियमित पढाइ हुन्न भन्ने बलियो प्रमाण चाहिं स्कूलको हाता भित्रै खोलिएको जडीबुटी प्रशोधन केन्द्र हो । हुम्लाका पूर्वमन्त्री छक्कबहादुर लामाले जडीबुटी पेल्ने एउटा सानो कारखाना खोलेका छन् ।  

स्थानीय कृष्ण लामाका भनाइमा, “पढ्न मन नभएर विद्यार्थी नआएका होइनन्, सरहरू नै धेरैजसो विद्यालय नआउने भएपछि विद्यार्थी पनि स्कूल आउन रुचि देखाउँदैनन् ।” गाउँमा पाँच कक्षा पास गरेको एक जना पनि छैन । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक उमेश रेग्मीले मार्तडीमा भने “भौगोलिक बिकटताले निकै टाढा भएकाले अनुगमन गर्न सकिएको छैन ।” गुम्बा गाउँबाट कक्षा ४ देखि ८ सम्म पढ्न एक दिन परको बौडी पुग्नुपर्छ भने नौ र दश कक्षा पढ्न दुई दिन हिंडेर बिच्छयाँको देउसैना ।

वर्षायाममा चार महीना यो गाउँको बाँकी मुलुकसँग सम्पर्क हुन्न । गुम्बाबाट बिच्छयाँको बौडी आउन दुई वटा नदी तर्नुपर्छ, तिनमा पुल छैनन् । हिउँदमा काठेपुलको सहारामा वारपार गर्नुपर्छ । हिउँदमा गुम्बा गाउँ नपुग्ने सरकार वर्षायाममा कसरी पुग्थ्यो र ? गाउँपालिका हुनुभन्दा अगाडिका गाविस सचिव गौरीकान्त सञ्जालले भने, “समस्या छन् भन्ने सुनेको छु तर धेरै नै विकट भएकाले म अहिलेसम्म त्यहाँ पुग्न सकेको छैन ।”

टेलिफोन लाग्दैन, रेडियो नेपाल पनि सुनिंदैन । वर्षामा अरू गाउँसँग आवतजावत हुन्न । स्थानीय विस्ना लामा भन्छिन्, “हिउँदमा त केही खबर बुझ्न र टेलिफोन गर्न दुई दिन लगाएर हुम्लाको मैला गाविस पुग्नुपर्छ । वर्षाको बेला त यत्तिकै हो ।” 

भोट हाल्न दुई दिन

Photo2

बाजुरा दोस्रो चरणमा स्थानीय तह निर्वाचन हुने जिल्ला हो । स्थानीय तहको आगामी निर्वाचनबारे यो गाउँका मानिस के सोचिरहेका होलान् भनेर हामीले बुझ्न खोज्यौं । २०७० सालको संविधानसभा चुनावमा गुम्बा गाउँका केही टाठाबाठाले आफ्नै गाउँमा मतदान केन्द्र हुनुपर्ने माग गरेका रहेछन् । भोट हाल्न सामल (खाने–बस्ने सामान) बोकेर जानुपर्ने भएकोले गाउँमै मतदान केन्द्र हुनुपर्ने उनीहरूको माग थियो । २५ घरधुरी भएको यो गाउँको माग कसले सुन्थ्यो र ? माग पूरा भएन । एक दिन जान, एक दिन आउन लाग्ने ठाउँको मतदान केन्द्र पुगेर भोट हाल्न गुम्बावासीलाई अप्ठ्यारो भो भन्ने समाचार पत्रपत्रिकामा छापिएको थियो । त्यो समाचारमा निर्वाचन आयोगका तत्कालीन आयुक्त डा. अयोधीप्रसाद यादवले ‘यो वर्ष सकिएन, अर्को पटक मतदान केन्द्र थपौंला’ भनेका थिए । उनै डा. अयोधीप्रसाद यादव अहिले निर्वाचन आयोगका प्रमुख आयुक्त छन्, तर; यसपालि पनि गुम्बामा मतदान केन्द्र पुगेन ।   

सदरमुकामबाट ४५ कोष टाढा रहेको यो गाउँले बेहोरेको कष्टका बारेमा काठमाडौं त परको भो जिल्ला सदरमुकाम मार्तडीको प्रशासन पनि गम्भीर छैन । जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले भनिन्, “यो वर्ष ढिला भयो, अब अर्को पटक सिफारिस गरौंला ।” हामीले गुम्बा गाउँको समस्याबारे बेलिविस्तार लगाएपछि उनले भनिन्, “मलाई बाजुरा जिल्लाको भौगोलिक विकटताको बारेमा जानकारी थिएन, बल्ल अहिले थाहा पाएँ ।”  

