गुम्बा गाउँमा मतदान केन्द्र 

‘गुम्बा गाउँ : एउटा अर्को नेपाल’ खोज समाचार प्रकाशित भएपछि निर्वाचन आयोगले ३० मतदाता रहेको बाजुराको अति दुर्गम यो गाउँमा मतदान केन्द्र स्थापना गरेको छ ।
 

-प्रकाश सिंह:  खोज पत्रकारिता केन्द्रका लागि

1111-minजिल्ला निर्वाचन कार्यालय बाजुराले हिमाली गाउँपालिका–३ गुम्बामा मतदान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । खोज पत्रकारिता केन्द्रले गुम्बा गाउँवासीले मतदान केन्द्र पुग्न एक दिन हिंड्नुपर्ने समाचार प्रकाशित गरेपछि निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । २६ जेठमा जिल्ला निर्वाचन कार्यालय बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई पत्र लेखेर यस सम्बन्धमा जानकारी गराएको हो ।

समाचार प्रकाशित भएपछि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय बाजुरालाई मतदान केन्द्र स्थापनाको सिफारिश गर्न निर्देशन दिएको थियो । जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले भनिन्, “गुम्बा गाउँको बारेमा समाचार आएपछि निर्वाचन आयोगले केन्द्र स्थापना गर्न निर्देशन दियो ।” गुम्बा गाउँमा ३० मतदाता छन् । सदरमुकाम मार्तडीबाट त्यहाँ पुग्न चार दिन हिंड्नुपर्छ । 

गुम्बा गाउँका बालबालिका खोपबाट समेत वञ्चित रहेको समाचार आएपछि २६ जेठमा खोप लगाउन स्वास्थ्यकर्मी गाउँ पठाएको जिल्ला स्वास्थ्य प्रमुख डा. रूपचन्द्र विश्वकर्माले बताए । समाचार प्रकाशित भएपछि आफूले बिच्छयाँ स्वास्थ्य चौकी इन्चार्ज कमल आचार्यसँग यस बारेमा स्पष्टीकरण लिएको विश्वकर्माको भनाइ थियो ।  

गुम्बा गाउँमा रहेको हिमाल भक्ति प्रावि बन्द रहेको सम्बन्धमा प्रकाशित समाचारले जिल्ला शिक्षा कार्यालय बाजुराको ध्यानाकर्षण गराएको छ । जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज रेग्मीका भनाइमा, विद्यालय स्रोतव्यक्तिलाई वास्तविकता अध्ययन गर्न भनिएको छ । दुर्गम गुम्बा गाउँका बासिन्दाले विभेद खेपेको, जन्म, मृत्यु दर्ता घटना र नागरिकता समेत नभएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बाजुराले चासो राखेको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने, “हाम्रो ध्यान गएको छ, चाँडै नै गाउँमै गएर नागरिकतालगायत अन्य सेवा दिने तयारीमा छौं ।”  

सोचेभन्दा विकट

२०७० सालदेखि नै मलाई मतदान केन्द्र टाढा भएको यो दुर्गम गाउँको समाचार लेख्न मन थियो । त्यसबेला मैले अन्नपूर्ण पोष्ट दैनिकमा सदरमुकाम मार्तडीबाटै यस सम्बन्धी समाचार लेखेको थिएँ । समाचार आएपछि अर्को चुनावमा गर्ने भनेर टारियो । तर, २०७४ सालको चुनावमा पनि त्यहाँ मतदान केन्द्र स्थापना भएन ।

कसैले वास्ता नगरेपछि गाउँमै पुगेर खोज समाचार लेख्छु भन्ने अठोट गरें । खोज पत्रकारिता केन्द्रका सम्पादकसँग गाउँको अवस्था बताएर रिपोर्टिङ गर्न जाने इच्छा देखाएँ । भोट हाल्न र सिटामोल किन्न जान एक दिन पैदल हिंड्नुपर्ने गाउँको कथा लेख्नुपर्छ भनेर सम्पादकले पनि हौस्याए । 