२५ परिवार बसोबास गर्ने यो गाउँमा ३० जना मात्र मतदाता रहेको निर्वाचन कार्यालयको अभिलेखले देखाउँछ । यी ३० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम हुनुको पनि खास कारण छ । उनीहरू भेडा लिएर औल झर्दा सदरमुकाम पुग्ने र त्यसबेला नागरिकता बनाउने भएकोले त्यतिबेलै मतदाता नामावलीमा नाम पनि समावेश भएको हो । मतदाता नामावलीमा नाम भएर के गर्नु निर्वाचन कार्यालयले हिमाली गाउँपालिका–३ मा रहेको गंगा निमाबि बौडीमा उनीहरूको मतदान केन्द्र तोकेको छ । त्यहाँ पुग्न कस्सिएर एक दिन हिंड्नुपर्छ भने फर्कन एक दिन लाग्छ ।

  • गुम्बा गाउँका छिरिङ दोर्जे लामा ८० वर्षका भए । उनले जीवनमा एक पटक मात्र मतदान गरेका छन् । गुम्बा गाउँका सबैभन्दा जान्नेसुन्ने अगुवा पुरुष हुन्, उनी । दमले थलिएका छिरिङ्ग भन्छन्, “केन्द्र टाढा भयो, कसैले बोकेर लैजान सक्दैन । यो वर्ष भोट हाल्न पाइएन ।” 
  • ७२ वर्षीय कालीबहादुर गुरुङले जीवनमा कहिल्यै भोट हालेका छैनन् । उनलाई भोट भनेको के हो, कसरी हालिन्छ भन्ने पनि जानकारी छैन । भोटका बारेमा अरूले भनेको सुनेका कालीबहादुर भन्छन्, “जीवनमा भोट नहाली मरिने भइयो !” 
  •  स्थानीय मोती गुरुङ ६८ वर्षकी भइन् । उनले पनि अहिलेसम्म भोट हालेकी छैनन् । भोट केका लागि हाल्ने हो भन्ने जानकारी नराख्ने मोतीलाई फोटोसहितको मतदाता नामावली भनेको पनि थाहा छैन । 
  • गाउँकी छोङ्गला कुवर अपाङ्ग छिन् । ४६ वर्षकी छोङ्गलाले त नागरिकता समेत नबनाएको बताइन् । उनका श्रीमान् ४५ वर्षीय कृष्ण गुरुङको पनि नागरिकता छैन । यहाँसम्म कि उनीहरूका एउटा छोरा २५ र अर्का २० वर्षका भए ती दुवैको नागरिकता छैन । 
  • नक्खु गुरुङ ७५ वर्षका भए । पहिला एक पटक दिनभरि हिंडेर मतदान केन्द्र पुगेको सुनाउँदै उनले यो वर्ष मतदान गर्न नजाने बताए । नक्खु भन्छन्, “बोक्ने कोही छैन, बास बस्नुपर्छ । नजाने विचार गरें ।
  • स्थानीय जगत लामा भन्छन्, “युवाहरूलाई त मतदान केन्द्र पुग्न पूरै एकदिन लाग्छ । मतदान गरेर भोलिपल्ट साँझ घर आइपुग्न कठिन पर्छ । कसरी जानु भोट दिन ?”  
  • स्थानीय जंगबहादुर थापाका भनाइमा यो गाउँबाट भोट हाल्न जान सक्नेले पनि तीन दिन समय छुट्याउनुपर्छ । उनी भन्छन्, “गाउँमा तीन जना ६० वर्षभन्दा माथिका बूढापाका छन् भने ७ जना महिला मतदाता छन् ।” जंगबहादुरले निरास हुँदै भने, “तीन दिन खर्च गरेर भोट हालेर के पो होला खै ?” 
cover pic

(माथि बायाँबाट क्रमस) मोती गुरुङ, छोङ्गला कुवँर, कृष्ण गुरुङ (तल बायाँबाट क्रमस) कालीबहादुर गुरुङ, छिरिङ्गदोर्जे लामा, पासाङ्ग गुरुङ

गुम्बा गाउँको यो समस्या हामीले निर्वाचन आयोगसमक्ष राख्यौं । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आश्चर्य व्यक्त गरे । उनले भने, “सामान्यतया आवतजावत गर्ने दूरी पाँच किलोमिटर हुनुपर्ने मापदण्ड छ । एक दिन पैदल हिंड्नुपर्ने भनेको त यो मापदण्ड भन्दा धेरै बढी भयो ।” के दुर्गम पहाडमा थोरै मतदाता हुँदैमा उनीहरुले यतिविघ्न कष्ट भोग्नुपर्ने हो ? भन्ने प्रश्नमा शर्माले भने, “मतदाता धेरथोरको कुरै होइन, उनीहरूले सहज रूपमा मतदान गर्न पाउनुपर्छ । यति असहज ठाउँमा मतदान केन्द्र छैन भन्ने जानकारी आयोगलाई थिएन ।”