मेरो यात्रा शुरू भयो । सदरमुकाम मार्तडीबाट त्यहाँ पुग्न चार दिन लाग्थ्यो । अर्का पत्रकार साथी लक्ष्मीराज पाध्याय र म ३ जेठमा त्यता लाग्यौं । 

टाढा र विकट गाउँ भएकोले जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा. रूपचन्द्र विश्वकर्मासँग सम्पर्क गरेर केही औषधि पनि बोकेर गयौं । म जनस्वास्थ्यको विद्यार्थी पनि भएकाले आफैं बिरामी पर्दा पनि सहयोग हुने र गाउँमा कोही बिरामी भेटिए सहयोग गर्न हुन्छ भनेर केही औषधि बोक्यौं । 

Photo Gumba (5)-minपहिलो दिन कोल्टी पुग्यौं, दोस्रो दिन कोल्टीबाट नुरीको बाटोहुँदै बिच्छयाँ लाग्यौं । बाटो अप्ठ्यारो थियो, उकालो ओरालोको यात्रा भोक र थकाई । राति १० बजे बिच्छयाँको कोटगाउँ पुग्यौं । तेस्रो दिन हामी बौडी गाउँ पुग्यौं । अपरिचित भएकाले त्यहाँ बास दिन मानेनन् । माओवादी केन्द्रका गाउँ तहका कार्यकर्ता तुलधन बुढालाई अनुरोध गरेपछि बल्लतल्ल बास दिए । राति आठ बजे बौडीमा बास बस्यौं ।

चौथो दिन हामी बौडीबाट गुम्बा गाउँतिर लाग्यौं । हामी बास बसेको घरको दाइले गुम्बा गाउँ टाढा छ भनेर कोदाको रोटी दिनुभएको थियो । हामी दुर्गम गाउँ जाँदै थियौं जहाँ, सरकारी निकाय पनि विरलै पुग्थे । बाटो जोखिमपूर्ण थियो । कुनै नदीमा काठको पुल समेत थिएन भने कुनैमा पुरानो काठेपुल थियो । बाटोमा भेडाहरू लिएर भोटतिर जान लागेका स्थानीय भेटिए । उहाँहरूसँग स्थानीय भाषामा भोटे चिया भनिने चिया मागेर कोदाको रोटी खायौं । बिहान ५ बजे बौडीबाट हिंडेका हामी दिउँसो २ बजे गुम्बा गाउँ पुग्यौं । 

गाउँकी स्वयंसेविका पासाङ लामाको घर सोध्यौं, गाउँलेले देखाइदिए । उहाँ बारीमा काम गर्दै हुनुहुन्थ्यो । ‘हामी पत्रकार हौं । लामो बाटो हिंडेर आएका खाना खाएका छैनौं’ भन्यौं । उहाँले आफ्नो श्रीमान जगत लामालाई बोलाउनुभयो । अनि दुवै जनालाई बुझाएपछि मात्रै खाना खान पाइयो ।

गाउँको सेवा सुविधाको बारेमा कुरा गर्ने मानिस थिएनन् । किनकि धेरैलाई सेवासुविधा भनेको के हो भन्ने नै थाहा थिएन । धेरैले कुरा गर्न मानेनन् । कतिपय त बोल्नै नसक्ने पनि । समय लगाएर कुराकानी गरेपछि थाहा भयो गाउँको समस्या ।

स्कूल बन्द थियो । बच्चाहरूले खोप पाएका थिएनन् । प्रत्येक घरमा नागरिकता नबनाएकाहरू थिए । कतिलाई नागरिकता बनाउनुपर्छ भन्ने जानकारी समेत थिएन । स्थानीय प्रेम सिंह भोटेलाई आफ्ना ९ वटा बच्चाको नाम भन्नुस् त भनेको ६ वटाको मात्रै भन्न सके । पछि श्रीमतीलाई सोधेर अरूको नाम भने । हामी स्थानीय जगत लामाको घरमा बस्यौं र अर्को दिन फर्कियौं । वास्तवमा गुम्बा गाउँ मैले अनुमान गरे भन्दा पनि विकट रहेछ । 

 

गुम्बा गाउँ : एउटा अर्को नेपाल  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked as *

*